प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १०/८ पृ. १५-१७
  • अन्यायको सिकार हुँदा के गर्ने होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्यायको सिकार हुँदा के गर्ने होला?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तीतोपना तथा क्रोधका भावनाहरू हटाउने
  • अन्यायको अन्त
  • मदत तथा समर्थन पाउने
  • आफूले वा अरूले अन्याय भोग्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • अन्याय-अत्याचार भोग्नुपर्दा हामी के गर्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • अत्याचार बारे के परमेश्‍वरले कहिले केही गर्नु हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १०/८ पृ. १५-१७

युवा जनहरू सोध्छन्‌ . . .

अन्यायको सिकार हुँदा के गर्ने होला?

“पैसावालहरूको मात्र आदर गरिन्छ अनि खाना खान केही नभएको वा टाउको बिसाउन ठाउँसमेत नभएको हामीजस्ताहरूप्रति पशुलाई जस्तो व्यवहार गरिन्छ। भविष्यमा पनि हालत के होला र? मेरो मृत्यु हुँदा पनि कसैले मतलब राख्ने छैन।”—आर्नुल्फो, घरबारविहीन १५ वर्षीय केटो।

आज संसारमा अन्याय व्याप्त छ। संयुक्‍त राष्ट्र संघीय बाल कोष-को (युनिसेफ) रिपोर्टले यसो भन्यो: “गत दशकमा २० लाखभन्दा बढी केटाकेटीहरू युद्धको दौडान मारिए भने ४० लाखभन्दा बढीको अंगभंग भयो र १० लाखभन्दा बढी युद्धको कारण अनाथ भए वा आफ्नो परिवारबाट बिछोडिए।” विश्‍व जनसंख्याको अधिकांश मानिसहरू भोक र गरिबीको चपेटामा परेका छन्‌ भने अर्कोतिर एकदमै सम्पन्‍न मानिसहरू पनि छन्‌। अल्पविकसित राष्ट्रहरूमा आर्नुल्फोजस्ता थुप्रै केटाकेटीले पढ्‌ने मौका समेत पाउँदैनन्‌।

विशेष गरी तपाईंले माया तथा सुरक्षा पाउने आशा गरेका मानिसहरूको हातबाट अन्याय भोग्नुपर्दा पीडादायी हुन्छ। उदाहरणका लागि, सुजाना नाउँ गरेकी १७ वर्षीया किशोरीलाई लिनुहोस्‌। उनको आमाले उनी र उनका दुई भाइहरूलाई अलपत्र छोडेर हिंडिन्‌। सुजाना एकदमै कटु भाव राख्दै यसो भन्छिन्‌: “वर्षौं बितिसक्यो र हामी एउटै शहरमा भए तापनि आमाले मलाई एक चोटि पनि उहाँसित बस्न बोलाउनुभएको छैन। अरू त के कुरा, उहाँले मलाई ‘म तिमीलाई माया गर्छु’ समेत भन्‍नुभएको छैन। यसैकारण मेरो उहाँप्रतिको रिस अझै मरेको छैन।” त्यस्तो दुर्व्यवहारको सिकार हुँदा आफ्नो रिस नियन्त्रणमा राख्न गाह्रो हुन्छ। बाल्यावस्थामा यौन दुराचारको सिकार भएकी एक महिला भन्छिन्‌: “परमेश्‍वरप्रति पनि मेरो मनमा नकारात्मक भावनाहरू आउँछन्‌।”

तपाईं दुर्व्यवहारको सिकार हुनुभएको छ भने चित्त दुख्नु र रिस उठ्‌नु स्वाभाविक हो। बाइबल यसो भन्छ: “छल [“शोषण,” NW] गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) दिनहुँ अन्याय भोग्नुपर्दा पनि तपाईं निराशित हुन सक्नुहुन्छ। (भजन ४३:२ तुलना गर्नुहोस्‌।) तसर्थ तपाईं अन्यायको अन्त होस्‌ भन्‍ने चाहना गर्नुहुन्छ होला। मध्य अमेरिकाकी एक युवती यसो भन्छिन्‌: “म १३ वर्षको हुँदा एउटा विद्यार्थी संघको सदस्य भएँ। मेरो चाहना केटाकेटीहरू कहिल्यै भोको नहून्‌ भन्‍ने थियो। . . . पछि मैले सशस्त्र भिडन्तहरूमा भाग लिन थालें।” तथापि, न्याय पाउनुको सट्टा तिनले आफ्ना सँगी सेनाहरूको हातबाट भोग्नुपरेको दुर्व्यवहार बयान गरेर साध्यै छैन।

यस्ता घटनाहरूले के देखाउँछन्‌ भने अधिकांश मानिसहरू आफ्नो अवस्था सुधार्न निस्सहाय छन्‌। त्यसोभए अन्यायका सिकार भएकाहरूले के गर्नसक्छन्‌ त?a तपाईंले महसुस गर्ने तीतोपना तथा क्रोधका भावनाहरू कसरी हटाउन सक्नुहुन्छ?

तीतोपना तथा क्रोधका भावनाहरू हटाउने

हामी यस रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं भनी तपाईंले बारम्बार आफूलाई सम्झाउनुपर्छ होला। वर्तमान समयमा मानिसहरू “स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती” हुनेछन्‌ भनी बाइबलले भविष्यवाणी गरेको छ। (२ तिमोथी ३:१-४) थुप्रैले “आफैलाई कामोद्दीपनामा” सुम्पिदिएका छन्‌। (एफिसी ४:१९) अतः वर्तमान जीवनमा अन्यायबाट छुटकारा पाउन सकिंदैन। त्यसैले “यदि तैंले कुनै प्रान्तमा गरीबको अत्याचार भएको औ त्यसको अधिकारी र न्याय इन्कार भएको देखिस्‌ भने जे भइरहेको छ त्यसमा अचम्म नमान्‌।”—उपदेशक ५:८.

अतः बाइबलले बढी क्रोधित नहुन चेताउनी दिनुको पछाडि असल कारण छ। उदाहरणका लागि बाइबल यसो भन्छ: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, . . . तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) किन? किनभने लामो समयसम्म क्रोधित रहँदा आफैलाई बिगार गर्नुका साथै हानिकारक हुन्छ। (हितोपदेश १४:३०; एफिसी ४:२६, २७ तुलना गर्नुहोस्‌।) “परमप्रभुको विरुद्धमा असन्तोष” हुन थाल्नुभयो भने विशेष गरी हानिकारक हुन्छ। (हितोपदेश १९:३) परमेश्‍वरसित क्रोधित हुँदा आफैलाई नराम्रो हुन्छ किनभने उहाँले नै हामीलाई सबैभन्दा धेरै मदत गर्न सक्नुहुन्छ। “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ” भनी बाइबल बताउँछ।—२ इतिहास १६:९.

बाइबलले यहोवाबारे यसो पनि भन्छ: “उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) आदम र हव्वाको विद्रोहको कारण संसारमा अन्याय व्याप्त भयो। (उपदेशक ७:२९) परमेश्‍वरले होइन तर “मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” भएको छ। (उपदेशक ८:९) अनि यो कुरा पनि स्मरण रहोस्‌, “सारा संसार त्यस दुष्ट” अथवा शैतान अर्थात्‌ दियाबलको “अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) संसारमा व्याप्त अन्यायको निम्ति यहोवा होइन तर शैतान दोषी छ।

अन्यायको अन्त

तर आनन्दको कुरा अन्याय सधैंभरि रहिरहने छैन। यो कुरा मनमा राख्दा पनि तपाईंले अन्यायको सामना गर्न निकै मदत पाउन सक्नुहुन्छ। उदाहरणका लागि बाइबल समयका एक व्यक्‍ति आसापलाई लिनुहोस्‌। यहोवालाई सेवा गर्ने दाबी गरेका मानिसहरूमाझ बसे तापनि चारैतिर अन्याय व्याप्त थियो। अरूमाथि दुर्व्यवहार गर्ने मानिसहरूलाई सजाय दिनुको सट्टा क्रूर मानिसहरू आनन्दसाथ विलासी जीवन बिताइरहेका थिए! आसाप यस्तो मानि लिन्छन्‌: “दुष्टहरूको उन्‍नति देख्ता . . . म डाही भएको थिएँ।” त्यस्ता कुराहरू मनमा खेलाइरहँदा आसापले केही समयको निम्ति आफ्नो सन्तुलन गुमाए।—भजन ७३:१-१२.

समयमा आसापले कुरा राम्ररी बुझे। तिनले दुष्टहरूबारे यसो भने: “निश्‍चय तपाईं [परमेश्‍वरले] तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फाल्नुहुन्छ।” (भजन ७३:१६-१९) हो, अन्ततः मानिसहरू आफूले गरेको दुष्टताबाट मुक्‍त हुन सक्दैनन्‌ भनी आसापले बुझे। अक्सर तिनीहरूको गलत कार्य थाह पाइन्छ र तिनीहरू कैदमा पर्नेछन्‌, आर्थिक क्षति, जागिर वा आफ्नो ओहदा गुमाउनुपर्ने हुन्छ। परमेश्‍वरले यस दुष्ट रीतिरिवाजमाथि न्यायदण्ड दिनुहुँदा दुष्टहरूलाई “सर्वनाशमा फाल्नुहुन्छ।”—भजन १०:१५, १७, १८; ३७:९-११.

चाँडै नै परमेश्‍वरले यी सबै समस्याहरू हटाउनुहुनेछ भनी थाह पाउँदा आफ्नो रिस तथा क्रोध नियन्त्रणमा राख्न मदत पाउनुहुनेछ। बाइबलले यस्तो सल्लाह दिन्छ: “कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”—रोमी १२:१७-१९; तुलना गर्नुहोस्‌ १ पत्रुस २:२३.

मदत तथा समर्थन पाउने

हुनसक्छ, बिगतमा कुनै पीडादायी सम्झनाहरूले गहिरो भावनात्मक चोट पुगेको हुनसक्छ। युनिसेफको रिपोर्टअनुसार, “सधैंजसो हिंसा सहनु परेका केटाकेटीको विश्‍वास तथा मनोवृत्तिमा उल्लेखनीय परिवर्तन आउँछ र अरूमाथि भरोसा राख्नै नचाहने पनि हुन्छन्‌।” आफ्नो छिमेकी वा मित्र ठानिएको मानिसबाट दुर्व्यवहार भोग्नुपर्दा विशेष गरी केटाकेटीहरू यस्तो महसुस गर्छन्‌।

यस्ता समस्याहरूको समाधान सजिलो छैन। तर यदि नकारात्मक भावना वा पीडादायी सम्झनाहरूले पिरोलिरहन्छ भने तपाईंलाई मदतको खाँचो हुनसक्छ। (भजन ११९:१३३ तुलना गर्नुहोस्‌।) प्रथमतः तपाईंको समस्याबारे छलफल गर्ने पत्रपत्रिकाहरू पढ्‌न सक्नुहुन्छ। उदाहरणका लागि, ब्यूँझनुहोस्‌! पत्रिकाले बलात्कार, डकैत र बाल दुर्व्यवहार इत्यादिको सिकार भएकाहरूको लागि व्यवहारिक सल्लाहहरू भएका लेखहरू प्रकाशित गरेको छ। आफ्ना चिन्ता तथा भावनाहरू परिपक्व समानुभूतिशील मानिसलाई बताउँदा पनि धेरै मदत हुन्छ। (हितोपदेश १२:२५) सायद तपाईंले आफ्नो आमाबाबुलाई बताउन सक्नुहुन्छ।

तर आमाबाबुबाट केही समर्थन पाइँदैनभने नि? त्यसोभए मसीही मण्डलीसित मदत माग्नुहोस्‌। यहोवाका साक्षीहरूमाझ मण्डलीका प्राचीनहरू पीडितहरूको निम्ति आड लिने ठाउँ हुनसक्छ। (यशैया ३२:१, २) तिनीहरूले तपाईंको समस्या सुन्‍ने मात्र होइन तर केही व्यवहारिक सल्लाह पनि दिनसक्छन्‌। अनि अन्य परिपक्व मसीहीहरू तपाईंको “दाज्यू-भाइहरू, र दिदी-बहिनीहरू” हुनसक्छन्‌ भनी नबिर्सनुहोस्‌। (मर्कूस १०:२९, ३०) आफ्नी आमाबाट त्यागिएकी सुजानालाई त बिर्सनुभएको छैन होला? उनी र उनका भाइहरूले मण्डलीबाट मदत पाए। एक मसीही सेवकले सुजाना र उनको भाइहरूको यति ख्याल राखे कि उनी तिनलाई आफ्नो धर्मबुबा भन्छिन्‌। त्यस्तो समर्थनले “हामीलाई परिपक्व हुन र सच्चाइमा दृढ रहन मदत गऱ्‍यो” भनी सुजाना बताउँछिन्‌।

दिनहुँ अर्थपूर्ण गतिविधिहरूका तालिका कायम राख्दा पनि मदत हुन्छ भनी विशेषज्ञहरू भन्छन्‌। स्कूल जाँदा, घरका कामकाजहरू गर्दा मात्र पनि नकारात्मक विचारधाराहरू हटाउन निकै मदत हुन्छ। मसीही सभाहरू धाउने र सुसमाचार प्रचार गर्ने जस्ता आध्यात्मिक गतिविधिमा व्यस्त रहँदा तपाईंले विशेष गरी मदत पाउनुहुनेछ।—फिलिप्पी ३:१६ तुलना गर्नुहोस्‌।

यस पृथ्वीमा परमेश्‍वरको राज्य नआउञ्जेल र पृथ्वीभरि परमेश्‍वरको इच्छा पूरा नहोउञ्जेल अन्याय रहिरहनेछ। (दानियल २:४४; मत्ती ६:९, १०) त्यतिञ्जेल सहन आफूले सक्दो गर्नुहोस्‌। परमेश्‍वरको राज्यको शासकको हैसियतमा येशू ख्रीष्टले “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ” भन्‍ने प्रतिज्ञामा विश्‍वस्त हुनुहोस्‌।—भजन ७२:१२, १३.

[फुटनोट]

a यस लेखमा गरिब मुलुकका युवाहरूले भोग्ने अन्यायबारे छलफल गरिए तापनि यहाँ दिइएका सिद्धान्तहरू हामीले भोग्ने सबै प्रकारका अन्यायमा लागू हुन्छ।

[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“परमेश्‍वरप्रति पनि मेरो मनमा कटु भावनाहरू आउँछ”

[पृष्ठ १७-मा भएको चित्र]

अन्याय सहन सँगी मसीहीहरूको समर्थनले मदत गर्नसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने