२६
फर्केर कफर्नहुमको घरमा आउनुहुन्छ
अहिलेसम्म येशूको कीर्ति चारैतिर फिंजिसकेको छ र उहाँलाई भेट्न उहाँ बस्नुभएको अनकन्टार ठाउँमा धेरै मानिसहरू जान्छन्। तथापि केही दिनपछि उहाँ गालील समुद्रको छेउको सहर कफर्नहुममा फर्किनुहुन्छ। उहाँ घर फर्किनुभएको खबर तुरुन्तै सहरभरि फिंजिन्छ र धेरै मानिसहरू उहाँ बस्नुभएको घरमा आउँछन्। फरिसीहरू र शास्त्रीहरू यरूशलेमजस्तो टाढा ठाउँबाट पनि आउँछन्।
यति ठूलो भीड जम्मा भएको हुनाले ढोका छेकिन्छ र अरू कसैलाई भित्र पस्ने ठाउँसमेत हुँदैन। एउटा साँच्चैको असाधारण घटना घट्न आँटेको छ। यस अवसरमा हुने घटनाको ठूलो महत्त्व छ किनभने मानवीय पीडाको कारणलाई हटाउने र आफूले चाहेकाहरूलाई सुस्वास्थ्य फिर्ता दिने शक्ति येशूसँग छ भन्ने कुराको कदर गर्न यस घटनाले हामीलाई मदत दिनेछ।
येशूले भीडलाई शिक्षा दिइरहनुभएको बेलामा पक्षाघात भएको एक जना मानिसलाई चार जनाले खाटमा बोकेर ल्याउँछन्। तिनीहरूका त्यस साथीलाई येशूले निको पारिदिनुभएको तिनीहरू चाहन्छन् तर भीडले गर्दा तिनीहरू भित्र पस्नै सक्दैनन्। कस्तो निराशाजनक स्थिति! तथापि तिनीहरू हरेस खाँदैनन्। तिनीहरू छानामाथि चढ्छन्, त्यसमा एउटा दुलो पार्छन् र त्यो पक्षाघात भएको मानिस सुतिरहेको खाटलाई त्यहाँबाट तल येशू बस्नुभएकै नजिक ओह्राल्छन्।
आफ्नो कामलाई यसरी बीचैमा रोकेकोमा के येशू रिसाउनुहुन्छ? कदापि रिसाउनु हुन्न! बरु तिनीहरूको विश्वास देखेर उहाँ अति नै प्रभावित हुनुहुन्छ। त्यस पक्षाघात भएको मानिसलाई उहाँ भन्नुहुन्छ: “तिम्रो पाप क्षमा भयो।” तर के येशूले वास्तवमा पाप क्षमा गर्न सक्नुहुन्छ? शास्त्री र फरिसीहरूका विचारमा त्यसो हुन सक्दैन। तिनीहरू मनमनै यस्तो तर्क गर्दैछन्: “यस मानिसले किन यसरी कुरा गर्दैछ? यसले त परमेश्वरको निन्दा गर्दैछ। परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”
तिनीहरूको सोचाइ थाह पाएर येशूले तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरू किन आफ्नो मनमा यस्तो तर्क गर्दैछौ? पक्षाघात भएको मानिसलाई के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठ अनि तिम्रो खाट बोकेर जाऊ’ भन्न?”
यसपछि, पृथ्वीमा भएका पापहरू क्षमा गर्ने आफ्नो अधिकार र सबैभन्दा महान् व्यक्ति आफै हो भन्ने कुरासमेत भीडमा हुने आलोचकहरूका साथै सबैले बुझून् भनी येशू एउटा असामान्य प्रदर्शन गरेर देखाउनुहुन्छ। पक्षाघात भएको मानिसतर्फ फर्किएर उहाँ आज्ञा दिनुहुन्छ: “उठ, तिम्रो खाट बोक अनि आफ्नो घर जाऊ।” ऊ जुरुक्क उठेर आफ्नो खाट उठाएर सबैले देख्ने गरी त्यहाँबाट निस्कन्छ! सबै जना आश्चर्यचकित भएर परमेश्वरको महिमा गर्दै यसो भन्छन्: “यस्तो त हामीले कहिल्यै देखेका थिएनौं।”
रोगसँग पापको सम्बन्ध छ र शारीरिक स्वास्थ्यप्राप्ति पापहरूको क्षमादानसित सम्बन्धित छ भनी येशूले देखाउनुभएको के तपाईंले बुझ्नुभयो? बाइबलमा व्याख्या गरिएको छ कि हाम्रा प्रथम पुर्खा आदमले पाप गरे र त्यस पापको फलस्वरूप बिमारी र मृत्यु हामी सबैले जन्मजात भोगिरहेका छौं। तर परमेश्वरको राज्यको शासनकालमा परमेश्वरलाई प्रेम गर्ने र उहाँको सेवा गर्ने सबैका पापहरू येशूले क्षमा गरिदिनुहुनेछ अनि त्यसपछि सबै बिमारीहरू हटेर जानेछन्। त्यो कत्ति राम्रो हुनेछ! मर्कूस २:१-१२; लूका ५:१७-२६; मत्ती ९:१-८; रोमी ५:१२, १७-१९.
▪ साँच्चैको एउटा असामान्य घटनाका लागि के-कस्तो स्थिति तयार भयो?
▪ पक्षाघात भएको मानिस येशूको नजिक कसरी पुग्यो?
▪ हामी सबै नै किन पापी छौं तर हाम्रा पापहरूबाट क्षमादान र सुस्वास्थ्य सम्भव छ भनेर येशूले कसरी आशा प्रदान गर्नुभयो?