युवाहरू सङ्कटमा
◼ संयुक्त राज्य अमेरिकामा १५ वर्षीय एक छात्र आफ्ना सहपाठीहरूमाथि अन्धाधुन्ध गोली हान्न थाल्छ, २ जनालाई मार्छ र १३ जनालाई घाइते बनाउँछ।
◼ रूसमा नशाले लट्ठ परेका केही किशोर-किशोरीहरूले बर्बरतासाथ नौ वर्षकी एउटी केटीको हत्या गर्छन् र तिनको बुबा र दाइ पर्नेलाई चुट्नसम्म चुट्छन्।
◼ बेलाइतमा १७ वर्षीय एउटा केटाले आफूभन्दा सानो केटालाई निर्घात कुट्छ र छुरी रोप्छ। ऊ प्रहरीलाई यसो भन्छ, “सुरुमा त मैले तिनलाई मार्न चाहेको थिइनँ तर रगत देखेपछि आफूलाई थाम्नै सकिनँ।”
स्तब्ध पार्ने यस्ता घटनाहरू एकाध होइनन्। यस्ता कामहरूलाई पागलपन भनेर पन्छाउन सकिंदैन। प्रोफेसनल स्कूल काउन्सिलिङ्-मा प्रकाशित एउटा लेख यसो भन्छ, “युवा हिंसा हाम्रो समाजको एउटा प्रमुख समस्या हो।” तथ्याङ्कहरूले यस कुराको पुष्टि दिन्छ।
शैक्षिक तथ्याङ्कको लागि संयुक्त राज्य अमेरिकी राष्ट्रिय केन्द्रले बताएअनुसार उक्त मुलुकमा रिपोर्ट गरिने स्कूलमा हुने हिंसाहरूमा केही कमी आए तापनि “सन् २००१ मा घाइते बनाउने हिंसा अथवा चोरीसम्बन्धी २० लाख आपराधिक घटनाहरूमा १२ देखि १८ वर्षका किशोर-किशोरीहरू संलग्न थिए।” स्कूलमा गुण्डागर्दी बढेको रिपोर्ट छ।
यद्यपि, संयुक्त राज्य अमेरिकामा हुने सबै युवा हिंसाको सिकार विद्यार्थीहरू मात्र हुँदैनन्। सोही स्रोत यस्तो रिपोर्ट दिन्छ, “सन् १९९७ देखि सन् २००१ सम्म जम्मा ५ वर्षभित्रमा शिक्षकहरू स्कूलमा लगभग १३ लाख अहिंसात्मक अपराधका सिकार भए जसमा ८,१७,००० चोरी र ४,७३,००० हिंस्रक अपराधहरू पनि समावेश थिए।” यसको अतिरिक्त, “कुल प्राथमिक तथा माध्यामिक स्कूलका ९ प्रतिशत शिक्षकहरूलाई विद्यार्थीले हानि पुऱ्याउने धम्की दिए र ४ प्रतिशत शिक्षकलाई त विद्यार्थीले शारीरिक आक्रमण नै गरे।”
अरू देशहरूको अवस्था नि? एउटा समाचार एजेन्सी यस्तो रिपोर्ट दिन्छ, “चीनले सन् २००३ मा कानुन उल्लङ्घन गर्ने ६९,७८० किशोर-किशोरीहरूलाई पक्राउ गऱ्यो र यो सन् २००२ को तुलनामा १२.७ प्रतिशतले वृद्धि हो।” सोही समाचार स्रोत यसो भन्छ, “७० प्रतिशतभन्दा धेरै गिरोह अपराधहरू किशोर-किशोरीहरूद्वारा नै हुने गर्छन्। त्यसै गरी, सन् २००३ मा जापानको एक रिपोर्टअनुसार गत दस वर्षमा घटेका कुल अपराधहरूमा आधा अपराधको लागि युवाहरू नै जिम्मेवार थिए।
लागू-औषध—युवाहरूको शरीरलाई घात गर्ने आक्रमण
सङ्कटको अर्को प्रमाण धेरै युवाहरूले आफ्नै शरीरविरुद्ध गरिरहेको आक्रमण हो। यू.एस. नेसनल इन्स्टिच्यूट अन ड्रग अब्यूजद्वारा प्रकाशित एउटा रिपोर्टअनुसार उक्त देशका लगभग आधा जति किशोर-किशोरीहरूले हाइस्कूल सकिनुअघि नै लागूपदार्थ चाखिसकेका हुन्छन्। उक्त रिपोर्ट अझै भन्छ: “आजका किशोर-किशोरीहरूमा रक्सीको प्रयोग अचाक्ली बढेको छ। हाइस्कूल सिध्याउन्जेल पाँच जनामा चार जना (७७ प्रतिशत); अनि ८ कक्षा पुग्दासम्ममा झन्डै (४६ प्रतिशत) विद्यार्थीहरूले रक्सी पिइसकेका (एक दुई चुस्कीभन्दा बढी) हुन्छन्।”
स्वच्छन्द यौन
आज एड्सको युगमा स्वच्छन्द यौन हर हालतमा खतरापूर्ण छ। यद्यपि धेरै युवाहरूको लागि यौन कुनै हानि नगर्ने एउटा खेल जस्तो भएको छ। जस्तै—केही अमेरिकी युवाहरू साह्रै हल्का किसिमले “एक रातको खेल” भन्छन् र मनपरी यौनलाई दिइने यो अलि राम्रो भाषा हो। तिनीहरू “फाइदाका साथीहरू बनाउने कुरा गर्छन्”—यस्ता यौन साथीहरू जसको निम्ति कुनै भावनात्मक बाध्यताहरू हुँदैनन्।
लेखक स्कट वाल्टर यौन पार्टीहरूबारे बताउँछन् जुन सहरभन्दा अलि बाहिरी भागतिर बस्ने कोही-कोही युवाहरूले आमाबाबु जागिरमा भएको बेला आयोजना गर्ने गर्छन्। एउटा त्यस्तै पार्टीमा एउटी केटीले खुलेआम घोषणा गरिन्, “यस पार्टीमा भएका सबै केटाहरूसित तिनी यौन सम्पर्क राख्दैछिन्। . . . उक्त पार्टीमा १२ वर्षका केटाकेटीहरूसमेत थिए।”
के यसले स्तब्ध पार्छ? किशोर-किशोरीहरूको यौन व्यवहार अध्ययन गरेका विज्ञहरूलाई यस्ता कुराहरूले स्तब्ध पार्दैन। डा. एन्ड्रिया पेनिङ्गटोन यस्तो लेख्छन्, “गत २० वर्षभित्रमा यौन क्रियाकलापमा सहभागी हुने किशोर-किशोरीहरूको औसत उमेर झन्-झन् घट्दै गइरहेको हामीले देखेका छौं। बाह्र वर्षको उमेरमै केटा-केटीहरू यौन क्रियाकलापमा संलग्न हुनु कुनै अनौठो कुरा होइन।”
विशेष गरेर यू.एस.ए टुडे अखबारको रिपोर्टले अझ मर्माहत पार्छ, “मुलुकमा भर्खरै किशोरावस्थामा प्रवेश गरेका . . . मुख मैथुन गर्ने किशोर-किशोरीहरूको संख्या बढिरहेको छ। . . . ठिटा-ठिटीहरू आफै ‘यो वास्तवमा यौन सम्पर्क होइन’ भन्ने निष्कर्षमा पुगेका छन्। दस हजार केटीहरूमाथि गरिएको एउटा सर्वेक्षणअनुसार “८० प्रतिशतले आफूलाई कुमारी भने तर तिनीहरूमध्ये २५ प्रतिशतले मुख मैथुन गरिसकेका थिए। अनि २७ प्रतिशतले ‘यसो रमाइलोको लागि केटाहरूसित मुख-मैथुन गर्ने बताए।’ ”
यौनप्रतिको यस्तो दृष्टिकोणले अर्कै समस्यातिर धकेल्दै छ। युनेस्को यस्तो रिपोर्ट गर्छ, “सानै उमेरमा यौनमा सक्रिय भएका कारण एसियाका धेरै युवा-युवतीहरू एड्सबाट संक्रमित हुने खतराको झन्-झन् नजिक पुगिरहेका छन्। रिपोर्ट अझै यसो भन्छ: “विवाहपूर्व अक्सर एक जनाभन्दा धेरैसित यौन सम्बन्ध राखेर धेरै किशोर-किशोरीहरूले आफ्ना आमाबाबुको ‘एसियाली मूल्यमान्यता’ डुबाउने क्रम बढ्दो छ।”
युवाहरू निराश हुनुका थप कारणहरू? क्यानाडाको वुमन हेल्थस् विक्ली यस्तो रिपोर्ट दिन्छ: “१६ देखि १९ वर्षका २५ प्रतिशत किशोर-किशोरीहरूले एकपछि अर्को मेजर डिप्रेशनको (गम्भीर निराशाको) अनुभव गर्छन्।” तथापि, डिप्रेशन नामक रोगले पुरुष र स्त्री दुवैलाई असर गर्छ। यू.एस न्युज् एण्ड वर्ल्ड रिपोर्ट-अनुसार हरेक वर्ष पाँच हजारभन्दा धेरै युवाहरूले आत्महत्या गर्छन्। उक्त रिपोर्ट भन्छ, कारण स्पष्ट नभए पनि केटीको तुलनामा केटाहरूले छ गुणा धेरै आत्महत्या गर्छन्।”
निस्सन्देह, आजको युवा पुस्ता सङ्कटमा परेको छ। कारण के हो? (g05 4/8)
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
STR/AFP/Getty Images