प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ४५
  • एउटा भिन्‍नै प्रकारको चेला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा भिन्‍नै प्रकारको चेला
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्‍ति छ
    येसु—बाटो, सत्य र जीवन
  • येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • के प्रेतहरू साँच्चै छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९८
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ४५

अध्याय ४५

एउटा भिन्‍नै प्रकारको चेला

येशू समुद्रको पारिपट्टि डुङ्‌गाबाट बाहिर निस्किनासाथै कस्तो डरलाग्दो दृश्‍य सामुन्‍ने आउँछ! नजिकको चिहानबाट असाधारण किसिमका दुई जना भयङ्‌कर मानिसहरू बाहिर निस्किन्छन्‌ र उहाँतिर दगुर्दै आउँछन्‌। तिनीहरू दुष्ट स्वर्गदूतको वशमा परेका व्यक्‍तिहरू हुन्‌। ती दुईमध्ये सम्भवतः एक जना बढी हिंसात्मक छ र दुष्ट स्वर्गदूतको कब्जामा बढी समयसम्म दुःख पाएकले सबैको ध्यान उसैमा केन्द्रित हुन्छ।

यो दयनीय मानिस धेरै समयदेखि चिहानमा नाङ्‌गै बसेको छ। दिनरात, निरन्तर त्यो कराइ नै रहन्छ र आफ्नो जीउमा ढुङ्‌गाले काटेर चोटै-चोट बनाउँछ। त्यो यति हिंसात्मक छ कि त्यस नजिकको बाटोबाट हिंड्‌ने हिम्मत कसैले गर्दैनन्‌। त्यसलाई साङ्‌लाले बाँध्ने प्रयाससमेत गरिएको छ तर त्यसले साङ्‌लालाई टुक्राटुक्रा पारिदिन्छ र नेलहरूलाई पनि आफ्ना खुट्टाबाट फुकालिदिन्छ। त्यसलाई वशमा पार्ने शक्‍ति कसैमा छैन।

येशूको नजिक पुग्नासाथै जसै त्यस मानिसले उहाँलाई दण्डवत्‌ गर्छ, त्यसलाई कब्जामा पार्ने दुष्ट स्वर्गदूतहरूले त्यसलाई कराउन लगाउँछन्‌: “हे सर्वोच्च परमेश्‍वरको छोरा येशू, तपाईंको मसित के सरोकार? मलाई नसताउनुहोस्‌ भनेर म तपाईंलाई परमेश्‍वरको नाममा कसम खान लाउँछु।”

“ए दुष्ट स्वर्गदूत, त्यस मानिसबाट निक्लेर आइज,” येशू भनिरहनुहुन्छ। तर येशूले त्यसलाई यो पनि सोध्नुहुन्छ: “तेरो नाम के हो?”

त्यसले उहाँलाई भन्छ: “मेरो नाम पल्टन हो किनभने हामी धेरै छौं।” आफूले कब्जामा पार्न सकेका मानिसहरूको दुःख देखेर दुष्ट स्वर्गदूतहरू रमाउँछन्‌। अथवा काँतरहरूले झैं हूल बाँधेर मानिसहरूलाई चारैतिरबाट आक्रमण गर्न पाएमा तिनीहरू सायद रमाइलो मान्छन्‌। तर येशूका सामुन्‍ने पर्दा तिनीहरूलाई अगाध खाडलमा जाने हुकुम नगर्न उहाँसित बिन्ती गर्छन्‌। येशूसित महान्‌ शक्‍ति थियो भनी हामी यहाँ फेरि देख्छौं; खतरनाक दुष्ट स्वर्गदूतहरू समेतलाई उहाँले जित्न सक्नुहुन्थ्यो। साथै, अन्तमा परमेश्‍वरको निसाफबमोजिम तिनीहरू आफ्ना अगुवा, सैतान अर्थात्‌ दियाबलसित अगाध खाडलमा फालिनेछन्‌ भन्‍ने कुरा पनि ती दुष्ट स्वर्गदूतहरूलाई थाह छ भन्‍ने कुरा यसबाट बुझिन्छ।

करिब २,००० जति सुँगुरको एउटा बथान नजिकैको पहाडमा चरिरहेका छन्‌। त्यसकारण ती दुष्ट स्वर्गदूतहरू भन्छन्‌: “हामीलाई ती सुँगुरहरूकहाँ पठाउनुहोस्‌ र तिनीहरूभित्र पस्न दिनुहोस्‌।” हाड-मासुका जीवका शरीरमा आक्रमण गर्दा ती दुष्ट स्वर्गदूतहरू एक प्रकारको अप्राकृतिक र क्रूर आनन्द अनुभव गर्छन्‌ जस्तो छ। येशूले तिनीहरूलाई सुँगुरभित्र प्रवेश गर्न अनुमति दिएपछि सबै २,००० जति ती सुँगुरहरू भीरबाट समुद्रतिर हुत्तिंदै जान्छन्‌ र समुद्रमा डुबेर मर्छन्‌।

सुँगुर चराउनेहरूले यो देखेपछि तिनीहरू यस विषयमा खबर दिन हतार-हतार सहर र गाउँतिर जान्छन्‌। अनि के भएछ भनी हेर्न मानिसहरू त्यहाँ आउँछन्‌। त्यहाँ आउँदा तिनीहरूले त्यो दुष्ट स्वर्गदूत बास गरेको मानिसलाई देख्छन्‌। त्यो त लुगा लगाएर, शान्त मनस्थितिका साथ येशूका पाउ नजिक बसिरहेको हुन्छ!

त्यो मानिस कसरी निको भयो भनी प्रत्यक्षदर्शीहरूले वर्णन गर्छन्‌। सुँगुरहरू डरलाग्दो ढङ्‌गमा मरेको कुरा पनि तिनीहरूले आएका मानिसहरूलाई भन्छन्‌। सो सुनेपछि मानिसहरू धेरै नै डराउँछन्‌ र येशूलाई तिनीहरूको इलाकाबाट गइहाल्नुहोस्‌ भनी बिन्ती गर्छन्‌। उहाँ तिनीहरूको कुरा मानेर डुङ्‌गामा चढ्‌नुहुन्छ। पहिले दुष्ट स्वर्गदूत बास गरेको त्यो मानिस पनि उहाँका साथमा जान पाऊँ भनेर बिन्ती गर्छ। तर येशूले त्यसलाई भन्‍नुहुन्छ: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवाले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।”

साधारणतया, निको पार्नुभएका मानिसहरूलाई सो कुरा कसैलाई नभन्‍नू भनी येशू निर्देशन दिनुहुन्छ किनकि सनसनीपूर्ण खबरहरूका आधारमा मानिसहरू निष्कर्षमा आएको उहाँ चाहनु हुन्‍न। तर यो अपवादचाहिं उपयुक्‍त छ किनभने पहिले दुष्ट स्वर्गदूत बास गरेको त्यस मानिसले सायद अब येशू जान भ्याउन नसक्ने ठाउँका मानिसहरूका माझमा गएर साक्षी दिन सक्नेछन्‌। साथै येशूमा असल काम गर्न सक्ने शक्‍ति छ भन्‍ने कुराको प्रमाण त्यस मानिसको उपस्थितिले दिन सक्नेछ। सुँगुरहरूको नोक्सानीको कारण त्यहाँ उठ्‌न सक्ने प्रतिकूल खबरको पनि खण्डन गर्न सकिनेछ।

येशूको निर्देशन मान्दै पहिले दुष्ट स्वर्गदूत बास गरेको त्यो मानिस आफ्नो बाटो लाग्छ। येशूले उसको निम्ति गर्नुभएको सबै कुराको प्रचार उसले डेकापोलिसभरि गर्न थाल्छ र मानिसहरू चकित हुन्छन्‌। मत्ती ८:२८-३४; मर्कूस ५:१-२०; लूका ८:२६-३९; प्रकाश २०:१-३.

▪ दुष्ट स्वर्गदूत बास गरेका मानिसहरू दुई जना भए तापनि किन एक जनामाथि मात्र ध्यान केन्द्रित गरिएको जस्तो देखिन्छ?

▪ भविष्यमा आफूलाई अगाध खाडलमा फालिने कुरा दुष्ट स्वर्गदूतहरूलाई थाह छ भनी केले प्रदर्शित गर्छ?

▪ मानिसहरू र पशुहरूमा पस्न दुष्ट स्वर्गदूतहरू किन रुचाउँछन्‌?

▪ पहिले दुष्ट स्वर्गदूत बास गरेको मानिसका निम्ति येशूले गरिदिनुभएको कुरा अरूहरूलाई सुनाउनू भन्‍ने आदेश त्यसलाई दिएर उहाँले यस पटक एउटा अपवाद किन गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने