प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. २८ पृ. २१९-२२४
  • म मोहित भएँ, के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म मोहित भएँ, के गरूँ?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मोहनी के हो
  • मोहित हुनु—किन हानिकारक हुनसक्छ
  • वास्तविकता सामना गर्ने
  • आफ्ना भावनाहरू केलाउने
  • मनबाट निकाल्ने
  • साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उसले मेरो माया स्वीकारेन भने के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—१९९८
  • उसले नाइँ भनेमा के गर्ने?
    ब्यूँझनुहोस्‌!—२००५
  • मित्रता वा रोमान्स?—भाग १: मैले कस्तो सङ्‌केत पाइरहेको छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. २८ पृ. २१९-२२४

अध्याय २८

म मोहित भएँ, के गरूँ?

युवाहरूको पत्रिकाअनुसार “मोहित नहुने र रुघाखोकी नलाग्ने कोही पनि हुँदैन।” हुन पनि राम्रो केटा वा केटी देखेर मोहित नहुने को होला र? सबै जना यो स्थितिबाट गुज्रन्छन्‌ र जसोतसो पार गर्छन्‌। अनि वयस्क भएपछि आफ्नो अनुभव सुनाएर गर्व वा ठट्टा गर्छन्‌। तथापि, मोहित भएर खान, सुत्न भुल्नेहरूलाई यो बिलकुलै ठट्टाको कुरा हुँदैन। एक युवकले यसो भने, “आफूले केही गर्न नसकेको देखेर म दिक्क हुन्थें। तिनी मभन्दा धेरै जेठी छिन्‌ भनेर मलाई थाह थियो। तर थाह भएर के गर्ने, मन परेपछि। म त बौलाहाजस्तो भएको थिएँ।”

मोहनी के हो

कसैप्रति आसक्‍त भावनाहरू हुनु पाप होइन। यद्यपि, त्यस्तो भावना अनैतिक वा अनुचित (जस्तै विवाहित व्यक्‍तिप्रति) अवश्‍य हुनु हुँदैन। (हितोपदेश ५:१५-१८) युवावस्थामा प्रवेश गर्दा “जवानीका अभिलाषाहरू[ले]” तपाईंका विचार तथा कामहरूलाई नियन्त्रण गरेको हुन्छ। (२ तिमोथी २:२२) युवावस्थाका ती नयाँ आकांक्षा र उमंगहरू नियन्त्रण गर्न सिक्न पाउँदा नपाउँदै युवक वा युवती पूर्णतया रोमान्टिक अनुभूतिहरूले वशीभूत हुनसक्छन्‌। र आफ्ना भावनाहरू बुझिदिने कोही पनि नहुनसक्छ।

यसबाहेक, “केटीहरू केटाहरूभन्दा चाँडै व्यवहार गर्न जान्‍ने, नहडबडिने भइसकेका हुन्छन्‌।” फलतः “केटीहरूलाई आफ्नो उमेरका केटाहरू त्यति परिपक्व, रोमान्टिक लाग्दैनन्‌” र “शिक्षक” वा आफूभन्दा धेरै ठूलो उमेरका वा रोमान्टिक सम्बन्ध गाँस्न सम्भवै नभएका पुरुषहरूतर्फ मोहित हुन्छन्‌। (सेभेन्टिन भन्‍ने पत्रिका) किशोरीहरू आफूलाई मन पर्ने शिक्षक, गायक वा आफूभन्दा ठूलो उमेरका परिचित पुरुषहरूलाई “आदर्श” पुरुषको रूपमा हेर्नसक्छन्‌। केटाहरू पनि प्रायः त्यसरी नै मोहित हुन्छन्‌। तथापि, आफूले कहिल्यै भेटाउन नसक्ने व्यक्‍तिहरूको प्रेमले वास्तविकतामा भन्दा कल्पनामा जरा गाडेको हुन्छ।

मोहित हुनु—किन हानिकारक हुनसक्छ

अनौठो कुरा, केटाकेटीहरूको यस्तो प्रेम प्रायः असाध्यै क्षणिक हुन्छ। तथापि, यसले धेरै हानि पुऱ्‍याउनसक्छ। एउटा कुरा त के हो भने, किशोरकिशोरीले मन पराएका प्रायजसो कुराहरू आदरयोग्य हुँदैनन्‌। एक बुद्धिमान्‌ व्यक्‍तिले यसो भने: “मूर्खलाई उच्च स्थानमा राखेको . . . हुन्छ।” (उपदेशक १०:६) फलतः गायकको मीठो स्वर वा सुन्दरता देखेर केटीहरू मोहित हुन्छन्‌। तर के तिनको नैतिक आचरण प्रशंसनीय छ त? के तिनी समर्पित मसीहीजस्तो “प्रभुमा” भएका व्यक्‍ति हुन्‌?—१ कोरिन्थी ७:३९.

बाइबल यस्तो चेताउनी दिन्छ: “संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो।” (याकूब ४:४) परमेश्‍वरले घृणा गर्नुहुने आचरण भएको व्यक्‍तिलाई आफ्नो मन दिंदा के त्यसले परमेश्‍वरसँगको मित्रतामा धक्का नपुऱ्‍याउला भन्‍न सकिएला र? अनि बाइबलले यस्तो आज्ञा पनि दिन्छ: “मूर्तिहरूबाट जोगिएर बस।” (१ यूहन्‍ना ५:२१) आफ्नो कोठाभरि गायक गायिकाको फोटो टाँस्ने युवकयुवतीलाई तपाईं के भन्‍नुहुन्छ? के त्यो “मूर्तिपूजा” होइन र? कसरी परमेश्‍वर त्यस्तो कुरादेखि खुशी हुनु होला र?

केही युवकयुवतीहरू कल्पनाको संसारमा यति बिघ्न डुब्छन्‌ कि वास्तविकतालाई स्वीकार्नसमेत चाहँदैनन्‌। एउटी युवती यसो भन्छिन्‌: “मप्रति तिम्रा भावनाहरू कस्ता छन्‌ भनेर सोध्दा तिनी सधैं मप्रति कुनै भावनाहरू नभएको बताउँछन्‌। तर तिनले मलाई हेर्ने ढंग अनि मसित गर्ने व्यवहारबाटै म भन्‍नसक्छु कि यो सरासर झूट हो।” यस युवती मोहित भएको युवकले निकै कोमल व्यवहार गरेर उनीप्रति कुनै चासो नभएको बताउन खोजेका थिए तर यस युवती त्यसलाई मान्‍न चाहँदिनन्‌।

लोकप्रिय गायक देखेर मोहित हुने अर्की केटी यस्तो लेख्छिन्‌: ‘म तिनलाई आफ्नो प्रेमी बनाउन चाहन्थें र मेरो सपना साकार होस्‌ भनेर परमेश्‍वरलाई प्रार्थनासमेत गर्थें! तिनको गीति क्यासेट सधैं मेरो ताकियामुनि हुन्थ्यो। किनकि मसँग तिनीसित घनिष्ठ हुने एउटै तरिका त्यही थियो। म तिनको मोहप्रेममा यतिसम्म डुबेको थिएँ कि तिनलाई पाइनँ भने ज्यानसमेत दिन्छु भन्‍ने निर्णय गरेकी थिएँ।’ “सोच विचार गरी” मेरो सेवा गर भनेर आज्ञा गर्नुहुने परमेश्‍वरलाई के त्यस्तो अन्धो प्रेमले खुशी तुल्याउला?—रोमी १२:३.

बाइबलले हितोपदेश १३:१२ मा यसो भन्छ: “आशा साकार नहुँदा मन मर्छ।” अतः प्रेम सम्बन्ध गाँस्न सम्भवै नभएको व्यक्‍तिप्रति रोमान्टिक भावनाहरू बढाउनु हितकर हुँदैन। अनि डाक्टरहरूले त्यस्तो एकतर्फी प्रेम सफल नहुँदा युवकयुवती “निराश हुने, व्याकुल हुने अनि चिन्ता गर्ने . . . निद्रा नलाग्ने वा थाकेको महसुस गर्ने, छाती दुख्ने, श्‍वास फेर्न गाह्रो भएजस्तो महसुस गर्ने” गर्छन्‌ भनेर बताउँछन्‌। (२ शमूएल १३:१, २ तुलना गर्नुहोस्‌।) अन्धो मोहप्रेममा परेकी एउटी केटी यसो भन्छिन्‌: “म खान, पढ्‌न केही गर्न सक्दिनँ . . . उसकै झझल्को मात्र आइरहन्छ। . . . मेरो बेहाल भएको छ।”

यसरी कल्पनाको दुनियाँमा हराउँदा तपाईंको जीवनमा पर्नसक्ने हानिलाई सोच्नुहोस्‌। डा. लरेन्स बाऊम्यानको अनुसन्धानअनुसार एकतर्फी मोहप्रेमको पहिलो लक्षण नै “पढाइमा कमजोर हुन थाल्नु” हो। साथी, परिवारदेखि टाढ-टाढा हुनु अर्को सामान्य लक्षण हो। त्यस्तो व्यक्‍तिलाई ग्लानी महसुस पनि भइरहेको हुनसक्छ। गिल स्क्वार्ज्ट भन्‍ने लेखेक यसो भन्छन्‌: “भन्‍न पनि लाज लाग्छ। तर जुडीदेखि मोहित हुँदा मैले आफूलाई जोकर बनाएको थिएँ।” अनि मोहप्रेम भंग भइसकेपछि पनि कुनै समय आफू कसैको पछिपछि लागेको, तमाशा खडा गरेको अनि उल्लु बन्‍नुपरेका कुराहरू सम्झना आइरहन्छन्‌।

वास्तविकता सामना गर्ने

आजसम्म बाँच्ने सबैभन्दा बुद्धिमान्‌ मानिसहरूमध्ये एक, राजा सुलेमानले पनि एकतर्फी प्रेम गरेका थिए। त्यस युवतीको लागि तिनले यति मीठा मीठा कविताहरू सुनाए कि आजसम्म त्यति राम्रा कविताहरू कसैले लेख्न सकेका छैनन्‌। त्यस युवतीलाई मनाउन तिनले “प्रभातझैं उदय भएकी चन्द्रमाझैं सुन्दरी, सूर्यझैं चहकिलो” जस्ता अनेकन्‌ मीठा मीठा प्रशंसा गरे तर केही लागेन!—श्रेष्ठगीत ६:१०.

तथापि, यति गरिसक्दा पनि त्यस युवतीको मन जित्न नसकेपछि सुलेमानले प्रयास गर्न छोडिदिए। सुलेमानजस्तै तपाईं पनि कसरी आफ्ना भावनाहरूमाथि काबू पाउन सक्नुहुन्छ? बाइबल यसो भन्छ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” (हितोपदेश २८:२६) अझ विशेषगरि कसैको रोमान्टिक प्रेममा पर्दा आफ्नो बुद्धिमा भरोसा गर्नु त झनै महामूर्खता हुनेछ। “बुद्धिको मार्गमा हिंड़ने सुरक्षित रहनेछ।” अनि बुद्धिको मार्गमा हिंड्‌नुको अर्थ वास्तविकतालाई स्वीकार्न खोज्नु हो।

डा. हवर्ड हाल्पर्न प्रश्‍न गर्छन्‌: “आफूले आशा गरेको कुरा सही हो वा गलत कसरी छुट्याउने? वास्तविकतालाई राम्ररी विचार गरेर।” सोच्नुहोस्‌: त्यस व्यक्‍तिसित तपाईंको माया गाँसिने कत्तिको सम्भावना छ? तपाईंले मन पराएको व्यक्‍ति कुनै लोकप्रिय नायक, नायिका, गायक, गायिका आदि हुन्‌ भने तिनलाई भेट्‌ने सम्भावना समेत लाखौंमा एक होला! त्यस्तैगरि, शिक्षक, शिक्षिकाजस्ता आफूभन्दा धेरै उमेरको व्यक्‍ति हो भने पनि सम्भावना त्यतिकै कम हुन्छ।

साथै, तपाईंले मन पराउनुभएको व्यक्‍तिले अहिलेसम्म के कुनै चासो देखाएका छन्‌? छैनन्‌ भने, के पछि परिस्थिति बद्‌लिएला भनेर आशा गर्ने कुनै ठोस कारण छ? वा तिनको कुरा वा कामको आफ्नै अर्थ लगाएर मनको लड्डु घिउसँग खाँदै हुनुहुन्छ? संजोगको कुरा, प्रायजसो मुलुकहरूमा पहिला पुरुषले आफ्नो प्रेम व्यक्‍त गर्नुपर्ने चलन छ। अतः युवती भएर जबरजस्ती युवकलाई मनाउन खोज्दा तपाईंले आफ्नै बेइज्जत गरिरहनुभएको हुनसक्छ।

अनि तपाईंले मन पराउनुभएको केटो वा केटीले पनि तपाईंलाई मन परायो भने नि? के गर्नुहुन्छ? के तपाईं वैवाहिक जिम्मेवारी वहन गर्न तयार हुनुहुन्छ? छैन भने बेकारको कल्पना गर्न छाडेर “असन्तुष्टतालाई . . . मनबाट” हटाउनुहोस्‌। ‘प्रेम गर्ने पनि एउटा समय छ’ र शायद तपाईं अलि हुर्कनु भएपछि त्यो समय पक्कै पनि आउला।—उपदेशक ३:८; ११:१०.

आफ्ना भावनाहरू केलाउने

डा. चार्ल्स जास्ट्रो यसो भन्छन्‌: “जसले आफूले मन पराएको केटा वा केटीलाई सर्वगुन सम्पन्‍न ‘प्रेमी’ वा ‘प्रेमिका’ ठानिरहेको हुन्छ अर्थात्‌ आफूले पति वा पत्नीमा चाहेजति सबै गुनहरू छन्‌ भनी सोचिरहेको हुन्छ त्यो व्यक्‍ति मोहित भएको हुन्छ।” तथापि, कोही पनि सर्वगुन सम्पन्‍न हुन सक्‍तैन। “किनभने सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।”—रोमी ३:२३.

अतः आफैलाई सोध्नुहोस्‌: जसलाई मैले मन दिए, उसलाई म कत्तिको राम्ररी चिन्छु? के म उसको रूपरंगसँग प्रेम गर्दैछु? के म उसका कमजोरीहरू देखेर पनि आँखा चिम्लँदैछु? सपनाको राजकुमार वा राजकुमारीलाई यसरी व्यवहारिक भएर हेर्दा मात्र पनि रोमान्टिक मोह भंग हुनसक्छ! साथै आफ्नो भावना केलाउनु पनि लाभदायी हुन्छ। लेखिका क्याथी मकोए यसो भन्छिन्‌: “अपरिपक्व प्रेम आउँछ, जान्छ। . . . अपरिपक्व प्रेम एकतर्फी हुन्छ। तपाईं प्रेम गर्नुहुन्छ त केवल आफ्नो मनको भावनालाई, कसैको प्रेममा छु भन्‍ने भावनालाई . . . अपरिपक्व प्रेमले हतपत आफ्ना भावनाहरूलाई छोड्‌न मान्दैन, आफूले मन पराएको व्यक्‍तिलाई असाध्यै हत्ते हाल्ने कोसिस गर्छ र डाही हुन्छ। . . . अपरिपक्व प्रेमले सिद्धता खोज्छ।”—१ कोरिन्थी १३:४, ५ तुलना गर्नुहोस्‌।

मनबाट निकाल्ने

हो, जतिसुकै तर्क गरे पनि तपाईंका भावनाहरू पूर्णतया हट्‌ने होइनन्‌। तर तपाईंले समस्या अझ बिग्रनदेखि भने अवश्‍य रोक्न सक्नुहुन्छ। कामुक प्रेमले भरिएको उपन्यास पढ्‌नुभयो, टिभीमा प्रेम कथाहरू हेर्न थाल्नुभयो वा प्रेमभाव जगाउने खालका गीतहरू सुन्‍नुभयो भने तपाईंले झनै एक्लो महसुस गर्नुहुनेछ। त्यसकारण, यस्तो भए हुन्थ्यो वा उस्तो भए हुन्थ्यो भनेर सोच्दै नबस्नुहोस्‌। किनकि “दाउरा विना आगो निभ्छ।”—हितोपदेश २६:२०.

तपाईंलाई साँच्चै माया गर्ने अनि तपाईंको चिन्ता गर्ने व्यक्‍तिलाई काल्पनिक प्रेम गर्नु राम्रो पनि होइन। अरूबाट आफूलाई ‘अलग्ग’ नपार्नुहोस्‌। (हितोपदेश १८:१) निस्सन्देह, आमाबाबुसित यस विषयमा कुरा गर्नुभयो भने तपाईंले मदत पाउन सक्नुहुन्छ। तपाईंले आफ्ना भावनाहरू लुकाउन लाख कोसिस गरे पनि, हुनसक्छ तपाईंलाई केही कुराले खाइरहेको छ भनेर उहाँहरूलाई पहिल्यै शंका लागिसक्यो कि? अतः आमाबाबुकहाँ गएर आफ्नो मनमा भए जति कुरा सुनाए कसो होला? (हितोपदेश २३:२६ तुलना गर्नुहोस्‌।) शायद परिपक्व मसीहीले पनि तपाईंको कुरा राम्ररी सुनि दिनसक्छ।

“व्यस्त हुनुहोस्‌,” लेखिका एस्तर डेभिडोविट्‌ज सल्लाह दिन्छिन्‌। शौक राख्नुहोस्‌, हल्काफुल्का व्यायाम गर्नुहोस्‌, नयाँ भाषा सिक्नुहोस्‌, बाइबल अनुसन्धान कार्यक्रम बनाउनुहोस्‌। फलदायी कामहरूमा व्यस्त हुनुभयो भने, आफ्ना भावनाहरू दबाउन अलि सजिलो हुनेछ।

एकतर्फी मोहप्रेमबाट मुक्‍त हुनु सजिलो छैन। तर समय बित्दै जाँदा तपाईंको पीडा अवश्‍य कम हुनेछ। तपाईंले आफूलाई र आफ्ना भावनाहरूलाई चिनिसक्नुभएको हुनेछ। यसबाहेक भविष्यमा कसैसित साँचो प्रेम भइहालेमा त्यसलाई राम्ररी सँभाल्न सक्नुहुनेछ! तर ‘साँचो प्रेमलाई’ चिन्‍ने कसरी?

छलफलका लागि प्रश्‍नहरू

◻ युवकयुवतीहरू मोहित हुनु किन नौलो कुरा होइन?

◻ युवकयुवतीहरू अक्सर कसको रोमान्टिक कल्पना गर्ने गर्छन्‌ र किन?

◻ एकतर्फी मोहप्रेम किन हानिकारक हुनसक्छ?

◻ एकतर्फी मोहप्रेमबाट मुक्‍त हुन युवकयुवतीले गर्नसक्ने केही कामहरू के के हुन्‌?

◻ युवकयुवतीले कसरी रोमान्टिक कल्पनाहरूलाई पोस्नदेखि रोक्नसक्छन्‌?

[पृष्ठ २२३-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘म खान, पढ्‌न केही गर्न सक्दिनँ। उसकै झझल्को मात्र आइरहन्छ। मेरो बेहाल भएको छ’

[पृष्ठ २२०-मा भएको चित्र]

आफूभन्दा ठूलो उमेरका वा आफूले पाउनै नसक्ने व्यक्‍तिदेखि मोहित हुनु नौलो कुरा होइन

[पृष्ठ २२१-मा भएको चित्र]

यस व्यक्‍तिलाई ठण्डा दिमागले हेरेमा तपाईंका रोमान्टिक भावनाहरू हट्‌नसक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने