हात या खुट्टाबिना पनि जीवनको आनन्द उठाउने
“अर्का एक पर्वतारोही चुचुरोमा पुगे।” टम ह्वीटेकर सगरमाथाको चुचुरोमा पुग्दा एउटा अखबारले यस्तो समाचार छाप्यो। पहिले पनि थुप्रैले त्यस सर्वोच्च शिखर आरोहण गरिसकेका छन् तर त्यस शिखरमा पुग्ने टम ह्वीटकर पहिलो अपाहिज व्यक्ति थिए! सवारी दुर्घटनामा ह्वीटकरले आफ्नो खुट्टा गुमाएका थिए। तर नकली खुट्टाको मदतद्वारा तिनले आफ्नो सोख पुनः कायम गर्न सके। त्यस्तै उपकरणहरूको मदतद्वारा थुप्रै अपाहिजहरूले पनि निकै हदसम्म जीवनको आनन्द उठाइरहेका छन्। साँच्चै भन्ने हो भने अपाहिज व्यक्तिहरू दौडिरहेको, बास्केटबल खेलिरहेको वा साइकलमा चढिरहेको देख्नु कुनै आश्चर्यको कुरा नभइसक्यो।
पहिले पहिलेका नकली खुट्टा तथा हातहरू काठको कीला र फलामका अंकुश हुन्थ्यो। तर युद्धको कारण हजारौं हजार मानिसहरू अपांग भएपछि यस क्षेत्रमा उन्नति हुन थाल्यो। साँच्चै सजिलो खाले नकली हात खुट्टा आविष्कार गर्ने पहिलो व्यक्ति पनि सैनिक डाक्टर, १६ औं शताब्दीका फ्रान्सेली आम्ब्रियोस पाँरे हुनु कुनै अचम्मको कुरा होइन। आज नकली हातगोडा बनाउन हाइड्रोलिक, उन्नत प्रविधिका घुँडा गाँठो, कार्बन-फाइबरद्वारा बनिएको लचकदार खुट्टा, सिलिकन, प्लास्टिक तथा अन्य उच्च प्रविधि सरसामग्रीहरू प्रयोग गरेर थुप्रै मानिसहरू सजिलैसित हिंड्न सक्ने भएका छन्। र कुनै समय मानिसहरूले यी सबै सम्भव होला भनेर सोचेका पनि थिएनन्। माइक्रोइलेक्ट्रोनिक्समा गरिएको उन्नतिको कारण नकली हात खुट्टा राखेर पनि मानिसहरू आरामसित सजिलै चलहल गर्नसक्छन्। आजकलका नकली हात खुट्टाहरू हेर्दा पनि राम्रै देखिन्छन्। अहिलेका नकली हातखुट्टामा औंलाहरू पनि हुन्छन् र कुनै कुनैमा त नशाहरू जस्तो पनि देखिन्छ। क्यान्सरको कारण खुट्टा काट्नु परेकी एउटी मोडेलले नकली खुट्टा लगाउनु परे तापनि साँच्चैको जस्तै देखिने हुँदा तिनले आफ्नो मोडलिङ पेशा छोड्नु परेन।
मानसिक झुकाउ महत्त्वपूर्ण छ
यद्यपि, मानसिक स्वास्थ्य विशेषज्ञ एलेन विनचेल भन्छिन्: “हात या गोडा काटेर फाल्नुपर्ने जस्ता व्यक्तिगत संकटको समयमा तपाईंले शारीरिक, भावनात्मक, मानसिक तथा आध्यात्मिक सबै पक्षबाट अत्यन्तै धेरै चुनौतीहरू सामना गर्नु पर्ने हुन्छ।” चोट लागेपछि सइनको घाउ विकास भएको कारण एउटा खुट्टा गुमाउनुपरेको विलियमलाई लिनुहोस्। तिनी भन्छन्: “जीवनमा आइपर्ने चुनौतीहरू सामना गर्ने एउटा तरिका सही मानसिक झुकाउ राखेर हो। मैले आफ्नो सीमिततालाई कहिल्यै एउटा अवरोधजस्तो ठानिनँ। बरु, दुर्घटनापछि भोग्नु परेका मेरा सीमितताहरूलाई सकारात्मक दृष्टिकोणले हेर्ने गर्छु।” आफू स्वयं पनि अपाहिज इलेन विनचेल भन्छिन् कि निराशावादी मानिसहरूलाई भन्दा सकारात्मक मनोभाव राख्ने मानिसहरूलाई आफ्नो अवस्थाअनुसार काँटछाँट गर्न धेरै सजिलो हुन्छ। बाइबलमा भनिएझैं, “प्रसन्न हृदयले हँसिलो अनुहार देखाउँछ।”—हितोपदेश १७:२२.
हात या खुट्टा गुमाउनु परे तापनि जीवनमा राम्ररी छाँटकाँट गरेका केही मसीहीहरूसित ब्यूँझनुहोस्!-ले कुराकानी गरेको थियो। अधिकांश मानिसहरूले अपाहिजहरूलाई आफ्नो सीमितताबारे बढ्तै संवेदनशील हुने वा लुकाउने कोसिस गर्न नहुने सझाउ दिए। बायाँ खुट्टाको घुँडामुनिको भाग काट्नु परेका डेल भन्छन्: “अरूले मेरो यस सीमिततालाई कुरै गर्न नहुने विषयजस्तो गरेमा मलाई नराम्रो लाग्थ्यो। त्यसो गऱ्यो भने मेरो विचारमा सबैलाई अप्ठ्यारो हुन्छ।” तपाईंको यदि दायाँ हात छैन र तपाईंलाई कसैसित चिनापर्ची गराइन्छ भने तपाईं आफै अग्रसर भएर बायाँ हातले हात मिलाउन जानुपर्छ भनी केही विशेषज्ञहरू सल्लाह दिन्छन्। अनि कसैले तपाईंको नकली हात या खुट्टाबारे सोध्छ भने बताउनुहोस्। तपाईंले अप्ठ्यारो मान्नु भएन भने अर्को मानिसलाई पनि सजिलो हुन्छ। त्यसो गर्दा सामान्यतया कुरा यसैमा केन्द्रित नभई अर्कै विषयतिर मोडिन्छ।
“हाँस्ने एउटा समय छ।” (उपदेशक ३:४ख) एउटा हात नभएकी महिला भन्छिन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंको हँसी मिजासलाई कायम राख्नुहोस्! अरूले तपाईंप्रति राख्ने विचारधारा धेरै हदसम्म तपाईंले आफूबारे कस्तो दृष्टिकोण राख्नुहुन्छ त्यसमा भर पर्छ भनी कहिल्यै बिर्सनुहुँदैन।’
“रूने एउटा समय छ”
आफ्नो खुट्टा काट्नुपरेपछि डेलले सुरुमा मनमनै यसो भने: “अब जिन्दगी बर्बाद छ। खत्तम भयो।” अंगोलामा जमिनमा बिछ्याइएको विस्फोटक पदार्थको कारण फ्लोरिन्डो र फ्लोरियानो दुवैको खुट्टा छैन। फ्लोरिन्डो आफू तीन दिन, तीन रातसम्म रोएको कुरा बताउँछन्। फ्लोरियानोको पनि हालत त्यस्तै भयो। तिनी लेख्छन्: “भर्खर २५ वर्षको भएको थिएँ। एक दिन अगाडिसम्म सबै कुरा आफै गर्न सक्थें तर अहिले आफै उठ्न समेत नसक्ने भएँ। म निराश र दिक्क भएँ।”
“रूने एउटा समय छ।” (उपदेशक ३:४क) कुनै गम्भीर क्षति भोग्नुपर्दा केही समयसम्म शोक मनाउनु स्वाभाविक हो। (तुलना गर्नुहोस् न्यायकर्त्ता ११:३७; उपदेशक ७:१-३) “दुःख बिर्सन त्यो दुःख भोग्नु जरुरी छ” भनी इलेन विन्चेल लेख्छिन्। आफ्ना भावनाहरू बुझिदिने व्यक्तिलाई बताउँदा पनि अक्सर मदतकारी हुन्छ। (हितोपदेश १२:२५) शोक मनाउनु भनेको सधैंभरि चल्ने प्रक्रिया होइन। कोही कोही व्यक्तिहरू आफूले हात या खुट्टा गुमाएपछि केही समयको निम्ति भावनात्मक तवरमा अस्थिर, आलोचनात्मक, धेरै चिन्ता गर्ने वा एक्लै बस्ने हुनसक्छ। तथापि, यस्ता भावनाहरू समयमा कम हुँदै जान्छन्। समयको दौडान पनि कम भएन भने गम्भीर मानसिक खिन्नता भएको हुनसक्छ। यस्तो बेला साधारणतया पेशेवरहरूको सहायता चाहिन्छ। आफ्नो प्रियजनलाई त्यस्तो केही मदत चाहिएको चिह्नहरू देखिन थालेमा परिवारका सदस्य तथा साथीहरू सजग हुनुपर्छ।a
दुवै खुट्टामा पक्षघात भएका डब्ल्यु. मिशेल लेख्छन्: “आफ्नो चासो राख्ने मानिस सबैलाई चाहिन्छ। साथीभाइ तथा परिवारको समर्थन छ भने जस्तो पनि समस्या खप्न सकिन्छ तर कसैको सहाराबिना एक्लै सामना गर्न परिरहेको छ भने सानो कुराले पनि ठेस पुऱ्याउनसक्छ। अनि मित्रता भनेको रातारात हुने पनि होइन। साथी बनाउन निकै प्रयास गर्नुपर्छ र त्यो कायम राख्न पनि त्यत्तिकै मेहनत गर्नुपर्छ। अन्यथा त्यो ओइलाएर जानेछ।—हितोपदेश १८:२४ तुलना गर्नुहोस्।
हात या खुट्टाबिना पनि जीवनको आनन्द
हात या खुट्टा नभए तापनि थुप्रैले जीवनको आनन्द उठाइरहेका छन्। उदाहरणका लागि रसलको जन्मँदै बायाँ खुट्टाघुँडासम्म मात्र थियो। अहिले तिनी ७८ वर्षका भए तर अझै नियमित व्यायाम गर्छन् र लौरोको सहायता चाहिए तापनि जीवनको पूरापूर आनन्द उठाइरहेका छन्। स्वभावैले हँसिलो रसलले आफ्नो पहिल्यैदेखि सुखराम भन्ने उपनाउँ भएको कुरा बताए।
दोस्रो विश्वयुद्धमा आफ्नो एउटा खुट्टा गुमाएका डग्लस आधुनिक नकली खुट्टाको सहायतामा हिंड्छन्। यहोवाको एक साक्षीको हैसियतमा बिगत छ वर्षदेखि नियमित अग्रगामी अर्थात् पूर्ण-समय प्रचारकको रूपमा आनन्दसाथ सेवा गर्दैछन्। माथि उल्लिखित डेललाई त बिर्सनुभएको छैन होला? तिनले पनि अग्रगामीको रूपमा सन्तोषदायी जीवन बिताउनुका साथै आफ्नो पेट पाल्न सकिरहेका छन्।
तर गरिब वा युद्धग्रस्त देशहरूमा हात या खुट्टा गुमाउनु परेका मानिसहरूले के गर्छन्? विश्व स्वास्थ्य संगठन यसो भन्छ: “वास्तवमा अहिले असमर्थ मानिसहरूमध्ये अत्यन्तै थोरै प्रतिशतले मात्र सुविधाहरू पाइरहेका छन्।” थुप्रै लौरो र बैसाखीको भरमा यताउता गर्छन्। तैपनि कहिलेकाहीं मदत पाइन्छ। अंगोलामा जमिनमा विछ्याइएका विस्फोटक पदार्थको सिकार भएका फ्लोरियानो र फ्लोरिन्डो दुवैले अन्तरराष्ट्रिय रेडक्रस तथा स्वीस सरकार मार्फत नकली खुट्टा प्राप्त गरे। फ्लोरियानो आनन्दसाथ यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा सेवकाई सेवकको रूपमा र फ्लोरिन्डो चाहिं प्राचीन तथा पूर्ण-समय सुसमाचारकको हैसियतमा सेवारत छन्।
अपांगहरूलाई सेवा पुऱ्याउने एउटा संगठनले यस्तो विचार व्यक्त गर्नु उपयुक्त छ: “जीवनमा सबै आशा मारिसकेका मानिसहरू मात्र साँच्चै अपांगहरू हुन्!” चाखलाग्दो कुरा के छ भने, बाइबलले अपांग व्यक्तिहरूलाई बाँच्ने आशाको कारण दिन निकै मदत गरेको छ। डेल भन्छन्, “निको भइरहेको समयमा बाइबल सत्य सिक्दा मैले अझ बढी मदत पाएँ।” त्यस्तै गरी रसल भन्छन्: “कठिनाइको समयमा मलाई सधैं बाइबल आधारित आशाले मदत गरेको छ।” बाइबलमा अपांग व्यक्तिहरूको निम्ति कस्तो आशा छ?
[फुटनोट]
a मार्च १५, १९९० अंकको प्रहरीधरहरा-मा (अंग्रेजी) “निराशितहरूलाई पुनः आनन्दित हुन कसरी मदत गर्ने” लेख हेर्नुहोस्।
[पृष्ठ ८-मा भएको पेटी]
भ्रामक दुखाइ
वास्तवमा खुट्टा नभए तापनि खुट्टा भएजस्तै महसुस गर्नुलाई भ्रामक दुखाइको अनुभूति भनिन्छ। शल्यचिकित्साद्वारा हात या खुट्टा काटेर फालेपछि यस्ता भावनाहरू हुनु स्वाभाविक हो र त्यस्ता भावनाहरू यस्तो वास्तविक हुन्छ कि अपाहिज व्यक्तिहरूका लागि तयार पारिएको एउटा पुस्तिकाले यसो भन्छ: “आफ्नो नकली खुट्टाबिना पलंग वा कुर्सीबाट उठ्दा आफ्नो खुट्टा छ जस्तो भान पर्नदेखि होसियार हुनुहोस्। सधैं तल हेर्नुहोस् र खुट्टा छैन भनी आफैलाई सम्झाउनुहोस्।” आफ्नो दुवै खुट्टा गुमाएकी एक महिला आफ्नो डाक्टरसित हात मिलाउन उठिन् तर उल्टै भुइँमा लडिन्!
अर्को समस्या भ्रामक दुखाइ हो। आफ्नो खुट्टाको जुन भाग काटेर फालिन्छ त्यहीं नै दुखेको जस्तो लाग्नु वास्तविक पीडा हो। यसको दुखाइ, प्रकार तथा अवधि मानिस पिच्छे फरक फरक हुन्छ। आनन्दको कुरा खुट्टा छ भन्ने भ्रामक अनुभूति र दुखाइ दुवै समयको दौडान कम हुँदै जान्छ।
[पृष्ठ ६-मा भएको चित्र]
आधुनिक नकली हात खुट्टाहरूले गर्दा थुप्रै अपांगहरूले पहिलेभन्दा आनन्दमय जीवन बिताउन सकिरहेका छन्
[स्रोत]
फोटो साभार RGP Prosthetics
[पृष्ठ ७-मा भएको चित्र]
गम्भीर क्षति भोग्नुपर्दा शोक मनाउनु सामान्य कुरा हो
[पृष्ठ ८-मा भएको चित्र]
थुप्रै अपांग व्यक्तिहरूले आनन्दमय जीवन बिताइरहेका छन्