अध्याय ११४
स्मरणार्थको भोज
येशूले आफ्ना प्रेषितहरूका खुट्टा धोइसकेपछि यसो भन्दै भजन ४१:९ उद्धरण गर्नुहुन्छ: “जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।” अनि अत्यन्तै विचलित भएर उहाँ व्याख्या गर्नुहुन्छ: “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
प्रेषितहरू दुःखित हुँदै एक-एक गरी येशूलाई भन्छन्: “के त्यो म हुँ?” यहूदाले समेत त्यसै गरी सोध्छ। टेबुलमा येशूको छेउमा बसेका यूहन्ना उहाँको छातीमा अडेस लाग्दै सोध्छन्: “प्रभु, कसले?”
येशू जवाफ दिनुहुन्छ: “मसँग एउटै कचौरामा चोप्ने बाह्र जनामध्ये एक हो। यो कुरा साँचो हो कि मानिसको छोरा आफ्नो विषयमा लेखिएअनुसारै जाँदैछ तर मानिसको छोरालाई धोका दिनेलाई धिक्कार छ! त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो।” यसपछि यहूदाको मन दुष्ट भइसकेकोले मौका छोपेर सैतान फेरि यहूदाभित्र पस्छ। केही समयपछि त्यही रात येशूले यहूदालाई “विनाशको छोरा” भन्नु उपयुक्त छ।
येशू अब यहूदालाई भन्नुहुन्छ: “तिमी जे गर्दैछौ, झट्टै सिध्याइहाल।” येशूले भन्नुभएको कुराको अर्थ अरू प्रेषितहरूले बुझ्दैनन्। यहूदाले पैसाको कन्तुर बोक्ने गरेकोले येशूले उसलाई “चाडको लागि हामीलाई चाहिने कुरा किन” भन्नुभएको वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला भनी कसै-कसैले सोच्छन्।
यहूदा त्यहाँबाट हिंडेपछि येशूले आफ्ना विश्वासी प्रेषितहरूसित एउटा बिलकुलै नयाँ समारोह अर्थात् स्मरणार्थ उत्सवको सुरुवात गर्नुहुन्छ। उहाँ रोटी लिनुहुन्छ, धन्यवाद चढाउन प्रार्थना गर्नुहुन्छ, रोटी भाँच्नुहुन्छ र तिनीहरूलाई यसो भन्दै दिनुहुन्छ: “लेओ।” उहाँ व्याख्या गर्नुहुन्छ: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।”
सबैले रोटी खाइसकेपछि येशूले दाखमद्य भएको एउटा कचौरा लिनुहुन्छ। निस्तार-चाडमा प्रयोग गरिने यो सायद चौथो कचौरा हुन सक्छ। यो कचौरा लिएर उहाँ फेरि धन्यवादको प्रार्थना चढाउनुहुन्छ, तिनीहरूलाई दिनुहुन्छ र त्यसबाट पिउन लगाउँदै भन्नुहुन्छ: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।”
यथार्थमा यो येशूको मृत्युको एउटा स्मरणार्थ हो। प्रत्येक वर्ष नीसान १४ का दिन येशूले भन्नुभएअनुसार उहाँको सम्झनामा यो समारोह गरिरहनुपर्छ। यसले येशू र स्वर्गमा बस्नुहुने उहाँका बुबाले मानवजातिका निम्ति मृत्युको दण्डबाट उम्कन सम्भव पार्न गर्नुभएको कुराको सम्झना गराउनेछ। ख्रीष्टका अनुयायी हुने यहूदीहरूका निम्ति यो समारोहले निस्तार-चाडको ठाउँ लिनेछ।
येशूको बगेको रगतद्वारा लागू हुने नयाँ करारले पुरानो व्यवस्थाको करारको ठाउँ लिन्छ। यहोवा परमेश्वर र पवित्र शक्तिद्वारा अभिषिक्त १,४४,००० ख्रीष्टियनहरूबीच बाँधिने यो करारको मध्यस्थकर्ता येशू ख्रीष्ट हुनुहुन्छ। पाप क्षमा गर्नुको अलावा यो करारद्वारा राजा अनि पुजारीको काम गर्ने एउटा स्वर्गीय राष्ट्र गठन गर्न सम्भव हुनेछ। मत्ती २६:२१-२९; मर्कूस १४:१८-२५; लूका २२:१९-२३; यूहन्ना १३:१८-३०; १७:१२; १ कोरिन्थी ५:७.
▪ एक जना मित्रबारे येशूले बाइबलको कुन भविष्यवाणीबाट उद्धरण गर्नुहुन्छ र त्यो कसरी लागू गर्नुहुन्छ?
▪ प्रेषितहरू किन साह्रै दुःखी हुन्छन् र प्रत्येकले के सोध्छन्?
▪ येशूले यहूदालाई के गर्न भन्नुहुन्छ तर ती निर्देशनलाई अरू प्रेषितहरूले कस्तो अर्थ लगाउँछन्?
▪ यहूदा गइसकेपछि येशूले कुन समारोहको सुरुवात गर्नुहुन्छ र त्यसबाट के उद्देश्य पूरा हुन्छ?
▪ नयाँ करार क-कसका बीच बाँधिन्छ र यस करारद्वारा कुन काम पूरा हुन्छ?