अध्याय ११३
अन्तिम निस्तार-चाडको समयमा नम्रता
येशूले दिनुभएको निर्देशनअनुसार पत्रुस र यूहन्ना निस्तार-चाडको तयारी गर्न यरूशलेम आइपुगेका छन्। येशू अन्य १० जना प्रेषितहरूसँग अलिकपछि अपरान्हतिर आइपुग्नुहुन्छ। येशू र उहाँको दल जैतुन डाँडाबाट तल झर्दा घाम डुब्नै लागेको हुन्छ। पुनर्जीवित हुनुभन्दा अगाडि त्यस डाँडाबाट येशूले सहरको दृश्य हेरेको यो अन्तिम पटक हो।
येशू र उहाँका दल सहरमा आइपुगेपछि निस्तार-चाड मनाउने घरतर्फ उहाँहरू जानुहुन्छ। उहाँहरू सिंढी चढेर माथिल्लो तलाको कोठामा पस्नुहुन्छ, जहाँ एकान्तमा निस्तार-चाड मनाउने सबै तयारी भएको उहाँहरूले पाउनुहुन्छ। येशूले धेरै दिनदेखि यस अवसरको प्रतीक्षा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार-चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ।”
परम्पराअनुसार, निस्तार-चाडमा भाग लिनेले चार कचौरा मद्य पिउँछन्। तेस्रो कचौरा स्वीकारेपछि धन्यवाद चढाउँदै येशू भन्नुहुन्छ: “तिमीहरूले यो लेओ र पालैसित यसबाट पिओ। किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य पिउँदिनँ।”
भोजन चलिरहेकै बेलामा येशू जुरुक्क उठ्नुहुन्छ र खास्टो एकातिर पन्छाएर एउटा तौलिया लिनुहुन्छ र एउटा बाटामा पानी खन्याउनुहुन्छ। साधारणतया पाहुनाहरूको खुट्टा धोइदिने कामको बन्दोबस्त घरधनीले गर्नुपर्छ। तर यस अवसरमा कुनै घरधनी त्यहाँ उपस्थित नभएकोले येशूले नै यो सेवाको जिम्मा लिनुहुन्छ। कुनै एक जना प्रेषितले यसो गर्ने मौका छोप्न सक्थे; तापनि तिनीहरूका बीचमा प्रतिद्वन्द्वको भाव अझै रहेकोले सो काम कसैले गर्दैनन्। अब येशूले तिनीहरूका खुट्टा धुन लाग्दा तिनीहरू बडो अप्ठ्यारो मान्छन्।
येशू पत्रुसकहाँ आउँदा उनी आपत्ति गर्दै भन्छन्: “तपाईंले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।”
येशू भन्नुहुन्छ: “मैले धोइदिइनँ भने तिम्रो मसित केही भाग हुनेछैन।”
पत्रुस भन्छन्, “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्।”
येशू जवाफ दिनुहुन्छ: “जसले नुहाइसकेको छ, ऊ पूरै सफा भएकोले उसको खुट्टा मात्र धोए पुग्छ। अनि तिमीहरू पनि सफा छौ तर सबै जना त होइन।” यहूदा इस्करियोतले आफूलाई धोका दिने योजना गर्दैछ भन्ने कुरा येशूलाई थाह भएकोले उहाँ यसो भन्नुहुन्छ।
आफूलाई धोका दिने यहूदालगायत बाह्रै जनाको खुट्टा येशूले धोएपछि उहाँ आफ्नो खास्टो ओड्नुहुन्छ र फेरि टेबुलमा बस्नुहुन्छ। अनि उहाँ सोध्नुहुन्छ: “मैले तिमीहरूका निम्ति के गरें, तिमीहरूलाई थाह छ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीकै भनेका हौ, किनकि म त्यही हुँ। यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरें तिमीहरूले पनि त्यसै गर्नुपर्छ। तिमीहरूलाई म साँच्चै भन्छु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन, न त पठाइएको व्यक्ति उसलाई पठाउनेभन्दा ठूलो हुन्छ। तिमीहरूलाई यी कुराहरू थाह छ, त्यसैले यी कुराहरू गर्छौ भने तिमीहरू आनन्दितहौ।”
नम्र सेवाबारे कति राम्रो पाठ! प्रेषितहरूले आफ्ना लागि प्रथम स्थान खोज्नु हुँदैन र अरूहरूले आफ्नो सधैं सेवा गर्नुपर्छ भनी आफूलाई अति महत्त्वपूर्ण ठान्नु हुँदैन। येशूले कायम गर्नुभएको उदाहरण तिनीहरूले अनुसरण गर्नुपर्छ। उहाँले कुनै रीति बसाल्न खुट्टा धुनुभएको होइन। बरु जस्तोसुकै तल्लो स्तरको अथवा मन नपर्ने काम भए पनि कुनै भेदभावविना राजीखुसीसाथ गर्न तत्पर हुनुपर्छ भनेर हामी यसबाट सिक्छौं। मत्ती २६:२०, २१; मर्कूस १४:१७, १८; लूका २२:१४-१८; ७:४४; यूहन्ना १३:१-१७.
▪ निस्तार-चाड मनाउन सहरमा प्रवेश गर्दा येशूले यरूशलेमलाई माथिबाट हेर्नु किन अर्थपूर्ण छ?
▪ निस्तार-चाडको दौडान धन्यवाद चढाएपछि १२ जना प्रेषितलाई वास्तवमा येशूले कुन कचौरा दिएको हुनुपर्छ?
▪ येशू पृथ्वीमा हुँदा पाहुनाहरूका लागि कस्तो सेवा पुऱ्याउने चलन थियो अनि येशू र प्रेषितहरूले निस्तार-चाड मनाउँदा यो सेवा किन पुऱ्याइएन?
▪ आफ्ना प्रेषितहरूका खुट्टा धुने जस्तो तल्लो स्तरको सेवा गर्नुमा येशूको के उद्देश्य थियो?