के मानिसहरूले युद्ध र हिंसा अन्त गर्न सक्छन्?
मानिसहरू विभिन्न कारणले युद्ध लड्छन्। केही मानिसहरू राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनको लागि लड्ने गर्छन्। अरू कतिपय भने जमिन हडप्न र प्राकृतिक स्रोतहरूमा नियन्त्रण पाउन लड्छन्। साथै वर्षौँदेखि चलिआएको जातीय र धार्मिक भिन्नताले गर्दा पनि युद्धहरू चर्किन्छ। यस्ता युद्धहरू रोक्न र शान्ति ल्याउन मानिसहरूले कस्ता प्रयास गरेका छन्? के मानिसहरूको प्रयास सफल हुनेछ?
Drazen_/E+ via Getty Images
आर्थिक विकास
लक्ष्य: मानिसहरूको जीवन गुणस्तरीय बनाउने। युद्ध हुनुको मुख्य कारणमध्ये एक आर्थिक असमानता हो। त्यसैले मानिसहरूको जीवनस्तरमा सुधार आयो भने आर्थिक असमानताजस्ता समस्याहरू कम हुँदै जानेछ र युद्ध हुने सम्भावना पनि घट्नेछ।
चुनौती: सरकारहरूले सैन्य गतिविधिलाई भन्दा शान्ति स्थापना गर्ने कामलाई प्राथमिकता दिनुपर्छ। सन् २०२२ मा विश्वभरि शान्ति स्थापना गर्ने र त्यसलाई कायम राख्ने कामको लागि अनुमानित ३४ अरब १० करोड अमेरिकी डलर खर्च गरिएको थियो। तर सोही वर्ष त्योभन्दा २५० गुणा धेरै रकम सैन्य गतिविधिमा खर्च गरियो।
“हामी शान्ति स्थापना गर्न र युद्ध हुन नदिनमा भन्दा युद्ध रोकथाममै धेरै पैसा र स्रोतसाधन खर्च गरिरहेका छौँ।”—एन्टोनियो गुटेरेस, संयुक्त राष्ट्र सङ्घका महासचिव
बाइबल के भन्छ? सरकारहरू र विभिन्न संस्थाहरूले गरिबहरूलाई केही हदसम्म मदत त गर्छन् तर गरिबी पूर्ण रूपमा हटाउन भने कहिल्यै सक्दैनन्।—व्यवस्था १५:११; मत्ति २६:११.
कुटनीति
लक्ष्य: वार्ता र शान्ति सम्झौताहरूमार्फत विवाद सुल्झाउने र दुवै पक्षलाई सहमतिमा ल्याउने।
चुनौती: त्यस्ता विवादहरू सुल्झाउन खोज्दा अर्को पक्षले भने वार्ता गर्न वा सम्झौता गर्न इन्कार गर्न सक्छन्। अनि राष्ट्रहरू सजिलै शान्ति सम्झौताहरू तोड्छन्।
“कुटनीतिले सधैँ राम्रो नतिजा ल्याउँछ भन्ने छैन। दुई पक्षबीच गरिएको सम्झौता एक पक्षको लागि अन्यायपूर्ण हुन सक्छ, यसले गर्दा तिनीहरूबीच पछि झन् ठूलो विवाद चर्कने सम्भावना हुन्छ।”—रेमन्ड एफ. स्मिथ, अमेरिकी कुटनितिज्ञ।
बाइबल के भन्छ? मानिसहरूले ‘शान्ति खोज्नुपर्छ।’ (भजन ३४:१४) तर आज थुप्रै मानिसहरू ‘विश्वासघाती, कुनै पनि कुरामा सहमत नहुने र धोकेबाज’ स्वभावका हुन्छन्। (२ तिमोथि ३:१-४) मानिसहरूमा यस्ता दुर्गुणहरू व्याप्त भएकोले इमानदार राजनैतिक नेताहरूलाई समेत विवादहरू सुल्झाउन गाह्रो हुन्छ।
निश्शस्त्रीकरण
लक्ष्य: हतियारहरू कम गर्दै लैजाने वा पूर्ण रूपले हटाउने। विशेषगरि आणविक, रासायनिक र जैविक हतियारहरू।
चुनौती: राष्ट्रहरू प्रायः शक्तिहीन र असुरक्षित हुने डरले हातहतियार पूर्ण रूपले हटाउन चाहँदैनन्। अनि हातहतियार हटाउँदैमा युद्ध नै नहुने त होइन किनभने युद्ध हुनुका अरू थुप्रै कारण हुन्छन्।
“शीतयुद्धको अन्तपछि राष्ट्रबीच निश्शस्त्रीकरणका वाचाहरू भएका थिए। त्यस वाचामा सम्भावित खतराहरू घटाउन, राष्ट्रहरूबीचको तनाव कम गर्न अनि एकता र सुरक्षा कायम राख्न मदत गर्ने व्यावहारिक कदमहरू समावेश थिए। तर ती राष्ट्रहरूले आफ्नो वाचा पूरा गरेनन्।”—“हाम्रो भविष्य सुरक्षित हुने आधार: निश्शस्त्रीकरण”
बाइबल के भन्छ? मानिसहरूले हातहतियार चलाउन छोड्नुपर्छ र ‘आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनुपर्छ।’ (यसैया २:४) तर हिंसा मच्चाउने दुष्ट विचार मानिसको हृदयबाटै निस्कने भएकोले हातहतियार चलाउन छोड्नु मात्र पर्याप्त छैन।—मत्ति १५:१९.
गठबन्धनमार्फत शान्ति
लक्ष्य: आक्रमण गर्न आउने देशविरुद्ध सामूहिक कदम चाल्न राष्ट्रहरू आपसमा गठबन्धन बनाउँछन्। त्यसको अर्थ कुनै एउटा राष्ट्रलाई आक्रमण गर्नु भनेको त्यो पूरै गठबन्धनलाई नै आक्रमण गर्नुजस्तै हुन्छ। त्यसैले आक्रमण गर्न आउने देश पछि हट्ने सम्भावना धेरै हुन्छ।
चुनौती: एउटा राष्ट्रको बचाउमा अरू राष्ट्र उर्लेलान् भन्ने डरले मात्र त शान्ति स्थापना गर्दैन। राष्ट्रहरू सधैँ आफ्नो वचन निभाउँछन् भन्ने छैन अनि आक्रमण गर्न आउने देशविरुद्ध कहिले र कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा पनि तिनीहरू एकमत हुँदैनन्।
“हुनत गठबन्धनमार्फत शान्ति कायम गर्ने अभ्यास पहिले राष्ट्र सङ्घको करारपत्रमा समावेश थियो र त्यो संयुक्त राष्ट्र सङ्घको घोषणापत्रमा पनि उल्लेख छ। तर त्यसले ती दुवै सङ्घको कार्यकालमा उल्लेखनीय सफलता हासिल गर्न सकेको छैन।”—“इन्साइक्लोपीडिया ब्रिटानिका। (अङ्ग्रेजी)”
बाइबल के भन्छ? धेरै भन्दा धेरै मानिसहरू मिलेर काम गर्दा शान्ति र समृद्धि छाउँछ। (उपदेशक ४:१२) तर चिरस्थायी शान्ति र सुरक्षाको लागि हामी मानव संस्थाहरूमा भर पर्न सक्दैनौँ। “शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्। त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।”—भजन १४६:३, ४.
राष्ट्रहरूले चिरस्थायी शान्ति ल्याउन अनगिन्ती प्रयास गरे तापनि युद्ध र हिंसा भने मच्चिरहेको छ।