प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १०/८ पृ. १८-२०
  • रसिला समुद्री धावकहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रसिला समुद्री धावकहरू
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • छोटो या लामो दूरी, दुवै गर्नसक्ने
  • जटिल समस्यामा परेका धावकहरू
  • टुना माछाको संरक्षणको लागि त्यसलाई लेबल लगाउने वा माछा पालन गर्न सकिन्छ?
  • विनाशको अन्त
    ब्यूँझनुहोस्‌!—१९९९
  • लाल समुद्र मुनि लुकेका चमत्कारहरू
    ब्यूँझनुहोस्‌!—१९९४
  • सन्त पत्रुसको माछा
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १०/८ पृ. १८-२०

रसिला समुद्री धावकहरू

अष्ट्रेलियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

बाज, आकाशमा उड्‌ने सबैभन्दा तेज पक्षी हो भने समुद्रको तेज धावक यो माछा हो। चमचम चम्किएको वाणजस्तै यिनीहरू समुद्रमा तेजसित टुइँकिन्छन्‌। यिनीहरू नचलमलाईकन एकछिन बस्न सक्दैनन्‌। यसकारण, यिनीहरूको वैज्ञानिक नाउँ थुनस थाइनस “हतारहतार पौडने” अर्थ बुझाउने शब्दबाट लिइएको छ। यी माछाहरू एकदमै ख्यातिप्राप्त परिवारका सदस्यहरू हुन्‌ भने यिनका नातेदारहरू मार्लिन, स्पियरफिश र स्वर्डफिश हुन्‌। तपाईंले अनुमान लगाइसक्नुभयो होला, यी समुद्री धावकहरू टुना माछाहरू हुन्‌ र यी १३ प्रकारका छन्‌।

यस धावक परिवारमा सबैभन्दा तुफानचाहिं ब्लुफिनहरू हुन्‌। भूमध्यरेखाको दक्षिणमा पाइने दक्षिणी ब्लुफिन कम्तीमा पनि ६ फिट लामो र वजन २०० किलोग्राम हुन्छ। तथापि, सबैभन्दा ढड्डूचाहिं अजंगका उत्तरी ब्लुफिनहरू हुन्‌। यिनीहरूको नाउँबाट नै थाह पाइन्छ कि यी उत्तरी गोलार्द्धमा पाइन्छन्‌। यिनीहरू ९ फिट वा त्योभन्दा पनि ठूला हुनसक्छन्‌ (बढी माछा मारिने हुँदा आजकाल यति ठूला माछा विरलै पाइन्छन्‌) र वजन ७०० किलोग्रामभन्दा बढी पुग्नसक्छ। त्यो पनि थलथले कहाँ हो र, ७५ प्रतिशत त बलिया मांसपेशीहरू नै हुन्छन्‌। तर वजनले यसको तेज गतिमा कुनै फरक पार्दैन। वास्तवमा यी बडेमाका ब्लुफिन टुना माछाहरू नै सबैभन्दा तेजिला हुन्‌, यिनीहरू प्रति घण्टा ७० देखि ८० किलोमिटरको दूरी पौडनसक्छन्‌।

छोटो या लामो दूरी, दुवै गर्नसक्ने

ब्लुफिनहरू त्यति छिटोछिटो पौडन सक्नुको कारण के हो? नेशनल जियोग्राफिक पत्रिका भन्छ: “यसको शरीरको तीन-चौथाइ भाग मांसपेशी हो, हाइड्रोडाइनामिक्सको हिसाबले एकदम राम्रो, बलियो मुटु, राम्जेट इन्जिनजस्तो श्‍वासप्रश्‍वास प्रणाली, एउटा माध्यमबाट अर्को माध्यममा ताप प्रसारण गर्ने क्षमता र अन्य खास प्रक्रियाहरू। यी कारणहरूले गर्दा ब्लुफिन तेज गतिमा पौडन सक्छ। भनौं भने, ब्लुफिनको बलियो मुटु, अरू माछाहरूको भन्दा निकै गुणा ठूलो हुन्छ र माछाको जस्तो नभई स्तनधारीको जस्तो हुन्छ। साधारणतया माछाहरू विषमतापी हुन्छन्‌ तर यसको अद्‌भुत रक्‍तसञ्चार प्रणालीमा मुटुले तातो रगत प्रवाह गर्छ। यसको रगतको तापक्रममा आठ डिग्री सेल्सियस वृद्धि हुँदा मांसपेशीको शक्‍ति पनि तीन गुणा बलियो हुन्छ। यसकारण स्क्विड र क्रिलजस्ता साना माछाहरूलाई सजिलै आफ्नो आहार बनाउनसक्छन्‌।

ब्लुफिनले स्वादिलो माछा, जस्तै माकरेललाई फेला पाऱ्‍यो भने आफ्नो हँसियारूपी पुच्छरलाई तेज गतिमा फड्‌कारेर समातिहाल्छ। फलामजस्तो कडा शरीरको छाती र पेटका पखेटाहरू विशेष प्रकारको खोपिल्टामा बस्छन्‌ र यसले गर्दा छिटो पौडन सजिलो हुन्छ। माकरेल जतिसुकै छरितो भए तापनि, उम्कन सक्दैन किनभने ब्लुफिनको आँखा दूरबीनजस्तो तेजिलो, श्रवणशक्‍ति पनि तिष्ण र पानीमा भएका रासायनिक तत्त्वहरू पत्ता लगाउनसक्ने हुन्छ। ब्लुफिनले माकरेललाई समात्नै लाग्दा दिशा ठम्याउन यसका पखेटाहरू एक छिनको लागि फैलाउँछ। त्यसपछि आँखा झिमिक्क पनि गर्न नपाउँदै म्याकरेल उसको मुखमा परेर पेटमा पुगिसक्छ।

बलियो मुटु, अरू माछाको तुलनामा तातो रगत, असाध्यै ठूलठूला गिल्स भएकाले त्यस्तो तुफानी दौडपछि पनि अरू माछाभन्दा दस गुणा छिटो थकाइ मेटिसकेको हुन्छ। ‘स्वाँस्वाँ फ्वाँफ्वाँ हुँदा’ अनि सुतेको अवस्थामा समेत पौडिरहेका हुन्छन्‌ किनभने तिनीहरू पानीभन्दा गह्रौं हुन्छन्‌ र अरू माछाको जस्तो तिनीहरूसित गिल पम्प नहुने हुँदा आराम गर्न पाउँदैनन्‌। त्यसकारण, सार्क माछाजस्तै यिनीहरू आधा मुख खोलेरै पौडन्छन्‌। टुना माछाको मृत्यु स्मारिका यस्तो हुन्छ: “बीचबीचको तेज दौडबाहेक जन्मेदेखि मृत्युसम्म म्याराथन धावक।”

यो टुना माछा परिवारमध्ये सबैभन्दा सुन्दर माछा, पहेंलो पखेटे बडेमानको टुना माछा हो। यी पहेंलो पखेटे साढे छ फिट जति ठूलो र पहेंलो धर्के अनि पहेंलो पखेटा हुन्छ। साथै, यी पखेटाहरू एकदमै सलक्क परेर पछाडि फर्केका हुन्छन्‌। छाललाई उछिनेर अघि बढ्‌दा, यी अद्‌भुत माछाहरू विशेष गरी राति, आगोमा हिर्क्याएका धनुषकाँडहरूजस्तै चम्कन्छन्‌। यसैकारण, हवाइ टापुका बासिन्दाहरू यो माछालाई “आही” भन्‍ने गर्छन्‌, जसको अर्थ हो, आगो।

जटिल समस्यामा परेका धावकहरू

प्रशस्त मात्रामा पाइने रातो अनि चिल्लो मासुले गर्दा पनि टुना माछा आकर्षक भोजन भएको हो। साशिमी र सुसीजस्ता भव्य जापानी भोजनहरूमा मानिसहरूले यो ब्लुफिन एकदमै मन पराउँछन्‌। जापानी बजारमा यो महँगो भोजनमध्ये एक हो। सुसी-बारका ग्राहकहरूले अलिकता टुना माछाको लागि पनि धेरै पैसा तिर्छन्‌। एउटा ब्लुफिन लिलाम गरिने मोल तपाईंले सुन्‍नुभयो भने कसैले एउटा नयाँ गाडीको लागि मोलतोल गरेको पो हो कि भन्ठान्‍नुहुनेछ। एउटा ब्लुफिनको लागि ११,००० अमेरिकी डलर वा त्योभन्दा बढी रकम तिर्नु पनि कुनै अनौठो कुरा होइन। एउटा ३२४ किलोग्रामको ब्लुफिन ६७,५०० अमेरिकी डलरमा बिक्री भयो! एक जना प्रकृति संरक्षकले यसो भने: “पोर्श गाडी जति ठूलो, पोर्श गाडीजस्तै छिटो अनि पोर्श गाडी जत्तिकै किम्ती।”

टुनाको बढ्‌दो मागको तुलनामा यसको आपूर्ति घट्‌दैछ। नुनिलो पानीमा माछा मार्ने नामक पुस्तक यसो भन्छ, “भोलिको वास्तै नराखी आजै सबै स्वाहा गर्ने मनोवृत्तिले गर्दा यी माछाहरू अत्यधिक मात्रामा समात्ने गरिन्छ। जथाभावी प्रयोग, यसका केही कारणहरू हुन्‌।” आधुनिक औद्योगिक जहाजहरूमा आकाशबाटै माछाहरू कहाँ छन्‌ भनी हेर्न मिल्ने प्रविधि हुने हुँदा ठूलो परिमाणमा माछा मार्न सकिन्छ। उदाहरणका लागि, पर्स जाइनर नाउँको जहाजले टुना माछाको एक बथान देख्ने बित्तिकै सानो मोटरबोट पानीमा छोड्‌छ र यसले जाल बिछ्याउँछ। फलतः एउटै माछा पनि फुत्कन पाउँदैन। अर्कोतिर, १३० किलोमिटर लामो बल्छीसम्म पानीमा फ्याल्नसक्छन्‌। यो लामो बल्छीमा लगभग २,२०० जति साना बल्छीहरू हुन्छन्‌ र यी प्रत्येक बल्छीमा अंकुसे पासो हुन्छ। यो देखेपछि टुना माछाहरूको सातो जान्छ! विश्‍व वन्यजन्तु कोष भन्छ, यी ठूला ब्लुफिनहरू एकदमै अनमोल भएकाले “दुई चार वटा ब्लुफिन हात पार्न” डुंगा तथा विशेष प्रकारका हवाईजहाजहरू “समुद्रमा हप्तौं हप्ता बिताउन पनि पछि पर्दैनन्‌।”

कुनै कुनै देशहरूले आफ्नो सीमा इलाकामा माछा मार्नेसम्बन्धी सीमा तोकेका छन्‌। तर टुनाजस्ता समुद्री माछाहरू कसरी नियन्त्रणमा राख्ने? (लेबल लगाएर जापान नजिकैको पानीमा छोडिएको एउटा उत्तरी ब्लुफिन लगभग ११,००० किलोमिटर टाढा मेक्सिकोमा समातियो!) त्यसकारण, अहिलेसम्म नियन्त्रण गर्न सकिएको छैन। संयुक्‍त राष्ट्र संघको अधीनमा रहेका संगठनहरूले प्राकृतिक सम्पदामा प्रतिकूल असर नपर्ने तरिका प्रवर्धन गर्न खोजिरहेका छन्‌। तर कतिपयले आफ्नो व्यक्‍तिगत स्वार्थको लागि विरोध जनाइरहेका छन्‌। साँच्चै भन्‍ने हो भने, कुनै कुनै देशले अत्यधिक मात्रामा माछा मार्न नदिई नियन्त्रण गर्न खोज्दा भयंकर विरोध खप्नुपरेको छ।

ह्रास हुँदै गइरहेको सीमित स्रोतलाई अत्यधिक प्रयोग गरेर समुद्री जगत र आफ्नै जीविकोपार्जनलाई किन खतरामा हालेको भनी सोच्नुहुन्छ होला। नेशनल जियोग्राफिक यसो भन्छ: “[माछाको आपूर्ति] घट्‌दै गए तापनि पुर्खेउलीदेखि यही पेशामा लागेका वा माछा मार्ने उद्योग गरिरहेका मछुवाहरूको आम्दानीको बाटो हराउने भएकोले नै तिनीहरू स्वेच्छाले संरक्षण गर्नेतर्फ लाग्न नसकेका हुन्‌। एउटाले माछा नमार्ला तर अर्कोले जाल फिंजाइहाल्छ। त्यसकारण, सबैले तँछाड मँछाड गर्छन्‌।”

टुना माछाको संरक्षणको लागि त्यसलाई लेबल लगाउने वा माछा पालन गर्न सकिन्छ?

दक्षिणी ब्लुफिनबारे निकै अनुसन्धान गरिएको छ। यस्तै अनुसन्धानको सिलसिलामा उच्च प्रविधियुक्‍त विद्युतीय लेबलको प्रयोग गरिएको छ। यसबाट टुना माछाहरूको बसोबास र अवस्थाबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुन्छ। यो जानकारीको मदतले कत्तिको माछा मार्ने हो, त्यो नियन्त्रण गर्न सकिन्छ।

अहिले कतिपय मुलुकहरूमा टुना माछालगायत अन्य माछा पालन व्यवसाय लोकप्रिय हुँदै गइरहेको छ। जहाँसम्म माछाको भुरा उत्पादन शक्‍तिको कुरा छ, पोथी ब्लुफिनहरूले मनग्य फुल पार्छन्‌। तिनीहरू फुल पार्ने बखतमा १.५ करोडसम्म फुल पार्छन्‌! टुना माछा पालन व्यवसाय सफल भएको खण्डमा यसको खतरा केही हदसम्म कम हुनसक्छ। टुनाजस्तो अद्‌भुत समुद्री धावकहरू र अझ विशेष गरी, टुना परिवारको रत्न, आँखा लोभ्याउने मात्र होइन जिब्रो रसाउने ब्लुफिन लोप भएको हेर्न पर्नु एकदमै दुःखदायी हुनेछ।

[पृष्ठ १९-मा भएको चित्र]

पहेंलो पखेटे टुना

[स्रोत]

Innerspace Visions

[पृष्ठ २०-मा भएको चित्र]

ब्लुफिन टुना

[स्रोत]

Innerspace Visions

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने