युद्ध, एक दुःखद् घटना
बेलाइतको लन्डनस्थित इम्पेरियल युद्ध संग्रहालयमा आगन्तुकहरू एउटा अनौठो घडी तथा डिजिटल गणक देखेर छक्क पर्छन्। यो समय देखाउने अरू सामान्य घडीजस्तो होइन। यसको उद्देश्य मानिसहरूलाई यस शताब्दीको प्रमुख पक्ष अर्थात् युद्धको व्यापकता बुझाउनु हो। जसै घडीको सुई घुम्छ, प्रत्येक ३.३१ सेकेण्डमा कुल संख्यामा एउटा संख्या थपिन्छ। प्रत्येक संख्याले यस २० औं शताब्दीको दौडान युद्धको कारण मरेका पुरुष, स्त्री वा बच्चालाई जनाउँछ।
त्यस गणक १९८९ जून महिनादेखि सञ्चालन गरिएको हो। डिसेम्बर ३१, १९९९ को मध्यरातमा गणना पूरा हुनेछ। त्यतिञ्जेल गणकले दश करोडको गणना गरिसकेको हुन्छ र यो विगत १०० वर्षभित्र युद्धमा मारिएकाहरूको संख्याको अनुमान हो।
कल्पना गर्नुहोस्, दस करोड मानिसहरू! यो संख्या बेलाइतको कुल जनसंख्याको दोब्बरभन्दा बढी हो। यद्यपि, उक्त तथ्यांकले युद्धका सिकार भएका मानिसहरूले भोग्नुपरेको त्रास र पीडाबारे केही पनि बताउँदैन। नत यसले मृतकका प्रिय जनहरू अर्थात् ती असंख्य आमाबाबु, दाजुभाइ दिदीबहिनी, विधवा र अनाथहरूले भोग्नुपरेको वेदनाबारे नै केही बताउँछ। तर उक्त तथ्यांकले बताउने एउटा कुरा हो: यस शताब्दी मानव इतिहासमा सबैभन्दा विनाशकारी साबित भएको छ; यस शताब्दीको क्रूरता अतुलनीय छ।
यस २० औं शताब्दीको इतिहासले मानिसहरू कुन हदसम्म मार्ने कलामा पोख्त भएका छन् भनेर पनि देखाउँछ। इतिहास केलाउँदा नयाँ हतियारहरूको विकास मन्द गतिमा भइरहेको थियो। तर २० औं शताब्दीको थालनी सँगसँगै अहिले नयाँ हतियारहरूको छेलोखेलो भएको छ। सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु हुँदा युरोपको सैन्यदल भाला बोकेर घोडमा सवार हुन्थ्यो। आज भू-उपग्रह उपकरण र कम्प्युटरद्वारा निर्देशन दिने प्रणालीको मदत लिएर पृथ्वीको कुनै पनि भागमा विनाशकारी क्षेप्यास्त्र ठ्याक्क निशानामै प्रहार गर्न सकिन्छ। हालका वर्षहरूमा झन् झनै अत्याधुनिक बन्दुक, सैन्यट्यांकर, पनडुब्बी, लडाकू विमान, जैविक तथा रासायनिक हतियारहरू बनेका छन् र “बमहरू” त छँदै छन्।
हाँस उठ्दो कुरा के छ भने, मानिसजाति युद्धको खेलमा यति पोख्त भएको छ कि मानिसले अब यससित खेलवाड गर्न सक्दैन। आफैले सृजना गरेको राक्षसको हातबाट मृत्यु भोग्नुपरेको फ्रांकेन्सटायनको कथामा जस्तै युद्धले पनि आफूलाई त्यत्रो शक्ति दिने मानिसहरूलाई नै नाश गर्ने खतरा सृजना गरेको छ। के यो राक्षसलाई नियन्त्रणमा राख्न वा खतम पार्न सकिएला? यो प्रश्नको जवाफ अर्को लेखमा छलफल गरिनेछ।
[पृष्ठ ३-मा भएको चित्रको स्रोतहरू]
U.S. National Archives photo
U.S. Coast Guard photo
साभार: Imperial War Museum