अध्याय ३१
विश्राम-दिनमा अन्नको बाला टिप्दा
येशू आफ्ना चेलाहरूलाई लिएर गालीलतर्फ फर्किन यरूशलेम छाड्दै हुनुहुन्छ। यो वसन्त ऋतुको समय हो र खेतमा अन्नका बालाहरू छन्। चेलाहरू भोकाएका छन्। त्यसकारण तिनीहरूले डाँठका टुप्पो-टुप्पोमा पलाएको अन्न टिप्छन् र खान्छन्। तर त्यो विश्राम-दिन भएकोले तिनीहरूको यो काम अरूहरूको नजरबाट लुक्दैन।
विश्राम-दिनको अवहेलना गरेको दोष लगाएर यरूशलेममा धर्म-गुरुहरूले उहाँलाई भर्खरै मात्र मार्न खोजेका थिए। अब फरिसीहरूले एउटा आरोप लगाउँछन्। तिनीहरू दोष देखाउँदै भन्छन्: “हेर्नुहोस्, तपाईंका चेलाहरूले विश्राम-दिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्घन गरिरहेका छन्।”
फरिसीहरूका भनाइअनुसार अन्न टिप्नु र त्यसलाई हातमा माडेर खानु कटनी गरेको र दाइँ गरेको सरह हो। तर कामबारे तिनीहरूको आफ्नै कट्टर परिभाषाले गर्दा विश्राम-दिन एउटा बोझ समान हुन गएको छ, जबकि यो दिन एउटा आनन्दमय र परमेश्वरसितको सम्बन्ध विकास गर्ने समय हुनुपर्ने थियो। त्यसकारण येशूले धर्मशास्त्रका उदाहरणहरूद्वारा तिनीहरूको खण्डन गर्दै देखाउनुहुन्छ कि यहोवा परमेश्वरले विश्राम-दिनको व्यवस्थाको प्रयोग यति कठोर ढङ्गमा होस् भनेर कहिल्यै चाहनुभएको थिएन।
येशू भन्नुहुन्छ कि दाऊद र तिनीसँग हुने मानिसहरू भोकाउँदा तिनीहरू पवित्र वासस्थान नजिक रोकिए र त्यहाँ चढाइएका रोटीहरू खाए। ती रोटीहरू यहोवाका अगाडिबाट हटाइएका थिए र त्यसका ठाउँमा ताजा रोटीहरू राखिएका थिए अनि ती रोटीहरू साधारणतया पुजारीहरूले मात्र खान हुन्थ्यो। तापनि त्यसबेलाका परिस्थितिले गर्दा दाऊद र तिनीसँग हुनेहरूले ती रोटीहरू खाएकोमा तिनीहरू दोषी ठहरिएनन्।
अर्को उदाहरण प्रस्तुत गर्दै येशू भन्नुहुन्छ: “विश्राम-दिनको बेला मन्दिरमा सेवा गर्ने पुजारीहरूले विश्राम-दिनलाई पवित्र मान्दैनन् तैपनि तिनीहरू निर्दोष ठहरिन्छन् भनी के तिमीहरूले व्यवस्थामा पढेका छैनौ?” हो, विश्राम-दिनमा पुजारीहरूले पशु बलिको तयारी गर्दा मन्दिरमै काट्छन् र अन्य अरू काम गर्छन्! तर येशू भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु मन्दिरभन्दा पनि महान् कोही एक जना यहाँ छ।”
फरिसीहरूलाई हप्काउँदै येशू भन्नुहुन्छ: “ ‘म बलिदान होइन, कृपा चाहन्छु’ भन्नुको अर्थ के हो तिमीहरूले बुझेको भएदेखि निर्दोषहरूलाई तिमीहरूले दोषी ठहराउने थिएनौ।” अनि कुरा टुङ्ग्याउँदै येशू भन्नुहुन्छ: “किनकि मानिसको छोरा नै विश्राम-दिनको प्रभु हो।” येशूको भनाइको अर्थ के हो? येशू यहाँ आफ्नो हजार वर्षीय शान्तिपूर्ण शासनलाई सङ्केत गर्दै हुनुहुन्छ।
सैतान अर्थात् दियाबलको अधीनमा ६,००० वर्षदेखि मानवजातिले कष्टमय दासत्वमा दुःख पाइरहेको छ अनि हिंसा र युद्ध दैनिक जीवनको भाग भएको छ। तर ख्रीष्टको शासनको महान् विश्राम-दिन यसप्रकारका सबै दुःख र पीडाहरूबाट आराम पाउने समय हुनेछ। मत्ती १२:१-८; लेवी २४:५-९; १ शमूएल २१:१-६; गन्ती २८:९; होशे ६:६.
▪ येशूका चेलाहरूका विरुद्धमा के आरोप लगाइन्छ र येशूले त्यसको जवाफ कसरी दिनुहुन्छ?
▪ फरिसीहरूका कुन कमजोरी येशू देखाउनुहुन्छ?
▪ कुन अर्थमा येशू “विश्राम-दिनको प्रभु” हुनुहुन्छ?