अध्याय ११
न्यानोपन र भावमय
भावना मानिसले मात्र व्यक्त गर्छ। भावना व्यक्त गर्दा मानिसले आफ्नो मनको कुरा र आफ्नो व्यक्तित्व जाहेर गर्नुका साथै अरू मानिस र वरपरको परिस्थिति कस्तो लाग्छ, त्यो प्रकट गरिरहेको हुन्छ। जीवनमा भोगेको तीतो अनुभवले गर्दा र कहिलेकाहीं त संस्कृतिले गर्दा मानिसहरू आफ्नो भावना मनभित्रै गुम्स्याउँछन्। तर यहोवा हामीलाई सद्गुण विकास गर्न र ती गुणलाई सुहाउँदो तरिकामा व्यक्त गर्न प्रोत्साहन दिनुहुन्छ।—रोमी १२:१०; १ थिस्स. २:७, ८.
बोल्दा प्रयोग गर्ने शब्दहरूबाट हामीले महसुस गरेको भावना दुरुस्त व्यक्त गर्न सक्छौं। तर व्यक्त गरिएको भावना र बोलिएको शब्दबीच तालमेल मिलेन भने श्रोतालाई हामी निष्कपट छौं जस्तो लाग्दैन। अर्कोतर्फ भावना र शब्दबीच तालमेल मिल्दा हाम्रो बोली मीठो हुन्छ र श्रोताको मन छुन सक्छौं।
न्यानोपन व्यक्त गर्ने तरिका: न्यानो भावना भन्ने बित्तिकै हामी अक्सर मानिसहरूलाई सम्झन्छौं। त्यसैले यहोवाका मनमोहक गुणहरूबारे कुरा गर्दा र उहाँको भलाइप्रति कृतज्ञता जाहेर गर्दा हाम्रो आवाज न्यानो हुनुपर्छ। (यशै. ६३:७-९) अरूसित कुरा गर्दा बोल्ने तरिकाबाट पनि न्यानोपन व्यक्त गर्नुपर्छ।
एक जना कुष्ठरोगीले आफूलाई निको पारिदिन येशूलाई बिन्ती गरे। येशूले “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ” भन्दा उहाँको स्वरमा व्यक्त भएको भाव कल्पना गर्नुहोस्। (मर्कू. १:४०, ४१) रगत बग्ने व्यथा लागेको १२ वर्ष भइसकेकी एउटी स्त्रीले बिस्तारै पछाडिबाट येशूको लुगाको किनारा छोएको दृश्य कल्पना गर्नुहोस्। अरूको नजरबाट लुक्न नसकेपछि उक्त स्त्री थरथर काम्दै येशूको पाउमा घोप्टो परिन्। उनले येशूलाई छुनुको कारण र आफू निको भएको कुरा पनि सबै मानिससामु बताइन्। येशूले उनलाई यसो भन्दा कस्तो भावना व्यक्त गर्नुभयो, विचार गर्नुहोस्: “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।” (लूका ८:४२ख-४८) ती अवसरमा येशूले देखाएको न्यानोपनले अहिलेसम्म हाम्रो मन छुन्छ।
जब हामी पनि येशूले जस्तै अरूप्रति अनुकम्पा महसुस गर्छौं र मानिसहरूलाई साँच्चै मदत गर्न चाहन्छौं तब हाम्रो बोलीमा त्यो भावना झल्किन्छ। यस्तो भावना निष्कपट हो, बनावटी होइन। हामीले न्यानोपन देखाउँदा प्रचारमा मानिसहरूले पनि सकारात्मक प्रतिक्रिया देखाउँछन्। हाम्रो सन्देशमा नै न्यानोपन झल्किन्छ र विशेषगरि तर्क गर्दा, प्रोत्साहन दिंदा र सहानुभूति देखाउँदा हामी न्यानोपन देखाउँछौं।
अरूप्रति न्यानोपन महसुस गरेको कुरा अनुहारबाट देखाउनुहोस्। कठाङ्ग्रिने रातमा आगो ताप्न नजिकिएझैं तपाईंले न्यानोपन देखाउँदा श्रोता तपाईंतिर नजिकिनेछन्। अनुहारमा न्यानोपन देखिएको छैन भने तपाईंले श्रोतालाई देखाएको चासोमा तिनीहरूलाई शङ्का लाग्नेछ। न्यानोपन वास्तविक हुनै पर्छ, मकुन्डो लगाएझैं लगाउन सकिंदैन।
तपाईंको आवाजमा पनि न्यानोपन झल्किनुपर्छ। तपाईंको आवाज कडा छ र रूखो सुनिन्छ भने बोलीमा न्यानोपन व्यक्त गर्न गाह्रो हुन्छ। तर समय लगाएर बारम्बार कोसिस गर्दा आवाज सुधार्न सक्नुहुन्छ। छोटो अनि छिटो आवाज निकाल्दा बोली बुझिंदैन भनेर सम्झनु सायद तपाईंलाई मदतकारी होला। त्यसैले शब्द उच्चारण गर्दा बिस्तारै नरम आवाजमा उच्चारण गर्ने कोसिस गर्नुहोस्। यसले तपाईंको बोलीमा न्यानोपन ल्याउन मदत गर्छ।
तर तपाईंको ध्यान केमा केन्द्रित छ, त्यो झनै महत्त्वपूर्ण छ। यदि तपाईंले श्रोतालाई ध्यानमा राखेर विचार व्यक्त गर्नुभएको छ र उनीहरूलाई फाइदा पुऱ्याउने केही कुरा बताउने उत्कट इच्छा राख्नुभएको छ भने त्यो तपाईंको बोलीमा झल्कनेछ।
उत्साहपूर्ण भाषणले श्रोतालाई जुर्मुऱ्याउँछ। तर यसरी भाषण दिंदा कोमल भाव पनि देखाउनुपर्छ। अक्सर दिमागी ज्ञान दिएर मात्र पुग्दैन; श्रोताको मनसम्मै पुग्नुपर्छ।
अन्य भावना व्यक्त गर्ने तरिका: दुःखमा पर्दा मानिसले चिन्ता, डर र निराशा जस्ता भावना व्यक्त गर्छ। तर हामीले व्यक्त गर्नुपर्ने मुख्य भावना आनन्द हो। अरूसित कुरा गर्दा हामी खुलेर आनन्द व्यक्त गर्छौं। अर्कोतर्फ हामीले व्यक्त गर्न नहुने भावना पनि छन्। ती भावना ख्रीष्टियन व्यक्तित्वसित मेल खाँदैनन्। (एफि. ४:३१, ३२; फिलि. ४:४) हामीले प्रयोग गर्ने शब्द, हाम्रो आवाज, बोल्दा शब्दमा जोड दिने तरिका, अनुहारको हावभाव र इशाराबाट हामी विभिन्न भावना व्यक्त गर्छौं।
बाइबलमा मानिसले व्यक्त गर्ने किसिम-किसिमका भावना लेखिएका छन्। कहिलेकाहीं भावनाबारे उल्लेख मात्र गरिएको छ भने कहिलेकाहीं भावना व्यक्त गर्ने घटना वा बोलीबारे बताइएको छ। ठूलो स्वरमा यस्ता विवरण पढ्दा तपाईंले आवाजबाट ती भावना व्यक्त गर्नुभयो भने तपाईंमा र श्रोतामा अमेट छाप पर्छ। यसो गर्न तपाईंले आफूलाई तिनीहरूको ठाउँमा राख्नुपर्छ। भाषण नाटक होइन। त्यसैले भाषण दिंदा अति नै नाटकीय तरिकामा नबोल्नुहोस्। बरु श्रोताले कल्पना गर्न सक्ने तरिकामा भावसहित बाइबल विवरण पढ्नुहोस्।
विषयसुहाउँदो न्यानोपन देखाउनुहोस्। उत्साह व्यक्त गर्ने सन्दर्भमा जस्तै न्यानोपन र अन्य भावना व्यक्त गर्ने कुरा धेरै हदसम्म तपाईंले भन्ने कुरामा भर पर्छ।
मत्ती ११:२८-३० पल्टाउनुहोस् र त्यहाँ लेखिएको कुरा याद गर्नुहोस्। त्यसपछि येशूले सदुकी र फरिसीहरूलाई धिक्कारेको विवरण मत्ती अध्याय २३ मा पढ्नुहोस्। येशूले तिनीहरूलाई मधुरो स्वरमा धिक्कारेको कल्पना त हामी गर्न सक्दैनौं। उहाँले तिनीहरूलाई कडाइका साथ धिक्कार्नुभयो।
उत्पत्ति अध्याय ४४ मा यहूदाले आफ्नो भाइ बिन्यामीनका लागि गरेको बिन्ती पढ्दा कस्तो भाव व्यक्त गर्नुपर्छ होला? पद १३ मा कस्तो भावना व्यक्त गर्नुपर्छ, याद गर्नुहोस्। यस्तो विपत्ति आउनुको कारणबारे यहूदाले कस्तो महसुस गरे पद १६ मा दिइएको छ। त्यसपछि यूसुफले कस्तो प्रतिक्रिया देखाए उत्पत्ति ४५:१ मा हेर्नुहोस्।
त्यसकारण प्रभावकारी तरिकामा पढ्न वा बोल्न शब्द तथा विचारहरूलाई ध्यान दिएर मात्र पुग्दैन। त्यसमा कस्ता भावना व्यक्त गरिएका छन्, त्यसलाई पनि ध्यान दिनै पर्छ।