हात या खुट्टा गुमाउनु—तपाईं यस खतरालाई कसरी कम गर्न सक्नुहुन्छ
हातखुट्टा गुम्नसक्ने दुर्घटनाहरूबाट प्रायजसो बच्न सकिन्छ! पेरिफेरल भास्कुलर डिजिज अर्थात् पि भि डि-बाट पीडित व्यक्तिहरू पनि यसबाट बच्नसक्छन्। अघिल्लो लेखमा छलफल गरेजस्तै पि भि डि अक्सर मधुमेहको कारण हुने गर्छ।a तर खुसीको कुरा, मधुमेहलाई अक्सर नियन्त्रणमा राख्न सकिन्छ।
“इन्सुलिनको सुई लगाउने सल्लाह दिइएको होस् या नहोस्, मधुमेहको उपचार गर्ने मुख्य तरिका परहेजमा बसेरै हो” भनी दी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। न्यु योर्क शहरका किंग काउन्टी अस्पतालका डा. मार्सेल बेयोलले ब्यूँझनुहोस्!-लाई यसो भने: “मधुमेह रोगीले आफ्नो अवस्थालाई एकदमै गम्भीरतासाथ लिन्छ, परहेजमा बस्छ र चिकित्सकहरूको कुरा मान्छ भने हात वा खुट्टा गुमाउने खतरा धेरै कम हुनेछ।” दोस्रो प्रकारको मधुमेहबाट पीडित व्यक्तिहरूले यो सल्लाह पालन गर्दा समयमा आफ्नो अवस्थामा सुधार भएको समेत महसुस गर्नसक्छन्।b
व्यायाम अत्यावश्यक छ
व्यायाम पनि महत्त्वपूर्ण छ। व्यायामले शरीरमा ग्लुकोज वा चिनीको मात्रालाई सामान्य राख्न मदत गर्छ। पि भि डि भएको निदान भएपछि व्यायाम गर्दा आवश्यक बल र लचकदारिता कायम गर्न सकिन्छ र क्षति भएको शरीरको भागमा रगत पुऱ्याउन मदत गर्छ। पि भि डि रोगीहरू हिंड्दा वा व्यायाम गर्दा पिंडौला दुख्ने हुँदा बेला बेलामा खोच्याउने गर्छन् तर व्यायामले त्यस्तो दुखाइ पनि कम गर्नसक्छ। तथापि, त्यस्ताहरूले खुट्टालाई धेरै बल पर्ने वा झड्कार्ने व्यायाम गर्नु हुँदैन। हिंड्ने, साइकल चढ्ने, डुंगा खियाउने, पौडी खेल्ने र पानीमा एरोबिक्स गर्नेजस्ता व्यायामहरू उचित हुनसक्छ। खाना बार्नु वा कुनै विशेष प्रकारको व्यायाम कार्यक्रम सुरु गर्नुअघि सधैं चिकित्सकको राय लिनुपर्छ।
निस्सन्देह, सुस्वास्थ्य चाहने व्यक्तिले धूम्रपान पटक्कै गर्नुहुँदैन। धूम्रपानको कारण रोग लाग्ने वा रोगलाई अझ चर्काउने थुप्रै स्वास्थ्य समस्याहरूमध्ये पि भि डि एउटा हो। “विशेष गरी धूम्रपान गर्ने व्यक्तिको मधुमेह र पि भि डि छ भने धूम्रपानले हात या गोडा काटेर फाल्नुपर्ने अवस्थालाई अझ चर्काउँछ” भनी डा. बेयोल भन्छन्। के यो साँच्चै त्यति गम्भीर छ? हातगोडा नहुने अपांगहरूलाई पुनः चलहल गर्न मदत गर्ने निर्देशनपुस्तक यसो भन्छ “धूम्रपान गर्नेहरूको हात या खुट्टा काटेर फाल्नुपर्ने सम्भावना १० गुणा बढी हुन्छ।”
असक्त हात या गोडाको स्याहारसुसार
