प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ia अध्या. १ पृ. ९-१६
  • “तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘संसारको प्रारम्भदेखिका’ मानिस
  • हाबिलले कसरी परमेश्‍वरप्रति विश्‍वास खेती गरे?
  • हाबिलको भेटी—किन उत्कृष्ट?
  • “मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • असल छोरा र खराब छोरा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
ia अध्या. १ पृ. ९-१६
हाबिल

अध्याय एक

“तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”

१. आदम र उनको परिवारलाई अदनको बगैंचामा पस्नदेखि केले रोकिरहेको थियो? हाबिललाई कुन प्रश्‍नको जवाफ चाहिएको थियो?

हाबिल आफ्नो बगालतिर नजर लगाउँछन्‌। भेडाहरू डाँडामा मजाले चरिरहेका छन्‌। त्यत्तिकैमा पिलपिल गरिरहेको टाढाको मधुरो ज्योतिमा तिनको आँखा पुग्छ। त्यहाँ एउटा ज्वालामय तरबार फनफनी घुमिरहेको छ, त्यो कहिल्यै रोकिएको छैन। त्यसले अदनको बगैंचामा कसैलाई पस्न दिंदैन भनेर हाबिललाई थाह छ। हाबिलका आमाबाबु पहिला त्यहीं बस्थे। तर अहिले त्यस बगैंचामा न उनीहरू न त उनीहरूका छोराछोरी नै पस्न पाउँछन्‌। हाबिल अब आकाशतिर हेर्छन्‌। साँझपख चलेको मन्द-मन्द हावामा तिनको कपाल फरफराइरहेको छ। तिनी आफ्ना सृष्टिकर्ताबारे सोच्दैछन्‌। के मानिस र परमेश्‍वरबीचको सम्बन्ध सुध्रिएला? हाबिललाई यही प्रश्‍नको जवाफ चाहिएको छ।

२-४. हाबिल अहिले हामीसँग कसरी बोल्दैछन्‌?

२ हाबिल आज पनि तपाईंसँग बोल्दैछन्‌। के तपाईं तिनको आवाज सुन्‍नुहुन्छ? तपाईं भन्‍नुहोला, ‘यो त असम्भव छ!’ हुन पनि हो, आदमका यी माहिला छोरा मरेको धेरै भइसक्यो। तिनको शरीर माटोमा मिसिएको लगभग ६,००० वर्ष भइसक्यो। मरेकाहरूबारे बाइबल यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उप. ९:५, १०) फेरि हाबिलले बोलेको एक शब्द पनि बाइबलमा लेखिएको छैन। त्यसोभए तिनी हामीसँग कसरी बोल्दैछन्‌ त?

३ यहोवाको प्रेरणा पाएर प्रेषित पावलले हाबिलबारे यस्तो लेखे: “तिनी मरिसकेको भए तापनि यसै विश्‍वासले गर्दा अझै बोल्दैछन्‌।” (हिब्रू ११:४ पढ्‌नुहोस्‌) यस पदअनुसार हाबिल कसरी बोल्दैछन्‌? विश्‍वासद्वारा। विश्‍वासजस्तो उत्कृष्ट गुण विकास गर्ने पहिलो मानिस हाबिल नै थिए। तिनले यत्ति बलियो विश्‍वास देखाए कि विश्‍वासको त्यो जीवन्त उदाहरणले आज पनि हामीलाई झकझक्याउँछ। हाबिलले देखाएको विश्‍वासबाट केही सिक्यौं र तिनको उदाहरण अनुकरण गर्ने प्रयास गऱ्‍यौं भने हामीले तिनको कुरा साँच्चै सुनिरहेका हुनेछौं।

४ बाइबलमा हाबिलबारे धेरै कुरा लेखिएको छैन। तैपनि तिनी र तिनको विश्‍वासबारे हामी के सिक्न सक्छौं? आउनुहोस्‌, हेरौं।

‘संसारको प्रारम्भदेखिका’ मानिस

५. हाबिललाई “संसारको प्रारम्भ”-का मानिस भनेर येशू के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (फुटनोट पनि हेर्नुहोस्‌)

५ पहिलो मानव दम्पती सृष्टि गरिएको केही समय बितेपछि हाबिल जन्मिएका थिए। हाबिल “संसारको प्रारम्भदेखि”-का मानिस हुन्‌ भनेर येशूले बताउनुभयो। (लूका ११:५०, ५१ पढ्‌नुहोस्‌) सायद त्यतिबेला उहाँले पापबाट उद्धार पाउने आशा भएका मानिसहरूबारे कुरा गर्नुभएको थियो। हाबिल पृथ्वीमा पाइला टेक्ने चौथो मानिस भए तापनि परमेश्‍वरको नजरमा उद्धार पाउन लायकको पहिलो मानिस तिनी नै हुनुपर्छ।a त्यसबेला हाबिलले अनुकरण गर्न सक्ने असल मानिस पृथ्वीमा कोही थिएन।

६. हाबिलका आमाबाबुबारे बताउनुहोस्‌।

६ पृथ्वीमा मानव परिवारको गृहस्थी भर्खरै सुरु भएको थियो। तर त्यो परिवारलाई दुःखै-दुःखको बादलले घेरिसकेको थियो। सुरुमा हाबिलका आमाबाबु आदम र हव्वा सर्वगुण सम्पन्‍न थिए। तर उनीहरूले जानाजानी गम्भीर गल्ती गरे। उनीहरू त्रुटिरहित थिए अनि उनीहरूसामु अनन्त जीवनको आशा थियो। तर यहोवा परमेश्‍वरको विद्रोह गरेपछि उनीहरूलाई अदनको बगैंचाबाट निकालियो। आफ्नै इच्छालाई सर्वोपरि ठानेको हुँदा उनीहरूले त्रुटिरहित शरीर अनि अनन्त जीवन गुमाए। उनीहरूले आफ्ना सन्ततिको भविष्यलाई समेत वास्ता गरेनन्‌।—उत्प. २:१५–३:२४.

७, ८. कयिन जन्मँदा हव्वाले के भनिन्‌? उनले के सोचेकी हुनुपर्छ?

७ अदनको बगैंचाबाट निकालिएपछि आदम र हव्वाले बाँच्नको लागि हाड घोट्‌नुपऱ्‍यो। तर जेठो छोरा जन्मिएपछि उनीहरू खुसी भए। उनीहरूले त्यस छोराको नाम कयिन राखे, जसको अर्थ हो, “केही प्राप्त हुनु।” कयिन जन्मेपछि हव्वाले यसो भनेकी थिइन्‌: “परमप्रभुको आशीर्वादले एक पुरुष प्राप्त गरें।” त्यतिबेला उनले अदनको बगैंचामा यहोवाले गरेको प्रतिज्ञा सम्झेकी हुनुपर्छ। त्यस प्रतिज्ञाअनुसार एउटी स्त्रीले “सन्तान” जन्माउने थिई र उक्‍त सन्तानले आदम र हव्वालाई बहकाउने दुष्टलाई नाश गर्ने थियो। (उत्प. ३:१५; ४:१) के हव्वाले त्यस भविष्यवाणीकी स्त्री आफै हुँ अनि प्रतिज्ञा गरिएको “सन्तान”-चाहिं कयिन हो भन्ठानेकी थिइन्‌?

८ त्यसो हो भने त्यो उनको ठूलो गल्ती थियो। साथै आदम र हव्वाले कयिनलाई त्यही कुरा सिकाएका भए उनलाई घमन्डी बनाइरहेका हुने थिए। पछि हव्वाले अर्को छोरा जन्माइन्‌। तर त्यतिबेला उनले हर्ष व्यक्‍त गरेको विवरण बाइबलमा पाइँदैन। उनीहरूले त्यस छोराको नाम हाबिल राखे। यसको अर्थ हुन सक्छ, “निःश्‍वास” वा “व्यर्थ।” (उत्प. ४:२) उनीहरूले हाबिललाई भन्दा कयिनलाई महत्त्व दिएकोले पो यस्तो नाम छानेका हुन्‌ कि? हुन पनि सक्छ।

९. आजका आमाबाबुले प्रथम आमाबाबुबाट कस्तो पाठ सिक्न सक्छन्‌?

९ आजका आमाबाबुले यी प्रथम आमाबाबुबाट धेरै कुरा सिक्न सक्छन्‌। के तपाईं आफ्नो बोली अनि व्यवहारद्वारा छोराछोरीलाई घमन्डी, महत्त्वाकाङ्‌क्षी र स्वार्थी हुन सिकाउनुहुन्छ? अथवा यहोवालाई प्रेम गर्न र उहाँसित मित्रता गाँस्न सिकाउनुहुन्छ? दुःखको कुरा, प्रथम आमाबाबुले आफ्नो जिम्मेवारी पूरा गरेनन्‌। तैपनि उनीहरूको सन्तानको भविष्य भने आशाविहीन थिएन।

हाबिलले कसरी परमेश्‍वरप्रति विश्‍वास खेती गरे?

१०, ११. कयिन र हाबिल के काम गर्थे? हाबिलले कस्तो गुण खेती गरे?

१० छोराहरू हुर्कंदै जाँदा आदमले तिनीहरूलाई परिवारको हातमुख जोर्नको लागि काम गर्न सिकाएका हुन सक्छन्‌। कयिनले खेतीकिसानी गर्न थाले भने हाबिलचाहिं गोठालो भए।

११ हाबिलले त्योभन्दा पनि महत्त्वपूर्ण काम गरे। समय बित्दै जाँदा तिनले आफ्नो विश्‍वास खेती गर्दै लगे। तिनले देखाएको यस्तो मनमोहक गुणबारे पछि पावलले पनि उल्लेख गरे। विचार गर्नुहोस्‌ त, हाबिलसामु तिनले अनुकरण गर्न सक्ने मानिस कोही पनि थिएन। त्यसोभए तिनले यहोवा परमेश्‍वरप्रति कसरी विश्‍वास खेती गरे? आउनुहोस्‌, विश्‍वास खेती गर्न तिनलाई मदत गरेका तीनवटा कुरा अब हामी विचार गरौं।

१२, १३. यहोवाको सृष्टि हेरेर हाबिलले आफ्नो विश्‍वास बढाउँदै लैजान कसरी मदत पाए?

१२ यहोवाको सृष्टि। यहोवाले भूमिलाई श्राप दिनुभएकोले जमिनमा काँडा र सिउँडीहरू उम्रिए अनि बालीनाली सप्रन सकेन। तैपनि जमिनले पुग्दो उब्जनी दिएकोले आदमको परिवारले जीवन धान्‍न सक्यो। परमेश्‍वरले जीवजन्तु, पहाड, नदी, ताल, समुद्र, आकाश, सूर्य, चन्द्रमा र तारालाई श्राप दिनुभएको थिएन। जता हेरे पनि हाबिलले सबै थोक सृष्टि गर्नुहुने यहोवा परमेश्‍वरको अथाह प्रेम, बुद्धि र भलाइको प्रमाण देख्न सक्थे। (रोमी १:२० पढ्‌नुहोस्‌) यी कुराहरूप्रति कृतज्ञ हुँदै मनन गर्दा तिनको विश्‍वास बलियो भयो।

हाबिल आफ्नो भेडाको बगालसित सृष्टिका कुराहरूलाई नियाल्दै

सृष्टिका कुराहरूलाई नियाल्दा हाबिलले मायालु सृष्टिकर्तामाथि विश्‍वास गर्ने बलियो आधार पाए

१३ पक्कै पनि हाबिल यहोवाबारे मनन गर्न समय निकाल्थे। तिनले भेडाहरूको हेरचाह गरेको दृश्‍य कल्पना गर्नुहोस्‌। गोठालो गर्दा निकै हिंड्‌नुपर्ने हुन्थ्यो। हाबिल आफ्नो बगालको लागि लहलहाउँदो घाँस भएको चरन, उपयुक्‍त पानीका मुहानहरू अनि आराम गर्ने राम्रो ठाउँ खोज्थे। त्यसैले तिनी उकाली-ओराली गर्दै, खोला-नाला तर्दै बगाललाई चराउन लैजान्थे। परमेश्‍वरले सृष्टि गरेका जनावरहरूमध्ये भेडा सबैभन्दा निस्सहाय देखिन्छ, मानौं तिनीहरू मानिसको डोऱ्‍याइ र सुरक्षाविना बाँच्नै सक्दैनन्‌। त्यसैगरि आफूलाई पनि मानिसभन्दा बुद्धिमान्‌ र शक्‍तिशाली परमेश्‍वरको डोऱ्‍याइ, सुरक्षा र हेरचाह चाहिन्छ भन्‍ने कुरा हाबिलले महसुस गरे कि? यसबारे तिनले यहोवालाई पक्कै पनि थुप्रै चोटि आफ्नो भावना पोखाए, जसले गर्दा तिनको विश्‍वास बढ्‌दै गएको हुनुपर्छ।

१४, १५. यहोवाले प्रतिज्ञा गरेका के-कस्ता कुरामा हाबिल मनन गर्न सक्थे?

१४ यहोवाका प्रतिज्ञाहरू। अदनको बगैंचामा भएको घटना र त्यहाँबाट आफू निकालिनुको कारणबारे आदम र हव्वाले छोराहरूलाई पक्कै बताएको हुनुपर्छ। त्यसकारण हाबिलले मनन गर्न सक्ने थुप्रै कुरा थिए।

१५ यहोवाले भूमि श्रापित हुनेछ भन्‍नुभएको थियो। उहाँले भनेझैं भूमिमा काँडा अनि सिउँडीहरू उम्रेको हाबिलले देखे। साथै गर्भवती अवस्थामा अनि बच्चा जन्माउँदा हव्वालाई निकै कष्ट हुनेछ भनेर पनि यहोवाले भविष्यवाणी गर्नुभएको थियो। आफ्नी आमाले बच्चा जन्माउँदा यहोवाका ती शब्दहरू पूरा भयो भनेर हाबिलले बुझेको हुनुपर्छ। हव्वाले पतिबाट बढी नै माया अनि ध्यान खोज्नेछिन्‌ तर आदमले भने उनलाई अधीनमा राख्नेछन्‌ भनेर पनि यहोवाले भन्‍नुभएको थियो। हाबिलले त्यो तीतो वास्तविकता आफ्नै आँखाले देखे। यी सबै भविष्यवाणी पूरा भएको देख्दा यहोवाको वचनमा शङ्‌का गर्नुपर्ने कुनै कारण छैन भनेर तिनले बुझे। त्यसैले अदनको बगैंचामा सुरु भएको समस्या सुल्झाउने “सन्तान”-बारे यहोवाले गर्नुभएको प्रतिज्ञा पनि पूरा हुनेछ भनेर विश्‍वास गर्ने बलियो आधार हाबिलसित थियो।—उत्प. ३:१५-१९.

१६, १७. करूबहरूबाट हाबिलले के सिकेको हुनुपर्छ?

१६ यहोवाका सेवकहरू। हाबिलले पृथ्वीमा अनुकरण गर्न लायकको कुनै मानिस पाएनन्‌। तर त्यतिबेला पृथ्वीमा मानिसबाहेक बुद्धिमान्‌ प्राणी अरू पनि थिए। आदम र हव्वालाई बगैंचाबाट निकालेपछि यहोवाले उनीहरूलाई र उनीहरूका सन्तानलाई बगैंचामा पस्न नदिन एउटा व्यवस्था मिलाउनुभयो। बगैंचामा पहरा दिन यहोवाले करूबहरू अर्थात्‌ उच्च ओहदाका स्वर्गदूतहरू र सधैं घुमिरहने ज्वालामय तरबार राखिदिनुभयो।—उत्पत्ति ३:२४ पढ्‌नुहोस्‌।

१७ सानो छँदा हाबिलले ती करूबहरूलाई हेरिरहेको दृश्‍य कल्पना गर्नुहोस्‌। मानव शरीर धारण गरेका ती करूबहरू एकदमै शक्‍तिशाली देखिन्थे। अनि फनफनी घुमिरहेको “ज्वालामय तरबार” पनि अचम्मकै थियो। के हाबिलले ती करूबहरूले झर्को मानेको र आफ्नो ठाउँ छोडेर हिंडेको कहिल्यै देखे? अहँ! देखेनन्‌। दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो, हुँदा-हुँदा दशकौं बित्यो तर ती बुद्धिमान्‌ अनि शक्‍तिशाली स्वर्गदूतहरूले आफ्नो जिम्मेवारी कहिल्यै त्यागेनन्‌। यहोवाका वफादार अनि अटल सेवकहरू पनि रहेछन्‌ भनेर हाबिलले देखे। हाबिलले ती करूबहरूमा यहोवाप्रतिको वफादारी र आज्ञाकारिता देखे। त्यस्तो वफादारी र आज्ञाकारिता तिनले आफ्नो परिवारमा कहिल्यै देखेका थिएनन्‌। ती करूबहरूको असल उदाहरणले तिनको विश्‍वास बलियो बनायो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

अदनको बगैंचामा पस्ने बाटोअगाडि उभिरहेका करूबहरूलाई हेरिरहेका हाबिल

करूबहरूले वफादार अनि आज्ञाकारी भई यहोवाको सेवा गरेको हाबिलले आफू बाँचुन्जेल देखे

१८. विश्‍वास बलियो बनाउने के-कस्ता कारण हामीसित छन्‌?

१८ सृष्टिका कुराहरू, आफ्ना प्रतिज्ञाहरू र स्वर्गदूतहरूको असल उदाहरणमार्फत यहोवाले आफ्नो विषयमा धेरै कुरा प्रकट गर्नुभयो। यी कुराहरूमा मनन गरेर हाबिलले आफ्नो विश्‍वास अझै बलियो बनाउन सके। आफ्नो उदाहरणमार्फत आज पनि तिनी हामीसँग बोलिरहेका छन्‌, होइन र? परिवारका सदस्यले असल उदाहरण नबसाले तापनि आजका युवाहरूले हाबिलबाट पाठ सिक्न सक्छन्‌। हो, परिवारका सदस्यहरूको खराब उदाहरणको बाबजुद तिनीहरूले यहोवाप्रति अटल विश्‍वास खेती गर्न सक्छन्‌। कस्तो आश्‍वासनदायी कुरा! यहोवाले सृष्टि गर्नुभएका अनगिन्ती कुराहरू हाम्रै वरपर छन्‌; हामीसित सिङ्‌गो बाइबल छ अनि विश्‍वासी मानिसहरूको असल उदाहरणको पनि छेलोखेलो छ। हाम्रो विश्‍वास बलियो बनाउने कत्ति धेरै कारण!

हाबिलको भेटी—किन उत्कृष्ट?

१९. समयको दौडान हाबिलले कस्तो अनमोल सत्य बुझे?

१९ यहोवाप्रतिको विश्‍वास बढ्‌दै गएपछि हाबिलले त्यो विश्‍वास कामद्वारा देखाउन चाहे। तर तुच्छ मानिसले ब्रह्‍माण्डको सृष्टिकर्तालाई दिन सक्ने के नै छ र! परमेश्‍वरलाई मानिसबाट कुनै उपहार वा मदत चाहिंदैन। समयको दौडान हाबिलले एउटा अनमोल सत्य बुझे: आफूसित भएको सबैभन्दा उत्तम कुरा असल मनसायले चढाउँदा यहोवा त्यसलाई खुसीसाथ स्वीकार्नुहुन्छ।

आफ्ना भेडाहरूमध्ये सबैभन्दा असलचाहिं यहोवालाई चढाइरहेका हाबिल र अन्‍न चढाइरहेका कयिन

विश्‍वासले उत्प्रेरित भएर हाबिलले भेटी चढाए तर कयिनले त्यसरी चढाएनन्‌

२०, २१. कयिन र हाबिलले यहोवाको लागि के-के भेटी चढाए? तिनीहरूले चढाएको भेटी यहोवाले ग्रहण गर्नुभयो?

२० हाबिलले आफ्नो बगालको भेडा भेटीको रूपमा चढाउने विचार गरे। तिनले बगालबाट सबैभन्दा उत्तम भेडा अर्थात्‌ पहिले जन्मेका पाठाहरू र त्यसको उत्तम भागचाहिं छाने। त्यसैगरि कयिनले पनि परमेश्‍वरबाट आशिष्‌ र उहाँको अनुमोदन पाउन आफ्नो उब्जनीबाट केही चढाउने विचार गरे। तर उनको मनसाय हाबिलको जस्तो थिएन। ती दुई भाइले भेटी चढाउँदा तिनीहरूको मनसाय प्रकट भयो।

२१ आदमका दुवै छोराले वेदी बनाएर भेटीलाई आगोले जलाएका हुन सक्छन्‌। तिनीहरूले भेटी चढाउँदा करूबहरूले पनि देखेका हुन सक्छन्‌। त्यतिबेला पृथ्वीमा यहोवाको प्रतिनिधित्व गर्ने प्राणीहरू ती करूबहरू मात्र थिए। बाइबल यसो भन्छ: “परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो।” (उत्प. ४:४) हो, यहोवा खुसी हुनुभयो! उहाँले तिनको भेटी ग्रहण गरेको कुरा कसरी देखाउनुभयो? बाइबलले यसबारे केही बताएको छैन।

२२, २३. यहोवाले किन हाबिलको भेटी स्वीकार्नुभयो?

२२ यहोवाले किन हाबिलको भेटी मात्र ग्रहण गर्नुभयो? भेटी नै विशेष किसिमको भएर हो कि? हाबिलले जीवित प्राणीको बलिदान चढाए। तिनले जीवनको प्रतिनिधित्व गर्ने अमूल्य रगत चढाए। हाबिलले त्यस्तो बलिदानको महत्त्व बुझेका थिए त? हाबिलको समयभन्दा सयौं वर्षपछि परमेश्‍वरले इस्राएलीहरूलाई खोटरहित पाठोको बलि चढाउने आज्ञा दिनुभयो। यस्तो खोटरहित पाठोको बलिदानले “परमेश्‍वरको थुमा” अर्थात्‌ उहाँको त्रुटिरहित छोराले बगाउने अमूल्य रगतलाई चित्रण गर्थ्यो। (यूह. १:२९; प्रस्थ. १२:५-७) तर यहोवाको उद्देश्‍यमा यस्तो बलिदानको महत्त्वपूर्ण भूमिका छ भनेर हाबिलले सायद बुझेका थिएनन्‌।

२३ एउटा कुरा भने पक्का छ, हाबिलले आफूसँग भएको सबैभन्दा उत्तम कुरा चढाए। यहोवा भेटी देखेर मात्र होइन, हाबिलको मनसाय देखेर पनि खुसी हुनुभयो। हाबिलले यहोवाप्रतिको प्रेम र साँचो विश्‍वासद्वारा उत्प्रेरित भई भेटी चढाएका थिए।

२४. (क) कयिनले चढाएको भेटीमा कुनै खोट थिएन भनेर हामी किन भन्‍न सक्छौं? (ख) आजका थुप्रै मानिसहरूको विचार र कयिनको विचारमा के समानता छ?

२४ तर कयिनको कुरा भने फरक थियो। यहोवाले “कयिन र तिनको भेटी ग्रहण गर्नुभएन।” (उत्प. ४:५) कयिनको भेटीमै कुनै खोट भएर त होइन किनभने पछि उहाँले भूमिको उब्जनीबाट पनि भेटी चढाउने नियम दिनुभयो। (लेवी ६:१४, १५) बाइबलले कयिनको बारेमा यसो भनेको छ: “उसका कामहरू दुष्ट थिए।” (१ यूहन्‍ना ३:१२ पढ्‌नुहोस्‌) आजका थुप्रै मानिस अरूलाई देखाउने हिसाबले मात्र भक्‍ति गरे पुग्छ भन्ठान्छन्‌। कयिनको विचार पनि त्यस्तै थियो। कयिनसित यहोवाप्रतिको साँचो विश्‍वास र प्रेम नभएको कुरा उनका कामहरूबाट तुरुन्तै देखिन थाल्यो।

२५, २६. यहोवाले कयिनलाई कस्तो चेतावनी दिनुभयो? तर उनले के गरे?

२५ यहोवाको अनुमोदन नपाएपछि के कयिनले हाबिलको उदाहरणबाट पाठ सिके? अहँ! सिकेनन्‌। बरु उनले आफ्नो भाइलाई घृणा पो गर्न थाले। कयिनको मनमा के थियो, सो यहोवाले देख्नुभयो र उनलाई राम्ररी सम्झाउनुभयो। त्यस्तो खराब मनस्थितिले उनलाई गम्भीर पापतर्फ धकेल्दैछ भनेर उहाँले चेतावनी दिनुभयो। साथै आफ्नो मनोवृत्ति बदलेको खण्डमा मात्र पनि उनी “ग्रहणयोग्य” हुनेछन्‌ भनेर परमेश्‍वरले सम्झाउनुभयो।—उत्प. ४:६, ७.

२६ कयिनले परमेश्‍वरको चेतावनी सुनेको नसुन्यै गरे। उनले आफ्नो सोझो भाइलाई सँगै खेतमा जाऔं भनेर डाके र त्यहाँ पुगेपछि मारिदिए। (उत्प. ४:८) यस अर्थमा हाबिल धार्मिकताको खातिर ज्यान गुमाउने पहिलो सहिद भए। तिनी मरिसके तर यहोवाले तिनलाई बिर्सनुभएको छैन।

२७. (क) हाबिल पुनर्जीवित हुनेछन्‌ भनेर हामी किन पक्का हुन सक्छौं? (ख) हाबिललाई भेट्‌ने हो भने हामीले के गर्नुपर्छ?

२७ हाबिलको रगतले बदला वा न्यायको लागि यहोवा परमेश्‍वरलाई प्रतीकात्मक अर्थमा दुहाई दियो। परमेश्‍वरले दुष्ट कयिनलाई सजाय दिएर न्याय गर्नुभयो। (उत्प. ४:९-१२) त्योभन्दा महत्त्वपूर्ण कुरा, हाबिलको विश्‍वासको विवरण अहिले हामीसँग बोल्दैछ। हाबिल सय वर्षजति बाँचे होलान्‌, जुन त्यतिबेलाको सरदर आयुभन्दा कम हो। तर तिनले परमेश्‍वरलाई मनपर्ने तरिकामा जीवन बिताए। स्वर्गमा बस्ने मायालु बुबा यहोवाको माया र अनुमोदन पाएको छु भन्‍ने कुरामा ढुक्क भएर तिनी मरे। (हिब्रू ११:४) यहोवाको स्मरणशक्‍ति अपार छ। उहाँले हाबिललाई कहिल्यै बिर्सनुहुनेछैन भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं। तिनी प्रमोदवनमा पुनर्जीवित हुनेछन्‌। (यूह. ५:२८, २९) के तपाईं तिनलाई भेट्‌न चाहनुहुन्छ? हाबिलको कुरा सुन्‍न अनि तिनको विश्‍वास अनुकरण गर्न कटिबद्ध हुनुभयो भने तपाईंले पक्कै तिनलाई भेट्‌न पाउनुहुनेछ।

a मूल भाषाअनुसार “संसारको प्रारम्भ” भन्‍ने वाक्यांशले “बीउ फ्याँक्नु” अर्थात्‌ सन्तान गर्भमा आउनुलाई बुझाउँछ। यो सबैभन्दा पहिलो मानव सन्तान गर्भमा आउने कुरासित सम्बन्धित छ। हुन त पृथ्वीमा सबैभन्दा पहिले जन्मेका मानिस कयिन थिए। तर येशूले किन हाबिललाई “संसारको प्रारम्भ”-का मानिस भन्‍नुभयो? कयिनले जानाजानी यहोवा परमेश्‍वरको विद्रोह गरे। यो कुरा उनले आफ्नो निर्णय अनि कामद्वारा देखाए। त्यसैले उनका आमाबाबुजस्तै उनी पनि पुनर्जीवित हुने अनि उद्धार पाउने मानिसहरूको सूचीमा पर्दैनन्‌ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं।

यसबारे सोच्नुहोस्‌ . . .

  • हाबिल अहिले हामीसँग कसरी बोल्दैछन्‌?

  • हाबिलका आमाबाबुले गरेको गल्तीबाट अहिलेका आमाबाबुले कस्तो पाठ सिक्न सक्छन्‌?

  • यहोवाप्रतिको विश्‍वास बलियो बनाउन हाबिललाई सृष्टिका कुराहरूले, यहोवाका प्रतिज्ञाहरूले र करूबहरूले कसरी मदत गरेको हुनुपर्छ?

  • तपाईंले हाबिलको विश्‍वासको अनुकरण कसरी गर्ने विचार गर्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने