विश्वदर्शन
गरिबलाई झन् गरिब बनाउने अन्त्येष्टिहरू
“बढ्दो महँगीले गर्दा जीवन धान्न गाह्रो भइरहेकै छ तर . . . आजकाल मृत्यु हुँदा व्यहोर्नुपर्ने खर्च झनै बढिरहेको छ” भनी टाइम्स अफ जाम्बिया-ले रिपोर्ट गर्छ। जाम्बियालगायत अफ्रिकाका अन्य थुप्रै देशमा अन्त्येष्टि कार्यक्रम टाढा टाढाका नातेदारहरू सबै जम्मा भएपछि मात्र सुरु गर्छन्। अन्त्येष्टिका काजक्रिया एक हप्ता वा त्योभन्दा लामो समयसम्म हुनसक्छ। अनि अक्सर जम्मा भएका सबैलाई खुवाउनेदेखि लिएर सुत्ने ठाउँको प्रबन्ध मिलाउनुपर्छ। शोक सन्तप्त परिवारले आफ्ना गरिब नातेदारहरूलाई घर फर्कन यातायातको खर्चसमेत दिनुपर्छ। त्यस्ता अन्त्येष्टि कार्यक्रमहरूले थुप्रै शोक सन्तप्त परिवारहरूलाई झनै गरिब बनाउँछ। “आधुनिक अन्त्येष्टि कार्यक्रमहरू झनै महँगो हुँदैछ किनभने ती ठूलो संख्याका मलामीहरूले कुनै तरिकामा सहयोग गर्दैनन्” भनी उक्त रिपोर्टले टिप्पणी गर्छ। शोक सन्तप्त परिवारको भार कम गर्न मृत्यु हुनेबित्तिकै अन्त्येष्टि गरिहाल्न उक्त अखबारले सल्लाह दिन्छ।
हरियो चियाले कसरी क्यान्सरका कोषहरू विरुद्ध लड्छ
हरियो चिया पिउने मानिसहरूलाई क्यान्सर हुने सम्भावना कम हुने अध्ययनहरूले देखाएको छ। जनावरहरूलाई पनि त्यो चिया दिंदा त्यस्तै लाभ भयो। सं.रा.अ., इन्डियानाको पर्डु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हालै यसको सम्भावित कारण पत्ता लगाए भनी साइन्स न्युज-ले रिपार्ट गर्छ। हरियो चियामा हुने एउटा तत्त्व एपिगालोकाटेचिन गालेटले (EGCg) क्यान्सर कोष बढ्न चाहिने एउटा एन्जाइमलाई रोक्छ। EGCg ले सामान्य कोषहरूको वृद्धिमा चाहिं कुनै असर गर्दैन। विश्वका ८० प्रतिशतभन्दा बढी चिया प्रेमीहरूले पिउने कालो चियामा चाहिं EGCg अत्यन्तै कम मात्रामा मात्र हुन्छ। यही तथ्यबाट नै स्पष्ट हुन्छ कि टेस्ट ट्युबमा विकास गरिएको क्यान्सर कोषमा एन्जाइम प्रतिक्रिया गर्न हरियो चिया कालो चियाभन्दा दस गुणा प्रभावकारी हुन्छ भनी अनुसन्धानकर्ताहरू भन्छन्।
कुकुरको टोकाइ र केटाकेटी
संयुक्त राज्यमा साना केटाकेटीलाई कुकुरले अत्यन्तै धेरै टोक्छ भनी युसी बर्कलि वेलनेस लेटर-ले रिपोर्ट गर्छ। तथापि उक्त रिपोर्टअनुसार कतिपय परिस्थितिमा कुकुरको टोकाइबाट बच्न सकिन्छ। खतरा कम गर्न वेलनेस लेटर-ले आमाबाबुलाई मित्रैलो स्वभावको छाउराछाउरी किन्ने सल्लाह दिन्छ। त्यसपछि तिनीहरूको प्रजनन शक्तिलाई निष्क्रिय बनाउनुपर्छ अनि आज्ञाकारी हुन, मानिसहरू र विशेष गरी बच्चाहरूसित मित्रलो हुन सिकाउनुपर्छ। वेलनेस लेटर यस्तो टिप्पणी गर्छ: “सबैभन्दा सुधो कुकुरले पनि भर्खरै जन्मेको शिशुलाई स्वागत वा माया गर्नेछ भनी कहिल्यै नसोच्नुहोस्। निगरानीमा राख्नुहोस्।” केटाकेटीलाई एक्लै गएर कुकुरलाई छुनु हुँदैन भनेर सिकाउनुपर्छ। कुकुर मालिकले नै तपाईंलाई चिनाउन दिनुहोस्। कुकुरलाई केही भन्नुहोस् अनि त्यसलाई आफ्नो मुट्ठी सुँघ्न दिनुहोस्। रौं ठाडो गर्दै कुकुर रिसाउँछ भने त्यहीं चुपो लागेर बस्नुहोस्, नभाग्नुहोस्। वेलनेस लेटर भन्छ: “स्यालले जस्तै कुकुरले पनि भाग्यो कि त लखटेर आक्रमण गरिहाल्छ।”
लड्नदेखि बच्न सन्तुलन कायम राख्ने व्यायामहरू
“पैंसट्ठी वर्ष नाघिसकेका एक तिहाइ मानिसहरू कम्तीमा पनि वर्षको एक चोटि लड्छन् र कतिपयको त्यसरी लडेपछि ढाडको हड्डी कहिल्यै जोडिंदैन” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। उमेर चढ्दै गएपछि हाम्रो शरीरको बोझ थाम्ने क्षमता घट्दै जान्छ जसले गर्दा सन्तुलन कायम गर्न झनै गाह्रो हुन्छ। हालै चिकित्सासम्बन्धी कनेटिकट विश्वविद्यालयमा गरिएको अनुसन्धानअनुसार एउटा खुट्टामा उभिने वा होचो काठको पातामा हिंड्ने जस्ता व्यायामहरू नियमित तवरमा गर्दा बूढाबूढीहरूले सन्तुलन कायम राख्ने मदत पाउँछन्। तथापि, सलिभन र क्रमवेल व्यायाम केन्द्रका जिना आलचिनले त्यस्तो व्यायम सुरुमा हप्ताको दुई वा तीन चोटि दस मिनेट जति मात्र गर्ने सल्लाह दिन्छिन्। तिनी भन्छिन्: “यस्ता व्यायामहरू हेर्दा सजिलो देखिन्छ तर चुनौतीपूर्ण छन् र यसले गर्दा तपाईं थाक्नुका साथै बढी गर्नुभयो भने पूरा जीउ नै दुख्नसक्छ।”
शिक्षा र बाल मृत्युदर
“सन् २०१० सम्ममा विश्वभरि सबैलाई प्राथमिक शिक्षा दिन, अर्को दशकभित्रमा प्रति वर्ष सात अरब अमेरिकी डलर मात्र भए पुग्छ” भनी संयुक्त राष्ट्र बालकोषद्वारा तयार पारेको विश्वका केटाकेटीको अवस्था १९९९—शिक्षा (अंग्रेजी) नामक रिपोर्टमा उल्लेख गरिएको छ। “यो रकम प्रति वर्ष युरोपेलीहरूले बरफमा वा अमेरिकीहरूले श्रृंगार सामग्रीमा गर्ने खर्चभन्दा कम छ।” टाइम्स अफ इन्डिया-अनुसार भारतमा ६६ प्रतिशत पुरुष तथा ३८ प्रतिशत महिलाहरू मात्र साक्षर छन्। महिलाहरूलाई प्राथमिक शिक्षाको निम्ति भर्ना लिइएका ठाउँहरूमा बाल मृत्युदर घटेको छ। त्यस्तो आधारभूत शिक्षाको असरको उदाहरणस्वरूप हामीले भारतको दक्षिणी प्रान्त केरलालाई लिनसक्छौं। त्यहाँ झन्डै ९० प्रतिशत साक्षर छन् र “विकासोन्मुख राष्ट्रहरूमध्ये त्यहाँ बाल मृत्युदर सबैभन्दा कम छ।”
दस प्रमुख संक्रामक रोगहरू
विश्वभरि, संक्रामक रोगहरूको कारण वर्षेनी लाखौं मानिसहरू मर्छन्। प्राकृतिक इतिहास (अंग्रेजी) पत्रिकाअनुसार निम्न सरुवा रोगहरू १९९७ मा सबैभन्दा घातक साबित भए। निमोनियाँ जस्ता श्वासप्रश्वास सम्बन्धी संक्रमणको कारण सबैभन्दा बढी अर्थात् ३७ लाख मानिस मरे। दोस्रो थियो क्षयरोग। यसले गर्दा २९ लाख मानिस मरे। हैजा तथा अन्य झाडापखाला रोगहरू तेस्रोमा थियो। यसले गर्दा २५ लाख मानिसहरू मरे। एड्सले गर्दा २३ लाख मानिसहरू मरे। औलोको कारण १५ देखि २७ लाख मानिसहरू मरे। दादुराले गर्दा ९,६०,००० मानिसहरू मरे। हेपाटाइटिस बी-ले ६,०५,००० मानिसहरू मरे। लहरे खोकीले ४,१०,००० मानिसहरूको ज्यान लियो। अर्को २,७५,००० मानिसहरू धनुष्टंकारले गर्दा मरे। अनि १,४०,००० चाहिं डेंग ज्वरोको कारण मरे। मानिसले सक्दो प्रयास गरे तापनि बिगतका खतरनाक संक्रामक रोगले अहिले पनि विश्वभरि मानिसलाई पिरोलिरहेको छ।
देखावटी पुस्तक प्रदर्शन
तखताभरि टन्न किताब भएका सबै मानिस पढन्ते हुँदैनन्। उदाहरणका लागि, किताब पसले क्रिस म्याथ्युस यस्तो भन्छन्: “मलाई किताबहरू टन्न भएको मन पर्छ तर म विरलै किताबहरू पढ्छु।” म्याथ्युसले अहिले यस समस्याको सजिलो उपाय निकालेका छन्। तिनले आफ्नो साथीसँग मिलेर जर्मनीमा पहिलो देखावटी किताबको पसल खोलेका छन् भनी वेसरकुरियर अखबार रिपोर्ट गर्छ। कला, दर्शन तथा विज्ञान क्षेत्रका झन्डै २,८०० “देखावटी किताबहरू” बिक्रीमा छन्। ती देखावटी किताबहरू विभिन्न डिजाइनमा पाइन्छन्। साधारण गाताको खोलदेखि लिएर उच्चकोटीका टिक जातका काठका खोलहरू समेतमा पाइन्छन्। प्रायः अत्यन्तै महँगो आकर्षक कलाका नक्कल भएका देखावटी किताबहरूको मूल्य जम्मा १० देखि १५ अमेरिकी डलर मात्र छ। म्याथ्युस भन्छन्: “ती किताबहरूको मूल्य विषयवस्तुअनुसार होइन तर साइजअनुसार छ।”
स्वास्थ्यवर्धक भिडियो गेमहरू
“भिडियो गेम” भन्ने नाउँ लिने बित्तिकै थुप्रै मानिसहरूको मनमा हिंस्रक खेलहरू आउँछ। तथापि, “सही प्रकारको गेम खेल्दा मधुमेह र दमका बिरामी केटाकेटीहरूलाई आफ्नो अवस्था नियन्त्रणमा राख्न मदत गर्ने” अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् भनी प्राविधिक पुनरावृत्ति-ले (अंग्रेजी) रिपोर्ट गर्छ। स्टानफोर्ड विश्वविद्यालयको चिकित्सा केन्द्रले ८ देखि १६ वर्षका ६० जना मधुमेह रोगी केटाकेटीहरूको अनुसन्धान गरे। यी केटाकेटीहरूमध्ये आधाले साधारण भिडियो गेम खेले। अर्को आधाले चाहिं प्याकी र मार्लन नाउँ गरेको गेम खेले। त्यस गेममा दुइटा हात्ती हुन्छ र तिनीहरूले खेल्ने मानिसहरूलाई सही खाना छनौट गर्न, रगतमा ग्लुकोजको मात्रा जाँच्न र इन्सुलिन लिन मदत गर्छ। छ महिनाको दौडान अरू सामान्य गेम खेल्ने भन्दा हात्तीको गेम खेल्नेहरूलाई “डाक्टरको सहायता वा आकस्मिक उपचार आवश्यक ७७ प्रतिशत कम भयो” भनी प्राविधिक पुनरावृत्ति-ले (अंग्रेजी) बताउँछ। दम बढ्न नदिने र चुरोट सेवन नगर्ने मदत गर्न पनि त्यस्तै प्रकारका भिडियो गेमहरू रचना गरिएका छन्।
एड्सको बिगबिगी
सहारा मरुभूमिको दक्षिणतिर पर्ने अफ्रिकी भूभागमा गत दशकमा मानिसको आयु छ वर्षले घट्यो र यो अझै घट्ने अनुमान लगाइएको छ। किन यस्तो परिवर्तन? किनभने यहाँका देशहरूमा “एड्सको बिगबिगी भइरहेको छ” भनी द युनेस्को कुरियर रिपोर्ट गर्छ। हाल यस इलाकाको कुल जनसंख्याको दस प्रतिशत एड्स रोगको जीवाणु एच आइ भी-बाट संक्रमित छन्। सबैभन्दा प्रभावित देशहरू बोत्सवाना, मलावी, मोजाम्बिक, नामिबिया, दक्षिण अफ्रिका, जाम्बिया र जिम्बावे हुन्। यसबाहेक, संयुक्त राष्ट्रअनुसार “अफ्रिकामा ५,५०० मानिसहरू प्रत्येक दिन एड्सको कारण मर्ने गर्छन्” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ।