“आदरको मार्ग नम्रता हो”
एउटा मिश्री झ्यालखानमा, एक जना जवान मानिसलाई, झूटो अभियोगमा, थुनेका थिए। तिनले धेरै नै अपमान भोगी सकेका थिए र झ्यालखानबाट छुटकारा पाउने आशा पनि देखिदैन थियो। तब तिनले फिरऊनको सामने खड़ा हुने आदेश पाए। झ्यालखानका गारदहरूले तिनलाई चाँड़-चाँड़ो बाहिर निकाले। तिनले आफ्नो दाढ़ी काटे, कपड़ा फेरे र राजाको सामुन्ने हाजिर भए।
एउटा आश्चर्यमय घटनाले यूसुफलाई प्रतीक्षा गरिरहेको थियो। यहोवाको मदद द्वारा यूसुफले फिरऊनको दुई वेग्ला-वेग्लै सपनाहरूको सही अर्थ खोलि दिए। फिरऊनले एसो भने: “हेर, मैले तिमीलाई सम्पूर्ण देशमाथि अधिकार दिएको छु।” (उत्पत्ति ४१:४१) कस्तो पत्याइ नसक्ने अनुभव—एकै दिनमा झ्यालखान देखिन् दरवार! यूसुफको अनुभवबाट, राजा सुलेमानले पछि ईश्वरीय प्रेरणा द्वारा लेखेको यस कुराको सच्चाई साबित हुन्छ: “झ्यालखानबाट निस्केको मानिस पछि राजा हुन सम्भव छ।” यो कुरासँग मिल्ने गरी, सुलेमानले दुई पटक एसो भने: “आदरको मार्ग नम्रता हो।”—उपदेशक ४:१४; हितोपदेश १५:३३; १८:१२.
त्यो ईश्वरीय सच्चाइबाट लाभ उठाउनका लागि, स्वयंलाई प्रश्न गर्नु होस्: आफूले अपमानजनक अनुभव गरिरहेको बेलामा, यूसुफलाई के ले बल दियो? यहोवाका यी विश्वासी दासले त्यो झूटो आरोपको सामना कसरी गरे, जुन आरोपको कारण तिनलाई झ्यालखानमा थुनी दिए? यूसुफका लागि यहोवाले के कस्तो आदर अथवा सम्मान साँचेर राख्नु भएको थियो? बितेका शताब्दीहरूमा सतावट र अपमानलाई साहस र विश्वाससाथ सामना गरेकाहरूले कुन प्रकारको सम्मान पाउने छन्? सर्वप्रथम, अपमानको सामना गर्नु परेको बेलामा, हामीलाई के ले सन्तुलित विचार राख्ने मदद दिनेछ?
आफ्ना दाजु-भाइहरू र आमा-बाबुले पनि तिनको सामुन्ने “दण्डवत्” गर्ने छन् भनेर यूसुफले केही समय अघि नै देखेका अगमवाणीरूपी दुई वटा सपना बारे यूसुफले अकसर सोंच्ने गरे होलान्। वास्तवमा, तिनका दाजु-भाइहरूले यो प्रथम सपनाको कुरा सुने पछि, एसो भने: “के तँ साँच्चिनै हामीमाथि राज्य गर्ने भइस्?”—उत्पत्ति ३७:८-१०.
यूसुफका डाही दाजुहरूले तिनको झन्डै हत्या गरी दिएका थिए! तर यहोवाको निर्देशन अन्तर्गत, यो १७ वर्षे युवकलाई फिरन्ते व्यापारीहरूको हातमा बिक्री गरी दिए र ती व्यापारीहरूले फेरि तिनलाई फिरऊनका प्रधान अङ्गरक्षक, पोतीफरकहाँ लगेर बेचि दिए।
अन्तत्वगत्वा, यूसुफ पोतीफरको घरानाको मुख्य भण्डारी हुन पुगे र पोतीफरकी पत्नीले यो सुन्दर जवानलाई बहकाउन खोजी। तापनि, यूसुफ यहोवा प्रति वफादार भएर भागे। पोतीफरकी छली पत्नीले उसलाई यूसुफले बलात्कार गर्न खोज्यो भन्ने झूटो आरोप यूसुफमाथि लगाई र बिचरा यूसुफ, झ्यालखान भित्र थुनिए।
तथापि, तिनी यहोवा प्रति वफादार भएर बसे र यस लेखको शुरू मै भने झैं, यहोवाले नै यूसुफलाई फिरऊनको सामने लग्ने प्रबन्ध मिलाइ दिनु भयो। त्यस पछि, फिरऊनले यूसुफलाई मिश्रको खाद्य पदार्थ आयोजित गर्ने महान अधिकार प्रदान गरे। कनानसम्म अनिकाल फैलिए पछि, आफ्ना परिवारका निम्ति खाने कुरा लिन आउँदा, यूसुफका दाजु-भाइहरूले वास्तवमा तिनको सामने आएर दण्डवत् गर्नु पऱ्यो।
‘नम्रता देखिन् आदरसम्म’ पुगेका अरू व्यक्तिहरू
“आदरको मार्ग नम्रता हो” भन्ने ईश्वरीय सच्चाइ, यहोवाको एउटा अर्को विश्वासी सेवक अर्थात् मोशाको जीवन-शैली द्वारा पनि प्रमाणित हुन्छ। फिरऊनको भव्य दरवारमा हुर्केका मोशाको सामने एउटा उज्ज्वल भविष्य थियो। अचानक घटनाहरूले एउटा खराब मोड़ लियो। मोशाले यहोवामाथि विश्वास र आफ्ना मानिसहरूका लागि प्रेमपूर्ण चासो प्रकट गरे र एउटा क्रोधित् फिरऊनबाट आफ्नो प्राण बचाउन तिनलाई भाग्न आवश्यक भयो। एकलै तिनी मिद्यान भन्ने ठाउँसम्म यात्रा गर्दै गए। चालीस वर्षसम्म मोशाले आफ्ना ससूरा यित्रोको सेवा गर्दै एउटा साधारण गोठालोको जीवन बिताएर नम्रता व्यक्त गरे। ४० वर्ष सम्म तिनको व्यक्तित्वलाई नम्र तुल्याउने यहोवाको कार्यविधि बारे र भविष्यमा अझ तिनका लागि के होला भनेर सोंच्दा, मोशा अवश्य पनि प्रोत्साहित हुन्थिए होलान्!
अनि अब आयो महिमा। यहोवाले मोशालाई फिरऊनकहाँ आफ्नो दूत भएर जान र उहाँका मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउन नियुक्त गर्नु भयो। दस विपत्ति ल्याउने कामसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएर इस्राएललाई लाल समुद्रबाट डोर्याएर ल्याउँने कस्तो महान अधिकार मोशाले पाए! मोशाले सिनै पर्वतमा यहोवाबाट व्यवस्था प्राप्त गरे। तिनी तल ओर्लेर आउँदा, मानिसहरूले “मोशाको मोहड़ाको तेजलेगर्दा उनको मोहड़ा डीठ लगाएर हेर्न” सकेनन्।—२ कोरिन्थी ३:७.
पूर्वीयहरू मध्य महान ठानिएका, अय्यूबलाई पनि विचार गर्नु होस्। तिनी “निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र खराब कामबाट अलग रहन्थे।” (अय्यूब १:२, ३, ८) तर अचानक तिनले आफ्ना सात छोरा-छोरीहरू साथै हजारौं भेंड़ा-बाख्रा, उँट, गाई-वस्तु र गधाहरू गुमाए।
त्यति मात्र होइन। अय्यूबको शरीरभरि खटिरा उब्जियो र तिनी वास्तवमा घृणास्पद देखिए। तिनकी आफ्नी पत्नीले एसो भन्दै तिनको ठट्टा गरिन्: “के तपाईं आफ्नो निष्ठामा अझै अड़िनै रहनुहुन्छ? परमेश्वरलाई सरापेर मरे असल हुन्छ।” (अय्यूब २:९) अय्यूबको धेरै नै अपमान भयो र तिनले अति नै कठिन परीक्षाको सामना गर्न पऱ्यो तर यहोवा र प्रधान विरोधी शैतानको बीचमा उठेको स्वर्गीय विवादबारे तिनलाई केही पनि थाह थिएन। अय्यूबको तीन जना “मित्रहरू” सँग भएको कुराकानी द्वारा परिस्थितिमा केही उन्नत्ति हुन सकेन। तथापि अय्यूब आफ्नो समग्रतामा अडिग भएर बसे। तिनले एलिहू—आफू भन्दा धेरै नै कान्छो मानिसबाट—पनि नम्रतापूर्वक सल्लाह स्वीकारे।—अय्यूब ३२:४.
के अय्यूबले इनाम पाए? पाए। यहोवाले अय्यूबलाई पुनर्स्थापन गर्नु भयो—तिनको बगाल दोब्बर बढ़ाइ दिनु भयो र तिनका सात छोरा र सात छोरी भए र तिनीहरू जत्तिकै सुन्दरी त्यस क्षेत्रमा अरू कोही थिएनन्! अय्यूबको नम्रताको कस्तो महान परिणाम! साँच्चैनै, “आदरको मार्ग नम्रता हो” भनी प्रमाणित भयो।—अय्यूब ४२:१२-१५.
विभिन्न प्रकारको आदर
स्वभाविकतः, विभिन्न प्रकारका आदर अथवा शोभाहरू छन्। स्त्री जातिको कपालको शोभा देखिन् लिएर सिनै पर्वतबाट तल ओर्लन्दा, मोशाको चेहराबाट चम्केको तेज। (१ कोरिन्थी ११:१५; २ कोरिन्थी ३:७) भव्य सूर्यास्तको शानदार प्रकाश हुन्छ र ताराहरूको वेग्ला वेग्लै प्रकारका प्रकाश छन्।—१ कोरिन्थी १५:४१.
बाइबलमा “महिमा” शब्दलाई विभिन्न ढङ्गमा प्रयोग गरिएको छ। यी प्रयोगहरू र तिनीहरूको सन्दर्भ जाँच गरेर हेर्दा, यहोवा नै सबै प्रकारको महिमाको स्रोत हुनु हुन्छ भनेर स्पष्ट हुँन्छ। उहाँका विश्वासी सेवकहरू र उहाँका सृष्टिका करामातहरूले त्यो महिमालाई विभिन्न रूपमा प्रतिबिम्ब मात्र गर्न सक्छन्।
हाम्रो २० वाँ शताब्दीमा, स्वर्गीय जीवन पाउने महिमायुक्त आशा राख्नेहरूले भोगेको अपमानको हामीसँग धेरै प्रमाणहरू छन्। प्रथम विश्व युद्धको बेलामा, ब्रुकलिनको वाचटावर सोसाइटीका मुख्य अधिकृतहरूमाथि झूटो आरोप लगाइयो र तिनीहरूलाई २० वर्षको निम्ति भनेर, कैद गरियो। प्राय त्यसै बेला, विभिन्न ठाउँहरूमा सतावट चम्कियो। उदाहरणका लागि, जे. बी. सिबनलिस्टलाई वारेन्ट बिना समातेर, तीन दिनसम्म मकैको कुहेको रोटीको तीन टुक्राहरू बाहेक अरू खाने कुरा न दिएर, थुनामा राखे। एउटा अनियन्त्रित हुल आएर तिनलाई झ्यालखानबाट बाहिर ल्याए र तिनीहरूले तिनलाई नाङ्गै पारे पछि, तिनको शरीरमा तातो अलकत्रा लगाइ दिए र घोड़ालाई पिटने, एक छेउमा तार जोड़ेको चाबुकले तिनीमाथि प्रहार गरे। मुद्दाको एउटा सुनवाइमा, मुद्दा चलाउने वकिलले एसो भने: “नरकमा जाओस् तेरो बाइबल; तँलाई पनि ढाँड़ भँचाएर नरकमै पठाउनु पर्ने। तँलाई झुण्डाएर मार्नु पर्ने।”
दोस्रो विश्व-युद्धको पालोमा, यहोवाका केही विश्वासी सेवकहरूले पत्यारै नलाग्ने रूपमा, नात्सीहरूको निरोधन शिविरहरूमा कष्ट भोगे। यस प्रकारको कष्ट भोग्ने एक जना मार्टिन पोएट्सिंगर थिए। तिनी एउटा अभिषिक्त साक्षी थिए र पछि यहोवाका साक्षीहरूको सञ्चालक समितिको सदस्य पनि भए। तिनले गरेको वर्णन अनुसार डाचाउ भन्ने ठाउँ “प्रेतहरूको एउटा पागलखाना” थियो। मथहोसेन भन्ने ठाउँको शिविरमा “यहोवा माथिको हाम्रो विश्वासलाई भङ्ग गर्न गेस्टापोले हर प्रयास गर्यो। भोक-भोकै राख्ने, झूटो मित्रताको जाल फैलाउने, क्रूर व्यवहारगर्ने, दिन दिनै एउटा चौकस भित्र उभ्याउने, दस फीट अल्गो खामामा नारीहरू बाङ्गो पारेर बाँधेर झुण्डाउने र चाबुक लगाउनाका—साथै अरू विधिहरू पनि . . . प्रयोग गरेर हेरे।”
यी विश्वासी मसीहीहरूलाई के ले मदद दियो?
पछि हुने परिणाम अथवा समग्रता पालन गर्नेहरूले पाउने महिमायुक्त भविष्यमा विश्वास राखेर, तिनीहरूले यी दुःखलाग्दो र अपमानजनक परिस्थितिमा धैर्य धारण गर्न सके। अभिषिक्त साक्षीहरूका “सानो बगालले” एउटा स्वर्गीय अधिकार पाउनेछन्। (लूका १२:३२) अरू विश्वासी मानिसहरूका लागि चाहिं पृथ्वीमा बेग्लै प्रकारको महिमा साँचेर राखिएको छ। तिनीहरू मध्यका यूसुफ र मोशा जस्तै मानिसहरूको चर्चा हिब्रू ११ अध्यायमा गरिएको छ। कृपया ३२-४० पद पढ़नुहोस् र यी विश्वासी जनहरूले सहनु परेको केही अपमानजनक कुराहरूमाथि ध्यान दिनुहोस्। साथै “एउटा ठूलो भीड़ले” आज पृथ्वीमा यहोवाको सेवा गरिरहेकाछन्। (प्रकाश ७:९, १५) तिनीहरूको भविष्य कस्तो हुने हो?
तिनीहरूका लागि एउटा शानदार भविष्यले प्रतीक्षा गरिरहेछ। तिनीहरू येशू ख्रीष्ट मनिको सरकारको पार्थिव प्रतिनिधिहरू हुनेछन् जसले प्रकाश २०:१२ मा उल्लेखित पुस्तकहरूको लिखित शिक्षालाई प्रयोगमा ल्याउने छन्। यी व्यक्तिहरू राजाहरू होइनन् तर “पृथ्वीमा राजकुमारहरू” हुनेछन् र साथ साथै पुनरुत्थानमा आएका जनहरू समेत अनगन्ती नम्र र विश्वासी मानिसहरूले एउटा महिमायुक्त प्रमोदबनमा अनन्त जीवन प्राप्त गर्नेछन्।—भजनसंग्रह ४५:१६.
आज पनि झूटो धर्म त्यागेर खुशीसाथ घर-घर गएर प्रचार गर्ने यहोवाका साक्षीहरूको काममा भाग लिंदै, लाखौंले आफ्नो नम्रता व्यक्त गरेकाछन्। यी मध्य धेरैजनालाई आफ्ना परिवारका सदस्यहरू र मित्रहरूले ठट्टामा उड़ाएका छन्। तापनि तिनीहरू साँचो उपासनामा दृढ़ भएर उभिएका छन्। साँचो परमेश्वर यहोवाको उपासना गर्नका लागि, तिनीहरूले नम्रतापूर्वक सुधार र अनुशासन स्वीकारेकाछन्। तिनीहरूले एउटा पुनःस्थापित प्रमोदवनमा जीवन बिताउने आशा राखेकाछन् जब “समुद्र पानीले ढाकीएझैं पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।”—हबकूक २:१४.
यहोवाका मानिसहरूका लागि यी जाँचका दिनहरू हुन्। हामी एउटा बिरानो देशमा परदेसीहरू जस्तै छौं। साँचो उपासना र झूटो उपासनाको बीचको खाँद झन झन फराकिलो र गहिरो हुँदैछ। हामी सबैले नै केही हद सम्म अपमान भोग्दछौं। तर जसरी आफ्नो सामने राखिएको आनन्दबाट येशूले बल पाउनु भयो, त्यसरी नै हामीले पनि पछि आउने परिणाम सम्झेर जाँचहरूको सफलतापूर्वक सामना गर्न सक्नेछौं।
बाइबलले हामीलाई यो सल्लाह दिन्छ: “प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।” (याकूब ४:१०) तपाईंमाथि कुनै कठिन जाँच आइ पर्दा, यी शब्दहरू बारे सोंच्नुहोस्: “आदरको मार्ग नम्रता हो।” साथै, न बिर्सनु होस्, यहोवा कहिले पनि असफल हुन सक्नु हुन्न! (w89 6/15)