प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. १४ पृ. ११५-१२०
  • एकाकीपन कसरी हटाउने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकाकीपन कसरी हटाउने?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एक्लो तर एकाकीपन छैन
  • क्षणिक एकाकीपन
  • दीर्घकालीन एकाकीपन
  • पर्खाललाई तोड्‌ने
  • एकाकीपन महसुस गर्ने मानिसहरू किन यति थुप्रो?
    ब्यूँझनुहोस्‌!—२००४
  • मेरो किन कोही साथी छैन?
    युवाहरू सोध्छन्‌
  • एकाकीपनसित सङ्‌घर्ष गर्ने
    ब्यूँझनुहोस्‌!—२००४
  • एक्लोपन कसरी हटाउन सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. १४ पृ. ११५-१२०

अध्याय १४

एकाकीपन कसरी हटाउने?

शनिबार रातीको कुरा हो। केटो कोठामा एक्लै बसिरहेको छ।

“मलाई शनिबार आएको पटक्कै मन पर्दैन!” उ चिच्याउँछ। तर उसको कुरा सुन्‍ने त्यहाँ कोही छैन। पत्रिका पल्टाउँछ र जवान मानिसहरूको एक हूल समुद्र किनारामा टहलिरहेको चित्र देख्छ। ऊ त्यो पत्रिकालाई भित्तातिर हुऱ्‍याउँछ। आँखाभरि आँसु भरिन थाल्छ। आँसु रोक्न दाँतले ओंठ टोक्छ तर बरबरी आँसु झर्न थाल्छ। आफूलाई थाम्न नसकेर ऊ ओछ्यानमा पल्टेर रुन थाल्छ। “म किन सधैं एक्लै पर्छु?”

के तपाईं कहिलेकाहीं त्यस्तै महसुस गर्नुहुन्छ—संसारबाट अलग, एक्लो, बेकामको अनि खोक्रो? त्यसो हो भने हतास नहुनुहोस्‌। एक्लो हुनु रमाइलो कुरा त होइन तर यो घातक रोग पनि होइन। सरल भाषामा भन्‍ने हो भने, एकाकीपन एउटा चेताउनी हो। भोकले खाना चाहियो भनेर चेताउनी दिएझैं एकाकीपनले तपाईंलाई संगति, घनिष्ठता अनि आत्मीयता चाहियो भनेर संकेत दिन्छ। शरीरलाई सुचारु रूपले चलाउन खाना चाहिएझैं सकुशल महसुस गर्न हामीलाई संगति चाहिन्छ।

के तपाईंले कहिल्यै बलिरहेको कोइलाको थुप्रोलाई नियाल्नुभएको छ? थुप्रोबाट एक टुक्रा कोइला झिक्नुभयो भने त्यो कोइलाको टुक्रा धेरैबेरसम्म बल्नसक्दैन। तर त्यो कोइलालाई थुप्रोमा हाल्नुभयो भने फेरि बल्नथाल्छ! लामो समयसम्म एक्लै हुँदा हामी मानिसहरू पनि त्यसरी नै “बल्न” सक्दैनौं। संगतिको चाहना हाम्रो जन्मजात गुन हो।

एक्लो तर एकाकीपन छैन

निबन्धकार हेन्री डेभिड थोरिउले यसप्रकार लेखे: “मैले एकान्तपनजस्तो रमाइलो साथी कहिल्यै पाउन सकिनँ।” के तपाईं सहमत हुनुहुन्छ? “सहमत छु,” २० वर्षीय बील भन्छन्‌। “मलाई प्रकृति मन पर्छ। कहिलेकाहीं म मेरो सानो डुंगामा तालतिर जाने गर्छु। त्यहाँ घण्टौंसम्म एक्लै बस्छु। त्यसो गर्दा जीवनमा मैले के गरिरहेछु भनी फर्केर हेर्ने मौका पाउँछु। ती क्षणहरू असाध्यै रमाइलो लाग्छ।” एक्काइस वर्षीय स्टिभन पनि यो कुरासित सहमत छन्‌। तिनी भन्छन्‌, “एउटा ठूलो घरमा मैले डेरा लिएको छु। कहिलेकाहीं एक्लै बस्न म धूरीमा जान्छु। गहिरो सोचमा डुब्छु अनि प्रार्थना गर्छु। निकै स्फूर्तिदायी हुन्छ।”

हो, एकान्तपनको सदुपयोग गरेको खण्डमा ती क्षणहरूले गहिरो सन्तुष्टि प्रदान गर्नसक्छ। येशूलाई पनि त्यस्ता क्षणहरू रमाइलो लाग्थ्यो। उदाहरणका लागि, एक चोटि “उज्यालो हुनभन्दा धेरै अघि बिहानै उठेर [येशू] बाहिर एकलासको ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।” (मर्कूस १:३५) सम्झनुहोस्‌ त, ‘मानिस एकछिनको लागि पनि एक्लै बस्नु ठीक छैन’ भनी यहोवाले भन्‍नुभएन। बरु, परमेश्‍वरले भन्‍नुभयो, ‘मानिस एकलो रहिरहन असल छैन।’ (उत्पत्ति २:१८-२३) अतः लामो समयसम्म एक्लै बस्दा एकाकीपन पैदा हुनसक्छ। बाइबल यस्तो चेताउनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।”—हितोपदेश १८:१.

क्षणिक एकाकीपन

कहिलेकाहीं हाम्रो नियन्त्रणबाहिरका कुराहरूले गर्दा पनि एक्लो महसुस हुन्छ। जस्तै, नयाँ ठाउँमा बसाइँ सर्दा घनिष्ठ साथीहरूसित बिछोड हुनु। स्टिभन भन्छन्‌: “पुरानो ठाउँमा जेम्स र म साथी थियौं, दाजुभाइ भन्दा पनि घनिष्ठ। बसाइँ सर्दा उसको यादले सताउनेछ भनेर मलाई थाह थियो।” त्यो बिछोडको क्षणलाई सम्झँदै स्टिभन लामो सुस्केरा हाल्छन्‌। “हवाइजहाज चढ्‌दा रुनै मन लाग्यो। हामी एकअर्कालाई अंकमाल गरेर छुट्टियौं। मेरो अमूल्य वस्तु मबाट छिनिएजस्तो लाग्यो।”

यस नयाँ वातावरणमा स्टिभन कसरी घुलमिल हुन सके? तिनी भन्छन्‌, “सजिलो भएन। पुरानो ठाउँमा साथीहरूले मलाई मन पराउँथे तर यी कतिपय नयाँ मित्रहरूको नजरमा त म कुनै कामको थिइनँ। घडी हेरेर त्यसबाट चार घण्टा (दुइटा ठाउँबीचको समय भिन्‍नता यति थियो) घटाउँथे अनि यतिबेला जेम्स र म के गरिरहेको हुन्थें होला भनेर सम्झन्थें। म असाध्यै एक्लो महसुस गर्थें।”

कामकुरा राम्ररी नचल्दा हामी प्रायजसो अतीतका राम्रा क्षणहरूलाई सम्झिरहन्छौं। तथापि, बाइबल यसो भन्छ: “उहिले उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध।” (उपदेशक ७:१०) किन यस्तो सल्लाह दिइएको?

एउटा कारण हो, परिस्थिति सुध्रनसक्छ। त्यसकारण अनुसन्धानकर्ताहरू यस्तो एकाकीपनलाई प्रायजसो “क्षणिक” भन्‍ने गर्छन्‌। स्टिभनको एकाकीपन पनि पछि गएर हट्यो। कसरी? “आफ्नो ख्याल गर्ने व्यक्‍तिलाई भावनाहरू पोख्नु मदतकारी साबित भयो। अतीतलाई सम्झेर मात्र गुजारा चल्दैन रहेछ। अरूसित भेटघाट गर्ने चाहना नहुँदा नहुँदै पनि अरूलाई भेट्‌थें, तिनीहरूप्रति चासो देखाउँथे। राम्रै भयो, मैले नयाँ साथीहरू पाएँ।” अनि जेम्स नि? “मेरो सोचाइ गलत थियो। बसाइँ सर्दैमा हाम्रो मित्रता टुटेन। अस्ति भर्खर मैले उसलाई फोन गरें। हामीले सवा एक घण्टासम्म कुरा गऱ्‍यौं।”

दीर्घकालीन एकाकीपन

तर कहिलेकाहीं एकाकीपनको तीव्र पीडा रहिरहन्छ र कुनै उपाय नै नभएजस्तो देखिन्छ। उच्च माध्यमिक विद्यालयमा अध्ययनरत रनी यसो भन्छन्‌: “यस इलाकामा स्कूल धाउन थालेको आठ वर्ष भइसक्यो तर अहिलेसम्म एक जनालाई पनि साथी बनाउन सकेको छैन! खै के भनौं, एक जना पनि साथी छैन। . . . मलाई कस्तो लागिरहेछ, कसैलाई थाह छैन र वास्ता पनि गर्दैनन्‌। कहिलेकाहीं त असाध्यै असह्‍य हुन्छ!”

थुप्रै किशोरकिशोरीहरू रनीले जस्तै दीर्घकालीन एकाकीपन महसुस गर्छन्‌। यो क्षणिक एकाकीपनभन्दा खतरनाक हुन्छ। वास्तवमा, अनुसन्धानकर्ताहरू यी दुईबीचको भिन्‍नतालाई “साधारण रुघाखोकी र निमोनियाबीचको भिन्‍नतासित तुलना गर्छन्‌।” तर निमोनियालाई निको पार्न सकेझैं दीर्घकालीन एकाकीपन पनि हटाउन सकिन्छ। पहिलो कदम हो, एकाकीपनको कारण बुझ्नु। (हितोपदेश १:५) सोह्र वर्षीया रोन्डा दीर्घकालीन एकाकीपनको सामान्य कारण औंल्याउँदै यसो भन्छिन्‌: “मेरो विचारमा आफूबारे नकारात्मक भावनाहरू छन्‌ भने साथीहरू बनाउन गाह्रो हुन्छ र त्यसपछि एक्लो हुने त भइहाल्यो नि। अनि मलाई आफू त्यत्तिको मन पनि पर्दैन।”—अमेरिकामा एक्लै (अंग्रेजी)।

रोन्डाको एकाकीपनको कारण उनी स्वयं हो। आत्मसम्मानको कमीले गर्दा उनले साथी बनाउन सकिनन्‌। एक अनुसन्धानकर्ता यसो भन्छन्‌: “ ‘म नराम्रो छु,’ ‘ममा त्यस्तो चाखलाग्दो कुरा केही छैन,’ ‘म बेकामको छु,’ जस्ता विचारहरूले प्रायजसो दीर्घकालीन एकाकीपन भोग्नेहरूलाई सताउँछ।” अतः एकाकीपन हटाउन आत्मसम्मान बढाउनु खाँचो होला। (अध्याय १२ हेर्नुहोस्‌।) बाइबलले बताएअनुसार दया, विनय, नम्रताजस्ता गुनहरूले चित्रण गर्ने “नयाँ व्यक्‍तित्व” धारण गरेपछि तपाईंको आत्मसम्मान अवश्‍य बढ्‌नेछ!—कलस्सी ३:९-१२.

यसबाहेक, आफूलाई मन पराउन सिक्नुभएपछि तपाईंका मोहक गुनहरूप्रति अरू मानिसहरू आकर्षित हुनेछन्‌। फूल पूरा फक्रेपछि मात्र त्यसका सबै रंगहरू देखिएझैं आफूलाई गुम्साउनुभएन भने मात्र अरूले तपाईंका गुनहरूको मूल्यांकन गर्न सक्नेछन्‌।

पर्खाललाई तोड्‌ने

सं.रा.-को राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानको हालै प्रकाशित प्रकाशनले यस्तो सल्लाह दिन्छ, ‘एक्लो मानिसको लागि सबैभन्दा उत्तम सल्लाह नै अरू मानिसहरूसित घुलमिल गर्नु हो।’ यो बाइबलको सल्लाहअनुरूप छ, जहाँ हामीलाई “ठूलो मनका हुन,” “सँगी भाव” वा समानुभूति देखाउन भनिएको छ। (२ कोरिन्थी ६:११-१३; १ पत्रुस ३:८, NW) यो सल्लाह साँच्चै लाभकारी छ। अरूको हेरचाह गर्दा एक्लो महसुस नहुने मात्र होइन तर तपाईंको चासो राख्न अरूलाई उत्प्रेरित पनि गर्छ।

अतः १९ वर्षीया नाटालीले अर्को व्यक्‍ति साथी बन्‍न आएपछि मात्र आफू तम्सिने नगरी आफै अग्रसर हुने अठोट गरिन्‌। तिनी भन्छिन्‌, ‘आफू पनि मित्रैलो हुन सिक्नुपर्छ। अन्यथा मानिसहरूले म कस्तो घमण्डी रहेछु भन्ठान्‍नेछन्‌।’ त्यसकारण अर्को व्यक्‍तिसित मुसुक्क हाँस्नुहोस्‌। अनि त्यो व्यक्‍तिले पनि तपाईंको मुस्कान फर्काउनसक्छ।

त्यसपछि, कुरा थाल्नुहोस्‌। पन्ध्र वर्षीया लिलियन यसो भन्छिन्‌: “नचिनेका मानिसहरूसित कुरा गर्न सुरु-सुरुमा असाध्यै डर लाग्थ्यो। मसित कुरा गर्न चाहँदैनन्‌ होला जस्तो लाग्थ्यो।” लिलियन कसरी कुरा थाल्छिन्‌? उनी भन्छिन्‌: “म साधारण प्रश्‍नहरू सोध्छु, जस्तै, ‘तपाईंको घर कहाँ हो?’ ‘के तपाईं फलानोलाई चिन्‍नुहुन्छ?’ हुनसक्छ, हामी दुवैले त्यो व्यक्‍तिलाई चिनेका हौंला र चालै नपाई कुरामा मग्न हुन्छौं।” त्यसरी नै, दयालु कार्य र उदार मनोभावले पनि अनमोल मित्रताहरू गाँस्न मदत गर्छ।—हितोपदेश ११:२५.

यो पनि नबिर्सनुहोस्‌, तपाईंलाई कहिल्यै नलत्याउने साथी बनाउन सम्भव छ। येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्छ।” (यूहन्‍ना १६:३२) हो, यहोवा, तपाईंको सबैभन्दा घनिष्ठ मित्र हुन सक्नुहुन्छ। बाइबल पढेर तथा सृष्टिलाई हेरेर उहाँको व्यक्‍तित्व जान्‍ने प्रयास गर्नुहोस्‌। प्रार्थनाद्वारा उहाँसित बलियो सम्बन्ध गाँस्नुहोस्‌। आखिर, एकाकीपनको सर्वोत्तम उपचार नै यहोवा परमेश्‍वरसितको मित्रता हो।

तपाईं अझै पनि कहिलेकाहीं एक्लो महसुस गर्नुहुन्छ भने नआत्तिनुहोस्‌। त्यो कुनै असामान्य कुरा होइन। तर असाध्यै लजालु स्वभावले गर्दा साथीहरू बनाउनै सक्नुभएन भने के गर्ने?

छलफलका लागि प्रश्‍नहरू

◻ के एक्लै बस्नु नराम्रो कुरा हो? के एकान्तपनका लाभहरू छन्‌?

◻ प्रायजसो एकाकीपन किन क्षणिक हुन्छ? के तपाईंलाई पनि यो साँचो हो जस्तो लागेको छ?

◻ दीर्घकालीन एकाकीपन के हो र यसलाई कसरी हटाउन सक्नुहुन्छ?

◻ ‘पर्खाल तोडेर’ अरूसित साथी बनाउने केही तरिकाहरू के हुन्‌? तपाईंको निम्ति कुन सुझाउ उपयोगी भएको छ?

[पृष्ठ ११९-मा भएको ठूलो अक्षरको क्याप्सन]

सं.रा.-को राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानले यस्तो सल्लाह दिन्छ, ‘एक्लो मानिसको लागि सबैभन्दा उत्तम सल्लाह नै अरू मानिसहरूसित घुलमिल गर्नु हो’

[पृष्ठ ११६, ११७-मा भएको चित्र]

निकै टाढा टाढा हुँदा पनि साथीहरूले एकअर्काको हालखबर बुझ्नसक्छन्‌

[पृष्ठ ११८-मा भएको चित्र]

एकान्तपनका क्षणहरू रमाइला हुनसक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने