शान्ति के निरस्त्रीकरण द्वारा आउँन सक्छ?
“शान्तिलाई निरस्त्रीकरणसँग मिसाउनु ठूलो भूल हुनेछ” भनेर दोस्रो विश्वयुद्धमा राष्ट्रहरू हुर्रिनु भन्दा पाँच वर्ष अगाड़ि विन्सटन चर्चिलले भनेका थिए। उनले अझ भने: “शान्ति भयो भने निरस्त्रीकरण पनि भइ हाल्छ।”
कस्तो विरोधाभास! शान्ति पक्का नहुन्ज्याल निरस्त्रीकरण गर्ने खतरा कसले मोल लिन सक्छ? तर युद्धकालागि हात-हतियारहरू जम्मा भइ रहेको बेलामा वास्तविक शान्ति कसरी हुनसक्छ? यो यस्तो परिस्थिति छ जसबाट बाहिर निस्किने बाटो राजनीतिज्ञहरूले फेला पार्न सकेका छैनन्।
लिग आफ नेशन्स द्वारा आयोजित निरस्त्रीकरण सम्मेलनको समाप्तिको ठीक दुई वर्ष अघि विन्सटन चर्चिलले यो वक्तव्य १९३४ मा दिएका थिए। यो सम्मेलनको उद्देश्य, जसको तैयारी गर्नमा १२ वर्ष लागेको थियो, युरोपलाई पुन:शस्त्रिकरणबाट रोक्नु थियो। प्रथम विश्वयुद्धमा ९० लाख लड़ाकु फौजको विभत्स हत्याका साथै अन्य अरू लाखौं घाइते भए र एउटा ठूलो सङ्ख्यामा गैर सैनिक नागरिकहरू हताहत भएको घटनालाई संसार भरिका मानिसहरूले अझै सम्झिराखेका थिए। तरपनि, निरस्त्रीकरण वास्तवमा कहिले हुन सकेन। किन?
निरस्त्रीकरणको प्रयास
निरस्त्रीकरणको नीति लागू गर्नता सकिन्छ तर प्रभावकारी ढङ्गमा लागू हुन धेरै नै कठिन छ। उदाहरणकालागि, १९१९ मा गरिएको भर्साएलको सन्धि अन्तर्गत “घरेलू सुरक्षाकालागि चाहिने कमसेकम मात्रामा राष्ट्रिय हात-हतियार राख्न पाउने कुराको प्रशस्त ग्यारन्टीका साथ” जर्मनीलाई निरस्त्रीकरण गरिएको थियो। अमेरिकाका राष्ट्रपति उड्रो विल्सनले राखेको प्रस्तावहरू मध्यको एउटा प्रस्तावसँग यो मेल खान्थियो, जुन प्रस्ताव पछि गएर लिग आफ नेशन्सको प्रतिज्ञा-पत्रको धारा ८ मा समावेश गरियो। तर हिटलर शक्तिमा आउना साथै, उसले तुरून्तै यस नीतिलाई उल्लङ्घन गऱ्यो।
दोस्रो विश्वयुद्ध पछि संयुक्त राष्ट्र सङ्घले निरस्त्रीकरणकालागि बलियो जग स्थापित गर्न बढ़ी सफल भएको छ र? छैन, तर प्रयत्न गर्ने कटिबद्धताको कमी त्यसको असफलताको कारण होइन। आम विनाश गर्न सक्ने आणविक हतियारको पर्याप्तताले गर्दा, निरस्त्रीकरण एउटा अत्यन्त जरूरी विषय भएको थियो। द न्यु एनसाइक्लोपिडिया बृटानिका अनुसार “हात-हतियारको होड आर्थिक दृष्टिले अनुचित थियो र अन्तत्वगत्वा त्यसले युद्ध तर्फ लैजान्छ भन्ने पुरानो धारणालाई, भविष्यमा प्रयोग हुने आणविक हतियारले सभ्यतालाईनै खतरामा पुऱ्याएको छ भन्ने तर्कले ठाउँ लिएको छ।”
१९५२ मा पूर्व/पश्चिममा भइ रहेको अस्त्रशस्त्रको दौड़लाई रोक्ने उद्देश्यले एउटा १२ सदस्यीय निरस्त्रीकरण आयोगको गठन भएको थियो। यसले कुनै प्रगति गर्न सकेन, र अन्तत्वगत्वा दुई महा-शक्तिहरूले आफ्ना आफ्ना परस्पर विरोधी खेमाहरूलाई अझ ध्रुवीकरण गरे। वर्तमान समय सम्ममा अरू विभिन्न समझौताहरू र सन्धिहरू गरिएका छन्। तरपनि, आपसको अविश्वासले गर्दा युद्धका सबै हतियारहरू सम्पूर्ण रूपले खारिज गर्न सम्भव हुन सकेको छैन। द न्यु इनसाइक्लोपिडिया बृटानिका भन्दछ: “त्यो अव्यवाहारिक विचारकहरूले प्रस्ताव गरेको कुरा हो।”
मोल गन्नु
निरस्त्र गर्नु वा नगर्नुमा—के के मोलहरू त्यसमा समावेश छन्? मोल भन्नाले सदानै धनको मात्र गन्ती हुँदैन। हतियार सम्बन्धी उद्योग-धन्धामा हुने रोजगार पनि एउटा प्रमुख विचारणीय कुरा छ। धेरै देशहरूमा हात-हतियार खरीद गर्न करबाट आएको धन प्रयोग गरिन्छ, जसबाट रोजगारलाई बढावा मिल्दछ। अत: निरस्त्रीकरणले बेरोजगारी ल्याउन सक्छ। त्यसैले रक्षा बजेटमा भारी दायित्य भएका देशहरू पूर्ण निरस्त्रीकरणको विचारसँग डराउछन्। यस प्रकारको विचार तिनीहरूकालागि अव्यवहारिक सपना हुनुको सट्टा, त्यो एउटा दु:स्वप्न हो।
तथापि, युद्धको यंत्रलाई चालू राख्न थुप्रो धनराशी चाहिन्छ भन्ने कुरा हामी बिर्सिन सक्दैनौं। संसारको सम्पूर्ण उत्पादन मूल्यको १० प्रतिशत हात-हतियारमा खर्च हुन्छ भन्ने अनुमान गरिएको छ। यो कति हुन्छ? मुद्रा-स्फीति अनुसार सही आंकडा फरक पर्छ, तर १० लाख पाउन्ड (१५ लाख ४० हजार अमेरिकन डालर) दिनको प्रत्यक मिनटमा खर्च हुन्छ भनेर सोंच्नु होस्! त्यत्रो रकम तपाईंले खर्च गर्न पाउँनु हुने भए तपाईंले के कुरालाई प्राथमिकता दिनु हुन् थियो? अनिकाल उद्धार कार्यमा? स्वास्थ्यको हेरचाहमा? केटा-केटीको कल्याणमा? वातावरणको पुन:शुद्धिकरणमा? गर्नु पर्ने कत्ति धेरै कुराहरू छन्!
एउटा उदाहरण लिउँ। “ट्याङ्कबाट ट्र्याक्टर” भन्ने कार्यक्रम हालसालै रूसमा घोषणा गरिए अनुसार, केही हतियार बनाउने कारखानाहरूलाई २०० प्रकारका “कृषि-उद्योग क्षेत्रकालागि उन्नत किसिमको उपकरण” बनाउने कारखानामा परिणत गरिने भएको छ। त्यो कृषि उपकरणको यस्तो खाँचो किन पऱ्यो? किनभने, बृटेनको फारमिङ्ग न्युज अनुसार, “सरकारी फारमहरूमा पैदावार भएका फल-फूल र तरकारीहरूको एक तिहाई मात्र उपभोक्ताहरू नजिक पुग्छ, बाँकीचाहिं खेतमै सड्न छाड़ि दिइन्छ वा एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउने केन्द्रहरूमा र गोदामहरूमा नाश हुन्छ।”
युद्धको ट्याङ्कको सट्टा ट्र्याक्टरहरूको उत्पादन गर्न प्रशंसनीय कुरा भएतापनि, यसलाई असामान्य ठान्छन् र समाचार पत्रहरूमा यसले विशेष स्थान पाउँदछ। अझ, सम्पूर्ण हतियारको उत्पादनमा यसको असर नगण्य होला। येशू ख्रीष्टले अग्रिमवाणी गर्नु भए जस्तै, “संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्ने छन्” भनिएको संसारमा हात-हतियारहरूमाथि अनगिन्ती लाखौंलाख पाउन्ड, रूबल, र डौलर खर्च भइ रहेछन्। यस प्रकारको डरलाई कसरी क्षीण गराउन सकिन्छ? के पूर्ण निरस्त्रीकरण एउटा सपना मात्र रहने हो कि? होइन भने, त्यसलाई सफल पार्न के गनु पर्ने हो?—लूका २१:२६. (w89 12/15)