अध्याय ११८
धोका र गिरफ्तारी
गेत्समनीको बगैंचामा सिपाहीहरू, मुख्य पुजारीहरू, फरिसीहरू र अरूको एउटा ठूलो भीडको नेतृत्व गर्दै यहूदा आउँदा आधा रात बितिसकेको हुन्छ। येशूलाई धोका दिन पुजारीहरूले यहूदालाई ३० टुक्रा चाँदी दिने कबुल गरेका छन्।
केही समयअघि निस्तार-चाडको भोजबाट निस्केर गएपछि यहूदा सोझै मुख्य पुजारीहरूकहाँ गएजस्तो छ। तिनीहरूले तुरुन्तै आफ्ना अफिसरहरू र सिपाहीहरूको एउटा दल जम्मा पारे। यहूदाले सायद पहिले तिनीहरूलाई येशू र प्रेषितहरूले निस्तार-चाड मनाएको ठाउँमा लग्यो होला। त्यहाँबाट उहाँहरू हिंडिसकेको थाह पाएपछि हातहतियार, बत्ती र राँको लिएको त्यो ठूलो भीड यरूशलेमदेखि बाहिर किद्रोन खोल्सातर्फ यहूदाको पछि-पछि लाग्यो।
जैतुन डाँडामा त्यस दलको अघि-अघि जाँदा येशूलाई कहाँ भेट्टाउन सकिन्छ भनी यहूदालाई राम्रोसित थाह छ। बितेका हप्ताहरूमा यरूशलेम र बेथानीबीच येशू र प्रेषितहरू आउजाउ गर्दा उहाँहरू अक्सर गेत्समनीको बगैंचामा केही समय आराम गर्न र कुराकानी गर्न रोकिनुहुन्थ्यो। तर अहिले जैतुनका रूखहरूमुनि रातको अन्धकारमा येशूलाई नदेख्दा सिपाहीहरूले उहाँलाई कसरी चिन्नेछन्? तिनीहरूले उहाँलाई पहिले कहिल्यै नदेखेको पनि हुन सक्छ। त्यसकारण यहूदाले यसो भन्दै एउटा चिन्ह दिन्छ: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हो; तिमीहरूले उहाँलाई हिरासतमा लेओ।”
यहूदाले त्यस ठूलो भीडलाई बगैंचामा लान्छ, येशूलाई प्रेषितहरूसँग बसिरहनुभएको देख्छ र सोझै उहाँकहाँ जान्छ। उसले “प्रणाम, रब्बी!” भन्छ र उहाँलाई चुम्बन गर्छ।
येशू तिनलाई भन्नुहुन्छ: “मित्र, तिमी कुन उद्देश्य लिएर यहाँ उपस्थित भयौ?” अनि आफ्नो प्रश्नको आफै जवाफ दिंदै उहाँ भन्नुहुन्छ: “यहूदा, के तिमी चुम्बनले मानिसको छोरालाई धोका दिन्छौ?” तर भइहाल्यो, यो धोकेबाजसित अब के कुरा गर्ने! राँको र बत्तीको उज्यालोमा येशू अघि सर्दै सोध्नुहुन्छ: “तिमीहरू कसलाई खोज्दैछौ?”
तिनीहरू जवाफ दिन्छन्: “नासरी येशूलाई।”
साहसी भई तिनीहरू सबैका सामुन्ने उभिंदै येशू भन्नुहुन्छ: “त्यो मै हुँ।” उहाँको आँट देखेर ती मानिसहरू अकमक्क पर्छन् र भुइँमा लोट्छन्।
येशू शान्त भएर कुरा गरी नै रहनुहुन्छ: “त्यो मै हुँ भनेर मैले भनिहालें नि। यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने यिनीहरूलाई जान देओ।” आफ्ना विश्वासी प्रेषितहरूलाई आफूले बचाएको छु र तीमध्ये “विनाशको छोरा”-बाहेक अरू कोही पनि हराएका छैनन् भनी केही समयअघि मात्र माथिल्लो तलाको कोठामा येशूले आफ्ना बुबासित प्रार्थनामा भन्नुभएको थियो। अतः आफ्नो वचन पूरा होस् भनेर आफ्ना चेलाहरूलाई जान दिनू भन्नुहुन्छ।
सिपाहीहरूको होस फर्केपछि तिनीहरू उभिन्छन् र तिनीहरूले येशूलाई बाँध्न लाग्दा पो, अब के हुनेछ भनी प्रेषितहरूले थाह पाउँछन्। तिनीहरू सोध्छन्: “प्रभु, के हामी तरबारले हानौं?” तर येशूले जवाफ दिनुभन्दा पहिले नै प्रेषितहरूले ल्याएका दुइटा तरबारमध्ये एउटा थुतेर पत्रुसले प्रधान पुजारीको दास माल्कसमाथि प्रहार गर्छन्। पत्रुसको प्रहारबाट दासको टाउकोमा चोट लाग्दैन तर उसको दाहिने कानचाहिं च्वाट्टै काटिन्छ।
येशूले हस्तक्षेप गर्दै भन्नुहुन्छ: “बस्, अब अरू केही नगर।” माल्कसको कान छोएर उहाँले निको पारिदिनुहुन्छ। अनि पत्रुसलाई आज्ञा दिंदै उहाँले एउटा महत्त्वपूर्ण शिक्षा सिकाउनुहुन्छ: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्। अथवा तिमीलाई के लाग्छ, के म मेरो बुबालाई अहिले यतिखेरै बाह्र पल्टनभन्दा बढी स्वर्गदूत पठाइदिन बिन्ती गर्न सक्दिनँ र?”
गिरफ्तार हुन येशू तयार हुनुहुन्छ किनकि उहाँ व्याख्या गर्नुहुन्छ: “धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” उहाँ फेरि भन्नुहुन्छ: “बुबाले मलाई दिनुभएको कचौराबाट के मैले हरहालतमा पिउनुपर्दैन र?” परमेश्वरले उहाँलाई अह्राउनुभएको इच्छासित उहाँ पूर्ण सहमत हुनुहुन्छ!
अनि येशू भीडलाई सम्बोधन गर्दै सोध्नुहुन्छ: “के तिमीहरू डाँकुलाई जस्तै गरी तरबार र लाठोहरू लिएर मलाई पक्रन आएका छौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथें, तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर भविष्यवक्ताहरूले लेखेका कुरा पूरा होऊन् भनेर यी सब भएका हुन्।”
तब सिपाहीहरूको दल, तिनीहरूका सेनापति र यहूदीहरूका पहरेदारहरूले येशूलाई समात्छन् र उहाँलाई बाँध्छन्। यो देखेर प्रेषितहरू येशूलाई छाडेर भाग्छन्। तथापि एक जना जवान मानिस, सायद उहाँको चेला मर्कूस भीडसितै रहन्छ। येशूले निस्तार-चाड मनाउनुभएको घरमा उनी थिए होलान् र त्यहाँबाट नै भीडको पछि-पछि लागेर आएका हुन सक्छन्। तर अब उनलाई मानिसहरूले चिनेर पक्रने प्रयास गर्छन्। तर आफ्नो कपडा त्यहीं छोडेर उनी भाग्छन्। मत्ती २६:४७-५६; मर्कूस १४:४३-५२; लूका २२:४७-५३; यूहन्ना १७:१२; १८:३-१२.
▪ गेत्समनीको बगैंचामा येशू पक्कै फेला पर्नुहुनेछ भनी यहूदा किन विश्वस्तछ?
▪ आफ्ना प्रेषितहरूका निम्ति येशूले कसरी चासो देखाउनुहुन्छ?
▪ येशूलाई बचाउन पत्रुसले कस्तो कदम चाल्छन् तर यसबारे येशूले पत्रुसलाई के भन्नुहुन्छ?
▪ आफू परमेश्वरको इच्छासित पूर्ण सहमत भएको कुरा येशू कसरी प्रकट गर्नुहुन्छ?
▪ प्रेषितहरूले येशूलाई छोडेर भाग्दा को त्यहीं रहन्छन् र उनलाई के हुन्छ?