पि भि डि-को कारण हातको कुइनामुनि तथा खुट्टामा घुँडामुनि रक्त सञ्चार कम हुनसक्छ जसले गर्दा न्युरोप्याथी अर्थात् नशाहरू मरेतुल्य वा लाटो हुन्छ। त्यसपछि मानिसलाई ओछ्यानमा आराम गरिरहँदा समेत चोट लाग्ने सम्भावना हुनसक्छ। जस्तै, बिरामीले दुखाइ नै महसुस नगर्ने हुँदा विद्युतीय सिरक वा तातो बिछ्यौना बढी तातिएर शरीर डामिनसक्छ! यसकारण उत्पादकहरूले मधुमेहका बिरामीहरूलाई त्यस्ता विद्युतीय सामानहरू चलाउँदा होसियार हुनुपर्ने चेताउनी दिन्छन्।
घाइते हात या गोडामा संक्रमण हुने सम्भावना पनि धेरै हुन्छ। अलिकति कन्याउँदा घाउ हुने र कहिलेकाहीं सइनको घाउसमेत हुनसक्छ। त्यसैले आफ्नो खुट्टाको राम्रो देखभाल गर्नु अत्यन्तै महत्त्वपूर्ण छ र सजिलो, साइज मिलेको जुत्ता लगाउने र खुट्टा सफा सुक्खा राख्नु जरुरी छ। थुप्रै अस्पतालहरूमा गोडासम्बन्धी विशेष क्लिनिकहरू हुन्छन् र त्यहाँ बिरामीहरूलाई गोडाको हेरचाह गर्न सिकाइन्छ।
पि भि डि रोगीको शल्यचिकित्सा गर्नु नै पर्ने भए तापनि डाक्टरले सकेसम्म हात या गोडा काटेर फाल्नु नपर्ने उपाय गर्छन्। एउटा उपाय हो, बेलुन एन्जिओप्लास्टी हो। यस उपचारविधिमा चिकित्सकले बेलुनजस्तै फुक्न एउटा लामो सुइरोलाई धमनीमा छिराउँछन् र यसो गर्दा धमनीमा फेरि रगत बहन थाल्छ। अर्को उपाय बाइपास शल्यचिकित्सा हो। यस उपचारविधिमा क्षति भएको रक्तनली झिकेर शरीरको अर्को भागको सद्दे रक्तनली हालिन्छ।
अहिले ५४ वर्ष पुगेकी बाबरा चार वर्षको उमेरदेखि पहिलो प्रकारको मधुमेहबाट पीडित थिइन्। आफ्नो पहिलो बच्चाको जन्मपछि तिनको खुट्टामा पि भि डि भयो। केही डाक्टरहरूले तिनलाई खुट्टा काट्ने सल्लाह दिए। तथापि, बाबराले एकदम नाउँ चलेको नशासम्बन्धी राम्रो डाक्टर भेट्टाइन् जसले तिनको खुट्टामा रक्तसञ्चार गराउन एन्जिओप्लास्टी गरे। केही समयको लागि त एन्जिओप्लास्टीले राम्रै गऱ्यो तर अन्ततः बाइपास गर्नुपर्ने भयो र त्यो सफल भयो। बाबरा अहिले आफ्नो खुट्टाको असाध्यै राम्रो हेरचाह गर्छिन्।
चोटपटक लाग्नुदेखि बच्नुहोस्
हातखुट्टा गुमाउनुको दोस्रो मुख्य कारण चोटपटक लाग्नु हो। शरीरको जुनसुकै भागमा पनि चोटपटक लाग्नसक्छ। तथापि, जीवनप्रति ईश्वरीय विचारधारा राख्दा चोटपटक लाग्ने खतरादेखि निकै हदसम्म बच्नसक्छौं। काम गर्दा, सवारीसाधन चलाउँदा वा मनोरञ्जन गर्दा नै किन नहोस्, मसीहीहरूले आफ्नो शरीर परमेश्वरबाटको वरदानको रूपमा लिनुपर्छ। तसर्थ, तिनीहरू हर सुरक्षात्मक कदमहरू अपनाउँछन् र कुनै नचाहिंदो खतराहरू उठाउँदैनन्।—रोमी १२:१; २ कोरिन्थी ७:१.
जमिनमा विस्फोटक पदार्थ बिछ्याइएको ठाउँहरूमा चोटपटक लाग्ने खतरा कम गर्न कस्ता कदमहरू चालिएका छन्? थुप्रै देशहरूमा जमिनमा बिछ्याइएको विस्फोटक पदार्थप्रति जनचेतना जगाउने कार्यक्रमहरू सरकारले नै प्रयोजन गरेको हुन्छ। संयुक्त राष्ट्रका महासचिवको रिपोर्टअनुसार यी कार्यक्रमहरूले “जनसाधरणलाई . . . ती इलाकामा बस्दा र काम गर्दा कसरी खतराबाट बच्न सकिन्छ भनी सिकाउँछन्।”
तर दुःखको कुरा, “मानिसहरूले ती बिस्फोटक पदार्थहरू सामान्य कुरा ठानी त्यसको बेवास्ता गर्नथाल्छन्” भनी संयुक्त राष्ट्र संघको रिपोर्टले बताउँछ। “भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्ने धार्मिक विश्वासले गर्दा पनि कहिलेकाहीं मानिसहरू ती खतराहरूबारे लापरवाह हुन्छन्।” तथापि त्यस्तो विचारधारालाई परमेश्वरको वचनले पटक्कै समर्थन गर्दैन। त्यसको विपरीत बाइबलले सुरक्षात्मक कदम लिन र होसियार हुन प्रोत्साहित गर्छ।—व्यवस्था २२:८; उपदेशक १०:९.
होसियार हुनुका साथै तपाईंको स्वास्थ्यको सुरक्षा गर्न व्यवहारिक कदम चालेर तपाईंले हातगोडा गुमाउने खतरा निकै कम गर्न सक्नुहुन्छ। तर हात या गोडा गुमाइसकेकाहरूले नि? तिनीहरूले अझै पनि कसरी जीवनको आनन्द उठाउनसक्छन्?
[फुटनोटहरू]
a कम्मरमुनि असाध्यै कस्सिने लुगा वा कस्सिने जुत्ता लगाउँदा वा लामो समयसम्म बस्दा (विशेष गरीखुट्टा बाँधेर) वा उभिरहँदा शरीरको तल्लो भागका रक्तनलीहरूको विकार हुन वा स्वास्थ्य समस्या अझ चर्किनसक्छ।
b पहिलो प्रकारका मधुमेह लागेका मानिसहरूलाई दिनहुँ इन्सुलिनको सुई लिने सल्लाह दिइएको हुन्छ। दोस्रो प्रकारका (इन्सुलिनमा भर पर्न नपर्नेहरू) मधुमेह लागेका मानिसहरूले परहेजी भएर तथा व्यायाम गरेर रोगलाई नियन्त्रणमा राख्नसक्छन्। संयुक्त राज्यमा ९५ प्रतिशत मधुमेह रोगीहरू दोस्रो प्रकारको मधुमेहबाट पीडित छन्।
[पृष्ठ ४-मा भएको चित्र]
विशेष गरी रक्तवाहिनी नलीसम्बन्धी रोग भएकाहरूलाई धूम्रपानले हात या खुट्टा गुमाउनुपर्ने खतरालाई निकै चर्काउँछ
[पृष्ठ ५-मा भएको चित्र]
उपयुक्त व्यायाम तथा स्वास्थ्यकर भोजनले रक्तवाहिनी प्रणालीलाई स्वस्थ्य राख्न मदत गर्छ