प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १०/८ पृ. २०-२१
  • भनिला—लामो इतिहास भएको मसला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भनिला—लामो इतिहास भएको मसला
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भनिलाको खेती
  • प्रशोधन प्रक्रिया
  • प्राकृतिक भनिला वा कृत्रिम?
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • गुणस्तरीय कफी—रूखदेखि तपाईंको कपसम्म
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२००२
g०२ १०/८ पृ. २०-२१

भनिला—लामो इतिहास भएको मसला

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

आज्टेकहरू यसलाई टिलिक्सोचेटल, नाह्वाटल भाषामा “कालो फूल” भन्थे। तिनीहरू जोकोलाट वा चकलेट अर्थात्‌ काकाओ भएको पेय पदार्थमा बास्नाको लागि भनिला प्रयोग गर्थे। भनिन्छ, मेक्सिकोका आज्टेक सम्राट्‌ मोन्टेजुमाले स्पेनी विजेता हर्नान कार्टेसलाई सा.यु. १५२० मा यो पेय पदार्थ टक्य्राएका थिए। त्यसपछि कोर्टेसले काकाओ र भनिलाका गेडा युरोप ल्याए। भनिलाको बास्ना भएको तातो पेय चकलेट युरोपेली शाही घरानामा असाध्यै लोकप्रिय हुन थाल्यो। तर साँच्चै भन्‍ने हो भने, महारानी एलिजाबेथ प्रथमका औषधी प्रबन्धकले सा.यु. १६०२ मा अन्य खानामा पनि भनिलाको बास्ना हाल्न सुझाव दिएपछि मात्र यत्तिको लोकप्रिय भएको हो। त्यसपछि, सत्रौं शताब्दीमा मादक पदार्थ, सुर्ती र अत्तरमा पनि भनिला प्रयोग गर्न थालियो।

तथापि, आज्टेक साम्राज्यको प्रादुर्भाव हुनुभन्दा धेरै समयअघि मेक्सिकोको भेराक्रुजका टोटोनाक इन्डियनहरूले भनिलाका दानाहरूको खेती, कटनी र प्रशोधन गर्थे।a खेती गर्नको लागि युरोप र पछि इन्डियन समुद्रका टापुहरूमा भनिलाको बोट लगिएको त १८०० को सुरुतिर मात्र हो। तर यो बोटबाट फल फलाउन वनस्पतिविद्‌हरूले गरेको प्रयास भने सफल हुन सकेन किनभने स्वतः पराग-सेचन गर्ने मेलिपोना जातका माहुरी उपलब्ध थिएन। त्यसकारण भनिलाको व्यापारमा १६ औं शताब्दीदेखि १९ औं शताब्दीसम्म मेक्सिकोकै एकाधिकार रह्‍यो। सन्‌ १८४१ मा फ्रान्स अधीनस्थ रियुनियन टापुका भूतपूर्व दास, एडमन्ड आल्बियसले दाना उत्पादन गर्न हातैले पराग-सेचन गराउने व्यावहारिक तरिका सुरु गरे। यसले गर्दा मेक्सिको बाहेक अन्य ठाउँमा व्यावसायिक तवरमा भनिला खेती गर्न थालियो। आज भनिलाको दाना उत्पादन गर्नेहरूको अग्रपंक्‍तिमा पहिले फ्रान्स अधीनस्थ रियुनियन र कोमोरस टापुहरू पर्छन्‌ र सबैभन्दा प्रमुखचाहिं मडागास्कर हो।

भनिलाको खेती

भनिला दाना वास्तवमा सुनगाभाको फल हो। बीस हजार जातिका सुनगाभामध्ये भनिलाको सुनगाभाले मात्र खानयोग्य फल उत्पादन गर्छ। यो बोटको लहरा जान्छ र यसलाई टेवा दिनुका साथै अलि छायाँ चाहिन्छ। जंगलमा यो प्रायजसो चिसो, उष्ण प्रदेशीय निम्न भूमिको जंगलमा पाइन्छ। मेक्सिकोका पहिलेदेखि चलिआएका खेतीहरूमा थाँक्रोको रूपमा पिकोचो जस्ता बोटहरू प्रयोग गरिन्छ। तर अहिले भने सुन्तलाको बोट प्रयोग गर्दा पनि नतिजा राम्रो भएको छ।

भनिलाको सुनगाभा झुप्पामा पहेंलो-हरियो रङको मैनजस्तो फूल फुल्छ। यो फूल हरेक वर्ष एक दिन केही घण्टाको लागि मात्र फक्रन्छ। टोटोनाक इन्डियनहरूले फूलको पराग-सेचनको जटिल कार्य गरेको दृश्‍य एकदमै रोमाञ्चकारी देखिन्छ। तिनीहरूले बोटको शक्‍ति ह्रास नहोस्‌ भनेर हरेक झुप्पाको केही दानामा मात्र पराग-सेचन गर्छन्‌ किनभने यसो नगरेको खण्डमा बोट कमजोर भएर रोग लाग्न सक्छ। यसबाट निस्कने हरिया दानाहरूमा स-साना बीउहरू हुन्छन्‌ र यो पूरै पाक्नुअघि छदेखि नौ महिनाभित्र हातैले कटनी गरिन्छ।

प्रशोधन प्रक्रिया

चाखलाग्दो कुरा के हो भने, ताजा भनिला दानाको कुनै स्वाद वा बास्ना हुँदैन। ती दानाहरू निकै चोटि प्रशोधन गरिसकेपछि मात्र यसको सुगन्ध र स्वाद दिने भनिलिन्‌ तत्त्व निस्कन्छ। भनिलाको प्रशोधन कार्य तथा हातैले पराग-सेचन गर्नुपर्ने भएकोले यो मसला एकदमै महँगो भएको हो। मेक्सिकोको परम्परागत प्रशोधन प्रक्रियाअनुसार सूर्यको तापमा अर्थात्‌ गाढा रङको कपडामा बिछ्याएर घाममा सुकाइन्थ्यो। आजकाल, ओस निकाल्नको लागि आगोको भट्टीमा सुकाइन्छ। त्यसपछि भनिला राखिने विशेष प्रकारको बाकसलाई तन्‍ना र एस्टेरा वा गुन्द्रीले बेह्रेर त्यसबाट ओस निकालिन्छ। त्यसपछि, भनिलाका दानाहरू गाढा चकलेट रङको नहोउन्जेलसम्म पालैपालो घाममा सुकाउने र ओस निकाल्ने क्रिया केही दिनसम्म गरिन्छ। त्यसपछि, मैन कागतले बेह्रिएको बाकस वा गरामा ४५ दिन त्यत्तिकै छोडेर उपयुक्‍त तापक्रममा घाममा बिस्तारै सुक्न दिइन्छ। त्यसपछि, बास्ना राम्ररी ननिस्कुन्जेल बन्द बट्टाहरूमा लगभग तीन महिना राखिन्छ। यसर्थ, भनिला उत्पादन गर्नु भनेको निकै श्रम खर्च हुने कार्य हो।

प्राकृतिक भनिला वा कृत्रिम?

रूखको चोपबाट पनि कृत्रिम तरिकामा भनिलिन्‌ तयार गर्न सकिन्छ। भनिलाबाट बनेको कुराहरूको लेबल पढ्‌नुहुँदा तपाईं छक्कै पर्नुहोला। उदाहरणका लागि, भनिला लेबल लगाइएको बरफ शुद्ध भनिला र/वा भनिलाको दानाबाट बनाइएको हुन्छ। तर “भनिला स्वाद भएको” लेबल लगाइएको आइसक्रिममा ४२ प्रतिशतसम्म कृत्रिम तत्त्व हुन सक्छ भने “कृत्रिम बास्ना” लेबल लगाइएको आइसक्रिममा नाउँ मात्रको भनिलाको बास्ना हुन्छ। पकवान सौखिनहरूले भने वास्तविक भनिलाको अर्को विकल्प छैन भनेर पुष्टि गर्छन्‌।

समुद्रतटको रेन फरेस्ट र हाल आएर बाढीजस्ता घातक कारणहरूले गर्दा अहिले भनिलाको प्रमुख उत्पादन मेक्सिको नरहे तापनि भनिला तयार गर्न चाहिने आधारभूत तत्त्वको अनमोल भण्डार अझै पनि मेक्सिको नै हो।b मेक्सिकोको भनिला पहिलेदेखि नै यसको बास्ना र स्वादको लागि उत्कृष्ट मानिन्छ। यस कुरामा पर्यटकहरू पनि सहमत छन्‌ किनभने तिनीहरू प्राकृतिक भनिलाबाट बनेका वस्तुहरू अलि सस्तो भाउमा किन्‍न मेक्सिको विमानस्थलको करमुक्‍त पसलहरू चहारिरहेका हुन्छन्‌। अर्को पटक प्राकृतिक भनिलाबाट बनाइएको आइसक्रिम खानुहुँदा यसको लामो इतिहास र यो उत्पादन गर्न लागेको परिश्रमबारे सम्झनुहोस्‌ र यसको स्वादको मजा लिनुहोस्‌! (g02 9/22)

[फुटनोटहरू]

a भनिलाको दाना, मध्य अमेरिकामा पनि स्थानीय तवरमा उत्पादन गरिन्छ।

b रियुनियन, मडागास्कर, मरिसस र सेशेल्सको भनिला खेती पेरिसको जार्डिन डे प्लान्टेसबाट ल्याइएको एउटा बोटबाट सुरु गरिएको थियो भन्‍ने भनाइ छ।

[पृष्ठ २१-मा भएको चित्र]

टोटोनाक इन्डियनले पराग-सेचन गरेर (बायाँ) प्रशोधन गरेपछि भनिलाका दानाहरू छान्दै (दायाँ)। भनिलाको सुनगाभा (तल)

[स्रोत]

Copyright Fulvio Eccardi/vsual.com

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने