अध्याय ९९
येशूले यरिहोमा शिक्षा दिनुहुन्छ
चाँडै नै येशू र उहाँसित यात्रा गरिरहेका भीड यरिहोमा आइपुग्छ। यो सहर यरूशलेमबाट करिब एक दिनको बाटोमा छ। यरिहो सहरभित्र वास्तवमा दुई वटा सहर छन्। एउटा पुरानो यहूदी सहर छ जो नयाँ रोमी सहरबाट करिब डेढ किलोमिटर टाढा छ। पुरानो सहरबाट जसै भीड नयाँ सहरतिर लाग्छ, दुई जना अन्धाले होहल्ला सुन्छन्। एक जनाको नाम बर्तिमै हो।
त्यो बाटोबाट गइरहने येशू हुनुहुन्छ भनी थाह पाएपछि बर्तिमै र त्यसको साथी चिच्याउन थाल्छन्: “हे प्रभु, दाऊदका छोरा, हामीमाथि कृपा गर्नुहोस्!” भीडले तिनीहरूलाई चूप लाग् भनी हप्काउँदा तिनीहरू यसो भन्दै झन् चिच्याउँछन्: “हे प्रभु, दाऊदका छोरा, हामीमाथि कृपा गर्नुहोस्!”
यो खलबल सुनेर येशू रोकिनुहुन्छ। ती चिच्याउनेहरूलाई बोलाउन भनी उहाँले आफू नजिक भएकाहरूलाई भन्नुहुन्छ। तिनीहरू ती अन्धा माग्नेहरूकहाँ जान्छन् र तीमध्येका एक जनालाई भन्छन्: “साहस गर। उठ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ।” एकदमै उत्तेजित भएर त्यो अन्धो आफ्नो लुगा फ्याँक्दै बुर्लुक्क उफ्रेर येशूकहाँ जान्छ।
येशू सोध्नुहुन्छ: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?”
ती दुवै अन्धाहरू बिन्ती गर्छन्: “हे प्रभु, हाम्रो आँखा खुलोस्।”
येशूले टिठाउँदै तिनीहरूको आँखा छुनुहुन्छ। मर्कूसको बयानअनुसार येशूले तिनीहरूमध्ये एक जनालाई भन्नुहुन्छ: “जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै ती अन्धा माग्नेहरूले देख्छन् र निस्सन्देह ती दुवैले परमेश्वरको महिमा गर्न थाल्छन्। सो देखेपछि त्यहाँ हुनेहरू सबैले नै परमेश्वरको प्रशंसा गर्छन्। तुरुन्तै बर्तिमै र उसको साथी येशूका पछि लाग्छन्।
येशू यरिहो भएर जाँदा असाध्यै भीड छ। ती अन्धाहरूलाई निको पार्ने मानिस हेर्न सबै इच्छुक छन्। चारै तर्फबाट येशू चेपिनुहुन्छ जसले गर्दा कतिले त उहाँको एक झलकसम्म पनि हेर्न पाउँदैनन्। त्यसमध्ये यरिहो र त्यस नजिकका क्षेत्रको कर उठाउने मानिसहरूका हाकिम, जक्कै नाम भएका एक व्यक्ति थिए। पुड्का भएकाले उनी त्यहाँ के भइरहेछ, केही देख्न सक्दैनन्।
अतः जक्कै अगाडि दौडेर येशू हिंड्ने बाटोमा पर्ने एउटा अन्जीरको रूखमा चढ्छन्। त्यस अग्लो ठाउँबाट उनले सबै थोक राम्ररी देख्न सक्छन्। भीड जसै त्यस ठाउँमा पुग्छ, येशूले मास्तिर रूखतर्फ हेरेर भन्नुहुन्छ: “ए जक्कै, झट्टै तल ओर्ल। किनकि आज मलाई तिम्रो घरमा बस्नुछ।” जक्कै खुसी हुँदै तल ओर्लेर आउँछन् र आफ्ना विशिष्ट अतिथिको सत्कारको तयारी गर्न चाँडचाँडो घर जान्छन्।
तथापि यो सब देखेर मानिसहरू गनगन गर्न थाल्छन्। त्यसप्रकारका मानिसको पाहुना हुनु येशूको निम्ति उचित होइन भन्ने तिनीहरूको विचार छ। किनकि जक्कैले कर उठाउने कामबाट बेइमानी गरी पैसा धुतेर धनी भएका छन्।
धेरै मानिसहरू पछि-पछि जान्छन् र येशू जसै जक्कैको घरभित्र प्रवेश गर्नुहुन्छ, तिनीहरू गुनासो गर्छन्: “यो त पापी मानिसको घरमा पो बास बस्न गयो।” तापनि जक्कैले पश्चात्ताप गर्न सक्ने सम्भावना येशू देख्नुहुन्छ। येशू निराश हुनु परेन किनकि जक्कै उठेर घोषणा गर्छन्: “हेर्नुहोस् प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्छु अनि झूटो आरोप लगाएर मैले जे-जति लुटें, म त्यसको चार गुणा तिर्छु।”
आफ्नो सम्पत्तिको आधा भाग गरिबहरूलाई बाँडेर अनि अर्को आधा भागचाहिं कसैको ठगेको रहेछ भने त्यसलाई फिर्ता दिने निर्णय गरेर जक्कैले उनको पश्चात्ताप असली हो भनी साबित गर्छन्। क-कसलाई कति तिर्नुपर्नेछ भन्ने कुरा जरुर पनि करको रेकर्डबाट उनले हिसाब गर्न सक्नेछन्। उनले चार गुणा फिर्ता गरिदिन्छु भनी वाचा गर्छन् किनभने परमेश्वरको नियम भन्छ, ‘कसैले भेडा चोरेको खण्डमा त्यसले भेडाको सट्टा चार वटा भेडा देओस्।’
आफ्नो सम्पत्ति बाँड्ने विषयमा जक्कैको प्रतिज्ञा सुनेर येशू प्रसन्न हुनुहुन्छ किनकि उहाँ भन्नुहुन्छ: “आज यो घरले उद्धार पाएको छ, किनकि ऊ पनि अब्राहामको छोरा हो। मानिसको छोरा, हराएकोलाई खोज्न र उसलाई बचाउन आएको हो।”
हालै उडन्ते छोरोको कथामा “हराएको” व्यक्तिको परिस्थितिबारे येशूले दृष्टान्त बताउनुभएको थियो। हराएको एक जना व्यक्ति फेला परेको वास्तविक उदाहरण हामीले भर्खरै पढ्यौं। जक्कैजस्ता मानिसहरूतर्फ येशूले ध्यान दिएकोमा धर्म-गुरुहरू र तिनीहरूका पछि लाग्नेहरूले गनगन गरे तापनि अब्राहामका हराएका छोराहरूको खोजी गर्दै फिर्ता ल्याउने काममा येशू लागिरहनुहुन्छ। मत्ती २०:२९-३४; मर्कूस १०:४६-५२; लूका १८:३५–१९:१०; प्रस्थान २२:१.
▪ येशूले सम्भवतः अन्धा माग्नेहरूलाई कहाँ भेट्नुहुन्छ र तिनीहरूका लागि उहाँले के गरिदिनुहुन्छ?
▪ जक्कै को हुन् र तिनी रूखमाथि किन चढ्छन्?
▪ जक्कैले पश्चात्ताप गरेको प्रमाण कसरी दिन्छन्?
▪ जक्कैसित येशूले गर्नुभएको व्यवहारबाट हामी कस्तो शिक्षा पाउँछौं?