प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ११/८ पृ. २४-२६
  • विविधताले भरिपूर्ण युरोपको डेल्टा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विविधताले भरिपूर्ण युरोपको डेल्टा
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवजन्तुको लागि उपयुक्‍त ठाउँ
  • जोगाउनै पर्ने डेल्टा
  • ब्राटिस्लाभा—पुरातन दोभानको बस्तीबाट आधुनिक राजधानी
    ब्यूँझनुहोस्‌!—२०००
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • आउनुहोस्‌, विशाल मेकोंगसँगै रम्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००५
g05 ११/८ पृ. २४-२६

विविधताले भरिपूर्ण युरोपको डेल्टा

रोमानियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

ड्यानुब नदी जर्मनीको जङ्‌गलै जङ्‌गलले ढाकिएको पहाडी भेकमा जन्मन्छ। त्यसपछि, बेगसित पूर्वतिर हानिंदै अस्ट्रिया पार गर्छ र स्लोभाकियाको सीमासँग मितेरी लगाउँदै बग्छ। अलिक तल पुगेपछि उर्लंदो खोला बनेर दक्षिणतिर हंगेरीभित्र छिर्छ। त्यसपछि, क्रोएसिया र सर्बियाको सीमा भएर बग्छ। अझ तल पुगेपछि यो नदी फराकिलो बन्छ र बुल्गेरियाको सीमा सँग-सँगै नागबेली हुँदै बिस्तारै बग्छ। त्यसपछि, उत्तरतिर घुमेर रोमानिया पार गर्छ। अन्तमा यसले युक्रेनको सीमा छुन्छ।

यसरी बग्दै जाँदा ड्यानुब नदीमा ३०० सहायक नदीहरू मिसिएर यो विशाल नदी बन्छ। साथै, यसले अत्यधिक मात्रामा माटो र बालुवा पनि बोकेर ल्याउँछ। फलस्वरूप, यो नदी कृष्ण सागरमा मिसिंदा तटमा एउटा सुन्दर डेल्टाको जन्म हुन्छ। डेल्टा भनेको नदीले माटो र बलुवा बगाउँदै लगी समुद्रको मुखमा थुपारेर बनाएको तीनकुने जमिन हो। रोमानियाको दक्षिण-पूर्वी टुल्चा शहर नजिकै ड्यानुब नदी तीन मुख्य शाखा नदीहरूमा बाँडिएर कृष्ण सागरमा खस्छ। यी तीन शाखा नदी हुन्‌: किलिया, सुलिना र सेन्ट जर्ज।

ड्यानुब नदीका यी तीन शाखा नदीहरू डेल्टा हुँदै सुस्तरी बग्छ र यसबाट थुप्रै स-साना कुलोहरू निस्कन्छ। यिनै कुलोको पानी त्यहाँको दलदल र तालहरूमा पुग्छ। नदीले बगाएर ल्याएको थेग्रो र समुद्रबाट निक्लेको बालुवा किनारमा थुप्रिन्छ र त्यहाँ टापूहरू पनि बन्छन्‌। कराओर्मन नामक बलौटे किनारमा छ मिटर अग्ला बालुवाका ढिस्काहरू छन्‌ र हेर्दा मरुभूमि जस्तो देखिन्छ।

तथापि, ड्यानुब डेल्टा माटो र बालुवा थुप्रिएर बनेको सुन्दर भू-दृश्‍य मात्र होइन। यो युरोपको सबैभन्दा ठूलो सिमसार हो र यसले ४,३०० वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। अझ, यहाँ १,७०० वर्ग किलोमिटरमा फैलिएको निगालोको घारी पनि छ र यत्ति ठूलो निगालोको घारी संसारमा सायदै कतै होला।

यहाँका बलौटे किनारमा औले पिपल, कटुस र अग्राख जस्ता रूखहरूका सुन्दर जङ्‌गल छन्‌। यी रूखहरूमा जङ्‌गली अङ्‌गुर, आइभी, लायना र अरू लहराहरू बेह्रिएका छन्‌। लाग्छ, घामको उज्यालो पाउन यी लहराहरू रूखमा चढ्‌न तँछाड मछाड गर्दैछन्‌। एक अर्थमा, यस डेल्टालाई पानी सफा गर्ने प्राकृतिक मेशिन नै भने पनि हुन्छ। यो युरोपको सबैभन्दा ठूलो पानी सफा गर्ने प्रणाली हो।

जीवजन्तुको लागि उपयुक्‍त ठाउँ

यो डेल्टा चराहरूको लागि त स्वर्ग नै हो। यहाँ ३०० भन्दा बढी प्रजातिका लाखौं चराहरू बसाइँ सरेर आउँछन्‌। संसारको लगभग ५० प्रतिशत सेतो समुद्री चरा र ६० प्रतिशत भन्दा बढी पिग्मी कर्मोरन्ट चराले यही ड्यानुब डेल्टामा चल्ला कोरल्छन्‌। साथै, संसारभरिका रातो छाती भएका प्रायः सबै हाँसहरूले यहीं जाडो काट्‌छन्‌। यो हाँस खतराको सूचीमा परेको छ। सेतो समुद्री चराले फाल्गुन-चैततिर यहाँको निगालोको घारीमा गुँड लगाई अण्डा पार्छ। शरद्‌ ऋतु लागेपछि यी समुद्री चराहरू नाइल डेल्टा, ग्रीस र एसियाको समुद्रीतटतिर लाग्छन्‌। कोही-कोही त अझ टाढा भारतसम्म पनि पुग्छन्‌।

ठाउँ उपयुक्‍त भएकोले मात्र होइन, आहाराको लागि माछा प्रशस्तै पाइने भएकोले पनि यहाँ चराहरूको ओइरो लाग्ने गर्छ। यो डेल्टा भएर बग्ने ती शाखा नदीहरूमा ९० भन्दा बढी प्रकारका माछाहरू पाइन्छ। वास्तवमा, रोमानियाका भान्छाहरूमा पाक्ने नदीका माछाहरूमध्ये ५० प्रतिशत जति यही डेल्टाकै हो। यहाँ पाइने सबैभन्दा लोकप्रिय माछा स्टरजियन हो। यो माछा अण्डा पार्नकै लागि ड्यानुबमा आउँछ। यसको अण्डालाई क्याभियर पनि भनिन्छ अनि यो एकदमै महँगो र स्वदिष्ट व्यञ्जन हो।

यस डेल्टामा १३ प्रतिशत मात्र सुख्खा जमिन छ। यहाँ ब्वाँसो, फ्याउरो, खरायो र मस्क्‌ऱ्‍याट पाइन्छ। यस ठाउँमा ओटर र युरोपियन मिङ्‌क पनि पाइन्छ। यिनीहरू लोपोन्मुख प्रजातिको सूचीमा परेका छन्‌। एकताका, युरोपियन मिङ्‌कको भुत्लाबाट बनेको कोट भनेपछि फेसनदार आइमाईहरू हुरूक्कै हुन्थे। यसबाहेक, यस अद्‌भुत भूमिमा १,८०० भन्दा बढी किसिमका कीरा-फट्याङ्‌ग्रा पनि पाइन्छ।

जोगाउनै पर्ने डेल्टा

सन्‌ १९९१ मा ड्यानुब डेल्टा विश्‍व सम्पदा सूचीमा पऱ्‍यो। अनि सन्‌ १९९२ मा यस डेल्टाले जीवमण्डल आरक्षणको रूपमा अन्तरराष्ट्रिय मान्यता पायो। टुल्चा शहरबाटै यस आरक्षको हेरचाह गर्ने प्रबन्ध मिलाइएको छ। माछा मार्ने काम कानुनद्वारै नियन्त्रण गरिएको छ। तैपनि लुकीछिपी माछा मार्ने काम भने भई नै रहेको छ।

त्यहाँका सहर र औद्योगिक केन्द्रहरूले यस डेल्टालाई कुरुप बनाउँदै छ। यी सहर र औद्योगिक केन्द्रहरूबाट निस्केको फोहोर-मैलो ड्यानुब नदीमा फ्याँक्ने गरिन्छ। समुद्रमा मिसिनअघि, २,८५० किलोमिटर लामो यो नदीभरि नै फोहोर फ्याँकिन्छ। पहिला-पहिला धेरै वर्षसम्म डेल्टामा प्रवेश गर्नअघि नै दलदले घाँसे मैदानहरूले ड्यानुब नदीको तल्लो भागलाई सफा गर्ने गर्थ्यो। अहिले, ती घाँसे मैदानहरूको ८० प्रतिशत भाग विनाश भइसकेको छ।

आजभोलि हरेक वर्ष यो डेल्टाको ३० मिटर भूभाग कृष्ण सागरमा मिसिंदै गइरहेको छ। अनि ड्यानुब नदीले चाहिं हजारौ वर्ष अघिदेखि गर्दै आए जस्तै यो विविधताले भरिपूर्ण अद्‌भूत डेल्टालाई बनाउँदै, पुननिर्माण गर्दै र सिंगार्दै आइरहेको छ। (g05 10/22)

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

युक्रेन

मोल्डोभा

रोमानिया

बुकारेस्ट

ड्यानुब डेल्टा

कृष्ण सागर

ड्यानुब नदी

बुल्गेरिया

[पृष्ठ २४-मा भएको चित्र]

डेल्टामा भएको निगालोको घारी, यो संसारकै ठूलो निगालो घारीहरूमध्ये एक हो र यसले सबै प्रकारको जङ्‌गली जीवजन्तुलाई आश्रय दिएको छ

[पृष्ठ २४-मा भएको चित्र]

मस्क्‌ऱ्‍याट

[पृष्ठ २५-मा भएको चित्र]

संसारकै लगभग ५० प्रतिशत सेतो समुद्री चराले यहाँ चल्ला कोरल्छन्‌

[पृष्ठ २६-मा भएको चित्र]

चराको लागि स्वर्गरूपी यस भूमिमा किङ्‌गफिसर लगायत ३०० भन्दा बढी प्रजातिका चराहरूको ओइरो लाग्छ

[पृष्ठ २६-मा भएको चित्र]

ड्यानुब डेल्टामा १,८०० भन्दा बढी किसिमका कीरा-फट्याङ्‌ग्रा पाइन्छ

[पृष्ठ २४-मा भएको चित्रको स्रोत]

All photos: Silviu Matei

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

All photos: Silviu Matei

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

All photos: Silviu Matei

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने