अध्याय २९
विश्राम-दिनमा असल काम
यो इस्वी संवत् ३१ को वसन्त ऋतुको समय हो। यहूदियाबाट गालीलतर्फ जाँदा सामरियामा इनारको छेउमा येशूले स्त्रीसित कुरा गर्नुभएको केही महिना भइसकेको छ।
अब गालीलभरि विस्तृत रूपमा प्रचार गरिसकेपछि येशू फेरि यहूदियातर्फ जानुहुन्छ र त्यहाँ सभाघरहरूमा प्रचार गर्नुहुन्छ। गालीलमा उहाँले गर्नुभएको सेवाको कामबारे बाइबलमा जति वर्णन गरिएको छ, यहूदियामा उहाँको यस पटकको भ्रमण र पछिल्लो निस्तार-चाडपछि त्यहाँ बिताउनुभएका केही महिनाका गतिविधिबारे त्यति वर्णन गरिएको छैन। स्पष्टतया उहाँको सेवाको काम गालीलमा जतिको प्रभावकारी भयो, त्यतिको प्रभावकारी यहूदियामा भएन।
चाँडै नै येशू इस्वी संवत् ३१ सालको निस्तार-चाडका लागि यहूदियाको प्रमुख सहर, यरूशलेमतर्फ जाँदै हुनुहुन्छ। यहाँ सहरमा भेडा-ढोकाको नजिक बेथस्दा भन्ने एउटा कुण्ड छ, जहाँ रोगी, अन्धा र लङ्गडाहरू आउँछन्। यसको पानी छचल्किएको बेलामा यसमा पस्दा मानिसहरू निको हुन्छन् भन्ने तिनीहरूको विश्वास छ।
यो विश्राम-दिन हो र ३८ वर्षदेखि बिरामी भइरहेको एक जना मानिसलाई येशूले त्यस कुण्डको छेउमा देख्नुहुन्छ। धेरै समयदेखि त्यो मानिस बिरामी छ भनी थाह पाएपछि येशूले त्यसलाई सोध्नुहुन्छ: “के तिमी निको हुन चाहन्छौ?”
रोगीले येशूलाई भन्छ: “हजुर, कुण्डको पानी छचल्किएको बेला मलाई त्यहाँ हालिदिने मानिस कोही पनि छैन; त्यसैले म त्यहाँ जाँदा-जाँदै मभन्दा अघि नै अर्को मानिस पसिहाल्छ।”
येशूले त्यसलाई भन्नुहुन्छ: “उठ, तिम्रो खाट बोकेर जाऊ।” अनि तुरुन्तै त्यो मानिस निको भएर आफ्नो खाट लिन्छ र हिंडिहाल्छ!
तर त्यस मानिसलाई देखेर यहूदीहरू भन्छन्: “आज विश्राम-दिन हो; त्यसैले तिमीले खाट बोक्नु उचित छैन।”
त्यस मानिसले तिनीहरूलाई जवाफ दिन्छ: “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ‘तिम्रो खाट बोकेर जाऊ’ भन्नुभयो।”
“तिमीलाई ‘खाट बोकेर जाऊ’ भन्ने मानिस को हो?” भन्दै तिनीहरूले त्यसलाई सोध्छन्। तर निको भएको मानिसलाई येशूको नाम थाह थिएन किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू एकातिर लागिसक्नुभएको थियो। तथापि पछि येशू र त्यस मानिसको भेट हुन्छ र आफूलाई निको पार्ने को हुनुहुँदोरहेछ भनी उसले थाह पाउँछ।
अतः त्यस मानिसले यहूदीहरूलाई भेटेर भन्छ कि आफूलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ। यो थाह पाएपछि यहूदीहरू येशूकहाँ जान्छन्। किन? यस्तो अचम्मको काम उहाँले कसरी गर्न सक्नुभयो भनी बुझ्न? होइन। उहाँमा खोट देखाउन, किनभने उहाँले यी असल कामहरू विश्राम-दिनमा गरिरहनुभएको छ। र तिनीहरूले उहाँको खेदो पनि गर्न थाल्छन्! लूका ४:४४; यूहन्ना ५:१-१६.
▪ येशू पछिल्लो पटक यहूदिया जानुभएको कति समय बितिसकेको छ?
▪ बेथस्दा भनिने कुण्ड किन त्यत्तिको प्रचलित भएको छ?
▪ कुण्डमा येशूले के चमत्कार देखाउनुहुन्छ र यहूदीहरूको प्रतिक्रिया कस्तो हुन्छ?