“केटा-केटीहरू कलीलै छन्”
‘केटा-केटीहरू कलीलै छन्; म यी बाल-बच्चाहरूका चालअनुसार बिस्तार हिंडेर आउनेछु।’ — धेरै केटाकेटीहरूका पिता याकूब, सा.यु.पू. १८औं शताब्दीमा।
केटाकेटीहरूमाथि दुर्व्यवहार गरिनु कुनै नौलो कुरा होइन। एजटेक्स, कनानी, इन्का र फोनिसीयन जस्ता पुरातन सभ्यता बाल बलिको निम्ति कुख्यात छन्। कार्थेज नामक फोनिसी शहरमा (हाल उत्तर अफ्रिका, ट्युनिसको उपनगरमा अवस्थित) उत्खनन गर्दा सा.यु.पू. पाँचौ र तेस्रो शताब्दीबीचमा बाल देउता तथा देवी तानितलाई २०,००० भन्दा धेरै केटाकेटीहरू बलि चढाइएको थाह पाइयो! त्यतिखेर कार्थेजमा बढी से बढी जम्मा २,५०,००० जनसंख्या मात्र थियो भन्ने कुरालाई विचार गर्दा उक्त संख्या झनै भयानक हुन्छ।
तथापि, त्यतिबेला एउटा यस्तो समाज पनि थियो जो अरूभन्दा भिन्न थियो। वरपर बालबालिकाप्रति क्रूर व्यवहार गर्ने राष्ट्रहरू भए तापनि इस्राएल राष्ट्र साना बच्चाहरूप्रति गर्ने व्यवहारमा उल्लेखनीय तरिकामा भिन्न थियो। त्यस राष्ट्रका पिता, कुलपिता याकूबले असल उदाहरण बसाले। बाइबल पुस्तक उत्पत्तिअनुसार आफ्नो जन्मभूमि फर्कंदा याकूबले बच्चाहरूलाई गाह्रो नहोस् भनेर सम्पूर्ण बथानलाई नै बिस्तारै हिंडाए। तिनले भने, “केटा-केटीहरू कलीलै छन्।” त्यतिबेला तिनका छोराछोरीहरू ५ देखि १४ वर्षका थिए। (उत्पत्ति ३३:१३, १४) तिनका सन्तान अर्थात् इस्राएलीहरूले पनि केटाकेटीहरूको आवश्यकता तथा सम्मानको त्यस्तै कदर गरे।
निश्चय, बाइबलकालीन केटाकेटीहरूले धेरै काम गर्नुपर्थ्यो। केटाहरू हुर्कंदै जाँदा बुबाहरूले खेतीपाती वा अन्य काम जस्तै सिकर्मीको काम सिकाएर तिनीहरूलाई व्यवहारिक प्रशिक्षण दिन्थे। (उत्पत्ति ३७:२; १ शमूएल १६:११) केटीहरूलाई चाहिं घरको कामकाज गर्न सिकाइन्थ्यो जुन पछि वयस्क जीवनमा मदतकारी साबित हुन्थ्यो। याकूबकी पत्नी राहेल जवान छँदा गोठालोको काम गर्थिन्। (उत्पत्ति २९:६-९) ठिटीहरू कटनीको समयमा खेत तथा दाखबारीमा काम गर्थे। (रूथ २:५-९; श्रेष्ठगीत १:६)a साधारणतया त्यस्तो काम आमाबाबुको मायालु रेखदेखमा गरिन्थ्यो साथै त्यो शिक्षावर्धक हुन्थ्यो।
इस्राएलका केटाकेटीहरू काम गर्नुका साथै आराम तथा मनोरञ्जन पनि गर्थे। अगमवक्ता जकरिया ‘शहरका गल्लीहरू खेल्ने केटाकेटीहरूले भरिए’ भन्छन्। (जकरिया ८:५) अनि येशूले बजारमा बाँसुरी बजाएर नाच्ने केटाकेटीहरूबारे उल्लेख गर्नुभयो। (मत्ती ११:१६, १७) केटाकेटीहरूलाई यस्तो इज्जत साथ व्यवहार गर्नुको पछाडि के कारण थियो?
उच्च सिद्धान्तहरू
परमेश्वरको व्यवस्था पालन गरुञ्जेल कहिल्यै आफ्नो बच्चाहरूसित इस्राएलीहरूले दुर्व्यवहार वा शोषण गरेनन्। (व्यवस्था १८:१० यर्मिया ७:३१ सित तुलना गर्नुहोस्।) तिनीहरूले आफ्ना छोराछोरीहरूलाई “परमप्रभुले दिनुभएको हक,” अर्थात् “इनाम[को]” रूपमा हेरे। (भजन १२७:३-५) आमाबाबुले आफ्ना छोराछोरीलाई ‘टेबल वरिपरि भद्राक्षका मुनाहरूजस्तै’ ठान्थे र त्यतिबेलाको समाजमा भद्राक्ष रूखलाई अत्यन्तै बहुमूल्य ठानिन्थ्यो। (भजन १२८:३-६) इतिहासकार आल्फ्रेड एडरशिमअनुसार छोरा र छोरीको निम्ति भिन्न शब्दहरू हुनुको अलावा प्राचीन हिब्रूमा केटाकेटीको विभिन्न उमेर बुझाउन नौ वटा विभिन्न शब्दहरू थिए। तिनी निष्कर्षमा यसो भन्छन्: “बाल्यकालको हरेक चरणलाई विशेष सजीव नाउँ दिने व्यक्तिहरूले आफ्ना बच्चालाई धेरै माया गर्थे होलान् भनी हामी पक्का हुनसक्छौं।”
मसीही युगमा आफ्ना बालबच्चाहरूलाई सम्मान तथा कदरसाथ व्यवहार गर्नु भनी आमाबाबुलाई सल्लाह दिइन्थ्यो। अरू मानिसहरूको केटाकेटीसित व्यवहार गर्ने सन्दर्भमा येशूले उत्कृष्ट नमुना बसाल्नुभयो। येशूको पार्थिव सेवकाईको अन्ततिर एक चोटिमानिसहरूले आफ्ना साना बच्चाहरूलाई उहाँकहाँ ल्याउन थाले। उहाँ अत्यन्तै व्यस्त हुनुहुन्छ भन्ठानेर चेलाहरूले मानिसहरूलाई रोक्न खोजे। तर येशूले आफ्ना चेलाहरूलाई यसरी हकार्नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” उहाँले “तिनीहरूलाई काखमा” समेत लिनुभयो। निस्सन्देह, उहाँ केटाकेटीलाई बहुमूल्य तथा दयालु व्यवहारको योग्य ठान्नुहुन्थ्यो भन्नेबारे कुनै शंका छैन।—मर्कूस १०:१४, १६; लूका १८:१५-१७.
पछि प्रेरित पावलले बुबाहरूलाई यसो भने: “आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” (कलस्सी ३:२१) यस आज्ञा मनमा राख्दै मसीही आमाबाबुले त्यतिबेला र अहिले आफ्नो छोराछोरीलाई कहिल्यै दुर्व्यवहारपूर्ण अवस्थाको शिकार हुन दिनेछैन। केटाकेटी शारीरिक, भावनात्मक तथा आध्यात्मिक तवरमा फस्टाउन प्रेम, हेरचाह तथा सुरक्षित वातावरणको आवश्यकता छ भनी तिनीहरूले बुझेका छन्। आमाबाबुले आफ्ना छोराछोरीलाई साँच्चै माया गरेको प्रस्ट देखिनुपर्छ। यसमा आफ्नो छोराछोरीलाई हानिकारक वातावरणमा काम गर्नदेखि बचाउनु पनि समावेश छ।
आधुनिक समयका वास्तविकताहरू
निस्सन्देह, हामी “डरलाग्दो समयमा” बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) कठिन आर्थिक अवस्थाहरूको कारण थुप्रै मुलुकहरूमा मसीही परिवारहरूले समेत आफ्ना छोराछोरीलाई काममा लगाउनुपर्ने स्थिति सृजना हुनसक्छ। माथि छलफल गरेजस्तै केटाकेटीलाई हितकर तथा शिक्षा प्रदान गर्ने खालको काम गर्न दिनुमा कुनै खराबी छैन। केटाकेटीलाई चाहिने शिक्षा, सन्तुलित मनोरञ्जन र आराममा बाधा नपुऱ्याएसम्म त्यस्ता कामहरूले बच्चाको शारीरिक, मानसिक, आध्यात्मिक, नैतिक वा सामाजिक विकासमा मदत गर्नसक्छ।
निस्सन्देह, मसीही आमाबाबुहरूले आफ्ना छोराछोरीहरू दास जस्तैगरि क्रूर, भावशून्य वा छुच्चो मालिकहरू कहाँ नभई आफ्नै मायालु रेखदेखमा काम गरेको चाहन्छन्। त्यस्ता आमाबाबु आफ्नो छोराछोरीको कामको कारण शारीरिक, यौन वा भावनात्मक दुर्व्यवहारमा पर्दैनन् भनी पक्का गर्छन्। साथै तिनीहरू केटाकेटी आफू वरपर नै भएको चाहन्छन्। यसो गर्दा तिनीहरूले बाइबलले भनेजस्तै आध्यात्मिक शिक्षकहरूको भूमिका निर्वाह गर्नसक्छन्। “तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई [परमेश्वरको वचन] होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:६, ७.
यसबाहेक मसीहीहरूलाई सँगी भाव, स्नेह देखाउन तथा अनुकम्पापूर्ण हुनु भनिएको छ। (१ पत्रुस ३:८) “भलाइको काम” गर्न प्रोत्साहित गरेको छ। (गलाती ६:१०) साधारण मानिसहरूलाई त यस्ता ईश्वरीय गुणहरू प्रदर्शित गर्नुपर्छ भने केटाकेटीलाई झन् कति देखाउनुपर्छ होला! “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर” भन्ने सुनौलो नियमलाई मनमा राख्दै सँगी विश्वासी होस् या नहोस् मसीहीले कहिल्यै अरूको बच्चाको शोषण गर्दैन। (मत्ती ७:१२) यसबाहेक, मसीहीहरू नियम पालन गर्ने नागरिकहरू भएको कारण काम गर्ने सन्दर्भमा सरकारले तोकेको उमेरलाई उल्लंघन नगर्न होसियार हुन्छन्।—रोमी १३:१.
साँचो जवाफ
त्यसोभए भविष्यबारे के भन्न सकिन्छ नि? बच्चा तथा वयस्क दुवैको निम्ति उज्ज्वल भविष्य अगाडि छ। बालश्रमको स्थायी समाधान आउनै लागेको विश्वव्यापी सरकार मात्र हो भनी साँचो मसीहीहरूले बुझेका छन्। यस सरकारलाई बाइबलमा “स्वर्गको राज्य” भनिएको छ। (मत्ती ३:२) ईश्वरभीरु मानिसहरूले शताब्दीऔंदेखि यसको लागि यसो भन्दै प्रार्थना गरेका छन्: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:९, १०.
अन्य थुप्रै कुराहरूका साथै यस राज्यले बाल मजदुरी गर्न बाध्य पार्ने अवस्थाहरू पनि हटाउनेछ। यसले गरिबीलाई हटाउनेछ। “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ। परमेश्वर, हाम्रा आफ्नै परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।” (भजन ६७:६) सबैले ईश्वरीय गुणहरूमा आधारित उचित शिक्षा पाऊन् भनेर परमेश्वरको राज्यले पक्का गर्नेछ। “जब [परमेश्वरको] इन्साफ पृथ्वीमा प्रकट हुन्छ, तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।”—यशैया २६:९.
परमेश्वरको सरकारले आर्थिक असमानतालाई बढावा दिने आर्थिक व्यवस्थालाई हटाउनेछ। जात, सामाजिक, उमेर वा लिंगको हिसाबमा कुनै भेदभाव हुनेछैन किनभने त्यस सरकारको नियम प्रेममा आधारित हुनेछ जसमा यो नियम पनि समावेश छ: “आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) त्यस्तो धार्मिक विश्वव्यापी सरकार अन्तर्गत बालश्रमको समस्या पूर्णतया हटाइनेछ!
[फुटनोट]
a तथापि, महिलाहरूलाई घरको वा खेतको काम गर्न मात्र लायकको सम्झने वा तल्लो दर्जाका परिवारका सदस्यहरूको रूपमा लिइने गरिंदैन थियो। हितोपदेशमा “सुयोग्य पत्नी[को]” वर्णनले विवाहित महिलाले घर चलाउने मात्र होइन तर खेतबारी किन्ने, फलदायी खेत र सानोतिनो व्यापार पनि चलाउने गरेको प्रकाश पारेको छ।—हितोपदेश ३१:१०, १६, १८, २४.
[पृष्ठ १२ -मा भएको पेटी]
कोठी मालिक्नीले केटीहरू सबैलाई जान दिन्छिन्
सिसिलियालेb एउटा क्यारिबियन टापुमा १५ वर्षसम्म वेश्यालय चलाइन्। तिनी अक्सर १८ वर्षमुनिका १२ देखि १५ जना केटीहरू एकै चोटि किन्थिन्। ती केटीहरूलाई अक्सर तिनीहरूको इच्छा विपरीत तिनीहरूको परिवारले लिएको ऋणको कारण राखिन्थ्यो। सिसिलियाले तिनीहरूको ऋण चुक्ता गरेर केटीहरूलाई आफूकहाँ काममा लगाउँथिन्। तिनीहरूले कमाएको पैसाबाट तिनीहरूको खाना, देखभाल गर्ने खर्च टार्न र तिनीहरूलाई सुरुमा किनेको पैसा चुक्ता गर्न एक भाग छुट्याउँथिन्। तिनीहरूलाई स्वतन्त्र हुन वर्षौं लाग्थ्यो। केटीहरूलाई गार्डबिना कहिल्यै घरबाहिर पाइला टेक्न दिंदैनथ्यो।
सिसिलियाको मनमा एउटा घटना ताजै छ। एक वेश्या केटीकी आमा हरेक हप्ता खानाको पोकाहरू लिन आउँथिन्। त्यो खाना त्यस केटीले “काम” गरेर कमाएर किन्थी। त्यो केटीले आफ्नो एक छोरा पनि हुर्काइरहेकी थिइन्। तिनले ऋण चुक्ता गर्न एक पैसा पनि जम्मा गर्न सकिनन् र स्वतन्त्र हुने कुनै आशा थिएन। एक दिन तिनले आत्महत्या गरिन् र तिनले पत्रमा आफ्नो छोराको देखभालको जिम्मा कोठी मालिक्नीलाई दिइन्। सिसिलियाले आफ्ना चार छोराछोरीसँगै त्यस बच्चाको पनि लालनपालन गरे।
सिसिलियाको एक जना छोरीले यहोवाका साक्षीहरूको एक मिसनरीसित बाइबल अध्ययन गर्न थालिन्। सिसिलियालाई पनि अध्ययनमा बस्न प्रोत्साहित गरियो तर सुरुमा लेखपढ गर्न नजानेकीले इन्कार गरिन्। तर बिस्तारै बाइबल छलफल सुन्दै जाँदा तिनले परमेश्वरको प्रेम, धैर्य र उहाँको क्षमा गर्ने शक्ति बुझ्न थालिन्। (यशैया ४३:२५) बाइबल अध्ययन गर्ने इच्छाले तिनले चाँडै लेखपढ गर्न सिक्न थालिन्। बाइबल ज्ञानमा बढ्दै जाँदा तिनले आफ्नो कार्य परमेश्वरको उच्च नैतिक स्तरअनुरूप हुनुपर्ने बुझिन्।
एक दिन सबै केटीहरू तीन छक पर्ने गरी तिनीहरूलाई जहाँ जान मन लाग्छ जाने अनुमति दिइन्! तिनीहरूको कामदेखि परमेश्वर असाध्यै अप्रसन्न हुनुहुन्छ भनी तिनले बुझाइन्। तिनीहरूमध्ये कसैले पनि ऋण चुक्ता गरेनन्। तथापि, दुई जना चाहिं तिनीसँगै बसे। अर्को चाहिं अन्ततः बप्तिस्माप्राप्त साक्षी भइन्। बाइबलको पूर्ण-समय शिक्षक भएर सिसिलियाले परमेश्वर अप्रसन्न हुनुहुने बानीहरूबाट अलग रहन मानिसहरूलाई मदत गरिरहेकी अहिले ११ वर्ष भइसक्यो।
[फुटनोट]
b तिनको वास्तविक नाउँ होइन।