प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १२/८ पृ. ८-११
  • अन्धविश्‍वास—किन यस्तो खतरनाक?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्धविश्‍वास—किन यस्तो खतरनाक?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शिक्षाप्रद कथा
  • खतरनाक स्रोत
  • “जन्तर” अनि मूर्तिपूजा
  • हामी आफ्नो भविष्य कसरी थाह पाउनसक्छौं
  • परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्य
  • अन्धविश्‍वास—किन अहिलेसम्म रहिरहेको?
    ब्यूँझनुहोस्‌!—१९९९
  • के तपाईंको जीवन आन्धविश्‍वासमा जकडिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अन्धविश्‍वास—अहिले कत्तिको व्यापक छ?
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १२/८ पृ. ८-११

अन्धविश्‍वास—किन यस्तो खतरनाक?

के अन्धविश्‍वासले तपाईंलाई हानि पुऱ्‍याउनसक्छ? कसैकसैले यो वाहियात कुरा हो भन्छन्‌ अरू कतिपयचाहिं त्यति खतरनाक कुरा होइन भन्‍ने विचार राख्छन्‌। तैपनि, आफ्नो पुस्तक जादुमा विश्‍वास गर्ने—अन्धविश्‍वासको मनोविज्ञान पुस्तक-मा प्राध्यापक स्टुआर्ट ए. भाइसे यस्तो चेताउनी दिन्छन्‌: “कुनै मानिसले धामी, भावी बताउने, चिना हेर्ने वा ट्यारट कार्ड पढ्‌नेहरू कहाँ धेरै पैसा खर्च गर्ने अथवा आफ्नो अन्धविश्‍वासी चलनहरूले गर्दा जुवा खेल्ने गरिरहेमा उसको जीवनको गुणस्तर खस्कनसक्छ।” अन्धविश्‍वासले हाम्रो जीवनमा नियन्त्रण जमाउन दिंदा अझ गम्भीर परिणामहरू भोग्नु पर्नसक्छ।

हामीले बुझेअनुसार, थुप्रै अन्धविश्‍वासहरूले भविष्यप्रतिको डरलाई अलि कम गर्न खोज्छ। तथापि, अन्धविश्‍वास अनि हाम्रो भविष्यबारे भरोसायोग्य ज्ञान बीचको भिन्‍नता छुट्ट्याउनु महत्त्वपूर्ण छ। एउटा उदाहरण विचार गर्नुहोस्‌।

शिक्षाप्रद कथा

मध्य अमेरिकाको तटवर्तीय इलाकामा महिनौं अन्वेषण गरिसकेपछि सन्‌ १५०३ मा क्रिस्टोफर कोलम्बसले दुइटा आखिरी जहाजहरू हालको जमैका टापुमा बिसाउन सके। सुरुसुरुमा, टापुबासीहरूले ती अलपत्र परेका अन्वेशकहरूसित खाना बाँडचुँड गरे। तर पछि नाविकहरूको दुर्व्यवहारले गर्दा ती टापुबासीहरूले तिनीहरूलाई खाना दिन छोडे। यो परिस्थिति तिनीहरूको लागि नाजुक थियो किनभने अर्को उद्धार जहाज त्यहाँ आइपुग्न धेरै कुर्नुपर्ने थियो।

कथाअनुसार कोलम्बसले आफ्नो पात्रो हेरे र फेब्रुअरी २९, १५०४ तारिखका दिन चन्द्रग्रहण हुनेछ भन्‍ने पत्तालगाए। ती टापुबासीहरूको अन्धविश्‍वासको नाजायज फाइदा उठाउँदै कोलम्बसले के चेताउनी दिए भने, त्यस जहाजका नाविकहरूलाई खाना नदिएको खण्डमा चन्द्रमा अँध्यारो हुनेछ। ग्रहण सुरु नहोउञ्जेल टापुबासीहरूले त्यो चेताउनीलाई वास्तै गरेनन्‌! त्यसपछि, “चिच्याउँदै कराउँदै ठूलो कोलाहल” गरेर तिनीहरूले “अटाइनअटाइ खाद्यान्‍न जहाजमा ल्याए।” अनि त्यहाँ रहुञ्जेल ती अन्वेशकहरूलाई खाद्यान्‍नको कुनै अभाव भएन।

ती टापुबासीहरूको विचारमा कोलम्बसले निकै ठूलो जादु देखाए। तर तिनीहरूको निष्कर्ष पूर्णतया अन्धविश्‍वासमा आधारित थियो। वास्तवमा, त्यो “भविष्यवाणी” पृथ्वी, चन्द्र र सूर्यको नियमित गतिको आधारमा गरिएको थियो। खगोलविद्‌हरूले ग्रहणजस्ता कुराहरूबारे निकै अघि ठीकठीक भविष्यवाणी गर्नसक्छन्‌ र ती जानकारीहरू पात्रोहरूमा पाइन्छ। त्यसबाहेक, आकाशीय पिण्डहरूको निश्‍चित गतिको आधारमा कुन समयमा यी पिण्डहरू कुन ठाउँमा पुग्नेछ भन्‍ने समय पनि खगोलविद्‌हरूले तोक्न सक्छन्‌। तसर्थ, अखबारले सूर्योदय अथवा सूर्यास्तको समय बताउँदा, त्यो सत्य हो भनी स्वीकार्नु हुन्छ।

ती आकाशीय पिण्डहरूका महान्‌ सृष्टिकर्ता नै ग्रहण, सूर्योदय र सूर्यास्तसम्बन्धी समयको जानकारी दिने स्रोत हुनुहुन्छ। तर भावी बताउने, धामी, काँचको गोला हेर्नेहरू अनि ट्यारट कार्ड पढेर भविष्य बताउनेहरूको स्रोत बेग्लै छ। यो स्रोतको कुरा सर्वशक्‍तिमान्‌ परमेश्‍वरको कुरासित पटक्कै मेल खाँदैन। हामीले यहाँ भन्‍न खोजेको कुरा विचार गर्नुहोस्‌।

खतरनाक स्रोत

प्रेरित १६:१६-१९ को पवित्र अभिलेख पुरातन फिलिप्पी शहरकी “एउटी दासी[ले]” आफ्ना मालिकका लागि “जोखनाबाट” थुप्रै पैसा कमाएर ल्याइदिन्थी भनी बताउँछ। तथापि, उसले गर्ने भविष्यवाणीको स्रोत सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता नभई “जोखना हेर्ने आत्मा” (नयाँ संशोधित संस्करण) थियो भनी उक्‍त अभिलेखले प्रस्टै बताउँछ। यसर्थ, प्रेरित पावलले दुष्टात्मालाई निकाल्ने बित्तिकै त्यस दासीले जोखना हेर्ने आफ्नो शक्‍ति गुमाई।

त्यस्ता भविष्यवाणीहरू दुष्टात्माबाट आएको हो भनी थाह पायौं भने परमेश्‍वरको नियमले इस्राएलीहरूलाई यसो भन्‍नुको कारण बुझ्नसक्छौं: “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने . . . तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” (व्यवस्था १८:१०-१२) परमेश्‍वरको व्यवस्थाले त्यस्ता कार्यहरू मृत्युदण्डको योग्य ठहराएको थियो।—लेवी १९:३१; २०:६.

हेर्दा अहानिकारक देखिने यी अन्धविश्‍वासहरूको पछाडि पनि दुष्ट शक्‍तिहरू छन्‌ भनी थाह पाउँदा तपाईं छक्क पर्नुहोला। यद्यपि, शैतानले आफैलाई “ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ” भनी बाइबल बताउँछ। (२ कोरिन्थी ११:१४) शैतान अनि त्यसको नियन्त्रणमा रहेका प्रेतहरूले खतरनाक कार्यहरूलाई पनि फाइदाजनकजस्तो देखाउनसक्छन्‌। समयमा तिनीहरूले शकुन अपशकुन रचेर साँचो साबित गर्नसक्छन्‌ र प्रत्यक्षदर्शीहरूलाई ती शकुन परमेश्‍वरबाटै भएका हुन्‌ भन्‍ने सोच्न लगाएर छक्काउँछन्‌। (तुलना गर्नुहोस्‌ मत्ती ७:२१-२३; २ थिस्सलोनिकी २:९-१२) आफूसित विशेष शक्‍ति भएको दाबी गर्नेहरूका भविष्यवाणीहरू कहिलेकाहीं किन साँचो साबित हुन्छन्‌ भनेर यसबाट बुझ्नसक्छौं।

हो, सबै त नहोलान्‌ तर आफूसित विशेष शक्‍ति भएको दाबी गर्ने धेरैजसो छली, नक्कली र केही थाह नभएका मानिसहरूको पैसा धुत्ने ठगहरू हुन्‌। तर ठग होस्‌ वा नहोस्‌, तिनीहरू सबै मानिसहरूलाई यहोवाबाट टाढा लैजाने र “सुसमाचार तिनीहरूमाथि नचम्कोस्‌” भनेर अन्धा बनाउन शैतानले चलाउने प्रभावकारी चालहरू मात्र हुन्‌।—२ कोरिन्थी ४:३, ४.

“जन्तर” अनि मूर्तिपूजा

अनि मानिसहरूले सुरक्षा र जीवनका भवितव्य घटनाहरूबाट बच्न लगाउने “जन्तर” तथा अन्धविश्‍वाससित सम्बन्धित अन्य नित्यकर्महरूबारे के भन्‍नसकिन्छ नि? यिनीहरूले चालै नपाउने गरी असंख्य खतराहरू उत्पन्‍न गर्छन्‌। अन्धविश्‍वासी व्यक्‍तिले आफ्नो जीवन अदृश्‍य शक्‍तिहरूलाई समर्पण गर्छ। त्यस्तो मानिसले तर्क र व्यवहारिक समझलाई लत्याएर अव्यवहारिक कुराहरू पत्याउन थाल्छ।

एक लेखक अर्को एउटा खतराबारे उल्लेख गर्छन्‌। तिनी भन्छन्‌: “कसैले सुरक्षाको लागि जन्तर लगाउँदा लगाउँदै कुनै अप्रिय घटना भयो भने मानिसले आफ्नो दोष स्वीकार्नुको साटो अरूलाई दोष दिन खोज्छ।” (तुलना गर्नुहोस्‌ गलाती ६:७) चाखलाग्दो कुरा त के भने, निबन्धकार राल्फ वाल्डो इमर्सनले एकपल्ट यस्तो घोषणा गरेका थिए: “अपरिपक्व मानिसहरू भाग्यमा विश्‍वास गर्छन्‌ . . . तर विचारशील मानिसहरू कारण र परिणाममा विश्‍वास गर्छन्‌।”

“कारण र परिणाम” हाम्रो जीवनमा पनि लागू हुन्छ। तर कहिलेकाहीं अप्रिय घटनाहरू भइहाल्छन्‌ किनभने हामी “समय र अवसर[को]” अधीनमा छौं। (उपदेशक ९:११) त्यस्ता भवितव्य घटनाहरू “दुर्भाग्यको” तालमेल नमिलेर हुने कुरा होइनन्‌। ती कुराहरू आइपर्दा हामी बाइबलले बताउने यो सत्य कुरा सम्झन्छौं: “तिमी यो जान्दैनौ, कि भोलि के हुने हो। तिम्रो जिन्दगी के छ? तिमीहरू ता पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्दछ।”—याकूब ४:१४.

साथै, जन्तर र अन्य अन्धविश्‍वासी चलन तथा नित्यकर्महरूलाई मानिसहरूले श्रद्धा गर्ने गर्छन्‌ भनेर साँचो मसीहीहरूलाई थाह छ। तैपनि, मसीहीहरू त्यस्ता सबै कुराहरूलाई मूर्तिपूजा ठान्छन्‌ र परमेश्‍वरको वचनमा यसको घोर भर्त्सना गरिएको छ।—प्रस्थान २०:४, ५; १ यूहन्‍ना ५:२१.

हामी आफ्नो भविष्य कसरी थाह पाउनसक्छौं

यसको मतलब मसीहीहरू भविष्यबारे चिन्तै गर्दैनन्‌ भनेको होइन। त्यसको ठीक विपरीत, भविष्यको कुरा थाह पाउँदा हाम्रै लाभ हुन्छ भनेर सुविवेकले देखाउँछ। के हुनेवाला छ, हामीले पहिल्यै थाह पायौं भने आफू अनि आफ्ना प्रियजनहरूलाई लाभ हुने उपयुक्‍त कदम चाल्नसक्छौं।

यस्तो जानकारी सही स्रोतबाट लिनु आवश्‍यक छ। अगमवक्‍ता यशैयाले यस्तो चेताउनी दिए: “मानिसहरूले तिमीहरूलाई परिचित भएका आत्मा र कराउँदै फलाक्ने झाँक्री खोज भनी भन्लान्‌, तब के मानिसहरूले आफ्ना परमेश्‍वरकहाँ गएर सोध्नुपर्दैनन्‌ र? जीवितहरूका विषयमा मरेकाहरूलाई सोध्ने हो त? . . . यदि तिनीहरू यहीअनुसार बोलेनन्‌ भने तिनीहरूका निम्ति निश्‍चय बिहान हुँदैन।”—यशैया ८:१९, २०.

भविष्यबारे भरपर्दो जानकारी दिने सही स्रोत बाइबलका लेखक हुनुहुन्छ। (२ पत्रुस १:१९-२१) यस प्रेरित पुस्तकमा सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले गर्नुभएका भविष्यवाणीहरू, थुप्रै पात्रोहरूमा आकाशीय पिण्डहरूको चालबारे गरिएका “भविष्यवाणीहरू” जत्तिकै भरोसायोग्य छन्‌ भनेर देखाउने प्रशस्त प्रमाणहरू पाइन्छ। बाइबल भविष्यवाणीको विस्तृत सत्यताबारे बुझ्न यो उदाहरण विचार गर्नुहोस्‌। एक जना विशिष्ट व्यक्‍तिले सन्‌ २१९९ सालमा हुने घटनाबारे अहिले २०० वर्षअघि जनसमक्ष भविष्यवाणी गरे। तिनको भविष्यवाणीमा निम्न कुराहरू समावेश छन्‌:

▫ राष्ट्रहरूबीच एउटा ठूलो सैनिक युद्ध हुनेछ। ती विश्‍वशक्‍तिहरूको अहिलेसम्म दुस्मनी भएको छैन तर त्यो युद्धपछि इतिहासले अर्कै मोड लिनेछ।

▫ उक्‍त रणनीति अपनाउँदा भयंकर कार्यक्षमता प्रदर्शन हुन्छ किनभने एउटा विशाल नदीले अर्कै मोड लिनेथियो।

▫ विजयी व्यक्‍तिको नाउँ पनि तिनी जन्मनुभन्दा धेरै वर्षअघि नै बताइसकेको छ।

▫ हार्ने राज्यको परिणाम पहिल्यै वर्णन गरिएको थियो र त्यसको असर शताब्दीयौंसम्म रहनेथियो।

यी सबै भविष्यवाणीहरू पूरा हुनआएमा, तिनले भविष्यबारे बताएका अरू कुराहरू पनि गम्भीरतासाथ सोच्न उत्प्रेरित हुँदैनौं र?

हामीले भर्खरै वर्णन गरेका कुराहरू साँच्चै पूरा भए। मादी र फारसीहरूले बेबिलोनलाई नाश पार्नुभन्दा २०० वर्षअघि यहोवाले आफ्ना अगमवक्‍ता यशैयामार्फत निम्न भविष्यवाणीहरू गर्नुभयो:

▫ मादी-फारसी र बेबिलोनबीच ठूलो सैनिक युद्ध हुनेछ।—यशैया १३:१७, १९.

▫ त्यस रणनीतिमा विरोधी पक्षको रक्षा अर्थात्‌ विशाल नदी सुकाउनु पनि समावेश हुनेथियो। त्यसबाहेक, त्यस शक्‍तिशाली शहरका मूल-ढोकाहरू खुल्लै छोडिनेथिए।—यशैया ४४:२७–४५:२.

▫ जित्ने व्यक्‍तिको नाउँ कोरेस हुनेछ भनेर तिनी जन्मनुभन्दा १५० वर्षअघि नै भविष्यवाणी गरियो।—यशैया ४५:१.

▫ समयको दौडान बेबिलोन पूर्णतया उजाड हुनेथियो।—यशैया १३:१७-२२.

यी सबै भविष्यवाणीहरू पूरा भए। यसकारण यहोवाले आफ्नो लिखित वचनमा गर्नुभएका अरू भविष्यवाणीहरू पनि मनन गर्न लायकको छैन र?

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्य

बाइबलले कस्तो भविष्यवाणी गर्छ? परमेश्‍वरले बनाउनै लाग्नुभएको नयाँ संसारमा कसैलाई पनि भविष्यबारे असुरक्षित भावना हुनेछैन भनेर बाइबलले प्रतिज्ञा गर्छ। त्यतिबेला बाँच्ने मानिसहरूका लागि परमेश्‍वरको यो ग्यारेन्टीलाई विचार गर्नुहोस्‌: “कसैले [मेरा मानिसहरूलाई] डर देखाउनेछैन।”—मीका ४:४.

बाइबल थप प्रतिज्ञा गर्छ, परमेश्‍वरले ‘आफ्नो मुठी खोल्नुहुनेछ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुनेछ।’ (भजन १४५:१६) के त्यो प्रतिज्ञा पूरा हुन अझै धेरै समय बाँकी छ? अहँ छैन! हामीले हाल देखिरहेका परिस्थितिहरूले हामी वर्तमान रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं भन्‍ने प्रमाण दिन्छ भनी बाइबलले पहिले नै भविष्यवाणी गरिसकेको थियो।—२ तिमोथी ३:१-५.

अब चाँडै हाम्रा मायालु सृष्टिकर्ताले यी खराब परिस्थितिहरूको अन्त गर्नुहुनेछ। उहाँले विश्‍वव्यापी असुरक्षा अनि पीडाको स्रोत, युद्धहरू रोक्नुहुनेछ। यसबाहेक, घृणा, स्वार्थ, हत्या अनि हिंसा विगतका कुराहरू हुनेछन्‌। बाइबल यस्तो प्रतिज्ञा गर्छ: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

मानिसहरूले यस नयाँ संसारमा पाउने थुप्रै आशिष्‌हरूमध्ये सुस्वास्थ्य पनि एक हो। मृत्यु र यसले ल्याउने दुःखहरू पनि रहनेछैन। परमेश्‍वर आफैले भन्‍नुभएको छ: “हेर, म सब कुरा नयाँ तुल्याउँछु।”—प्रकाश २१:४, ५.

त्यसबेला कोही पनि आजजस्तै मानिसको जीवनलाई अर्कैतिर मोड्‌ने र नाश गर्ने अप्रत्याशित घटनाहरूको सिकार हुनेछैनन्‌। अन्धविश्‍वासबाट उत्पन्‍न डर तथा झूटहरूका स्रोत दुष्ट प्रेतहरू अनि शैतान पनि हुनेछैन। यी रोमाञ्चक सच्चाइहरू बाइबलमा पाइन्छ।

[पृष्ठ ८, ९-मा भएको चित्र]

अन्धविश्‍वास अनि प्रेतात्मासित सम्बन्धित प्रचलनहरूको निकटतम सम्बन्ध

[स्रोत]

Except woman inside crystal ball: Les wies/Tony Stone Images

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा अन्धविश्‍वास हुनेछैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने