प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख २७
  • मेरो किन कोही साथी छैन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो किन कोही साथी छैन?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एक्लोपनबारे क्विज खेलौँ
  • साथीहरूसितको सम्बन्ध र एक्लोपनबारे केही तथ्य
  • तपाईँ कसरी सफल हुन सक्नुहुन्छ
  • एकाकीपन कसरी हटाउने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • एक्लोपन कसरी हटाउन सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०१५
  • एकाकीपन महसुस गर्ने मानिसहरू किन यति थुप्रो?
    ब्यूँझनुहोस्‌!—२००४
  • एकाकीपनसित सङ्‌घर्ष गर्ने
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख २७
एक किशोरी आत्मविश्‍वासको कमीले गर्दा सङ्‌घर्ष गर्दै छिन्‌

युवाहरू सोध्छन्‌

मेरो किन कोही साथी छैन?

तपाईँ अनलाइन आउनुहुन्छ अनि हालसालैको एउटा पार्टीको फोटो देख्नुहुन्छ। त्यहाँ तपाईँका सबै साथीहरू छन्‌ र निकै रमाइलो गर्दै छन्‌। तर त्यस फोटोमा कोही छुटेको जस्तो देखिन्छ। बिचरा, त्यो फोटोमा तपाईँ हुनुहुन्‍न।

तपाईँ सोच्नुहोला, ‘मलाई चाहिँ किन नबोलाएका होलान्‌?’

आफूलाई नबोलाइँदा तपाईँलाई नमीठो लाग्न सक्छ। तपाईँ त्यागिएको महसुस गर्नुहुन्छ। तासको पत्ताबाट बनाइएको घर भत्किएजस्तै साथीहरूसितको तपाईँको सम्बन्ध पनि भत्किएको महसुस गर्नुहुन्छ। तपाईँलाई एक्लोपनले सताउँछ। तपाईँ आफैलाई सोध्नुहुन्छ, ‘मेरो किन कोही साथी छैन?’

  • एक्लोपनबारे क्विज खेलौँ

  • साथीहरूसितको सम्बन्ध र एक्लोपनबारे केही तथ्य

  • तपाईँ कसरी सफल हुन सक्नुहुन्छ

  • तपाईँका साथीहरू के भन्छन्‌?

  • आफ्नो डर हटाउने

एक्लोपनबारे क्विज खेलौँ

सही वा गलत, जवाफ दिनुहोस्‌।

  1. १. थुप्रै साथीहरू छन्‌ भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

  2. २. सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

  3. ३. मेसेजमार्फत धेरै कुराकानी गर्नुहुन्छ भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

  4. ४. अरूको लागि केही गरिदिनुभयो भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

यी सबै वाक्य गलत हुन्‌।

किन?

साथीहरूसितको सम्बन्ध र एक्लोपनबारे केही तथ्य

  • थुप्रै साथीहरू छन्‌ भन्दैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

    “म साथीहरूको ख्याल राख्छु तर तिनीहरूले चाहिँ मेरो ख्याल नै राख्दैनन्‌ जस्तो लाग्छ। आफूलाई खासै माया नगर्ने वा महत्त्व नदिने साथीहरूको माझ हुँदा झन्‌ एक्लोपन महसुस हुन सक्छ।”​—आन।

  • सामाजिक सञ्जाल चलाउनुहुन्छ भन्दैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

    “कोही मानिसहरू खेलौना बटुलेजस्तै साथीहरू बटुल्ने गर्छन्‌। तर धेरै साथी बटुल्दैमा माया पाएको महसुस हुन्छ भन्‍ने त होइन। यदि ती साथीहरूसितको तपाईँको मित्रता बलियो छैन भने तिनीहरू केवल खेलौनामै सीमित रहनेछन्‌।”​—इलेन।

  • मेसेजमार्फत धेरै कुराकानी गर्नुहुन्छ भन्दैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

    “कहिलेकाहीँ एक्लो महसुस भइरहेको बेला कसैले मेसेज पठाएको छ कि भनेर हेर्ने गर्नुहुन्छ होला। यस्तो बेला कसैको पनि मेसेज नआएको देख्दा तपाईँ झनै निराश हुनुहुनेछ!”​—सेरेना।

  • अरूको लागि केही गरिदिँदैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

    “म सधैँ साथीहरूको लागि सकेजति सबै गर्थेँ तर तिनीहरू भने मेरो लागि त्यसो गर्दैनथे। तिनीहरूको लागि सकेजति गरेकोमा म पछुतो त मान्दिनँ। तर तिनीहरूले मेरो लागि केही नगरेकोले अलि नरमाइलो चाहिँ लाग्छ।”​—रिचार्ड।

निष्कर्ष: एक्लोपन हाम्रो सोचाइमा हुन्छ। जेनेट नाम गरेकी एक युवती भन्छिन्‌, “हामी बाहिरी कुराहरूले गर्दा नभई आफ्नो सोचाइले गर्दा एक्लो महसुस गरिरहेका हुन्छौँ।”

तपाईँलाई आफ्नो कोही साथी छैन र एक्लो छु जस्तो लाग्छ भने के गर्न सक्नुहुन्छ?

तपाईँ कसरी सफल हुन सक्नुहुन्छ

एक किशोरी आत्मविश्‍वासको कमीले गर्दा सङ्‌घर्ष गर्दै छिन्‌

आत्मविश्‍वास बढाउनुहोस्‌।

“आफ्ना कमीकमजोरीबारे धेरै सोच्दा हामी एक्लो महसुस गर्न सक्छौँ। आफू अरूबाट माया पाउन लायक छैन जस्तो लाग्दा अग्रसर भएर तिनीहरूसित कुरा गर्न र साथी बनाउन गाह्रो हुन्छ।”​—जेनेट।

बाइबल भन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (गलाती ५:१४) मित्रता राम्रो बनाउन हामीले आफैलाई जाँच्नुपर्छ। हामीले आफूलाई पनि प्रेम गर्नुपर्छ तर आफूलाई को-को न हुँ भनी सम्झनु हुदैँन।​—गलाती ६:३, ४

एक किशोर आफूलाई बिचराको पात्र ठान्दै छन्‌

आफूलाई बिचराको पात्र नठान्‍नुहोस्‌।

“एक्लोपन दलदले हिलोजस्तै हो। हामी त्यसमा जति गाढिँदै जान्छौँ, त्यसबाट निस्कन त्यति नै गाह्रो हुन्छ। तपाईँ आफूलाई जति बिचराको पात्र ठान्‍नुहुन्छ, त्यति नै मानिसहरू तपाईँसित नजिक हुन चाहँदैनन्‌। त्यसैले तपाईँ झनै एक्लो हुनुहुनेछ।”​—इरिन।

बाइबल भन्छ: “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) आफूलाई बढ्‌तै ध्यान दिन्छौँ भने हामी अरूसित खासै दयालु व्यवहार गर्न सक्दैनौँ र अरू पनि हामीसित साथी बन्‍न इच्छुक हुँदैनन्‌। (२ कोरिन्थी १२:१५) साँच्चै भन्‍ने हो भने यदि तपाईँको सफलता अरूले गर्ने कुरामा निर्भर हुन्छ भने तपाईँ झनै असफल हुनुहुनेछ। विचार गर्नुहोस्‌ त, यदि तपाईँ “मलाई कसैले बोलाउँदैन वा फोन नै गर्दैन” भनेर दुःख मान्‍ने गर्नुहुन्छ भने तपाईँले आफ्नो खुसी अरूको हातमा सुम्पिरहनुभएको हुनेछ, होइन र?

एक किशोर चुरोट तान्‍न इन्कार गर्दै छन्‌

जोकोहीलाई साथी नबनाउनुहोस्‌।

“एक्लो व्यक्‍तिहरू अरूले आफूलाई ध्यान दिएको चाहन्छन्‌ र त्यसको लागि जे गर्न पनि तयार हुन्छन्‌। तिनीहरू केवल अरूबाट माया पाउन चाहन्छन्‌ तर कतिपय मानिसहरू आफ्नै स्वार्थको लागि तिनीहरूलाई चासो देखाउँछन्‌, जसले गर्दा एक्लो महसुस गरिरहेका व्यक्‍तिहरूले झनै एक्लो महसुस गर्छन्‌।”​—ब्रियन।

बाइबल भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” (हितोपदेश १३:२०) एकदम भोकाएको व्यक्‍तिले जे पाउँछ, त्यही खान्छ। ठीक त्यसैगरी, साथी बनाउनको लागि मरिहत्ते गर्ने व्यक्‍ति नराम्रो साथी बनाउन पनि पुग्न सक्छन्‌। तिनीहरूलाई आफूले राम्रै साथी बनाएजस्तो लाग्न सक्छ तर तिनीहरू सजिलै अरूको बहकाउमा परिरहेका हुन सक्छन्‌।

निष्कर्ष: सबै व्यक्‍तिले कुनै न कुनै समय एक्लो महसुस गर्न सक्छन्‌। तर कतिलाई भने एक्लोपनले धेरै नै सताउन सक्छ। यसले भावनात्मक रूपमा निकै गाह्रो बनाउन सक्छ। तर त्यस्तो भावनाहरू आफूमा आउन नदिन हामीले आफ्नो सोचाइलाई नियन्त्रणमा राख्नुपर्छ।

अरूबाट अव्यावहारिक आशा नराख्नुहोस्‌। माथि उल्लेख गरिएकी जेनेट यसो भन्छिन्‌, “तपाईँले भेट्‌ने सबै व्यक्‍ति सधैँभरि तपाईँको एकदम मिल्ने साथी बन्छन्‌ भन्‍ने छैन। तर तपाईँको ख्याल राख्ने कोही न कोही त भेट्टाउन सक्नुहुन्छ। त्यसरी ख्याल राख्ने साथी पाउँदा तपाईँले एक्लोपन हटाउन सक्नुहुनेछ।”

थप मदत चाहनुहुन्छ? “मित्रता गाँस्न डर लाग्छ भने के गर्न सक्नुहुन्छ?” पेटी हेर्नुहोस्‌। साथै “एक्लोपनको सामना गर्ने” (अङ्‌ग्रेजी) पिडिएफ डाउनलोड गर्नुहोस्‌।

तपाईँका साथीहरू के भन्छन्‌?

भेनेसा

“एक्लोपनको आफ्नो समस्याबारे अरूलाई बताउनुहोस्‌। आफ्नो भावना मनमा गुम्साएर नराख्नुहोस्‌। अरूले पनि तपाईँले जस्तै महसुस गरिरहेका हुन सक्छन्‌। एक जना साथीको मदत पाउँदा पनि तपाईँ एक्लोपन हटाउन सक्नुहुन्छ।”​—भेनेसा।

टेलर

“तपाईँको एक्लोपनको लागि सधैँ अरूलाई दोष दिन मिल्दैन। कहिलेकाहीँ तपाईँ आफैले आफैलाई एक्लो बनाइरहनुभएको हुन सक्छ। त्यसैले साथीहरूसित घुलमिल हुन आफ्नो तर्फबाट सक्दो गर्नुहोस्‌। त्यसो गर्दा फाइदा पुगेन भने पहिले साथी बनाउन कोसिस नगर्नुभएको व्यक्‍तिहरूलाई साथी बनाउने कोसिस गर्नुहोस्‌।”​—टेलर।

मित्रता गाँस्न डर लाग्छ भने के गर्न सक्नुहुन्छ?

“मेरो एक जना साथी लामो समयदेखि एक्लोपनको सामना गर्दै छे। उसको ख्याल राख्ने मानिसहरूमाझ हुँदा पनि ऊ माया नपाएको वा एक्लो महसुस गर्छे। आफ्नो कमजोरी अरूले थाह नपाओस्‌ भनेर ऊ आफू कडा स्वभावकी छु भनी देखाउन खोज्छे। यसले गर्दा उसलाई साथी बनाउन झनै गाह्रो हुन्छ। उसले भेट्‌ने मानिसहरूलाई ऊ अलि रुखो स्वभावको छ भन्‍ने भान पर्छ। त्यसमाथि अरूसित नजिक हुन खासै प्रयास नगर्ने मानिसहरू छन्‌ भने त साथी बनाउन उसलाई झन्‌ गाह्रो हुन्छ।

“साथै उसलाई अरूले चोट पुऱ्‍याउला कि भनेर डर लाग्छ। त्यसैले कोही नजिक हुन खोज्दा उसलाई त्यो व्यक्‍ति गलत मनसायले नजिक हुन खोज्दै छ वा तिनीसितको मित्रता टिक्दैन जस्तो लाग्छ। अरूले उसको कुरा बुझिदिएन भनेर ऊ एक्लो महसुस गर्छे जबकि ऊ अरूलाई आफ्नो भावना व्यक्‍त गर्नै चाहँदिनन्‌।

“अरूले आफ्नो भावना बुझिदिएको चाहन्छौँ र मित्रता प्रगाढ बनाउन चाहन्छौँ भने हामीले पनि केही हदसम्म आफ्नो कुरा व्यक्‍त गर्नुपर्छ भनेर उसले बुझ्नुपर्छ। त्यसो गर्दा मात्र अरूलाई हामीसित मित्रता कायम राख्न सजिलो हुन्छ। आशा गर्छु, पछि गएर मेरो साथीलाई एक्लोपन हटाउन र अरूसित मित्रता गाँस्न सजिलो लाग्नेछ।”​—इलेन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने