प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ६/८ पृ. २२-२४
  • सिसाको टापुमा भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिसाको टापुमा भ्रमण
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन यत्तिको प्रख्यात?
  • भट्टी तथा शोरूमहरू
  • भेनिस—समुद्रको बीचमा रहेको सहर”
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ६/८ पृ. २२-२४

सिसाको टापुमा भ्रमण

इटालीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

एक जना निपुण कालिगडले दन्केको भट्टीको छेउको ग्लोरी होल अर्थात्‌ सानो प्वालमा आफ्नो ब्लोपाइप घुसाउँछन्‌। त्यहाँबाट तिनले झिक्ने पग्लेको सिसाको डल्लो अस्ताउन लागेको सूर्यजस्तै चम्कन्छ। अत्यन्तै मिहिन धागोले गर्दा भट्टी र छडको बीचमा सुन्तला रङ देखिन्छ अनि तुरुन्तै हराउँछ। निपुण कालिगडले यो पग्लेको सिसा जसलाई ग्यादर भनिन्छ, त्यसलाई मेटलको टेबलमा बटारेर त्यो डल्लोलाई बेलनाजस्तो बनाउँछन्‌। तिनले यो खोक्रो छडमा बिस्तारै फुकेर अलि ठूलो बनाउँछन्‌ अनि फेरि बटारेर उठाउँछन्‌, त्यसलाई नियाल्छन्‌ अनि आगोमा राख्छन्‌।

हामी इटालीको भेनिसको कच्छ अर्थात्‌ समुद्रको छेउमा रहेको सानो टापु मुरानोमा छौं। यो टापु सिसाका सामानहरूको लागि प्रख्यात छ। साँच्चै भन्‍ने हो भने, यस क्षेत्रमा सिसाका सामानहरू बनाउन थालेको १,००० वर्षभन्दा बढी भइसक्यो। नजिकैको कच्छ टापु, टोरसेलोको सिसा कारखानाका अवशेषहरू सा.यु. सातौं शताब्दीतिरका हुन्‌। यद्यपि, भेनिसकै पहिलो प्रमाण भने सा.यु. ९८२ को तमसुकबाट प्राप्त हुन्छ जसमा “डोमेनिक नाउँका सिसाका कामदार” साक्षी बसेका थिए।

सन्‌ १२२४ तिर भेनिसका सिसाका कामदारहरूको संघ स्थापना भइसकेको थियो। सन्‌ १२९१ मा भेनिसको ग्रेट काउन्सिलले सुरक्षाको कारणले होला, सिसाका भट्टीहरू सहरबाट हटाउने आदेश दियो। थुप्रै भट्टीहरू एक किलोमिटरजति पर, कच्छको मुरानोमा सारियो र अहिलेसम्म पनि यहीं नै छन्‌।

किन यत्तिको प्रख्यात?

संसारका थुप्रै ठाउँहरूमा पुरातन समयदेखि नै सिसाका सामानहरू बनाइँदै आएको भए तापनि मुरानो सिसा वा भेनिसको सिसा यत्तिको विशेष हुनुको कारण के हो? भनिन्छ, स्थानीय कालिगडहरूले आफ्नो कलालाई अत्यन्तै परिष्कृत पार्न सके किनभने सिसाका विभिन्‍न कलाकृति बनाउने लामो इतिहास बोकेको मिश्र, फोनिसिया, सिरिया र बाइजान्टिन कोरिन्थजस्ता इलाकाहरूसित अक्सर भेनिसको सम्पर्क भइरहन्थ्यो। साँच्चै भन्‍ने हो भने, प्राप्त प्रमाणअनुसार एकदमै पुराना भेनिसियाली कारखानाहरूले आफ्नो कलाको श्रेय पूर्वीय मुलुकका कारखानाहरूलाई दिएका छन्‌। मुरानोमा प्रयोग गरिएका प्रविधिहरूले गर्दा त्यस टापुको कौशलता एकदमै उच्च स्तरसम्म पुग्यो र सायद अरू कुनै युरोपेली केन्द्रहरू त्यो स्तरसम्म पुग्न सकेका थिएनन्‌।

तेह्रौं र चौधौं शताब्दीको युरोपमा “सिसा फुकेर ‘कला बनाउन’ सक्ने एक मात्र केन्द्र” भेनिस थियो भनी ग्लास इन मुरानो (अङ्‌ग्रेजी) भन्‍ने किताब बताउँछ। भेनिसका उत्पादनहरू टाढ-टाढासम्म निर्यात गरिए—पूर्वीय भूमध्यसागर र उत्तरी युरोपसम्म। सन्‌ १३९९ मा बेलाइतका राजा रिचर्ड द्वितीयले लण्डनको बन्दरगाहमा लङ्‌गर लगाइएको दुइटा भेनिसियाली जहाजमा सिसाका सामानहरू बेच्ने अनुमति दिए। त्यसै अवधिमा भेनिसियाली सिसाका सामानहरू फ्रान्सेली घरानियाँहरूको किम्मती वस्तुहरूमध्ये हुन गयो। पछि गएर मुरानो ऐना, झाड, सिसाका रङ्‌गीचङ्‌गी सामान, सुनौलो तथा इनामेलका सजावट, क्रिस्टल, नक्कली मणिहरू, एकदमै लामो बिंड भएको कप अनि अत्यन्तै मसिनो बुट्टे डिजाइनहरूका लागि पनि प्रख्यात हुन थाल्यो।

भेनिसले आफ्नो कला जोगाउने प्रतिस्पर्धाको होडलाई रोक्न भरमग्दुर प्रयास गऱ्‍यो। तेह्रौं शताब्दीको सुरुतिर सिसाका कामदाहरूलाई अन्य ठाउँहरूमा बसाइँ सर्न निषेध गरियो। यसको जगेर्ना गर्न चालिएका कदमहरू अझ कठोर हुन थाले अनि पूर्णतया मुरानो नागरिक भइसकेकाहरूलाई मात्र सिसाको कामदार वा सिकारुको रूपमा काम गर्न दिइयो। एक चोटि, आफ्नो इलाकाबाट भागेर पक्राउ पर्नेहरूलाई चर्को जरिबाना तिर्न अनि तिनीहरूको खुट्टा फलामको साङ्‌लाले बाँधेर पाँच वर्षसम्म जहाज खियाउने काम गर्न लगाइन्थ्यो।

तैपनि सिसाका कामदारहरू गैरकानुनी ढङ्‌गमा इटाली र युरोपमा बसाइँ सरे अनि मुरानोको जस्तै सामान र तरिका अपनाएर मुरानोसित प्रतिस्पर्धा गर्न लागे। प्रायजसो अवस्थामा मुरानो र अन्य ठाउँका सामानहरू छुट्याउनै नसकिने किसिमका भए र यी सामानहरू आ ला फासोन डे भेनिज वा भेनिसियाली स्टाइल भनेर चिनिन थाले।

पन्ध्रौं र सोह्रौं शताब्दीमा भेनिसियाली कला चरमोत्कर्षमा पुग्यो। फुकेर बनाइएको सुकुमार क्रिस्टल, रङ लगाइएका इनामेल, अपारदर्शी लाटिमो (सेतो खाले अपारदर्शी सिसा) र रेटिसेलो (बुट्टेदार फित्ताजस्तो देखिने सिसा) केही नमुना मात्र हुन्‌। यो बजारमा छ्यासछ्यासती देखिनुको साथै यसलाई राजाहरूको टेबलमा प्रयोग गर्न थालियो।

त्यतिबेला सिसाको कलासम्बन्धी एक जना इतिहासकारअनुसार “भट्टीहरू दन्किरहेको बेला कच्छमा घुम्न आउने कौतूहल पर्यटकहरू मध्ये कोही पनि त्यहाँ जान छुटाउँदैन थिए।” हामी पनि छुटाउन चाहँदैनौं। त्यसकारण हामी आज बिहान ग्य्राण्ड कनालदेखि मुरानोसम्म भेपोरेटो अर्थात्‌ मोटरबोटमा जाँदैछौं। आउनुहोस्‌ हामी सँगै जाऔं।

भट्टी तथा शोरूमहरू

मुरानोको पहिलो स्टपमा भेपोरेटोबाट हामी ओर्लने बित्तिकै मानिसहरूले नजिकैको सिसा कारखाना देखाइदिन्छन्‌ र त्यहाँ सिसाका कामदाहरूहरूको कला सित्तैमा हेर्न सकिन्छ। एक जना कालिगडले हावा फुकेर पग्लेको सिसालाई लामो पार्छन्‌। अनि एकदमै कौशलतापूर्वक चिम्टा र कैंची चलाएर तन्काउँछन्‌, काट्‌छन्‌ अनि निराकार ढिकोलाई तानेर उफ्रनै लागेको घोडाको टाउको, खुट्टा र पुच्छरको आकार दिन्छन्‌।

पहिलो कारखानाबाट निस्केपछि हामी शान्त रियो डे भाट्री, सिसाका कामदारहरूको नहरको छेउमा बिस्तारै हिंड्‌न थाल्छौं जहाँ भेनिसको प्रायजसो ठाउँमा जस्तै ट्राफिक भनेको सडक पेटी र पानीमा मात्र हुन्छ। यहाँ हामीले मुरानोमा कति धेरै कारखाना र शोरूम रहेछन्‌ भनेर थाह पायौं। कुनै-कुनैमा सुन्दर, गुणस्तरीय सामानहरू छन्‌, जस्तै: चिया कपको सेट, पानस, बडेमाका मूर्ति। निस्सन्देह, यी सबै बनाउनको लागि निकै कौशलता र ध्यान चाहिन्छ। अरू कारखाना र शोरूममा भने किन्‍न सकिने मूल्यका सिसाका गेडादेखि लिएर फूलदानी र रङ्‌गीचङ्‌गी पेपरवेटहरू छन्‌। धेरैजसो एकदमै सुन्दर छन्‌। सबै हातैले बनाइएका हुन्‌।

यी विभिन्‍न सामानहरू बनाएको तरिका हेर्दा हामी रोमाञ्चित हुन्छौं। मुरानोको सिसामा ७० प्रतिशत बालुवा र ३० प्रतिशत सोडा, चूनढुङ्‌गा, नाइट्रेट र आर्सेनिक हुन्छ अनि यो १,४०० डिग्री सेल्सियसमा तरल र ५०० डिग्री सेल्सियसमा ठोस हुन्छ। यी दुईबीचको उपयुक्‍त तापक्रममा सिसा नरम र तन्काउन मिल्ने हुन्छ। यसकारण यसलाई फुकेर कुनै आकार दिन पटक-पटक आगोको भट्टीमा राख्नुपर्ने हुन्छ। कालिगडहरू समतल फल्याकमा बस्छन्‌ अनि त्यसमा अड्याएर ब्लोपाइप बटार्छन्‌। एउटा हातले घुमाउँदै अर्को हातले एउटा औजार वा पानीमा भिजाइएको पाइरस कोमुन समाउँछन्‌ जुन अग्नि प्रतिरोधी हुन्छ र पग्लेको सिसालाई बटार्न सकिन्छ।

एक जना कालिगडले अलि घुम्रेको पातामा हावा फुकेको, एक जना सहायकले एक छेउ काटेको अनि घुमाएर फोकाबाट कोपिलाजस्तै निकालेको हामीले हेऱ्‍यौं। यसलाई अझ तताउँदै अनि चिम्टाले तानेर आकार दिंदै झाडको लिली आकारको पानस बनाइन्छ।

पारदर्शी सिसालाई रङ्‌गीन बनाउन कालिगडले आगोले पग्लने रङ्‌गिन धूलो छर्छन्‌। मुरीन भनिने प्रक्रियाद्वारा फूलजस्तो बनाइन्छ र यो प्रक्रिया भनेको रङ्‌गीचङ्‌गी बुट्टा भएका पहिल्यै तयारी गरिएका सिसाका छडहरू थप्नु हो। बेलना आकारको सिसालाई यसको बाहिरी सतह सिसाको छड वा मेटलको पातामा समतल हुने गरी राखिएका खण्डहरूले छोप्न सकिन्छ। यसलाई फेरि आगोको भट्टीमा हाल्दा रङ्‌गीचङ्‌गी, फित्ता वा घुमाउरो सबै मिसिएर एउटा ढिको बन्छ जसलाई फेरि फुकेर फूलदानी, पानस वा आफूले चाहे अनुसारको आकार बनाउन सकिन्छ। यसलाई पगाल्ने विभिन्‍न भाँडोहरूमा चोपेर रङ्‌गीचङ्‌गी विभिन्‍न पत्र वा पारदर्शी सिसाका बाक्ला पत्रहरू बनाइन्छ।

हो, हरेक आकृतिको पछाडि आफ्नै कथा र विशेष प्रविधि भएजस्तो देखिन्छ। शताब्दीयौं पुरानो परम्पराले गर्दा भेनिसको ऐतिहासिक टापुका सिसाका कामदारहरूले बालुवालाई आगोद्वारा सानदार अनि चम्किलो सृष्टि बनाउन सक्छन्‌। (g04 5/22)

[पृष्ठ २२-मा भएको चित्र]

रियो डे भाट्री, मुरानो, इटाली

[पृष्ठ २३-मा भएको चित्र]

एउटा १५ औं शताब्दीको “बारोभियर कप”

[पृष्ठ २३-मा भएको चित्र]

एउटा १६ औं शताब्दीको हीरा जडित कप

[पृष्ठ २४-मा भएको चित्र]

१. ग्लोरी होल

२. कालिगडले सिसालाई आकार दिन्छन्‌

३. सिसालाई अझ लचकदार बनाउन फेरि तताइन्छ

४. चिम्टा र कैंची प्रयोग गरेर कालिगडले घोडाको खुट्टा बनाउँछन्‌

५. तयारी घोडा

[स्रोत]

Photos courtesy http://philip.greenspun.com

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने