विश्वदर्शन
ध्वनिका असरहरू
भारतको जनसंख्या झन्डै एक अरब पुग्न लागेको छ। भारतको चन्डीगढस्थित पोस्ट ग्य्राजुएट संस्थाका प्राध्यापक डा. एस. बि. एस मनअनुसार हरेक १० जना मानिसमा १ जना वा झन्डै दस करोड व्यक्तिहरू कुनै न कुनै प्रकारको श्रवण समस्याले पीडित छन्। भारतको नाक, कान, घाँटी विशेषज्ञहरूको संस्थाको वार्षिक सम्मेलनको सुरुमा बोल्दै डा. मनले यस स्वास्थ्य समस्याको मुख्य कारण गाडीको हर्न, इन्जिन, मेसिन तथा हवाईजहाजबाट हुने ध्वनि प्रदूषण हुन् भने। यस समस्याको अर्को मुख्य कारण चाडपर्वको समयमा अत्यन्तै लोकप्रिय पटाकाहरू पनि हुन् भनेर बताए। उदाहरणका लागि, दशैंको समयमा देशभरि नै समाजका दुष्ट शक्तिहरू प्रतिनिधित्व गर्ने ठूलठूला हिन्दू पौराणिक मूर्तिहरू बनाइन्छ। अनि ती मूर्तिहरूमा थुप्रै पटाकाहरू राखेर पड्काइन्छ र यसबाट अत्यन्तै चर्को आवाज निस्कन्छ। यसपछि पाँच दिने दीपावली चाड हुन्छ र यतिबेला पनि लाखौं पटाकाहरू पड्काइन्छ।
चासो दिने बुबाका छोराहरू खुसी हुन्छन्
छोराको पीरमर्का, स्कूल कार्य र सामाजिक जीवनमा व्यक्तिगत चासो देखाउने बुबाका छोराहरू “आत्मविश्वास तथा आशाले भरिएका जागरूक र सकारात्मक मनोवृत्ति राख्ने जवानहरू” हुन्छन् भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। भोलिका पुरुषहरू नामक एउटा परियोजनाले सञ्चालन गरेको १३ वर्षदेखि १९ वर्षका १,५०० केटाहरूको अध्ययनअनुसार बुबाले समय बिताउनुका साथै तिनीहरूको प्रगतिमा सक्रिय चासो लिने ९० प्रतिशतभन्दा बढी केटाहरूले “उच्च आत्मसम्मान, आनन्द र आत्मविश्वास” देखाए। त्यसको विपरीत आफ्नो बुबाले विरलै वा पटक्कै चासो देखाउँदैनन् भन्ने ७२ प्रतिशत केटाहरूको “आत्मसम्मान र विश्वास अत्यन्तै कम हुनुका साथै उदास हुने, स्कूल जान मन नपराउने र प्रहरीको पक्राउमा पर्ने” सम्भावना धेरै हुन्छ। भोलिका पुरुषहरू परियोजनाका आड्रियन काट्जले बुबाले छोरासित धेरै समय बिताउनुपर्छ भन्ने छैन भनेर टिप्पणी गरिन्। तिनी भन्छिन्: “महत्त्वपूर्ण कुरा हो, बच्चाले आफ्नो आवश्यकता महसुस गरेको आफूलाई माया गरेको र अरूले आफ्नो कुरा सुनेको महसुस हुनुपर्छ।”
सिरकमुनि पढ्ने बानी
सिरकमुनि मधुरो प्रकाशमा पढ्दा बच्चाको आँखामा नराम्रो प्रभाव पर्नसक्छ भनी जर्मनको स्वास्थ्यसम्बन्धी समाचारपत्रिका अपोटोकेन ऊमशाउ बताउँछ। टुबिनजेन विश्वविद्यालयले गरेको कुखुराहरूको अध्ययनअनुसार दृष्टिमा अलिकति मात्र खराबी र प्रकाश मधुरो हुँदा आँखाको नानीलाई असर गरेको देखियो। बच्चाले सिरकमुनि पढ्दा यो दुइटै असर पर्छ: किताब असाध्यै नजिक राखेर र त्यो पनि मधुरो प्रकाशमा पढ्दा आँखाले स्पष्ट देख्न सक्दैन। “केटाकेटीहरूका थुप्रै पुस्ताहरूले आफ्नो मनपर्ने कथा किताबहरू सिरकमुनि पढेका छन् र यसो गरेर तिनीहरूले साहित्यिक शिक्षाको निम्ति मात्र होइन तर टाढाको वस्तु राम्रोसित नदेख्ने आँखाको कमजोरीको पनि जग बसालेका छन्” भनी समाचारपत्रिकाले बताउँछ।
बाफले चल्ने रेलगाडीहरूको पुनः प्रयोग?
रेलगाडीका प्रेमीहरू अतीतका ती बाफले चल्ने प्रभावकारी रेलहरूको सम्झना गर्छन्। सुस्त गतिमा चल्ने र अत्यन्तै प्रदूषणयुक्त भएकोले ती पुराना इन्जिनहरू पूर्णतया बन्द हुने अवस्थामा पुगे तापनि यी साधनहरूको उज्ज्वल भविष्य छ भनी बाफले चल्ने सवारीसाधन उद्योगमा कार्यरत् इन्जिनियर रजर भालर भन्छन्। तिनको कम्पनीको आठवटा बाफले चल्ने कग रेलहरू आल्पस् पर्वतमा चलाउन थालिएको छ भनी बर्लिनर जाइटुंग रिपोर्ट गर्छ र भालरले हालै अन्य रेलहरू चल्ने ठाउँमा चलाउन मिल्नेगरी केही काँटछाँट गरेका छन्। यो रेलगाडीले कोइलाको सट्टा इन्धनको लागि पेट्रोल प्रयोग गर्छ र फलतः प्रदूषण कम हुन्छ। घर्षण कम गर्न रोलर बेरिङ चलाइनुका साथै उर्जा बचाउन राम्रो इन्सुलेसन प्रयोग गरिन्छ र धेरै तातिंदैन। भालर भन्छन्, “यसको प्रयोग सस्तो हुनुका साथै डिजेल रेलगाडीले जत्तिको वातावरणमा प्रतिकूल असर पार्दैन।”
मुस्काउन सिक्ने
ग्राहकहरूलाई राम्रो सेवा पुऱ्याउने भनी नाउँ कहलिएको जापानमा, थुप्रै कम्पनीहरूले “आफ्ना कर्मचारीहरूलाई अझ बढी कसरी मित्रैलो हुने भनी सिक्न स्कूलहरूमा पठाइरहेका छन्” भनी आशाही इभनिङ न्युज रिपोर्ट गर्छ। “कम्पनीहरूले आर्थिक मन्दीको समयमा पनि आफ्नो सरसामान बिक्री गर्ने सस्तो र प्रभावकारी माध्यम हँसिलो मुस्कान दिनु हो भन्छन्।” एउटा स्कूलमा विद्यार्थीहरू ऐनाअगाडी बसेर “सबैभन्दा राम्रो” मुस्कान दिने अभ्यास गर्छन्। तिनीहरूलाई आफूले सबैभन्दा माया गर्ने मान्छे सम्झेर मुस्काउन सिकाइन्छ। शिक्षकहरूले विद्यार्थीहरूलाई तनाउ मुक्त भएर स्वाभाविक मुस्काउन दिन मदत दिन्छन्। स्कूलबाहेक केही कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई फास्टफूड रेस्टुराँमा अर्डरहरू लिने ठाउँमा काम गर्न पठाउँछन् किनभने त्यहाँ तिनीहरूलाई हाँसिरहन सिकाइन्छ। हाँस्दा व्यापार बढ्छ त? त्यस अखबारअनुसार आफ्ना ३,००० कर्मचारीहरूलाई हाँस्ने कोर्समा पठाएको सिंगार कम्पनीको त्यस वर्ष २० प्रतिशत बढी बिक्री भयो। एउटी कर्मचारीले आफ्नो कार्यस्थलको वातावरण पनि राम्रो भएको बताइन्। तिनी भन्छिन्, “हाकिमको अनुहारमा पनि मुस्कान देख्दा काम गर्न सजिलो हुन्छ।”
चाँडै रोग निदान हुँदा जीवन बच्छ
“क्यान्सरको उपचार गर्न र यसको सामना गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा सुरुमै रोग निदान गर्नु हो” भनी टाइम्स अफ जाम्बिया रिपोर्ट गर्छ। दुःखको कुरा, अफ्रिकाको केही भागमा रोग सुरुमै निदान गरेर उपचार नगरेको कारण असंख्य मानिसहरू क्यान्सरको कारण मर्छन्। आइमाईहरूमा सबैभन्दा सामान्य प्रकारको क्यान्सर पाठेघर र स्तनको हो। पुरुषहरूमा चाहिं प्रोस्टेट ग्रन्थी र पेटको क्यान्सर हुने गर्छ। त्यसकारण, जाम्बियाको केन्द्रीय स्वास्थ्य समितिले मानिसहरूलाई अस्पतालहरूमा गएर क्यान्सर परीक्षण गर्ने सुझाउ दिइरहेको छ। टाइम्स-अनुसार रोग चाँडै निदान भएको खण्डमा “बिरामी र तिनको परिवार दुवैको निम्ति पीडा र वेदना कम हुन्छ। साथै, डाक्टरले समयमै उपचार गर्नसक्छन्।”
युरोपमा घट्दो जन्मदर
“गत वर्ष युरोपियन युनियनमा जन्मदर, दोस्रो विश्वयुद्ध यताको संख्यामा सबैभन्दा कम भएको पाइयो” भनी सुडोइच जाइटुंग बताउँछ। युरोपियन युनियनको तथ्यांक विभाग, युरोस्ट्याटअनुसार १९९८ मा लगभग चालीस लाख बच्चाहरू जन्मिए। सन् १९६० को दशकको बीचतिर भने वर्षेनी ६० लाख बच्चाहरू जन्मिन्थे। युरोपियन युनियनका सदस्य राष्ट्रहरूमा औसतन प्रति वर्ष १,००० मानिसमा १०.७ बच्चाहरू जन्मिन्छन्। कुन राष्ट्रको सबैभन्दा कम जन्मदर छ? इटाली। यहाँ रोमन क्याथोलिक चर्चले परिवार नियोजनको कडा विरोध गरे तापनि जन्मदर सबैभन्दा कम छ। त्यहाँ १,००० नागरिकमा जन्मदर ९.२ मात्र छ। आयरल्याण्डमा सबैभन्दा धेरै जन्मदर छ। त्यहाँ १,००० मानिसहरूमा १४.१ बच्चाहरू जन्मिन्छन्।
अपहेलित मुटुहरू
“आफ्नो स्वास्थ्य राम्रो राख्न कदम चाल्नुका सट्टा क्यानाडाका महिलाहरूले आफ्नो मुटुको स्याहारै गर्दैनन्” भनी द नेशनल पोस्ट अखबारले बताउँछ। क्यानाडाको मुटु र पक्षाघात केन्द्रद्वारा प्रायोजित, हालै ४५ देखि ७४ वर्ष बीचका ४०० क्यानेडियाली महिलाहरूमा गरिएको सर्वेक्षणमा “३० प्रतिशतले मात्र आफ्नो वजनको ख्याल राखेको, ३६ प्रतिशतको मात्र शारीरिक अवस्था तन्दुरुस्त भएको पाइयो भने ७४ प्रतिशत महिलाहरू थुप्रै भूमिका निभाउनुपर्ने भएकाले तनाउग्रस्त थिए।” फाउन्डेसनका प्रवक्ता एलिसा फ्रिम्यानले अन्तमा यसो भनिन् “महिलाहरूले आफ्नो स्वास्थ्यको भन्दा आफ्ना पतिहरूको वर्षेनी राम्रो हेरचाह गरिरहेका छन्।” रिपोर्टअनुसार “४० प्रतिशत अर्थात् ४१,००० महिलाहरूको मृत्यु मुटुसम्बन्धी रोग तथा मस्तिष्कघातको कारण हुने गर्छ।”
सँगै भोजन गर्ने
थुप्रै देशका आमाबाबुहरू आफ्ना छोराछोरीहरूसँगै बसेर घरमै नखाई बजारी खानेकुराहरू रुचाउँछन् भनी गुनासो गर्छन्। तर फ्रान्सको कुरा बेग्लै छ। फ्रान्सिसी अखबार ला क्रा-अनुसार फ्रान्समा ८४ प्रतिशत परिवारहरू बेलुका सँगै बसेर भोजन गर्ने गर्छन्। वास्तवमा, त्यस अध्ययनले १२ देखि १९ वर्षका ९५ प्रतिशतले परिवारसँगै बसेर भोजन गर्दा परिवारको वातावरण सकारात्मक भएको पाए। सपरिवार सँगै बसेर भोजन गर्ने महत्त्वलाई विशेषज्ञहरू जोड दिन्छन्। फ्रान्सको स्वास्थ्य शिक्षा केन्द्रका डा. फाँस्वा बोड्या यस्तो टिप्पणी गर्छन्: “सँगै भोजन गर्नु भनेको खाने समय मात्र होइन तर विशेष गरी विचार आदानप्रदान गर्ने समय हो।”
हैजाको घातक प्रकोप
जाम्बियाको लुसाकामा फेब्रुअरी महिनामा घातक हैजा फैलिंदा त्यहाँको नगर परिषद्ले “बाटोमा खानेकुरा बेच्न” निषेध गर्न बाध्य भए भनी टाइम्स अफ जाम्बिया रिपोर्ट गर्छ। यसबाहेक, “राजधानीमा मृत्युको संख्या ४२ पुगेपछि” होटेल तथा रेस्टुराँहरू पनि “२४ घण्टे निगरानीमा राखियो” भनी रिपोर्टले बताउँछ। यो रोग “देशको अन्य भागमा पनि सर्न थालेकोले” स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरे। यो समस्या समाधान गर्न शिक्षा तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले फोहर जम्मा गर्न अझ धेरै मानिसहरू भाडामा लिए र छिट्टै संक्रमण हुने इनारका पानीहरूमा क्लोरिन छर्न लगाए। लुसाका नगर परिषद्का प्रवक्ता डानिएल मोस्काले यसो भने: “हाम्रो लक्ष्य हैजाको प्रकोपलाई कम गर्नु हो।”