प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ २/८ पृ. ३०-३१
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एन्टीभाइरल चिया
  • सुरुपसुरुप आवाज निकाल्ने विषयमा तर्कवितर्क
  • धूम्रपानको खतरा
  • व्यायामले नैराश्‍य कम गर्न सक्छ
  • रक्सीका खतराहरू
  • मित्रैलो व्यावहारले बिरामीको स्वास्थ्यमा सुधार ल्याउँछ
  • नियमित व्यायाम गर्नुको फाइदा
  • तनाउग्रस्त केटाकेटी
  • फ्रान्समा तीव्र गतिमा कुद्‌ने रेलहरू
  • मलाई मोबाइल फोन चाहिन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ २/८ पृ. ३०-३१

विश्‍वदर्शन

एन्टीभाइरल चिया

प्रयोगशालामा गरिने प्रारम्भिक अध्ययनले देखाएअनुसार “विविध व्यावसायिक चियाहरूले या त कीटाणुहरूलाई निष्क्रिय पार्छ या मार्छ” भनी रोइटर्स हेल्थ इन्फर्मेसनले रिपोर्ट दिन्छ। हर्पीज सिम्प्लेक्स १, २ र टि१ (ब्याक्टेरियल) जस्ता भाइरसहरूद्वारा संक्रमित जनावरहरूका तन्तुहरूमा विभिन्‍न किसिमका हरियो, कालो, तातो र चिसो चियाको असर परीक्षण गरियो। न्यु योर्कस्थित पेस युनिभर्सिटीका अनुसन्धाता डा. मिलटन सिफनबावरका अनुसार, “चिसो वा तातो चियाले केही मिनेटमै [हर्पेस] भाइरसलाई नाश गर्छ वा निष्क्रिय बनाउँछ।” यस्ता चियाले टि१ भाइरसलाई पनि यस्तै असर गर्छ। हुन त यी भाइरसहरूको अस्तित्वमा चियाले गर्ने असरबारे हालसम्म स्पष्ट रूपमा बुझ्न सकिएको छैन। तथापि, अनुसन्धाताहरूले पत्ता लगाएअनुसार चियाको मात्रा घटाउँदासमेत यसको प्रभावकारितामा कुनै कमी आएन। हरियो चियामा भन्दा कालो चियामा एन्टीभाइरल क्षमता बढी भएको पत्ता लगाइयो। (g02 1/8)

सुरुपसुरुप आवाज निकाल्ने विषयमा तर्कवितर्क

सुरुपसुरुप आवाज निकाल्ने कि ननिकाल्ने भन्‍ने कुरा जापानको लोकप्रिय थुक्पा पाइने भोजनालयहरूमा आउने ग्राहकको लागि यो एउटा महत्त्वपूर्ण विषय भएको छ। धेरै अधबैंसे अनि वृद्ध जापानीहरूलाई थुक्पा पाक्नसाथै तातो-तातो झोलसित सुरुपसुरुप आवाज निकालेर खाँदा बढी स्वादिलो हुन्छ जस्तो लाग्छ। तिनीहरूलाई आवाज निकालेर सुरुपसुरुप गर्दै खानु सामान्य लाग्छ र तिनीहरूको विचारमा यसो गर्नु भोजन साँच्चै स्वादिलो छ भनेर देखाउने एउटा तरिका हो। तर थुक्पा खाने काइदाबारे नयाँ जापानी पुस्ताको अर्कै धारणा छ। द जापान टाइम्स यस्तो रिपोर्ट दिन्छ: “युवा जापानीहरू आफ्नो सिल्क टाइ अनि [ख्यातिप्राप्त निर्माताका] लुगाहरूमा झोल नचुहियोस्‌ भन्‍ने कुरामा निकै सतर्क छन्‌। पश्‍चिमी रहन सहन अनि धेरैजसो पश्‍चिमी खाना खाएर हुर्केकाहरू आफ्नो वरिपरि कसैले सुरुपसुरुप आवाज निकालेर खाएको देख्दा रिसाउन सक्छन्‌।” सुरुपसुरुप आवाज निकालेर खानुहुन्छ या हुँदैन भन्‍ने कुरा जापानको पुस्ताअन्तरले जन्माएको विवाद हो, जसले गर्दा सार्वजनिक ठाउँहरूमा थुक्पा खाँदा केही वृद्ध व्यक्‍तिहरू सुरुपसुरुप आवाज आऊलान्‌ कि भनेर अप्ठ्यारो मान्छन्‌। पुरानो पुस्ताको समर्थन गर्दै जापानको एउटा प्रमुख अखबारले यसो भन्दै दुखेसो पोखे: “कसैले पनि सुरुपसुरुप आवाज ननिकाल्दा साँच्चै एक्लो अनुभव हुनेछ।” (g02 1/22)

