प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. २४-२५
  • आउनुहोस्‌, विशाल मेकोंगसँगै रम्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आउनुहोस्‌, विशाल मेकोंगसँगै रम्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असाध्यै गुणी नदी
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००७
  • नायाग्रा फल्स—एकदमै विस्मयकारी अनुभव
    ब्यूँझनुहोस्‌!—२००१
  • “सुनौलो देश” म्यानमार
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. २४-२५

आउनुहोस्‌, विशाल मेकोंगसँगै रम्नुहोस्‌

मेकोंग नदी एसियाका छ वटा देशहरू हुँदै बग्छ। झन्डै एक सय विभिन्‍न आदिवासी र जनजाति समूहका झन्डै १० करोड मानिसहरू गुजाराको लागि यसै नदीमा निर्भर छन्‌। वर्षेनी यस नदीबाट १३ लाख टन माछा निकालिन्छ जुन नर्थ सी भनिने समुद्रबाट निकालिने भन्दा चार गुणा बढी हो! चार हजार तीन सय पचास किलोमिटर लामो यो नदी दक्षिणपूर्वी एसियाको सबैभन्दा लामो नदी हो। विभिन्‍न देशहरू छिचोल्दै बग्ने यो नदीको देशअनुसार फरक-फरक नाउँ छ। तर एकदमै चल्ती नाउँ चाहिं मेकोंग नै हो। थाइ भाषामा यसको पूरा नाउँ माँ-नाम-कोंग हो र यसैलाई छोटकरीमा मेकोंग भनिएको हो।

अग्ला हिमालहरूबाट सुरु भई मेकोंग नदी भर्खरै बैंस चढे जस्तो गरी पहाडी भीरहरूबाट उर्लंदै गहिरा खोचहरू हुँदो सुइँकिएर बग्छ। चीनमा यसलाई लानसाङ भनिन्छ। यस नदीले चीन काटुञ्जेलसम्म आफ्नो कुल लम्बाइको आधी दूरी त पार गरिसकेको हुन्छ। साथै यस क्रममा यो नदी उच्च पर्वतीय क्षेत्रबाट ह्वात्तै ४,५०० मिटर तल खस्दछ। त्यसपछि त यो ५०० मिटर मात्रै तल खस्छ। त्यसैले, नदीको बाँकी भाग निकै शान्त भएर बग्छ। चीनको सीमा काटेपछि यो नदी म्यानमार र लाओसबीच अनि लाओस र थाइल्याण्डबीचको सीमा बन्दै बग्छ। लाओस र थाइल्याण्डबीचको सीमा बनेर चाहिं यो नदी निकै लामो दूरीसम्म बग्छ। कम्बोडिया पुगेपछि यो दुई भागमा बाँडिन्छ र भियतनाम पस्छ अनि त्यहाँ थुप्रै शाखा नदीहरूमा बाँडिएर डेल्टा बनाउँदै साउथ चाइना सी भनिने समुद्रमा मिसिन जान्छ।

सन्‌ १८६० को दशकको अन्ततिर फ्रान्सेलीहरूले मेकोंग नदी हुँदै चीनसम्म पुग्ने मार्ग पत्ता लगाउने कोसिस गरेका थिए। तर तिनीहरूको आशा साकार हुन पाएन। किनभने कम्बोडियाको क्रेट्या भन्‍ने सहर नजिकैको तीव्र धार अनि दक्षिण लाओसको वेगले झर्ने कोंन भनिने झरनाहरूको भयानक शृङ्‌खलासँग तिनीहरूको जम्काभेट भयो। त्यसपछि त तिनीहरू अघि बढ्‌नै सकेनन्‌। यो कोंन झर्नाबाट जत्तिको धेरै पानी संसारको अरू कुनै झर्नाबाट झर्दैन। यसबाट झर्ने पानीको मात्रा क्यानाडा र अमेरिकाको सीमामा पर्ने नायग्रा फल्सको भन्दा दोब्बर छ।

असाध्यै गुणी नदी

मेकोंग नदी दक्षिणपूर्वी एसियाको अर्थतन्त्रको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। लाओसको राजधानी भियनटाइन र कम्बोडियाको राजधानी न्होम्पेन दुवै यस नदीको छेउमा अवस्थित बन्दरगाह सहर हुन्‌। अझै तल भियतनाममा पुग्दा यो नदी त्यहाँका मानिसहरूका लागि कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा स्पष्टै देखिन्छ। त्यहाँ यो नदी सात वटा शाखा नदीमा बाँडिएर ४०,००० वर्ग किलोमिटरको डेल्टा बनाउँछ जसबाट लगभग ३,२०० किलोमिटर लामो कुलोहरू निस्कन्छन्‌। यहाँबाट निस्कने पानी धानबाली र अन्य खेतीपातीको लागि प्रशस्तै हुन्छ। साथै त्यहाँ अत्यन्तै अनमोल पाँगो माटो पनि हुने भएकोले त्यस इलाकाका किसानहरूले वर्षेनी तीन चोटि धानबाली लगाउँछन्‌। त्यसैले यस लोकप्रिय अन्‍न निर्यात गर्ने राष्ट्रहरूको सूचीमा थाइल्याण्डपछिको दोस्रो स्थानमा भियतनाम आउनु कुनै छक्कलाग्दो कुरा होइन।

मेकोंग नदीमा झन्डै १,२०० प्रकारका माछाहरू पाइन्छन्‌। झिंगे माछालगायत अन्य केही प्रजातिको माछा त व्यावसायिक रूपमा पालन समेत गरिन्छ। स्थानीय तवरमा एकदमै लोकप्रिय एउटा माछा चाहिं ट्रे रियाल हो। यसको आफ्नो एउटा छुट्टै पहिचान छ। यस माछाको नाउँबाट नै कम्बोडियाको पैसाको नाउँ रियाल राखिएको हो। खतराको सूचीमा परेको क्याटफिस पनि यस नदीमा पाइन्छ। यो माछा २.७५ मिटरसम्म लामो हुन सक्छ। सन्‌ २००५ मा त्यहाँका मछुवाहरूले २९० किलो तौलको क्याटफिस पक्रेका थिए। सायद योभन्दा पहिला यति ठूलो माछा नदीमा मारिएको थिएन होला! मेकोंग नदीकै कुरा गर्दा यहाँ खतराको सूचीमा परेको इरावाडी डल्फिन माछा पनि पाइन्छ। विशेषज्ञहरूका अनुसार मेकोंग नदीमा यो डल्फिन १०० वटा भन्दा पनि कम छ।

लाखौं मानिसहरूलाई हातमुख जोर्न मदत गर्नुको अलावा मेकोंग नदी किसिम-किसिमका जहाजहरूको लागि राजमार्ग पनि हो। यहाँ यात्रुहरू ओसार्ने साना जहाजदेखि लिएर बडेमाका मालबाहक जहाजहरू समेत ओहोरदोहोर गरेको देख्न सकिन्छ। यस नदीमा पर्यटकहरू पनि निकै आउँछन्‌। प्रायः पर्यटकहरू कोंग झर्ना हुँदै भियनटाइन जान्छन्‌। नहर, देवालय र खामाहरूमाथि बनाइएका घरहरूको लागि प्रख्यात यो सहर झन्डै १,००० वर्षभन्दा धेरै अघिदेखि व्यापार, राजनीति र धर्मको केन्द्र बनेको छ। भियनटाइनबाट अझै माथि लुवाङगफ्राबाङ छ। त्यहाँ पनि यही नदी भएर जान सकिन्छ। यो बन्दरगाह सहर एक समय ठूलो थाइ-लाओ राज्यको राजधानी थियो। लाओस फ्रान्सेलीहरूको अधीनमा हुँदा यो सहर केही समयको लागि राजधानी बनाइएको थियो। फ्रान्सको उपनिवेश हुँदाको प्रभाव यस ऐतिहासिक सहरमा अझै पनि देख्न सकिन्छ।

तर हाल मेकोंगमा चिन्ताजनक परिवर्तनहरू देखिन थालेका छन्‌। जस्तै, विध्वंसकारी तरिकामा माछा मार्ने, वन फँडानी र जलविद्युत्‌का ठूल-ठूला बाँधहरू। थुप्रैको सोचाइमा यी समस्याहरू रोकेर रोक्नै नसकिने खालका भएका छन्‌। तर एउटा आशा छ!

हाम्रा मायालु सृष्टिकर्ताले चाँडै आफ्नो राज्यमार्फत्‌ मानिसहरूको यस्ता कामकुरामाथि हस्तक्षेप गर्नुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (दानियल २:४४; ७:१३, १४; मत्ती ६:१०) परमेश्‍वरको सिद्ध सरकार अन्तर्गत पूरै पृथ्वीको अवस्था सुरुमा जस्तै दुरुस्त हुनेछ। लाक्षणिक भाषामा भन्‍ने हो भने नदीहरूले पनि हर्षले ‘ताली बजाउने’ छन्‌। (भजन ९८:७-९) त्यसरी ताली बजाउने बेला विशाल मेकोंगले पनि भाग लिन पाओस्‌! (g 11/06)

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

चीन

म्यानमार

लाओस

थाइल्याण्ड

कम्बोडिया

भियतनाम

मेकोंग नदी

[पृष्ठ २४-मा भएकाचित्र]

मेकोंग डेल्टामा धानबाली

मेकोंग नदीमा झन्डै १,२०० प्रजातिका माछाहरू पाइन्छन्‌

[पृष्ठ २५-मा भएका चित्र]

भियतनाममा नदीमाथि तैरिरहेको बजार

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने