प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs अध्या. १७ पृ. १७४-१८४
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरलाई किन प्रार्थना गर्नुपर्छ?
  • परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?
  • प्रार्थनाबारे साधारणतया सोधिने प्रश्‍नहरू
  • परमेश्‍वर हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs अध्या. १७ पृ. १७४-१८४

अध्याय सत्र

प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान

ताराहरू चम्किरहेको आकाशमुनि एउटी स्त्री प्रार्थना गर्दै

“स्वर्ग र पृथ्वीको सृष्टिकर्ता” हाम्रो प्रार्थना सुन्‍न चाहनुहुन्छ। —भजन ११५:१५

१, २. प्रार्थना गर्न पाउनु किन ठूलो सम्मान हो? प्रार्थनाबारे बाइबलले बताउने कुरा हामीले किन थाह पाउनुपर्छ?

विशाल ब्रह्‍माण्डको तुलनामा हामी बस्ने पृथ्वी धेरै सानो छ। यहोवा परमेश्‍वरले तल पृथ्वीमा हेर्नुहुँदा मानिसहरू बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै देखिन्छन्‌। (भजन ११५:१५; यसैया ४०:१५) ब्रह्‍माण्डको तुलनामा हामी असाध्यै सानो भए तापनि भजन १४५:१८, १९ मा यसो भनिएको छ: “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌। उहाँको डर मान्‍ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ; उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।” हामीले कत्ति ठूलो सम्मान पाएका छौँ! सर्वोच्च परमेश्‍वर यहोवा हामी सबैको नजिक हुन र हाम्रो पुकारा सुन्‍न चाहनुहुन्छ। हो, प्रार्थना गर्न पाउनु ठूलो सम्मान हो। यो यहोवा परमेश्‍वरले हामी प्रत्येकलाई दिनुभएको एउटा विशेष उपहार हो।

२ तर यहोवा परमेश्‍वरले चाहनुहुने तरिकामा प्रार्थना गऱ्‍यौँ भने मात्र उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। हामी कसरी उहाँले चाहनुहुने तरिकामा प्रार्थना गर्न सक्छौँ? प्रार्थनाबारे बाइबलमा के भनिएको छ, आउनुहोस्‌ हेरौँ।

यहोवा परमेश्‍वरलाई किन प्रार्थना गर्नुपर्छ?

३. यहोवा परमेश्‍वरलाई किन प्रार्थना गर्नुपर्छ?

३ हामीले यहोवा परमेश्‍वरसित कुरा गरेको अर्थात्‌ उहाँलाई प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। हामी कसरी यसो भन्‍न सक्छौँ? कृपया फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌। यो मायालु निम्तोबारे सोच्नुहोस्‌। यस ब्रह्‍माण्डको शासक हामीमा गहिरो चासो लिनुहुन्छ र हाम्रो भावना र समस्याबारे उहाँलाई बताएको चाहनुहुन्छ।

४. यहोवा परमेश्‍वरलाई नियमित रूपमा प्रार्थना गर्दा उहाँसितको मित्रता कसरी अझ बलियो हुन्छ?

४ प्रार्थनाले हामीलाई यहोवा परमेश्‍वरलाई आफ्नो घनिष्ठ मित्र बनाउन मदत गर्छ। साथीहरूले एकअर्कालाई नियमित रूपमा आफ्नो विचार, चिन्ता-फिक्री र भावना व्यक्‍त गर्दा तिनीहरूको मित्रता झनै बलियो हुन्छ। यहोवा परमेश्‍वरलाई प्रार्थना गर्दा पनि उहाँसितको हाम्रो मित्रता बलियो हुन्छ। बाइबलमार्फत उहाँले तपाईँलाई आफ्ना विचार र भावना व्यक्‍त गर्नुभएको छ। साथै उहाँले भविष्यमा के-के गर्नुहुनेछ, त्यो पनि बताउनुभएको छ। उहाँसित नियमित रूपमा कुरा गरेर तपाईँले आफ्ना भित्री भावनासमेत उहाँलाई पोखाउन सक्नुहुन्छ। यसो गर्दा उहाँसितको तपाईँको मित्रता झन्‌झनै बलियो हुनेछ।—याकुब ४:८.

परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

५. यहोवा परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौँ?

५ के यहोवा परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ? अहँ, सुन्‍नुहुन्‍न। भविष्यवक्‍ता यसैयाको समयमा यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले जति नै पुकारे तापनि म फिटिक्कै सुन्दिनँ किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्‌।” (यसैया १:१५) त्यसैले होसियार भएनौँ भने यहोवा परमेश्‍वरबाट हामीलाई टाढा लैजाने कुराहरूमा हामी मुछिन सक्छौँ, जसले गर्दा उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्‍न।

६. विश्‍वास किन महत्त्वपूर्ण छ? हामीले कसरी आफ्नो विश्‍वासको प्रमाण दिनुपर्छ?

६ यहोवा परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले उहाँमाथि विश्‍वास गर्नुपर्छ। (मर्कुस ११:२४) प्रेषित पावलले यसो भने: “विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।” (हिब्रू ११:६) तर ‘म विश्‍वास गर्छु’ भन्‍नु मात्र पर्याप्त छैन। हामीले हरेक दिन यहोवा परमेश्‍वरको आज्ञा पालन गरेर आफ्नो विश्‍वासको प्रमाण दिनुपर्छ।—याकुब २:२६ पढ्‌नुहोस्‌।

७. (क) यहोवा परमेश्‍वरलाई प्रार्थना गर्दा हामीले किन नम्रता र आदर देखाउनुपर्छ? (ख) प्रार्थना गर्दा निष्कपट भएको कुरा हामी कसरी देखाउन सक्छौँ?

७ यहोवा परमेश्‍वरलाई प्रार्थना गर्दा हामी नम्र हुनुपर्छ र उहाँलाई आदर पनि देखाउनुपर्छ। किन? हामीले राजा वा राष्ट्रपतिसित कुरा गर्ने मौका पाएमा तिनीहरूसित आदरपूर्वक कुरा गर्छौँ। यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। त्यसैले उहाँसित कुरा गर्दा के हामीले अझ धेरै आदर र नम्रता देखाउनु पर्दैन र? (उत्पत्ति १७:१; भजन १३८:६) साथै निष्कपट भई हृदयदेखि यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, एउटै कुरा दोहोऱ्‍याइरहनु हुँदैन।—मत्ति ६:७, ८.

८. कुनै कुराको लागि प्रार्थना गर्दा हामीले के पनि गर्नुपर्छ?

८ साथै हामीले कुनै कुराको लागि प्रार्थना गर्दा प्रार्थनाअनुरूप काम गर्न सक्दो गर्नुपर्छ। उदाहरणका लागि, दैनिक आवश्‍यकताको लागि यहोवा परमेश्‍वरलाई प्रार्थना गर्छौँ भने आफू काम गर्न सक्षम भए तापनि उहाँले सबै कुरा जुटाइदिनुहुन्छ भनेर आस गर्दै हात बाँधेर बस्दैनौँ। हामीले मेहनत गर्नुपर्छ र आफूले गर्न सक्ने जस्तोसुकै काम पनि स्विकार्नुपर्छ। (मत्ति ६:११; २ थिस्सलोनिकी ३:१०) अथवा कुनै गलत काम छोड्‌न सकूँ भनेर यहोवा परमेश्‍वरलाई प्रार्थना गर्छौँ भने त्यस्तो प्रलोभनमा फस्न सक्ने अवस्थादेखि टाढै बस्नुपर्छ। (कलस्सी ३:५) अब आउनुहोस्‌, प्रार्थनाबारे साधारणतया सोधिने केही प्रश्‍न विचार गरौँ।

प्रार्थनाबारे साधारणतया सोधिने प्रश्‍नहरू

९. हामीले कसलाई प्रार्थना गर्नुपर्छ? युहन्‍ना १४:६ बाट हामी प्रार्थनाबारे के सिक्न सक्छौँ?

९ हामीले कसलाई प्रार्थना गर्नुपर्छ? येसुले आफ्ना चेलाहरूलाई “स्वर्गमा बस्नुहुने हाम्रा बुबा”-लाई प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९) उहाँले यसो पनि भन्‍नुभयो: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (युहन्‍ना १४:६) त्यसैले हामीले येसुमार्फत यहोवा परमेश्‍वरलाई मात्र प्रार्थना गर्नुपर्छ। येसुमार्फत प्रार्थना गर्नुको अर्थ के हो? हाम्रो प्रार्थना यहोवा परमेश्‍वरलाई स्वीकार्य हुनको लागि येसुले पाउनुभएको विशेष ओहदालाई पनि आदर गर्नुपर्छ। हामीले सिकेझैँ येसु हामीलाई पाप र मृत्युबाट उद्धार गर्न पृथ्वीमा आउनुभएको थियो। (युहन्‍ना ३:१६; रोमी ५:१२) साथै यहोवा परमेश्‍वरले येसुलाई प्रधानपुजारी र न्यायकर्ता नियुक्‍त गर्नुभएको छ।—युहन्‍ना ५:२२; हिब्रू ६:२०.

विभिन्‍न अवस्थामा मानिसहरू प्रार्थना गर्दै

तपाईँ जुनसुकै बेला प्रार्थना गर्न सक्नुहुन्छ

१०. के हामीले प्रार्थना गर्दा कुनै खास आसन धारण गर्नुपर्छ? व्याख्या गर्नुहोस्‌।

१० के हामीले प्रार्थना गर्दा कुनै खास आसन धारण गर्नुपर्छ? अहँ, पर्दैन। घुँडा टेकेर, बसेर वा उभिएर प्रार्थना गर्नुपर्छ भनेर यहोवा परमेश्‍वरले भन्‍नुभएको छैन। आदर झल्किने जुनसुकै आसनमा हामी यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न सक्छौँ। (१ इतिहास १७:१६; नहेम्याह ८:६; दानिएल ६:१०; मर्कुस ११:२५) यहोवा परमेश्‍वरको लागि महत्त्वपूर्ण कुरा, आसन नभई सही मनसाय हो। हामी जुनसुकै ठाउँ अनि जुनसुकै समयमा आवाज निकालेर वा मनमनै प्रार्थना गर्न सक्छौँ। अरूले हाम्रो प्रार्थना सुन्‍न नसके तापनि यहोवा परमेश्‍वरले भने पक्कै सुन्‍नुहुनेछ।—नहेम्याह २:१-६.

११. हामी कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौँ?

११ हामी कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौँ? यहोवा परमेश्‍वरलाई स्वीकार्य जुनसुकै कुराको लागि प्रार्थना गर्न सक्छौँ। बाइबल यसो भन्छ: “उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ युहन्‍ना ५:१४) के हामी व्यक्‍तिगत कुराहरूको लागि प्रार्थना गर्न सक्छौँ? सक्छौँ। यहोवा परमेश्‍वरलाई गरिने प्रार्थना आफ्नो मिल्ने साथीसित कुरा गरेजस्तै हुनुपर्छ। आफ्नो दिमाग अनि हृदयमा भएको जुनसुकै कुरा हामी यहोवा परमेश्‍वरलाई बताउन सक्छौँ। (भजन ६२:८) सही कुरा गर्ने मदत पाउन उहाँको शक्‍तिशाली पवित्र शक्‍तिको लागि प्रार्थना गर्न सक्छौँ। (लुका ११:१३) सही निर्णय गर्न हामी यहोवा परमेश्‍वरसित बुद्धि माग्न सक्छौँ। कठिनाइहरू सामना गर्नुपर्दा बलको लागि पनि प्रार्थना गर्न सक्छौँ। (याकुब १:५) पापहरूको क्षमा दिनुहोस्‌ भनेर पनि प्रार्थना गर्नुपर्छ। (एफिसी १:३, ७) हामीले अरूको लागि पनि प्रार्थना गर्नुपर्छ, जस्तै: परिवारका सदस्यहरू र मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि।—प्रेषित १२:५; कलस्सी ४:१२.

१२. प्रार्थनामा हामीले कस्ता विषयहरूलाई पहिलो स्थान दिनुपर्छ?

१२ प्रार्थनामा कस्ता विषयहरूलाई पहिलो स्थान दिनुपर्छ? यहोवा परमेश्‍वर र उहाँको इच्छालाई। हाम्रो निम्ति उहाँले गर्नुभएको सबै कुराको लागि हृदयदेखि नै उहाँलाई धन्यवाद चढाउनुपर्छ। (१ इतिहास २९:१०-१३) येसु यस पृथ्वीमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई यी नै विषयमा प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९-१३ पढ्‌नुहोस्‌) सबैभन्दा पहिला तिनीहरूले परमेश्‍वरको नाम पवित्र पारियोस्‌ भनेर प्रार्थना गर्नुपर्ने कुरा उहाँले बताउनुभयो। त्यसपछि परमेश्‍वरको राज्य आओस्‌ अनि स्वर्गमा जस्तै पृथ्वीमा पनि उहाँको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। यी महत्त्वपूर्ण कुराहरूबारे प्रार्थना गरिसकेपछि मात्र प्रार्थनामा आफ्ना व्यक्‍तिगत कुराहरू समावेश गर्नुपर्छ भनेर येसुले बताउनुभयो। प्रार्थनामा यहोवा र उहाँको इच्छालाई पहिलो स्थान दिँदा हामीले आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर देखाइरहेका हुन्छौँ।

१३. प्रार्थना कति लामो हुनुपर्छ?

१३ प्रार्थना कति लामो हुनुपर्छ? बाइबलमा यसबारे केही बताइएको छैन। परिस्थितिअनुसार हाम्रो प्रार्थना छोटो वा लामो हुन सक्छ। उदाहरणको लागि, खाना खानुअघि हामी छोटो प्रार्थना गर्न सक्छौँ। तर यहोवा परमेश्‍वरलाई धन्यवाद दिँदा वा आफ्नो चिन्ता-फिक्रीबारे बताउँदा लामो प्रार्थना गर्न सक्छौँ। (१ समुएल १:१२, १५) अरूको अगाडि राम्रो देखिन हामी लामो प्रार्थना गर्दैनौँ। येसुको समयका कोही-कोही त्यस्तै थिए। (लुका २०:४६, ४७) त्यस्ता प्रार्थनाहरू यहोवा परमेश्‍वरलाई मन पर्दैन। उहाँ हामीले हृदयदेखि प्रार्थना गरेको चाहनुहुन्छ।

१४. हामीले कति चोटि प्रार्थना गर्नुपर्छ र यसबाट हामी यहोवा परमेश्‍वरबारे के सिक्न सक्छौँ?

१४ हामीले कति चोटि प्रार्थना गर्नुपर्छ? यहोवा परमेश्‍वर हामीलाई उहाँसित नियमित रूपमा कुरा गर्न निम्तो दिनुहुन्छ। बाइबलमा हामीलाई “प्रार्थना गरिरहो,” “प्रार्थनामा लागिरहो” र “निरन्तर प्रार्थना गर” भनिएको छ। (मत्ति २६:४१; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) यहोवा परमेश्‍वर हाम्रो कुरा सुन्‍न सधैँ तयार हुनुहुन्छ। उहाँले देखाउनुभएको प्रेम र उदारताको लागि हामी दिनदिनै उहाँलाई धन्यवाद चढाउन सक्छौँ। उहाँबाट डोऱ्‍याइ, बल र सान्त्वना पाउन पनि प्रार्थना गर्न सक्छौँ। प्रार्थना गर्ने सुअवसरको हामी साँच्चै मोल गर्छौँ भने यहोवा परमेश्‍वरसित कुरा गर्न सक्ने हर मौकाको सदुपयोग गर्छौँ।

१५. प्रार्थनाको अन्तमा किन “आमिन” भन्‍नुपर्छ?

१५ प्रार्थनाको अन्तमा किन “आमिन” भन्‍नुपर्छ? “आमिन” शब्दको अर्थ “यस्तै होस्‌” वा “पक्कै पनि” हो। यो हामीले प्रार्थनामा व्यक्‍त गरेको कुरा साँचो मनले भनेका हौँ भनेर देखाउने एउटा तरिका हो। (भजन ४१:१३) सार्वजनिक प्रार्थनामा व्यक्‍त गरिएको कुरामा सहमति जनाउन प्रार्थनाको अन्तमा मनमनै अथवा ठूलो स्वरमा “आमिन” भन्‍नु उपयुक्‍त छ भनी बाइबल हामीलाई सिकाउँछ।—१ इतिहास १६:३६; १ कोरिन्थी १४:१६.

परमेश्‍वर हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

१६. के यहोवा परमेश्‍वर साँच्चै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ?

१६ के यहोवा परमेश्‍वर साँच्चै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ? हो, दिनुहुन्छ। बाइबलमा उहाँलाई “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” भनिएको छ। (भजन ६५:२) लाखौँ मानिसले साँचो मनले गरेको प्रार्थना परमेश्‍वर सुन्‍नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ। उहाँले विभिन्‍न तरिकामा जवाफ दिनुहुन्छ।

१७. हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा परमेश्‍वर कसरी स्वर्गदूतहरू र पृथ्वीमा रहेका आफ्ना सेवकहरूलाई चलाउनुहुन्छ?

१७ हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा परमेश्‍वर स्वर्गदूतहरू र पृथ्वीमा रहेका आफ्ना सेवकहरूलाई चलाउनुहुन्छ। (हिब्रू १:१३, १४) बाइबलका कुराहरू बुझ्न सकूँ भनेर प्रार्थना गरेको र त्यसको केही समय बित्न नपाउँदै यहोवाका साक्षीहरूलाई भेटेको थुप्रै अनुभव छ। बाइबलले बताएअनुसार स्वर्गदूतहरूले सारा पृथ्वीमा “सुसमाचार” घोषणा गर्न सघाइरहेका छन्‌। (प्रकाश १४:६ पढ्‌नुहोस्‌) साथै हामीमध्ये थुप्रैले कुनै खास समस्या वा आवश्‍यकताबारे यहोवा परमेश्‍वरलाई प्रार्थना गरेको र ख्रिष्टियन दाजुभाइ दिदीबहिनीमार्फत आफूलाई चाहिएको मदत पाएको अनुभव गरेका छौँ।—हितोपदेश १२:२५; याकुब २:१६.

शारीरिक रूपमा अशक्‍त वृद्धालाई एक ख्रिष्टियन दम्पती मदत गर्दै

ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई चलाएर यहोवा परमेश्‍वर हाम्रो प्रार्थनाको जवाफ दिन सक्नुहुन्छ

१८. हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा परमेश्‍वर कसरी पवित्र शक्‍ति र बाइबल चलाउनुहुन्छ?

१८ हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा परमेश्‍वर आफ्नो पवित्र शक्‍ति चलाउनुहुन्छ। कुनै समस्यासित जुझ्न प्रार्थना गर्दा हामीलाई डोऱ्‍याइ र बल दिन उहाँ आफ्नो पवित्र शक्‍ति चलाउन सक्नुहुन्छ। (२ कोरिन्थी ४:७) उहाँ बाइबल चलाएर पनि हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ र हामीलाई असल निर्णय गर्न मदत दिनुहुन्छ। बाइबल पढ्‌दा आफूलाई मदत गर्ने शास्त्रपदहरू भेट्टाउन सक्छौँ। अथवा सभामा टिप्पणीमार्फत हामीलाई चाहिएकै कुरा बताउन यहोवा परमेश्‍वरले कसैलाई उत्प्रेरित गर्न सक्नुहुन्छ वा मण्डलीका एल्डरलाई हामीलाई बाइबलबाट केही कुरा बताउन उत्प्रेरित गर्न सक्नुहुन्छ।—गलाती ६:१.

१९. कहिलेकाहीँ हामीलाई किन यहोवा परमेश्‍वरले प्रार्थनाको जवाफ दिनुभएन जस्तो लाग्न सक्छ?

१९ तर कहिलेकाहीँ हामीलाई यस्तो लाग्न सक्छ, ‘यहोवाले किन अहिलेसम्म मेरो प्रार्थनाको जवाफ नदिनुभएको?’ नबिर्सनुहोस्‌, कहिले र कसरी हाम्रो प्रार्थनाको जवाफ दिनुपर्छ, उहाँलाई थाह छ। हामीलाई के चाहिन्छ भनेर उहाँलाई थाह छ। प्रार्थनामा उहाँलाई व्यक्‍त गरेको कुरा साँचो मनले भनेका हौँ र हामी उहाँमाथि साँच्चै विश्‍वास गर्छौँ भनी देखाउन कहिलेकाहीँ हामीले पटक-पटक प्रार्थना गर्नुपर्ने हुन सक्छ। (लुका ११:५-१०) कहिलेकाहीँ यहोवा परमेश्‍वरले हामीले सोच्दै नसोचेको तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्छ। जस्तै, कुनै कठिन अवस्थाबारे प्रार्थना गर्दा उहाँले हाम्रो समस्या त नहटाउनुहोला तर सहने बल भने दिन सक्नुहुन्छ।—फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌।

२०. हामीले किन यहोवा परमेश्‍वरलाई प्रार्थना गरिरहनुपर्छ?

२० यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न पाउनु ठूलो सम्मानको कुरा हो! उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। (भजन १४५:१८) अनि उहाँलाई हृदयदेखि जति धेरै प्रार्थना गर्छौँ, उहाँसितको हाम्रो मित्रता त्यति नै बलियो हुनेछ।

सारांश

एक: यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍न चाहनुहुन्छ

“यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌।”—भजन १४५:१८

यहोवा परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

  • हिब्रू ११:६

    हामीसित विश्‍वास हुनुपर्छ।

  • भजन १३८:६

    हामीले नम्रता र आदर देखाउनुपर्छ।

  • याकुब २:२६

    हाम्रो आचरण प्रार्थनाअनुरूप हुनुपर्छ।

  • मत्ति ६:७, ८

    हामीले इमानदार भई र साँचो मनले प्रार्थना गर्नुपर्छ। प्रार्थनामा एउटै कुरा दोहोऱ्‍याइरहनु हुँदैन।

  • यसैया १:१५

    हामीले परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउनुपर्छ।

दुई: प्रार्थनाबारे साधारणतया सोधिने प्रश्‍नहरू

  • हामीले कसलाई प्रार्थना गर्नुपर्छ?

    मत्ति ६:९; युहन्‍ना १४:६

  • के हामीले प्रार्थना गर्दा कुनै खास आसन धारण गर्नुपर्छ?

    १ इतिहास १७:१६; नहेम्याह ८:५, ६; दानिएल ६:१०; मर्कुस ११:२५

  • के हामीले मनमनै गरेको प्रार्थना यहोवा परमेश्‍वर सुन्‍नुहुन्छ?

    नहेम्याह २:१-६

  • हाम्रो प्रार्थना कति लामो हुनुपर्छ?

    १ समुएल १:१२, १५; लुका २०:४६, ४७

  • हामीले कति चोटि प्रार्थना गर्नुपर्छ?

    रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७

  • प्रार्थनाको अन्तमा किन “आमिन” भन्‍नुपर्छ?

    १ इतिहास १६:३६; १ कोरिन्थी १४:१६

तीन: कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौँ?

“उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ युहन्‍ना ५:१४

हामीले प्रार्थना गर्न सक्ने केही विषय के हुन्‌?

  • मत्ति ६:९, १०

    यहोवा परमेश्‍वरको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्नुहोस्‌।

  • १ इतिहास २९:१०-१३

    धन्यवाद व्यक्‍त गर्न प्रार्थना गर्नुहोस्‌।

  • मत्ति ६:११-१३

    आफ्नो आवश्‍यकता र चिन्ता-फिक्रीबारे प्रार्थना गर्नुहोस्‌।

  • लुका ११:१३

    पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌।

  • याकुब १:५

    सही निर्णय गर्ने बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌।

  • फिलिप्पी ४:१३

    सहने बलको लागि प्रार्थना गर्नुहोस्‌।

  • एफिसी १:३, ७

    पापहरूको क्षमाको लागि प्रार्थना गर्नुहोस्‌।

  • प्रेषित १२:५

    अरूको लागि प्रार्थना गर्नुहोस्‌।

चार: यहोवा परमेश्‍वर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ

“हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।”—भजन ६५:२

यहोवा परमेश्‍वर कसरी हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ?

  • हितोपदेश १२:२५; प्रकाश १४:६

    हामीलाई मदत दिन यहोवा परमेश्‍वरले स्वर्गदूतहरू र मानिसहरूलाई चलाउन सक्नुहुन्छ।

  • २ कोरिन्थी ४:७

    उहाँको पवित्र शक्‍तिले हामीलाई चाहिएको मदत दिन्छ।

  • फिलिप्पी ४:६, ७, १३

    उहाँ हामीलाई सहन चाहिने शान्ति र बल दिनुहुन्छ।

  • गलाती ६:१; २ तिमोथि ३:१६, १७

    बाइबल र मण्डलीमार्फत उहाँ हामीलाई बुद्धि दिनुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने