भाग्य वा संयोग?
“भाग्यले गर्दा कतिपयको ज्यान गयो त कतिको जोगियो” भनी इन्टरन्यासनल हेराल्ड ट्रिब्युन-ले बतायो। गत वर्ष केन्या तथा तान्जानियाका अमेरिकी राजदूताबासमा भएको आतंककारी आक्रमणको कारण झन्डै २०० मानिसहरू मरे र अन्य सयौं घाइते भए। तथापि, “भाग्यले गर्दा राजदूताबासका सबैभन्दा वरिष्ठ कूटनीतिज्ञहरू बचे” भनी उक्त अखबारले बतायो।
विस्फोटन भएको ठाउँभन्दा अलि पर एउटा बैठकमा भाग लिइरहेकोले तिनीहरू बचे। तर राजदूताबासका अर्का एक वरिष्ठ अधिकारी विस्फोटन भएको ठाउँ नजिकै भएकोले मरे। तिनी सधैंजसो यो सभामा उपस्थित हुन्थे तर यसपालि भने भएनन्।
“भाग्यले आर्लिन कर्कलाई पनि साथ दिएन” भनी सोही अखबारले बतायो। बिदा मनाएर केन्या फर्कने क्रममा हवाई यात्रुहरूको घुइँचो भएको हुँदा आर्लिनले त्यो दिन नफर्कने विचार गरिन्। तर तिनी अघिका यात्रुहरूले आफ्नो सिट रद्द गरेको हुँदा आर्लिनले सिट पाइन्। फलस्वरूप तिनी राजदूताबासमा विस्फोट भएकै दिनमा पुगिन् र मरिन्।
मानिसलाई विपत्ति आइपर्नु कुनै नौलो कुरा होइन। तर ती विपत्तिहरू हुनुको कारण बुझ्न गाह्रो छ। संसारमा जहाँसुकै किन नहोस्, दुर्घटना तथा अन्य विपत्तिहरू हुँदा कोही मर्छन् त कोही बाँच्छन्। तर विपत्तिको समयमा मात्र मानिसले ‘मलाई नै किन हुनु परेको?’ भनेर प्रश्न गर्ने होइन। जीवनका मीठा घटनाहरू अनुभव गर्ने सन्दर्भमा समेत कसैले अरू कोहीले भन्दा राम्रो मौका पाउँछन्। कति मानिसहरूले जीवनको हरेक मोडमा संघर्ष गर्नुपर्छ भने कतिको निम्ति सबै कुरा ठ्याक्क ठ्याक्क मिलिरहेको हुन्छ। तसर्थ तपाईंले प्रश्न गर्नुहोला, ‘के कतै यी सबै कुराहरूको पहिल्यै योजना बनाइएको त थिएन? के मेरो जीवन भाग्यको वशमा छ?’
जवाफको खोजीमा
झन्डै ३,००० वर्षअघि एक बुद्धिमान् राजाले आफू वरपर अप्रत्याशित घटनाहरू भइरहेको देखे। ती घटनाहरूको कारण तिनले यसो भने: “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) कहिलेकाहीं अप्रत्याशित कुराहरू हुन्छन्। कस्ता घटनाहरू हुनेछ भनेर पहिल्यै बताउने कुनै उपाय छैन। अक्सर राम्रा र नराम्रा घटनाहरू दुवै हुनुमा समयले निर्णायक भूमिका खेल्छ।
तथापि, तपाईं पनि त्यो केवल संयोगको कुरा हो नभनी भाग्यको खेल हो भन्ने विचार राख्नुहुन्छ होला। सबैभन्दा पुरानो र संसारभरिका मानिसहरूको धार्मिक विश्वासमध्ये एउटा भाग्य पनि हो। पेरिस विश्वविद्यालयमा मिथ्यावादी अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक फ्राँस्वाँ झ्वाँ भन्छन्, “हाम्रो मानव अस्तित्वबारे चित्तबुझ्दो जवाफ पाउन . . . भाग्यलाई आफ्नो वशमा राख्ने अलौकिक शक्तिमा विश्वास नराखेको कुनै युग वा सभ्यता छैन।” त्यसैकारण त मानिसहरूले यसो भनेको हामी सुन्ने गर्छौं: “उसको काल आइपुगेको रहेनछ” वा “कर्ममा त्यस्तै लेखिएको रहेछ।” तर वास्तवमा भाग्य भनेको के हो?
भाग्यको परिभाषा
भाग्य बुझाउने अंग्रेजी शब्द “फेट” ल्याटिन भाषाको फाटुम-बाट लिइएको हो। त्यसको अर्थ हो “भविष्यसूचक घोषणा, देववाणी, दैवीय अठोट।” कहिलेकाहीं कुनै कारणैबिना भएका घटनाहरूले भविष्य निर्धारण गर्छन् र यस्तो अवस्थामा भगवानकै काम हो भन्ने विश्वास गरिन्छ।
धर्मका इतिहासकार हेल्मर रिंग्रेन भन्छन्: “धार्मिक विश्वासको एउटा महत्त्वपूर्ण पक्ष, कुनै घटना वास्तविकतामा परिणत गर्ने शक्ति हुन्छ भन्ने हो।” घटनालाई केही हदसम्म आफ्नो नियन्त्रणमा राख्न सके तापनि थुप्रै मानिसहरूले आफ्नो जीवनलाई बुद्धिचालको खेलमा निस्सहाय सिपाहीहरू जस्तो ठान्छन्। यसरी तिनीहरू सबै कुरा ‘भाग्यमै’ छोडिदिन्छन्।
धर्मविज्ञानी तथा दर्शनशास्त्रीहरूले लामो समयदेखि भाग्य बुझाउने प्रयास गरेका छन्। धर्मको इन्साइक्लोपीडिया (अंग्रेजी) भन्छ: “मानिसहरूको भाग्यबारे भाषिक वा अन्य किसिमका विभिन्न विचारधारा भए तापनि यो मुख्यतया रहस्यमय छ।” यो विभिन्न विचारधाराहरूमा एउटा साझा कुरा के पाइन्छ भने मानिस एउटा उच्च शक्तिको नियन्त्रणमा छ र त्यसले हरेक मामिला आफ्नो वशमा पारेको हुन्छ। त्यही शक्तिले मानिस तथा राष्ट्रहरूको भविष्य पूर्वनिर्धारण गर्छ र अतीतजस्तै भविष्य पनि आफ्नो वशमा हुँदैन भन्ने विश्वास गरिन्छ।
निर्णायक तत्त्व
तपाईंले भाग्यमा विश्वास गर्नु, नगर्नुले के कुनै फरक पर्छ? “मानिसले आफ्नो व्यक्तिगत परिस्थितिको आधारमा जीवनबारे एउटा धारणा बनाउँछ भने अर्कोतिर यही दृष्टिकोणले परिस्थितिलाई विभिन्न मोड दिन्छ” भनी अंग्रेजी दार्शनिक बरट्रान्ड रसलले बताए।
भाग्य भन्ने कुरा साँच्चै होस् या नहोस्, भाग्यमाथि विश्वासले हाम्रो गतिविधिमा फरक पार्नसक्छ। परिस्थिति जस्तै अन्यायी वा दमनकारी भए तापनि थुप्रै मानिसहरू परमेश्वरको इच्छा नै यस्तै रहेछ भनी विश्वास गर्दै लाचार भएर चुपो लागेर बस्छन्। तसर्थ, भाग्यमा विश्वास गर्दा आफू कुनै पनि कुराप्रति त्यतिको जवाफदेही हुनु पर्दैन।
अर्कोतर्फ, भाग्यमाथि विश्वासले मानिसहरूलाई अर्कै पक्षमा पनि उत्प्रेरित गरेको छ। उदाहरणका लागि, इतिहासकारहरूले पुँजीवाद र औद्योगिक प्रगति हुनुमा विभिन्न कारणहरू औंल्याउँछन्। त्यसमध्ये एउटा पूर्वनिर्धारित भविष्यमा विश्वास पनि हो। केही प्रोटेस्टेन्टहरूले सिकाएअनुसार क-कसले मुक्ति पाउने छन् भनी परमेश्वरले पूर्वनिर्धारण गरिसक्नुभएको हुन्छ। जर्मन समाजशास्त्री माक्स वेबर भन्छन्: “के म पनि मुक्तिको निम्ति चुनिएको छु, भन्ने प्रश्न हरेक विश्वासीको मनमा कुनै न कुनै समय उठेकै हुन्छ।” व्यक्तिविशेषहरूले परमेश्वरको आशिष् पाएको छ कि छैन र मुक्ति पाउने हो या होइन भनी पत्ता लाउन खोजे। तिनीहरूले त्यो “भौतिक गतिविधिद्वारा” गरे भनी वेबरले तर्क गरे। व्यापारिक सफलता तथा धन आर्जन गर्न सक्नुमा परमेश्वरको अनुग्रह पाएको चिह्नको रूपमा लिइन्थ्यो।
भाग्यमा विश्वासको कारण कतिपय मानिसहरूले उग्रवादी कदम चाल्छन्। दोस्रो विश्वयुद्धमा जापानी आत्मघाती विमानचालकहरूले कामिकाजी वा “ईश्वरीय बतास”-मा विश्वास गर्थे। परमेश्वरको उद्देश्य छ र उहाँको उद्देश्यमा हामीले आफ्नो भूमिका निर्वाह गर्नसक्छौं भन्ने विचारले झनै उग्र रूप लियो र धार्मिक आभास दियो। बिगतका दशकहरूमा मध्यपूर्वका आत्मघाती विस्फोटकहरूले गरेको भयानक आक्रमण शीर्षसमाचारहरू बन्यो। “धर्मबाट प्रेरित आत्मघाती आक्रमणहरूमा” भाग्यवादले निर्णायक भूमिका निर्वाह गर्छ भनी इनसाइक्लोपीडिया बताउँछ।
भाग्यमा यस्तो व्यापक विश्वास हुनुको कारण के हो? यसको सुरुआतबारे छोटकरीमा जवाफ पाउनसक्छौं।