अन्धविश्वास—अहिले कत्तिको व्यापक छ?
कार्यालय, स्कूल, सार्वजनिक यातायात, अनि बाटोमै किन नहोस्, जतासुकै हुने गर्छ। तपाईंले हाच्छ्यूँ गर्नुहुँदा तपाईंको आसपासबाट गइरहेको, तपाईंले पहिले कहिल्यै भेट्नु नभएको मानिसले पनि “चिरञ्जीवी भव” भन्छ। थुप्रै भाषामा यस्ता अभिव्यक्तिहरू पाइन्छ। जर्मनहरू “गेसुन्डाइट” भन्ने गर्छन्। अरबीहरूले “यार्माहाक अल्लाह” भन्छन् भने दक्षिण प्रशान्त महासागर नजिकैका पोलिनेसियालीहरू चाहिं “टीहे मारे ओरार” भन्ने गर्छन्।
मानिसहरूले यसो भन्नु सामाजिक शिष्टाचारमा आधारित सामान्य भलाकुसारी मात्र ठान्दै यसो भन्नुको कारण के हो भनी विचारै गर्नुभएको छैन होला। तथापि, त्यस्ता अभिव्यक्तिहरू अन्धविश्वासमा आधारित छन्। सं.रा.अ., इन्डियानाको ब्लुमिंगटनस्थित इन्डियाना विश्वविद्यालयको फोल्कलोर इन्स्टिच्युटका पुस्तकालयका अध्यक्ष मोइरा स्मीथ यसो भन्छिन्: “हाच्छ्यूँ गर्दा आत्मा बाहिर निस्कन्छ भन्ने धारणाले गर्दा त्यसो भन्न थालिएको हो।” अनि “चिरञ्जीवी भव” भन्नुको अर्थ, परमेश्वरले आत्मा फिर्ता गरिदिऊन् भनी बिन्ती गर्नु हो।
हो, हाच्छ्यूँ गर्दा आत्मा बाहिर निस्कन्छ भनी विश्वास गर्नु अतार्किक हो भनी प्रायजसो मानिसहरू मानिलिन्छन्। त्यसैले त वेब्स्टर्स नाइन्थ न्यु कोलिजियट डिक्सनरी-ले अन्धविश्वासलाई “अज्ञानता, अनजान कुराको डर, जादु वा संयोगमा विश्वास अथवा कुनै घटना हुने कारणप्रति गलत धारणा” भनी व्याख्या गर्नु कुनै अनौठो कुरा होइन।
सत्रौं शताब्दीका एक चिकित्सकले आफ्नो समयको अन्धविश्वासलाई अशिक्षित “जनसाधारणको भूल” भनी वर्णन गर्नु कुनै अचम्मको कुरा होइन। तसर्थ, मानवजाति वैज्ञानिक उपलब्धिहरू हासिल गर्दै २० औं शताब्दीमा प्रवेश गरिरहेको बेला १९१० सालको दी इन्साइक्लोपीडिया ब्रिटानिका-ले “अन्धविश्वास पटक्कै नभएको सभ्यता” पनि आउनेछ भन्ने आशा व्यक्त गऱ्यो।
अन्धविश्वास पहिलेभन्दा झन् धेरै फैलिएको छ
त्यो झन्डै आठ दशक अघिको आशा निराधार साबित भयो किनभने अन्धविश्वास त झन् पहिलाभन्दा बढी गडेको पाइन्छ। हतपती नहराउनु नै अन्धविश्वासको एउटा विशेषता हो। अन्धविश्वास अहिलेसम्म रहिरहनुको केही उदाहरणहरू विचार गर्नुहोस्।
▫ एउटा प्रमुख एसियाली शहरको बडाहाकिमको असामयिक निधन हुँदा तिनको सरकारी निवासका निराश कर्मचारीले नयाँ बडाहाकिमलाई विशेष झाँक्रीसित सरसल्लाह गर्ने सुझाउ दिए। त्यस झाँक्रीले सो निवासमा र त्यसको वरपर थुप्रै परिवर्तनहरू गर्न लगाए। यस्ता परिवर्तनहरूले त्यहाँको अपशकुन हट्नेछ भनेर त्यहाँका कर्मचारी ढुक्क भए।
▫ संयुक्त राज्यको एउटा करोडौं डलर लगानी गरिएको कम्पनीकी अध्यक्षले सधैं एउटा विशेष किसिमको पत्थर आफूसित राख्ने गर्छिन्। आफ्नो प्रथम व्यापारिक मेलामा सफलता पाएदेखि तिनी जहिले पनि त्यो पत्थर आफूसितै लिएर हिंड्छिन्।
▫ ठूलठूला व्यापारिक कारोबारहरू टुंग्याउनुअघि एसियाका व्यापार व्यवस्थापकहरू ज्योतिषहरूसित सल्लाह लिन्छन्।
▫ निकै तालिम लिएको खेलाडीले पनि आफ्नो विजयको श्रेय आफ्नो कुनै एउटा लुगालाई दिन्छन्। त्यसैले पछिका खेलहरूमा पनि तिनी त्यो लुगा नधोई लगाइरहन्छन्।
▫ एक जना विद्यार्थीले परीक्षामा कुनै एक प्रकारको कलम प्रयोग गर्दा राम्रो नम्बर पाएका हुन्छन्। त्यसपछि, तिनी त्यही कलमले नै “शुभ साइत” ल्याउँछ भन्ने सोचाइ राख्छन्।
▫ कुनै कुनै समाजमा दुलहीले आफ्नो विवाहमा “केही पुराना, केही नयाँ, केही सापटी लिइएको अनि केही नीलो” रंगका चीजबीजहरू मिलाएर लगाउने चलन छ।
▫ कसैकसैले बाइबल पल्टाउँदा जहाँ पल्टिन्छ, त्यही पद पढ्ने गर्छन्। किनभने त्यही पदले नै त्यस खास घडीमा चाहिएको निर्देशन प्रदान गर्नेछ भन्ने विश्वास गर्छन्।
▫ विशाल हवाईजहाज उडाउन लाग्दा त्यसका यात्रुहरू मनमनै भगवानलाई सम्झँदै ढोग्न थाल्छन्। अनि अरू कतिपयचाहिं “सन्त” क्रिस्टोफरको लकेटलाई चुम्बन गर्छन्।
स्पष्टतयाः अन्धविश्वास अहिले पनि व्याप्त छ। भनौं भने, कनेक्टिकट कलेजको मनोचिकित्सासम्बन्धी सहप्राध्यापक स्टुआर्ट ए. भाइस जादुमा विश्वास—अन्धविश्वासको मनोविज्ञान नामक आफ्नो पुस्तकमा यसो भन्छन्: “हामी उच्च प्रविधियुक्त समाजमा बसिरहेको भए तापनि, अन्धविश्वास पहिलेभन्दा झन् धेरै फैलिएको छ।”
अन्धविश्वास मानिसहरूको दिनचर्याको अभिन्न भाग भएको हुँदा यसलाई हटाउन सकिएको छैन। यसो हुनुको कारण के हो?