धूम्रपानको खतरा

“आफूले धूम्रपान नगरे तापनि फोक्सोको क्यान्सरबाट मृत्यु हुने आठ जनामध्ये एक जनालाई अरू व्यक्‍तिले गरेको धूम्रपानको धूवाँले रोग लागेको थियो” भन्‍ने कुरामा जापान राष्ट्रिय क्यान्सर अनुसन्धान केन्द्रका नाओहितो यामागुची पक्का छन्‌। वैज्ञानिकहरूले फोक्सोको क्यान्सरले मृत्यु भएका ५२,००० व्यक्‍तिलाई गरेको अध्ययनमा यो जानकारी आधारित छ। यसको अतिरिक्‍त, आसाही सिमबुन नामक अखबार यसो भन्छ, “लामो समयसम्म गरिएको अध्ययनले देखाएअनुसार विषालु कार्बन मनोअक्साइड र क्यान्सर कारक तत्त्वहरू धूम्रपान गर्ने व्यक्‍तिले निलेको धूवाँमा मात्र होइन तर धूम्रपान गर्ने व्यक्‍तिले छोडेको धूँवामा पनि निकै बढी हुन्छ। सन्‌ १९९९ मा जापानमा १४,००० मानिसहरूसित गरिएको सरकारी अध्ययनबाट पत्ता लागेअनुसार ३५ प्रतिशत मानिसहरू कार्यस्थल वा स्कूलमा र २८ प्रतिशत मानिसहरू घरमा धूम्रपान गर्ने व्यक्‍तिले छोडेको धूवाँका सिकार हुन्छन्‌। यामागुची यसो भन्छन्‌, “धूम्रपान गर्नेहरूले धूम्रपान नगर्ने व्यक्‍तिहरूलाई निकै हानि पुऱ्‍याउने हुँदा धूम्रपान गर्ने र धूम्रपान नगर्ने व्यक्‍तिहरूबीचको दूरी कायम राख्न धूम्रपान गर्ने व्यक्‍तिहरूले सक्दो सजगता अपनाउनुपर्छ।” (g02 1/8)

व्यायामले नैराश्‍य कम गर्न सक्छ

संयुक्‍त राज्य अमेरिकाको ड्युक युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अनुसन्धानबारे टिप्पणी गर्दै हाभर्ड मेन्टल हेल्थ लेटर यसो भन्छ, “केही बिरामीहरूको लागि नैराश्‍यको उपचारमा औषधीभन्दा शारीरिक व्यायाम नै बढी प्रभावकारी हुन सक्छ।” अत्यन्तै निराश भएका जम्मा ५० जना मानिसहरूका तीन समूहलाई चार महिनासम्म फरक-फरक किसिमको उपचार गरियो। एउटा समूहले नैराश्‍य कम गर्ने औषधी सेवन गरे, अर्को समूहले व्यायाम मात्र गरे भने तेस्रो समूहले दुवै गरे। हेल्थ लेटर-को भनाइअनुसार चार महिनापछि तीनै समूहका ६० देखि ७० प्रतिशत बिरामीहरू “निराश नभएको निदान गरियो।” यद्यपि, छ महिनाको निरीक्षण अवधिमा उपचारात्मक व्यायाम गर्न खटाइएका बिरामीहरूको “भावनात्मक अनि शारीरिक दुवै अवस्था ती दुई समूहको भन्दा राम्रो भएको पाइयो; तिनीहरू पुनः निराश हुन सक्ने सम्भावना जम्मा ८ प्रतिशत मात्र थियो। जब कि औषधी लिनेहरू र व्यायाम गर्नुका साथै औषधी सेवन गर्नेहरूमा भने पुनः निरास हुने सम्भावना क्रमशः ३८ र ३१ प्रतिशत थियो।

(g02 1/8)

रक्सीका खतराहरू

बेलाइतको चिकित्सासम्बन्धी पत्रिका द ल्यानसेट यस्तो रिपोर्ट दिन्छ, “हालैका वर्षहरूमा युरोपमा युवा वर्गहरू रक्सीले मात्तिएर चोटपटक लाग्ने, अगंभग अनि मृत्यु हुनेजस्ता घटनाहरू अचाक्ली वृद्धि भइरहेको छ।” संसारमा सबैभन्दा बढी रक्सी खपत हुने युरोपमा हरेक वर्ष रक्सीले ५५,००० युवाहरूको ज्यान लिन्छ। एउटा सर्वेक्षणमा रक्सी पिउने बानीबारे प्रश्‍न सोधिंदा आयरल्याण्ड, ग्रीनल्याण्ड, डेनमार्क, फिनल्याण्ड र बेलाइतका एक तिहाइ विद्यार्थीहरूले गत महिना कम्तीमा पनि तीन पटक आफूहरू रक्सीले मात्तिएको कुरा स्वीकारे। जम्मा ३० वटा युरोपेली मुलुकहरूमा १५ देखि १६ वर्षका १,००,००० विद्यार्थीहरूसित गरिएको सर्वेक्षणअनुसार पोल्याण्ड, लिथुआनिया, स्लोभेनिया र स्लोभाक गणतन्त्रका युवाहरूमा मद्यको खपत निकै बढेको पाइयो। लण्डनको इन्डिपेन्डेन्ट अखबारले रिपोर्ट गरेअनुसार बेलाइतको ब्रिटेन्स रोएल कलेज अफ फिजिशियन यस्तो चेताउनी दिन्छ, “पहिला-पहिला भए धेरै रक्सी पिउने ४०, ५० वर्षका पुरुषहरूमा देखा पर्ने कलेजोको रोग (सिरोसिस) अहिले आएर भर्खर २० वर्ष पुगेका आइमाईहरूमा पनि देखा पर्न थालेका छन्‌। उक्‍त कलेजले “रक्सीलाई बेलाइतको सबैभन्दा खर्चिलो जन स्वास्थ्य समस्या भनी औंल्याए।” (g02 1/22)

मित्रैलो व्यावहारले बिरामीको स्वास्थ्यमा सुधार ल्याउँछ

लण्डनको द टाइम्स यसो भन्छ, “मित्रैलो अनि सान्त्वना दिने डाक्टरहरूले बिरामीको स्वास्थ्य सुधार्न ठूलो योगदान पुऱ्‍याउँछन्‌।” यसै विषयसित सम्बन्धित २५ वटा अध्ययन रिपोर्टहरूको विश्‍लेषण गरिसकेपछि इंगल्याण्डस्थित योर्क, इक्जर्टर र लिड्‌स युनिभर्सिटीका अनुसन्धाताहरू यस्तो निष्कर्षमा पुगे: “अरूको भावनालाई नबुझेर केवल औपचारिक ढंगमा मात्र कुरा गर्ने र स्पष्ट सल्लाह नदिने चिकित्सकहरूभन्दा आफ्ना बिरामीहरूसित न्यानो अनि मित्रैलो सम्बन्ध विकास गर्न प्रयास गर्ने अनि तिनीहरूलाई चाँडै निको हुने दिलासा दिने चिकित्सकहरू बढी प्रभावकारी भएको पाइयो।” स्वीडेनमा गरिएको एउटा अध्ययनअनुसार, “बिरामीहरूलाई चाँडै निको हुने सान्त्वना दिने, प्रश्‍नहरू सोध्न प्रोत्साहित गर्ने अनि बिरामीहरूसित दुई चार मिनेट बढी समय बिताउने डाक्टरहरूले उपचार गरेका बिरामीहरू छिटो निको हुनुका साथै धेरै सन्तुष्ट भएको पाइयो।” (g02 1/22)

नियमित व्यायाम गर्नुको फाइदा

धेरै मानिसहरू बसी-बसी गरिने कार्यालयको कामले गर्दा हुने मोटोपन, हृदयसम्बन्धी रोग र अन्य स्वास्थ्य समस्याहरूबाट बच्न आकलझुकल बेस्सरी व्यायाम गर्छन्‌। यद्यपि, हालैको एउटा अध्ययनले देखाएअनुसार शरीरमा भएका पोषक तत्त्वहरूलाई सही ढंगमा परिचालन गर्न कहिलेकाहीं मात्र बेस्सरी व्यायाम गर्नुको सट्टा ठिक्क तर नियमित तवरमा व्यायाम गर्दा एकदमै राम्रो हुन्छ भनी जर्मनीको सुडोइच जाइटुंग रिपोर्ट गर्छ। डा. क्लास भेस्टर्प नाउँ गरेका डच अनुसन्धाताले ३० जना स्वयम्‌सेवकहरूको मिनेट-मिनेटमा कति शक्‍ति खर्च हुँदो रहेछ भनेर अध्ययन गरे। परिणामले देखाएअनुसार कुनै व्यक्‍तिले “लामो समयसम्मको आफ्नो निष्क्रियतालाई सन्तुलनमा ल्याउन एकै चोटि धेरै क्रियाकलाप गर्नुभन्दा” आफ्नो दैनिक जीवनमा शारीरिक क्रियाकलापको मात्रा बढाउनु बढी प्रभावकारी हुन्छ। रिपोर्ट यस्तो सुझाउ दिन्छ: “उठेको उठ्यै वा बसेको बस्यै मात्र नगर्नुका अलावा यथासक्दो हिंड्‌ने वा साइकल चढ्‌नेजस्ता हल्का व्यायम पनि गरिरहनुपर्छ।” (g02 1/22)

तनाउग्रस्त केटाकेटी

मेक्सिको शहरबाट प्रकाशित हुने एल युनिभर्सल अखबार यसो भन्छ, “अब बाल्यकाल खेल्ने कुद्‌ने, आरामसित बस्ने अनि रमाइलो गर्ने जीवनको सबैभन्दा रमाइलो क्षण रहेन, यी सबै त उहिलेको कुरा भइसक्यो।” अनुसन्धाताहरूको निष्कर्षअनुसार सन्‌ १९५० मा २५ वर्ष पुगेका मानिसलाई जत्ति तनाउ हुन्थ्यो, आज १० वर्षको बच्चाले त्यत्तिकै तनाउ सामना गर्नुपर्छ। अक्सर यस्ता तनाउहरू स्कूलका कक्षाहरू र अन्य क्रियाकलापहरूबाट उत्पन्‍न हुन्छन्‌ र आमाबाबुहरू पनि यस्ता गतिविधिहरूद्वारा छोराछोरीहरूको भविष्य उज्ज्वल हुन्छन्‌ भनी विश्‍वास गर्छन्‌। तर थप बोझले “उसको स्वास्थ्य, आराम अनि उसको विकासमै असर गर्छ” भनी अखबार बताउँछ। रिपोर्टले बताएअनुसार बच्चाहरूले घरमा धेरै समय बिताउन सकोस्‌ भनेर आमाबाबुहरूले बच्चाहरूले के कति काममा समय खर्च गरिरहनुपरेको छ भनी केलाउनुपर्छ। तर स्कूलबाट फर्केपछि केही नगरी वा टिभी वा कम्प्युटरमै मात्र झुन्डिएर बस्नुको सट्टा “अरू बच्चाहरूसित खेल्नु, कुद्‌नु, साइकल चढ्‌नु, दिमाग खियाउनुपर्ने खेलहरू वा चित्र कोर्नु राम्रो हुन्छ।” (g02 1/22)

फ्रान्समा तीव्र गतिमा कुद्‌ने रेलहरू

सन्‌ १८६७ मा पेरिसबाट दक्षिणतिर मेर्सेसम्म रेल यात्रा गर्दा १६ घण्टा भन्दा बढी समय लाग्थ्यो। अनि १९६० को दशकमा पनि यो यात्रा पूरा गर्न साढे सात घण्टा लाग्थ्यो। तर जून २००१ मा फ्रेन्च नेसनल रेलवेजले ती दुइ शहरहरूलाई जोड्‌न बिलकुलै नयाँ अनि तीव्र गतिमा कुद्‌ने रेलहरू सञ्चालन गरे। अब यात्रुहरूले प्रति घण्टा ३०० किलोमिटरका दरले यात्रा गर्न सक्छन्‌ अनि तीन घण्टा भित्रमा ७४० किलोमिटरको दुरी पार गर्न सक्छन्‌। लीयोनको दक्षिणमा पर्ने एउटा रेलमार्गको २५० किलोमिटर मार्गमा ५०० भन्दा धेरै पुलहरू, १७ किलोमिटर लामा आकर्षक पुलहरू पर्छन्‌ र ८ किलोमिटर लामो सुरुङ पनि छन्‌। आवश्‍यक परेमा, “सबै कुरा ठिक्क मिलेको खण्डमा गरेको खण्डमा दुवै दिशाबाट प्रति घण्टा २० वटा रेलहरू कुद्‌न सक्छन्‌,” भनी फ्रान्सेली दैनिक ली मोन्ड टिप्पणी गर्छन्‌। त्यसको अर्थ, प्रत्येक तीन मिनेटमा एउटा रेल कुद्‌न सक्छ। (g02 1/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने