पाठ १०२
युहन्नाले देखेका दर्शनहरू
प्रेषित युहन्ना पत्मोस टापुमा कैदमा छँदा येसुले तिनलाई भविष्यमा हुने घटनाहरूबारे १६ वटा दर्शन देखाउनुभयो। ती दर्शनहरूमा यहोवा परमेश्वरको नाम कसरी पवित्र पारिनेछ, उहाँको राज्य कसरी आउनेछ अनि उहाँको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पनि कसरी पूरा हुनेछ भनेर प्रकट गरिएको थियो।
एउटा दर्शनमा युहन्नाले यहोवा परमेश्वर स्वर्गमा आफ्नो भव्य सिंहासनमा बसिरहनुभएको देख्छन्। सिंहासनको वरिपरि सेता लुगा लगाएका र शिरमा सुनको मुकुट लगाएका २४ जना एल्डर छन्। सिंहासनबाट बिजुली चम्किरहेको छ अनि गर्जनहरू निस्किरहेका छन्। चौबीस जना एल्डर यहोवा परमेश्वरसामु घोप्टो परेर उहाँको उपासना गरिरहेका छन्। अर्को दर्शनमा युहन्ना हरेक राष्ट्र, जाति अनि भाषाको एउटा ठूलो भीड देख्छन्। तिनीहरू यहोवा परमेश्वरका उपासकहरू हुन्। तिनीहरूलाई पाठो अर्थात् येसुले गोठालोले झैँ डोऱ्याउनुहुन्छ र जीवन दिने पानीको मुहानसम्मै पुऱ्याउनुहुन्छ। पछि अर्को दर्शनमा येसु २४ जना एल्डरसित मिलेर स्वर्गमा शासन गर्न थाल्नुहुन्छ। युहन्ना फेरि अर्को दर्शन देख्छन्। त्यस दर्शनमा अजिङ्गर अर्थात् सैतानसित अनि त्यसका प्रेतहरूसित येसु युद्ध गर्नुहुन्छ। त्यसपछि उहाँ तिनीहरूलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुहुन्छ।
त्यसपछि युहन्नाले पाठो र १ लाख ४४ हजार जना सियोन डाँडामा उभिरहेको सुन्दर दृश्य देख्छन्। तिनले एक जना स्वर्गदूत पृथ्वीको चारैतिर उडिरहेको पनि देख्छन्। ती स्वर्गदूतले मानिसहरूलाई परमेश्वरको डर मान्न र उहाँको महिमा गर्न भन्दै छन्।
अर्को दर्शनमा युहन्ना आरमागेडोनको युद्ध भइरहेको देख्छन्। त्यस युद्धमा येसु र उहाँको सेनाले सैतानको दुष्ट संसारलाई हराउनुहुन्छ। अन्तिम दर्शनमा युहन्ना स्वर्ग र पृथ्वीमा एकता छाएको देख्छन्। सैतान र त्यसको सन्तान पूर्णतया विनाश भइसकेका छन्। स्वर्ग र पृथ्वीमा भएका सबैले यहोवाको नामलाई पवित्र ठान्छन् र उहाँको मात्र उपासना गर्छन्।
“तँ र स्त्रीबीच अनि तेरो सन्तान र स्त्रीको सन्तानबीच म दुस्मनी हालिदिनेछु। उसले तेरो शिर कुच्याउनेछ र तैँले उसको कुर्कुच्चो डस्नेछस्।”—उत्पत्ति ३:१५