प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ८/८ पृ. १६-२०
  • परमेश्‍वरको नाउँले मेरो जीवनै परिवर्तन गऱ्‍यो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको नाउँले मेरो जीवनै परिवर्तन गऱ्‍यो!
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संरक्षित भूमिमा जीवन
  • विवाह—भ्रम अनि छुटकारा
  • साँचो परमेश्‍वरको छनक पाएको
  • साक्षीहरूसित पहिलो भेटघाट
  • मसीही सभाहरूको प्रभाव
  • दुइटा ठूला निर्णय
  • भविष्यको लागि आशा
  • नाभाहो भूमिमा ईश्‍वरतान्त्रिक वृद्धि
  • मैले दुई मालिकको चाकरी गर्ने प्रयास गरें
    ब्यूँझनुहोस्‌!—२००३
  • आदिवासी अमेरिकीहरू अनि बाइबल
    ब्यूँझनुहोस्‌!—१९९९
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ८/८ पृ. १६-२०

परमेश्‍वरको नाउँले मेरो जीवनै परिवर्तन गऱ्‍यो!

सान्डी यासी सोसीको वृत्तान्तमा आधारित

मर्मनहरूले हाम्रो ढोका ढकढक्याउँदा मलाई र मेरी बहिनीलाई तिनीहरूसित कुरा गर्न मन नलागेको कारण पलङमुनि लुकेर एकअर्कालाई हिर्काउँदै अनि खित्का छोडेर हाँस्दै खेल्न थाल्यौं।a अन्तमा म ढोका खोल्न गएँ र छुच्चो बोली गर्दै हामी कट्टर नाभाहो हौं र गोरा जातिहरूको धर्मबारे केही सुन्‍न चाहँदैनौं भनेर बताएँ।

हाम्रा आमाबाबु आवश्‍यक सरसामानहरू किनमेल गर्न बजार जानुभएको थियो। उहाँहरू साँझपख घर फर्कन लाग्नुभएको थियो। उहाँहरू घर फर्कनुभएपछि मैले मर्मनहरूलाई नराम्रो व्यवहार गरेको कुरा उहाँहरूले थाह पाउनुभयो। उहाँहरूले मलाई त्यस्तो अनादरपूर्ण व्यवहार फेरि फेरि कसैलाई कहिल्यै नगर्नू भनेर राम्ररी सम्झाउनुभयो। हामीलाई मानिसहरूप्रति आदर देखाउन र दयालु व्यवहार गर्न सिकाइएको थियो। एकदिन अचानक एक जना पाहुना आएको मलाई अझसम्म याद आउँछ। आमाबाबुले त्यो दिन घरबाहिरै खाना पकाउनुभएको थियो। पाहुनालाई उहाँहरूले स्वागत गरेर पहिला खाना खुवाउनुभयो र त्यसपछि मात्र हामीले पनि खायौं।

संरक्षित भूमिमा जीवन

हामी व्यस्त शहर अनि गाउँबाट धेरै टाढा होपी इन्डियन रिजर्भेसनको १५ किलोमिटर उत्तरपश्‍चिमी भूभागमा पर्ने एरिजोनाको होवेल मेसामा बसोबास गर्थ्यौं। यो ठाउँ संयुक्‍त राज्यको दक्षिणपश्‍चिमी भागमा पर्छ, जहाँको मरुभूमिमा कहिलेकाहीं अनौठा राता ढुंगाहरूका साथै मरुभूमिको राम्रो दृश्‍य देख्न सकिन्छ। त्यहाँ थुप्रै अग्ला, भिराला पर्खालजस्ता समतल पठारहरू छन्‌। यहाँबाट हामीले आठ किलोमिटर टाढा चरिरहेका भेडाहरू समेत देख्नसक्थ्यौं। यो देश अर्थात्‌ मेरो जन्मथलोको शान्त दृश्‍य मलाई असाध्यै मन पर्थ्यो!

उच्च माध्यामिक स्कूलमा छँदा मामाका अमेरिकन इन्डियन मुभमेन्टलाई (ए आई एम) समर्थन गर्ने छोराछोरीहरूसित निकै घनिष्ठ भएँ।b मलाई आफू आदिवासी अमेरिकी भएकोमा निकै गौरव लाग्थ्यो। अनि ब्युरो अफ इन्डियन अफेयर्सले (बि आइ ए) दशकौंसम्म हामीमाथि गरेको दबाउको विरोधमा गोराहरूलाई आफ्नो विचारधारा पोखें। तैपनि, मामाका छोराछोरीहरूले जस्तो खुल्लमखुल्ला घृणाचाहिं व्यक्‍त गरिनँ। यसलाई मैले मनमै राखें। त्यसैले गर्दा मैले बाइबल बोक्ने सबै मानिसहरूलाई घृणा गर्न थालें।

बाइबलकै कारण ती गोरा मानिसहरूले हाम्रो जमिन, सम्पत्ति र हाम्रा आफ्नै धार्मिक प्रचलनहरू मनाउने स्वतन्त्रता हनन गर्न सकेका हुन्‌ भनेर मैले तर्क गर्ने गर्थें! बोर्डिङ स्कूलमा छँदा हामीलाई प्रोटेस्टेन्ट तथा क्याथोलिक धार्मिक चाडहरू मनाउन चर्चमा जान दबाउ दिन्थे। त्यसैले, त्यसमा भाग नलिन मैले बुबाको किर्ते सही गर्थें। ती स्कूलहरूले, हामीले हाम्रो आदिवासी सम्पदा बिर्सून्‌ र तिनीहरूको मत मानून्‌ भन्‍ने प्रयास गर्थे। हामीलाई आफ्नै भाषासमेत बोल्न मनाही गरिएको थियो!

हामी प्रकृति अनि वातावरणको गहिरो आदर गर्थ्यौं। हरेक बिहान हामी पूर्वतिर फर्केर प्रार्थना गर्थ्यौं। अनि मकैका दूधिला दानाहरू छर्दै प्रार्थनामा धन्यवाद चढाउँथ्यौं।c उपासना गर्ने यो नाभाहो तरिका मैले सानैदेखि सिकेकी थिएँ र यसैलाई म गर्वसाथ पूरा मनले स्वीकार्थें। मसीहीजगत्‌ले सिकाएझैं मरेपछि स्वर्ग जाने कुरा मलाई मन पर्दैनथ्यो न त मरेपछि नर्कको अग्निमय कुण्डमा जाने शिक्षामा नै म विश्‍वास गर्थें। मेरो हार्दिक चाहना भनेको यसै पृथ्वीमा बाँच्नु थियो।

स्कूलका बिदाहरूमा मैले आफ्नो परिवारसँग रमाइला दिनहरू बिताउन पाउँथें। होगन अर्थात्‌ हाम्रा नाभाहोहरू बस्ने घर सफा गर्नु, बुन्‍नु अनि भेडाको देखभाल गर्नु नै मेरो दैनिक तालिका थियो। हामी नाभाहोहरूले गोठालोको काम शताब्दीयौंदेखि गर्दै आएका छौं। हरेक पटक हाम्रो होगन (तलको फोटो हेर्नुहोस्‌।) सफा गर्दा म एउटा सानो रातो किताब देख्थें। त्यसमा बाइबलको भजनसंग्रहको पुस्तक अनि “नयाँ नियम[का]” केही अंशहरू थिए। म यसमा लेखिएका कुराहरू अनि अर्थलाई वास्तै नगरी त्यस किताबलाई कहिले यता त कहिले उता लातले हिर्काउँथें तर यसलाई फ्याँक्नचाहिं फ्याँकिनँ।

विवाह—भ्रम अनि छुटकारा

उच्च माध्यामिक विद्यालयको पढाइपछि मैले न्यु मेक्सिकोको प्राविधिक स्कूलमा भर्ना हुने योजना बनाएँ। तथापि, त्यहाँ जानुअघि मेरो एक जना मानिससित भेट भयो, जोसँग पछि मेरो विवाह भयो। विवाह गर्न म नाभाहो संरक्षण क्षेत्र फर्कें, जसलाई हामी रेज पनि भन्छौं। मेरा आमाबाबुको विवाह भएको धेरै वर्ष भइसकेको थियो। म पनि उहाँहरूकै पाइला पछ्याउन चाहन्थें, त्यसैले, मैले विवाह गरें। मलाई गृहिणी हुन मन पर्थ्यो र घरायसी जीवनमा रमाउँथें। हाम्रो छोरा लायोनेल जन्मेपछि त झनै खुसी भएँ। मेरो श्रीमान्‌ र मैले एकदमै हाँसिखुसीसाथ जीवन बिताइरहेका थियौं तर एकदिन एकदमै हृदयविदारक खबर सुन्‍नुपऱ्‍यो!

मेरो श्रीमान्‌को अर्को केटी रहेछ! उसले यस्तो धोका दिएको कारण हाम्रो विवाह भताभुंग भयो। मैले धेरै मानसिक तनाउ महसुस गरें र उसलाई घृणा गर्न थालें। म बदला लिन चाहन्थें! तर हाम्रो सम्बन्धविच्छेद, छोराको पालनपोषण अनि अर्थिक विषयमा भएको विवादपछि म साह्रै निराश हुनपुगें। अर्थहीन अनि निराश महसुस गर्न थालें। कतै पीडा कम हुन्छ कि भनेर म निकै किलोमिटरसम्म दौडन्थें। बरबरी आँसु झार्न मलाई कुनै कारणै चाहिंदैनथ्यो र यसरी खान पनि मन लाग्न छोड्यो। मैले अत्यन्तै एक्लो महसुस गर्न थालें।

केही समयपछि यस्तै वैवाहिक समस्याले जकडिएको एक जना मानिससित मेरो घनिष्ठता बढ्‌न थाल्यो। हामी दुबैले मानसिक तनाउ भोगिरहेका थियौं। तिनले पनि मेरोजस्तै भावनाहरू व्यक्‍त गरे र मलाई चाहिएको भावनात्मक सहयोग दिए। मैले उसलाई जीवनबारे मेरा भित्री विचारहरू अनि भावना बताएँ। उसले त्यो कुरा ध्यान दिएर सुनेको कारण मैले उसले मेरो ख्याल राख्दो रहेछ भन्ठानें। हामीले विवाह गर्ने योजना बनायौं।

तर ऊ पनि धोकेबाज रहेछ भनेर मैले थाह पाएँ! एकदमै गाह्रो तथा पीडादायी भए तापनि मैले उसितको सम्बन्ध तोडें। मैले त्यागिएको महसुस गरें र अत्यन्तै निराश भएँ। मलाई एकदमै रिस उठ्यो, मनमा द्वेष पलायो र आत्महत्या गर्ने विचार आयो। मैले दुई चोटि आत्महत्या गर्ने प्रयास गरें। म मर्न चाहन्थें।

साँचो परमेश्‍वरको छनक पाएको

मैले नचिनेको परमेश्‍वरलाई प्रार्थना गर्दा धेरै आँसु बगाएँ। तथापि, यो अद्‌भुत ब्रह्‍माण्डको सृष्टि कुनै सर्वोच्च व्यक्‍तिले नै गरेको हुनुपर्छ भन्‍ने मेरो धारणा थियो। सुन्दर सूर्यास्त देखेर म मोहित हुन्थें र यस्तो आश्‍चर्यजनक कुराहरूको आनन्द उठाउन दिनुहुने व्यक्‍ति झन्‌ कस्तो हुनुहुन्छ होला भनेर सोच्ने गर्थें। मैले चिन्दै नचिनेको व्यक्‍तिप्रति मेरो प्रेम बढ्‌न थाल्यो। मैले उहाँलाई यसो भन्‍न थालें: “परमेश्‍वर, यदि तपाईं साँच्चै हुनुहुन्छ भने मलाई मदत गर्नुहोस्‌, मलाई डोऱ्‍याउनुहोस्‌ र फेरि मलाई सुख दिनुहोस्‌।”

त्यसबेला मेरो परिवार, अझ विशेष गरी मेरो बुबा एकदमै चिन्तित हुनुहुन्थ्यो। मेरो परिवारले मेरो उपचार गर्न भनी धामीहरू ल्याउनुभयो। एक जना दक्ष धामीले कहिल्यै पनि पैसा माग्दैन र उसले आफ्नो वचन पूरा गर्छ भनी बुबाले मलाई भन्‍नुभयो। आमाबुबालाई खुसी पार्न नाभाहो ब्लेसिङ वेका धार्मिक चाडहरूमा थुप्रै चोटि भाग लिएँ।

म होगनमा पलङ नजिकै रेडियो राखेर एक्लै दिनहरू काट्‌ने गर्थें। म पादरीको दोषारोपणलाई रत्तिभर चासो नदिईकन सुन्थें किनभने मैले त्यसबेलासम्म येशूलाई ग्रहण गरिसकेकी थिइनँ। मलाई वाक्क लागिसकेको थियो! मलाई ती गोरा मानिसको धर्म र आफ्नै धर्मसित दिक्क लागिसकेको थियो! मैले परमेश्‍वरलाई आफ्नै तरिकामा भेट्टाउने अठोट गरें।

एक्लै बसिरहेको बेला फेरि त्यही सानो रातो पुस्तक देखें। यो त बाइबलकै केही अंश रहेछ भनेर मैले थाह पाएँ। भजनसंग्रह पढेपछि राजा दाऊदले पनि दुःख अनि तनाउ भोग्नुपरेको रहेछ भन्‍ने कुरा मैले थाह पाएँ र ढुक्क महसुस गरें। (भजन ३८:१-२२; ५१:१-१९) तथापि, आफ्नो घमण्डको कारण मैले आफूले पढेका जम्मै कुराहरूलाई वास्ता गर्नै छोडिदिएँ। जे भए पनि म गोराहरूको धर्मलाई पटक्कै मान्‍ने थिइनँ।

आफ्नो नैराश्‍यताको बावजूद छोराको राम्रो हेरचाह गर्ने बन्दोबस्त मिलाएँ। ऊ नै मेरो प्रोत्साहनको स्रोत भयो। मैले प्रार्थना गरिदिने धार्मिक कार्यक्रमहरू टेलिभिजनमा हेर्न थालें। मैले फोन उठाएँ र जे पर्ला पर्ला भनेर मदतको लागि ८०० नम्बर घुमाएँ। तर त्यो ठाउँबाट ५० वा १०० डलर तिर्नुपर्छ भन्‍ने कुरा सुन्‍ना साथै मैले ढ्याक्क फोन राखिदिइहालें!

सम्बन्धविच्छेदसम्बन्धी मुद्दाले मलाई एकदमै निराश बनायो। विशेष गरी रैथाने न्यायाधीशलाई मेरो पतिले सत्य कुरा नबताएको देखेर म असाध्यै हतास भएँ। हाम्रो छोरालाई कसले रेखदेख गर्ने भन्‍ने निर्णय गर्नुपर्ने भएकोले सम्बन्धविच्छेदसम्बन्धी निर्णय हुन लामो समय लाग्यो। तर खुसीको मुद्दा मैले जितें। मुद्दाको अवधिभर मेरो बुबाले देखाउनुभएको मायालु समर्थनलाई म शब्दमा वर्णन गर्न सक्दिनँ। मलाई गहिरो चोट पुगेको छ भनेर उहाँले बुझिदिनुभयो।

साक्षीहरूसित पहिलो भेटघाट

हरेक दिन भोली के होला भनेर अचाक्ली चिन्ता नगर्ने निर्णय गरें। एक चोटि मैले एउटा नाभाहो परिवारले मेरा छिमेकीहरूसित कुरा गरिरहेको देखें। मैले तिनीहरूलाई चियाएर हेरि नै रहें। ती आगन्तुकहरू एक प्रकारको ढोकाढोका कार्यमा लागेका रहेछन्‌। तिनीहरू मेरो घरमा पनि आए। नाभाहो जातिकी सान्ड्राले आफूलाई यहोवाका साक्षी हुँ भनी चिनाइन्‌। अरू कुरामा भन्दा यहोवा नाउँमा मेरो बढ्‌ता ध्यान गयो। मैले सोधें: “यहोवा को हो? तपाईंहरू पक्कै पनि नयाँ धर्मको हुनुपर्छ। मलाई चर्चमा परमेश्‍वरको नाउँ किन सिकाइएन?”

