हात या खुट्टा नहुनु—के यो तपाईंलाई हुनसक्छ?
सारायेभो शहरमा वसन्त ऋतुको न्यानो घाममा हिंडिरहेका बेन्जामिन जमिनमा बिछ्याइएको विस्फोटक पदार्थमा टेक्न पुगे। अनि तिनको बायाँ खुट्टा हावामा उछिट्टियो। बेन्जामिन त्यो घटनालाई सम्झँदै भन्छन्, “म उठ्न खोजें।” “तर सकिनँ।” जमिनमा विछ्याइएको विस्फोटक पदार्थको कारण वर्षेनी मर्ने वा अपांग हुने २०,००० व्यक्तिहरूमध्ये बेन्जामिन पनि हुन्।
अंगोलामा १.५ करोडभन्दा बढी विस्फोटक पदार्थहरू जमिनमा छ्यासछ्यासती बिछ्याइएका छन् र यो हिसाब गर्ने हो भने यहाँको हरेक पुरुष, महिला तथा बच्चाहरूको भागमा एउटाभन्दा बढी पर्छ। अंगोलामा अहिले आफ्नो हात या गोडा गुमाएका मानिसहरू ७०,००० भन्दा बढी छन्। असी लाखदेखि एक करोड विस्फोटक पदार्थहरू जमिनमा बिछ्याइएको राष्ट्र कम्बोडियामा अपांगहरूको संख्या सबैभन्दा धेरै छ। त्यहाँ प्रत्येक २३६ जना व्यक्तिमा एक जना अपांग भएको अनुमान लगाइएको छ। बोस्निया तथा हर्जगोभिनियामा ३० लाख अर्थात् प्रत्येक वर्ग किलोमिटरमा ३९४ वटा विस्फोटक पदार्थहरू बिछ्याइएको अनुमान लगाइएको छ।
तर युद्धग्रस्त इलाकाहरूमा मात्र मानिसहरूले हातगोडा गुमाउने होइन। उदाहरणका लागि, संयुक्त राज्यमा झन्डै ४०,००० व्यक्तिहरूले हातगोडा गुमाएका छन्। त्यसमध्ये धेरैजसो वयस्कहरूले जीर्ण रोगको कारण हातखुट्टा गुमाउने गर्छन् र यसलाई साधारणतया अंग्रेजीमा “पेरिफेरल भास्कुलर डिजिज” वा पि भि डि भन्ने गरिन्छ। यस सामान्य पदावलीले थुप्रै स्वास्थ्य समस्याहरू बुझाउँछ। टेबर्स साक्लोपिडिक मेडिकल डिक्सनरी-ले पि भि डि-लाई “हातखुट्टाका धमनी तथा रक्तनलीहरूको रोग, अर्थात् विशेष गरी हातखुट्टामा पर्याप्त रक्तसञ्चार हुन नसक्ने अवस्था” भनी व्याख्या गरेको छ। पि भि डि-को एउटा मुख्य कारण मधुमेह हो। विश्व स्वास्थ्य रिपोर्ट १९९८-अनुसार “संसारभरि मधुमेह रोगीहरूको संख्या १९९७ मा १४.३ करोड थियो भने सन् २०२५ सम्ममा यसको संख्या दोबर भएर ३० करोड पुग्नेछ।”
संयुक्त राज्यमा हातगोडा गुमाउनुको दोस्रो मुख्य कारण सवारीसाधन, मेशिन, विद्युतीय उपकरण तथा बन्दुक इत्यादिबाट हुने दुर्घटना हो र यसले गर्दा २० देखि ३० प्रतिशतको हात या गोडा काटेर फाल्नुपर्ने नै हुन्छ। हातगोडा गुमाउनुको अर्को कारण (६ प्रतिशत जति) ट्युमर र जन्मदोष (४ प्रतिशत जति) पनि हो।
आफ्नो हातगोडा गुमाउनुपर्ला भन्ने सोचाइले मात्र पनि भय उत्पन्न गराउँछ। के यो खतरा कम गर्न सकिने कुनै उपाय छ? अनि तपाईंको हात वा खुट्टा छैन भने पनि कसरी जीवनको आनन्द उठाउन सक्नुहुन्छ? अर्को लेखले यी तथा अन्य प्रश्नहरूबारे छलफल गर्नेछ।