वर्षौंपछि फल फलाएको बीउ
जनवरी ८, १९९९ को “ब्यूँझनुहोस्!”-मा “सात छोराहरू हुर्काउने चुनौती तथा आशिष्हरू” लेखको परिणामस्वरूप निम्न पत्र प्राप्त गरियो।
प्रिय भाइ अनि बहिनी डिक्म्यान,
मैले भर्खरै तपाईंहरूको कथा पढिसिद्धयाएँ र मैले तपाईंहरूलाई पत्र लेख्नुपऱ्यो। वर्षौंअघि नै [१९६०-६१] मिसिसिपिमा हुँदा मैले तपाईंहरूलाई चिनेकी थिएँ। वास्तवमा म तपाईंका छोराहरूसितै स्कूल जान्थें र तपाईंहरूको घरमा पनि बारम्बार आएर तिनीहरूसित खेल्थें। तर मेरो कलिलो हृदयमा गहिरो छाप पार्ने कुराहरू यी थिएनन्। कलिलै छँदा पनि यी केटाहरू आफ्नो मसीही अन्तस्करणको कारणले गर्दा स्कूलमा झन्डा सलामी गर्दैनन् भन्ने कुराले मलाई धेरै प्रभाव पाऱ्यो। हुन त म ग्रान्डभिउ ब्याप्टिस्ट चर्चको सदस्य हुँ तैपनि तपाईंको एउटा छोराले आफ्नो अडानबारे बताउँदा मलाई ठीक लाग्यो।
तिनीहरू मध्ये एक जनाले मलाई प्रमोदवन गुमेदेखिन् प्रमोदवन प्राप्त गरूञ्जेलसम्म (अंग्रेजी)a पुस्तक दिएको हो कि वा मैले नै चोरें, यकिनसाथ भन्न सक्दिनँ। तर मैले पूरै पुस्तक पढें। त्यसबेला मेरोलागि त्यो एउटा राम्रो कथा किताबजस्तो मात्र थियो। वर्षौंसम्म निष्क्रिय रहने बीउ मेरो मनमा रोपिएको छ भन्ने मलाई थाहै थिएन।
सन् १९६४ मा हाम्रो परिवार उत्तरतिर बसाइँ सऱ्यो र म चर्च जान छाडें। धर्ममा पाखण्डपन देख्दा मेरो आस्था नै हरायो। यसकारण, वर्षौंसम्म संगठित धर्मसित मैले कुनै सम्बन्ध राख्न चाहिनँ।
वर्षौंपछि, जीवनको उद्देश्यबारे गम्भीर रूपले सोच्दै जाँदा मलाई सृष्टिकर्तासित सम्बन्ध जोड्ने इच्छा जाग्यो। मलाई धर्ममा पाखण्डपन नभएको सम्बन्ध चाहिएको थियो। वर्षौंअघि रोपिएका सत्यका बीउहरू अहिले अंकुराउँदैछन् भन्ने मलाई थाहै थिएन।
म स्वर्ग जान चाहन्नथें; यही पृथ्वीमा जिउन चाहन्थें। म रातदिन यही सोचिबस्थें। यो ग्रह एउटा रमणीय अद्भुत सृष्टि हो र पनि परमेश्वरले यसलाई किन नाश गर्नुहुने होला भनेर म सोच्थें। येशू परमेश्वर हुनुहुन्छ भनेर पनि म विश्वास गर्दिनथें। यदि उहाँ नै परमेश्वर हुनुहुन्छ भने उहाँको बलिदान झूटो हुनेथ्यो। यस्ता सोचाइ, विचार र विश्वासलाई मैले ब्याप्टिस्ट चर्चमा सिकेका कुराहरूसित मिलान गर्न सकिंदैनथ्यो। यसकारण, मैले भित्र हृदयदेखि प्रार्थना गर्न थालें र यहोवाले चाँडै जवाफ दिनुभयो। केही दिनपछि साक्षीहरू मेरो घरमा आए र बाइबल अध्ययन सुरु गरियो। तपाईंको परिवारसित परिचित भएदेखि मैले अध्ययन गरूञ्जेलसम्म यहोवाका साक्षीहरूसित मेरो कुनै सम्पर्क थिएन। तापनि तपाईंका छोराहरू र सही कुरामा अडान लिने तिनीहरूको साहसप्रति मैले आदर गरी नै रहें। जब मैले अध्ययन सुरु गरें अनि ज्ञान लिन थालें तब मैले सबै कुरा बुझ्न थालें। आफ्नो जीवनमा छाँटकाँट गर्न मलाई डेढ वर्ष लाग्यो। अन्ततः १९७५ मा मैले बप्तिस्मा लिएँ।
हामीले थाह नपाइकन पनि आफ्नो आचरणबाट साक्षी दिनेबारे यसो विचार गर्दा म तपाईंहरूको परिवारलाई सम्झन्छु। राज्यको थुप्रै बीउहरू छर्नु कत्तिको महत्त्वपूर्ण छ किनभने कहिले र कहाँ त्यसले जरा गाड्छ हामीलाई थाह हुँदैन भन्ने कुरा कत्तिको सत्य छ, त्यो पनि मैले आफ्नो अनुभवबाट थाह पाएकी छु।
तपाईंहरू यहोवाका जनहरू मध्ये हुनुभएकोमा र पहिलादेखि नै विश्वासमा बलियो रहनु भएकोमा म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। अनजानमा नै तपाईंहरूले कसैलाई सत्य खोज्न मदत गर्नुभयो। तपाईं र तपाईंका छोराहरूको आचरण र विश्वासले सत्यलाई चहकिलो बनायो। यसरी तपाईंहरूबारे थाह पाउँला वा तपाईंहरूलाई धन्यवाद दिन पाउँला भनेर मैले सोचेकै थिइनँ। फेरि पनि धन्यवाद।
धेरै धेरै मसीही प्रेमसहित,
एल. ओ.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा १९५८ मा प्रकाशित; हाल मुद्रित छैन।