तिनले मृदु भाव झल्काउँदै बाइबलमा भजन ८३:१८ पल्टाइन्‌, जहाँ यस्तो लेखिएको छ: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW ] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” परमेश्‍वरको व्यक्‍तिगत नाउँ छ र उहाँको पुत्र, येशू ख्रीष्ट यहोवाको साक्षी हुनुहुन्थ्यो भनेर बताइन्‌। तिनले मलाई यहोवा अनि येशूबारे सिकाउने प्रस्ताव राखिन्‌ र मलाई द ट्रुथ द्याट लिड्‌स टु इटर्नल लाइफ पुस्तक छाडेर गइन्‌।d उत्साहित हुँदै मैले भनें: “हुन्छ। म यो नयाँ धर्मबारे बुझ्न चाहन्छु!”

मैले त्यो पुस्तक रातभरमै पढी सिध्याएँ। यसको विषयवस्तु नयाँ अनि फरक खालको थियो। यसमा जीवनको उद्देश्‍यबारे बताइएको थियो र यसले गर्दा नै जीवनप्रति मेरो फेरि चासो जाग्यो। मैले बाइबल अध्ययन गर्न थालें र बाइबलबाट मेरा प्रश्‍नहरूको जवाफ पाउँदा साह्रै खुसी भएँ। मैले सिकेका सबै कुरा विश्‍वास गरें। ती कुराहरू अर्थपूर्ण थिए र त्यसमा सत्यता थियो!

लायोनेल छ वर्षको हुँदादेखि मैले उसलाई पनि बाइबल सत्य सिकाउन थालें। हामी सँगै प्रार्थना गर्थ्यौं। यहोवाले हामीलाई सम्हाल्नुहुन्छ र हामीले चाहिं उहाँमाथि भर गर्नुपर्छ भन्दै हामी एकअर्कालाई प्रोत्साहन दिने गर्थ्यौं। कहिलेकाहीं त समस्याहरूको सामना गर्न नसक्ने अवस्थामा पुग्थें। तैपनि, ऊ आफ्ना कलिला हातले मलाई अँगालो हालेर निर्धक्क भई यसो भन्दै दिलाशा दिन्थ्यो: “ममी नरुनुहोस्‌, यहोवाले हाम्रो हेरचाह गर्नुहुन्छ।” यी शब्दहरू सुनेपछि म साह्रै ढुक्क हुन्थें। त्यसले मलाई सान्त्वना दियो र बाइबल अध्ययन गरिरहने संकल्प गर्न मदत गऱ्‍यो! मैले निर्देशनका लागि निरन्तर प्रार्थना गरिरहें।

मसीही सभाहरूको प्रभाव

यहोवाप्रतिको मूल्यांकनले गर्दा हामी जान र आउन गरी जम्मा २४० किलोमिटर यात्रा गरेर ट्युबा शहरमा यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन उत्प्रेरित भयौं। हामी गर्मी महिनामा हप्ताको दुई चोटि सभामा उपस्थित हुन्थ्यौं भने जाडो महिनामा चाहिं खराब मौसमको कारण आइतबार मात्र जान्थ्यौं। एक चोटि त हाम्रो गाडी बिग्रेर राज्यभवनसम्म हिंडेरै जानुपऱ्‍यो। लामो यात्रा गर्नु उराठलाग्दो भए तापनि हामीले कुनै पनि हालतमा सभा धाउन छोड्‌नु हुँदैन भनेर लायोनेलले भनेको सुन्दा यहोवाद्वारा प्रबन्ध गरिएका आध्यात्मिक निर्देशनहरूको महत्त्वलाई हल्कासित लिनु हुँदैन भनेर बुझें।

कुनै समस्याविना सधैंभरि बाँच्ने भनी व्याख्या गरिएको राज्य गीत गाउँदा सभाहरूमा मेरो आँखाबाट बरबरी आँसु झर्थ्यो। मैले यहोवाका साक्षीहरूबाट सान्त्वना र प्रोत्साहन पाएँ। तिनीहरूले हामीलाई आफ्नो घरमा दिउँसोको खाना खान र रमाइलो गर्न निम्त्याएर पाहुना सत्कार गर्थे अनि हामी तिनीहरूको पारिवारिक बाइबल अध्ययनहरूमा पनि भाग लिन्थ्यौं। तिनीहरूले हामीप्रति चासो देखाउँथे र हाम्रो कुरा सुन्थे। विशेष गरी प्राचीनहरूले हामीप्रति सहानुभूति प्रकट गर्न र यहोवाले हाम्रो हेरचाह गर्नुहुन्छ भनेर विश्‍वस्त गराउन विशेष भूमिका निर्वाह गरेका छन्‌। साँचो मित्रहरू पाउँदा म आनन्दित भएँ। तिनीहरू एकदमै असल थिए र अब म सहन सक्दिनँ होला भन्‍ने अवस्थामा पुग्दा तिनीहरूले मसँगै आँसुसमेत झार्थे।—मत्ती ११:२८-३०.

दुइटा ठूला निर्णय

यहोवाका प्रबन्धहरूबाट आनन्द महसुस गरिरहेकै बेला मेरो प्रेमीले पुनर्मिलन हुने कुरा गऱ्‍यो। म उसलाई अझै पनि माया गर्थें, त्यसैले उसको आग्रहलाई इन्कार गर्न सकिनँ। हामीले विवाह गर्ने योजना बनायौं। सच्चाइले उसलाई सुधार्नेछ भन्‍ने मैले विचार गरेकी थिएँ। त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो! म खुसी थिइनँ। मेरो अन्तस्करणले मलाई साह्रै पिरोल्न थाल्यो। दुःखको कुरा, उसले सच्चाइलाई स्वीकारेन।

मैले एक जना प्राचीनलाई सबै कुरा बताएँ। तिनले मसित धर्मशास्त्रीय तर्कहरू गरे र मेरो निर्णयप्रति परमेश्‍वरको आशिष्‌ पनि मागिदिए। यहोवाले कहिल्यै पनि मेरो हानि गर्नुहुन्‍न तर असिद्ध मानिसहरूले भने हामीले जतिसुकै माया गरे तापनि चित्त दुखाउन वा दुःख दिनसक्छ भनेर मैले बुझें। वास्तवमा, केटा र केटी आपसी सहमतिमा सँगै बसे तापनि त्यसले विवाहित सम्बन्धले जस्तो स्थायित्व दिन सक्दैन भनेर मैले बुझें। मैले निर्णय गरें। यो सम्बन्ध टुटाउन गाह्रो अनि पीडादायी थियो। आर्थिक संकट भोग्नुपरिरहेकै किन नहोस्‌ मैले यहोवामाथि पूर्ण हृदयले भरोसा गर्नुपर्ने थियो।

म यहोवालाई प्रेम गर्थें र उहाँको सेवा गर्ने अठोट गरें। मे १९, १९८४ मा मैले आफ्नो जीवन यहोवा परमेश्‍वरलाई गरेको समर्पण पानीको बप्तिस्माद्वारा प्रकट गरें। मेरो छोरा लायोनेल पनि यहोवाको बप्तिस्मा प्राप्त साक्षी हो। हामीले परिवार अनि पहिलेको श्रीमान्‌बाट निकै सतावट भोग्नुपऱ्‍यो तैपनि हामीले यहोवामा भर पर्न छाडेनौं। हामी निराश भएनौं। त्यसपछि मेरो परिवार शान्त हुन थाल्यो र ११ वर्षपछि, हामीले अपनाएको यस नयाँ जीवनशैलीलाई उहाँहरूले स्वीकार्नुभयो।

म उहाँहरूलाई असाध्यै माया गर्छु र उहाँहरूले पनि यहोवाबारे सिकेर आनन्दित हुन सकून्‌ भन्‍ने चाहन्छु। यही मेरो इच्छा छ। म चिन्तामा डुबेको देखेर बुबाले त आशै मारिसक्नुभएको थियो र मैले कतै आत्महत्या पो गरिहाल्ला कि भनेर साह्रै सुर्ताउनुभएको थियो। तसर्थ, उहाँले साहसी भई मेरो निर्णयलाई समर्थन गर्नुभयो। म फेरि पनि खुसी भएको देख्नुभएपछि उहाँ ढुक्क हुनुभयो। मानसिक सन्तुलन कायम गर्न यहोवालाई प्रार्थना गर्नु, यहोवाका साक्षीहरूका सभाहरूमा उपस्थित हुनु र परमेश्‍वरको वचनअनुरूप चल्नु जरुरी रहेछ भनेर मैले बुझें।

भविष्यको लागि आशा

म दुःख, असिद्धता, झूट तथा घृणाको अस्तित्व नामेट भएको समय देख्न पाउने प्रतीक्षामा छु। त्यतिबेला हाम्रो नाभाहो भूमिमा पहिला जस्तै प्रशस्त आरु अनि आलुबखडाका रूखहरू फस्टाउनेछन्‌ भनेर म कल्पना गर्ने गर्छु। नदी तथा वर्षाको पानीले सिंच्दै विभिन्‍न जातिहरूले आफ्ना सुक्खा गाउँघरलाई सुन्दर प्रमोदवनमा परिवर्तन गर्ने काममा भाग लिइरहेको चित्र मेरो मनमा आउँछ। साथै, हाम्रा होपी छिमेकीहरू र अरू जातिहरूबीच केही समयअघिसम्म रहेको दुस्मनी समाप्त गरेर सबै मिली जग्गा जमिनको उपभोग गरिरहेको पनि कल्पना गर्छु। परमेश्‍वरको वचनले सबै जाति, कुल तथा गोत्रहरूलाई कसरी एकताबद्ध पार्दो रहेछ भनेर देखिरहेछु। भविष्यमा थुप्रै परिवार तथा मित्रहरू आफ्ना मरिगएका प्रियजनहरू पुनरुत्थान भएर आउँदा एकताबद्ध भएको हेर्न पाउनेछु। त्यो अनन्तसम्म आनन्दमय जीवन बिताउने समय हुनेछ। यस्तो अद्‌भुत आशाबारे सिक्न नचाहने त कोही होला जस्तो मलाई लाग्दैन।

नाभाहो भूमिमा ईश्‍वरतान्त्रिक वृद्धि

ट्युबा शहरमा राज्यभवन देख्न पाउनु अनि नाभाहोमा र होपी संरक्षणमा अर्थात्‌ चिन्ले, कायन्टा, ट्युबा शहर अनि किम्स क्यान्योनमा गरी जम्मा चारवटा मण्डलीमा वृद्धि भएको हेर्न पाउनु साह्रै आनन्दको कुरा भएको छ।e मैले १९८३ मा पहिलो चोटि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिंदा एक दिन यस्तै सभा नाभाहो भाषामा पनि सञ्चालन हुनेछ भनेर कल्पना गरेकी थिएँ। तर मेरो कल्पना साकार हुन धेरै समय कुर्नु परेन। सन्‌ १९९८ देखि नाभाहो भाषामै स्कूल सञ्चालन हुन थाल्यो।

परमेश्‍वरको व्यक्‍तिगत नाउँबारे अरूलाई बताउँदा प्रचुर मात्रामा आशिष्‌ पाएको छु। हाम्रो आफ्नै नाभाहो भाषामा उपलब्ध पार्थिव प्रमोदवनमा सधैंभरि जीवनको आनन्द उठाउनुहोस्‌!, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? अनि हालसालै प्रकाशित तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ! जस्ता पुस्तिकाहरू चलाएर विश्‍वासलाई बलियो पार्ने अभिव्यक्‍तिहरू पढ्‌न र अरूसित बाँड्‌न पाउँदाको हर्ष हामी शब्दमा व्यक्‍त गर्न सक्दैनौं। नाभाहोका मानिसहरूलगायत सबै राष्ट्र, जाति तथा भाषाका मानिसहरूले लाभ उठाऊन्‌ भनेर बाइबल शिक्षण कार्यलाई फैलाएकोमा विश्‍वासी अनि बुद्धिमान्‌ दासप्रति म औधी कृतज्ञ छु।—मत्ती २४:४५-४७.

आफ्नो जीविकोपार्जनका लागि म दिनभरि काम गर्छु तैपनि नियमित तवरमा सहायक अग्रगामी सेवा गरेर आनन्द उठाइरहेकी छु। अर्को विवाह नगरी एक्लै बस्नु परे तापनि म यसको मूल्यांकन गर्छु र कुनै पनि अवरोधहरूविना यहोवाको सेवा गर्न चाहन्छु। मेरो जातका मानिसहरू अनि अरूलाई, विशेष गरी निराश अनि ‘टुटेका हृदय भएकाहरू र पश्‍चात्तापी मन हुनेहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ’ भनेर बताउन पाएकोमा म खुसी अनि आनन्दित छु।—भजन ३४:१८.

अहिले बाइबल गोरा मानिसहरूको मात्र धर्म हो जस्तो मलाई लाग्दैन। परमेश्‍वरको वचन, बाइबल सिक्न र पालन गर्न चाहनेहरू सबैका लागि हो। यहोवाका साक्षीहरू तपाईंहरूकहाँ पनि आउँदा साँच्चै आनन्दित कसरी हुन सकिन्छ भनेर तिनीहरूसित सिक्नुहोस्‌। तिनीहरूले तपाईंकहाँ परमेश्‍वरको नाउँ यहोवाको सुसमाचार ल्याइरहेका छन्‌। हो, त्यही नाउँ जसले मेरो जीवनै परिवर्तन गऱ्‍यो! “हो, परमेश्‍वरको नाउँ यहोवा हो।” (g01 7/8)

[फुटनोटहरू]

a मर्मन धर्मबारे विस्तृत जानकारीका लागि नोभेम्बर ८, १९९५ को ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

b ए आइ एम भनेको आदिवासी अमेरिकीहरूले १९६८ मा स्थापना गरेको नागरिक हकसम्बन्धी संगठन हो। यसले १८२४ मा राष्ट्रका आदिवासीहरूको हितका लागि भनेर देखावटी रूपमा स्थापना गरिएको बि आइ ए नामक सरकारी निकायको प्रायजसो आलोचना गर्छ। बि आइ ए-ले बस्तीमा भएका प्रायजसो खनिज, पानी तथा अन्य सम्पत्तिहरू गैर-आदिवासीहरूलाई ठेक्कामा दिन्थ्यो।— वर्ल्ड बूक इन्साइक्लोपीडिया।

c दूधिला दानाहरू पवित्र वस्तु मानिन्छन्‌ अनि प्रार्थना गर्दा र अन्य रीतिथितिमा जीवन अनि नवीकरणको संकेत गर्न यी प्रयोग गरिन्छन्‌। नाभाहो मानिसहरू यी दाना छरिएका बाटोबाट हिंड्‌दा शरीर पवित्र हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌।— दी इन्साइक्लोपीडिया अफ नेटिभ अमेरिकन रिलिजन्स।

d यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर हाल उपलब्ध छैन।

e थप जानकारीको लागि सेप्टेम्बर ८, १९९६ को अंग्रेजी अंकको ब्यूँझनुहोस्‌!-मा “अमेरिकी बासिन्दाहरू—तिनीहरूको भविष्य कस्तो छ?” विषयको श्रृंखलाबद्ध लेख हेर्नुहोस्‌।

[पृष्ठ १७-मा भएको चित्र]

नाभाहो जातिको परम्परागत होगान

[पृष्ठ १७-मा भएको चित्र]

मेरो छोरा लायोनेलसित

[पृष्ठ १९-मा भएको चित्र]

सन्‌ १९९३ मा मस्कोको अन्तरराष्ट्रिय अधिवेशनमा रूसी साथीहरूसित

[पृष्ठ २०-मा भएको चित्र]

एरिजोनाको केएन्टा कायन्टा मण्डलीको मेरो आध्यात्मिक परिवारसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने