के तपाईं निर्देशनहरूलाई अनुसरण गर्नुहुन्छ?
एउटा मायालु पिताले आफ्ना छोरा-छोरीहरूलाई शिक्षा दिन्छन् ताकि तिनीहरू जीवनमा सफल र ठूला भए पछि आनन्दित हुनसकून्। र आफ्ना आमा-बाबुलाई माया र आदर गर्ने छोरा-छोरीहरूले यस प्रकारका शिक्षालाई स्वीकार गर्दछन् किनकि यो तिनीहरू कै भलाइका लागि हो भनी तिनीहरूलाई थाह छ। त्यस्तै प्रकारले, हाम्रा स्वर्गीय पिता, यहोवाले पनि आफ्ना सेवकहरूको जीवनमा आनन्द र सफलता ल्याउन भनेर निर्देशनहरू दिनुहुन्छ। यसकारण, उहाँको वचन बाइबल, र उहाँको पार्थिव सङ्गठन द्वारा परमेश्वरले दिनुहुने निर्देशनहरूलाई अनुसरण गर्नु महत्त्वपूर्ण छ।
परिवार भित्र
विभिन्न क्षेत्रहरूमा प्रयोग हुने निर्देशनहरू हामीले पाएका छौं। एउटा त पारिवारिक क्षेत्र हो। विवाह र परिवारको उत्पत्ति ईश्वरले गर्नु भएको हो। बाइबल भन्दछ कि परमेश्वरले प्रथम मानव-दम्पतीको विवाह रच्नु भयो र तिनीहरूलाई छोरा-छोरीहरू जन्माउन भन्नु भयो। (उत्पत्ति १:२७, २८; २:२२-२४) सृष्टिकर्ताले परिवारका सबै सदस्यहरूका लागि आफ्ना-आफ्ना कर्त्तव्यबारे निर्देशन दिनु भएको छ। उदाहरणकालागि, पति र पिता परिवारका शिर हुन्, अर्थात्, निर्देशन दिने, भोजन, वस्त्र, र वासस्थान, संरक्षण, र अनुशासन पुऱ्याउने जिम्मावारी तिनको हो। तिनले महत्वपूर्ण पारिवारिक निर्णयहरू गर्दछन्। पतिले आफ्नी पत्नीलाई, निर्बल पात्रलाई जस्तोगरी आदर देखाउनु पर्दछ। (एफिसी ५:२२, २३; १ तिमोथी ५:८; १ पत्रुस ३:७) पत्नीहरू आफ्ना पतिको अधीनमा रहनु पर्दछ, उनको आदर गर्नु पर्दछ, र उनको मदतगार र सहयोगी हुनु पर्दछ। र शास्त्रले भन्दछ कि केटा-केटीहरूले आफ्ना आमा-बाबुको आज्ञा पालन गर्नु पर्दछ।—उत्पत्ति २:१८; एफिसी ६:१-३; १ पत्रुस ३:१, २.
यी निर्देशनहरूलाई उपेक्षा गर्नाले के हुन्छ? पतिहरूले आफ्नी पत्नीहरूको ख्याल नराख्दा र पत्नीहरूले आफ्ना पतिहरूको शिरत्वको कुनै आदर नगर्दा, मतभेदहरू र कलहहरू उत्पन्न हुन्छन्। यथार्थमा, यस प्रकारका कुराहरूले धेरै विवाहहरू भङ्ग भएका छन्। छोरा-छोरीहरूका अनाज्ञाकारिता र विद्रोहपनाले गर्दा धेरै आमा-बाबु दुःखित भएकाछन्। आफ्ना छोरा-छोरीहरूलाई उचित ढ़ङ्गले अनुशासन नगरेर तिनीहरूलाई दिक्क पार्नुमा, अक्सर, आमा-बाबु नै दोषी हुन्छन्।—एफिसी ६:४.
पारिवारिक समस्याहरूका समाधानका निम्ति सामाजिक कार्यकर्ताहरू, मनोबैज्ञानिकहरू, र अरू धेरैले अनेक प्रकारका सल्लाहहरू दिएता पनि, परिवारका सृष्टिकर्ताले बाइबलमा दिनुभएका निर्देशनहरू बराबरको प्रभावकारी सल्लाह अरू कुनै पनि छैन। तिनीहरूको अनुसरण गर्नाले साँचो आनन्द र सन्तोष प्राप्त हुन्छ।—भजन १९:७-९.
मण्डलीमा
मसीही मण्डलीका शिर, येशू ख्रीष्टले, विश्वासी र बुद्धिमान दास अर्थात् यहाँ पृथ्वीमा, ईश्वरको सङ्गठनका लागि नियुक्त भएका माध्यम द्वारा दिनुहुने निर्देशनहरूलाई हामीहरूले अनुसरण गर्नु पर्दछ। (मत्ती २४:४५-४७; एफिसी ५:२३) मण्डलीमा शान्ति र एकता कायम हुनका निम्ति, दिइएका निर्देशन अनुरूप त्यहाँका सबै सदस्यहरूले काम गर्नु पर्दछ। उदाहरणार्थ, मण्डलीमा शिक्षा दिने काम र अरूहरूलाई मद्दत दिने काममा अगुवाइ लिनेहरूले यहोवाको सङ्गठनबाट आएका निर्देशनहरू अनुसार काम गर्नु पर्दछ। यसले गर्दा तिनीहरूको काम कुरा प्रभावकारी हुन सक्तछ। प्रचार कार्यमा कसरी भाग लिने, मण्डलीका समस्याहरू कसरी सम्हाल्ने, सल्लाह र उत्साह कसरी दिने, पीड़ितहरूलाई कसरी ढाडस दिने, इत्यादि कुराहरू सम्बन्धी ती निर्देशनहरू हुनसक्छन्। मसीही मण्डलीमा सामेल हुने सबैका निम्ति कसरी उपदेशपूर्ण र ज्ञानवर्धक सभाहरू संचालन गर्न सकिन्छ भन्ने विषयमा पनि निर्देशनहरू हुन सक्तछन्।—प्रेरित २०:२०; रोमी १२:६-८; गलाती ६:१; १ थिस्सलोनिकी ३:१-३.
यस सम्बन्धमा मण्डलीका प्राचीनहरू, वा अध्यक्षहरूले, खासगरी राम्रो उदाहरण कायम गर्नु पर्दछ। संचालक समितिबाट आएका निर्देशनहरूलाई प्राचीनहरूले होसियारीसाथ र विश्वासपूर्वक अनुसरण गर्नु पर्दछ। स्थानीय परिस्थितिसँग तिनीहरूले ती निर्देशनहरूलाई मिलाएर प्रयोग गर्नु पर्दछ। हामीले सदा मनमा यो कुरा राख्नु पर्दछ कि मसीही मण्डलीलाई संचालन गर्नेवाला स्वयं येशू ख्रीष्ट हुनुहुन्छ। संसारभरिका सबै मसीही मण्डलीहरूका आवश्यकताहरू बारे उहाँले पूर्णतया विवेचना गर्नु हुन्छ, र आवश्यक प्रोत्साहन र सहायता उहाँले दिनुहुन्छ। त्यसकारण, परमेश्वरको ईश्वर-तंत्रीय सङ्गठनबाट पाएका कुनै पनि निर्देशनहरूलाई प्राचीनहरूले प्रयोग गर्न हिचकिचाउनु हुन्न। यसले प्रत्येक मण्डलीमा एउटा असल उदाहरण कायम हुनेछ र आपसमा र संसारभरि, मसीही भ्रातृत्वमा समावेश भएका सबैसँग एकतावद्ध हुनमा सहायता दिनेछ।—प्रेरित १५:१-३१; हिब्रू १३:७; प्रकाश ५:६.
हर्षमय परिणाम
एउटा ठूलो भवन निर्माण गर्दा एक जना भवन निर्माणकर्ताले भवनको योजना बनाउने इन्जिनियरको निर्देशनलाई सतर्कताकासाथ अनुसरण गर्दछ, ताकि तिनले बनाएको भवन स्थायी हुन सकोस्। जल-प्रलय भन्दा पहिलेका हिंसात्मक दिनहरूमा, नूहले एउटा जहाज बनाउने जिम्मावारी पाएका थिए। त्यो कसरी बनाउने हो र आउने जल-प्रलयबाट बाँच्नका निम्ति कुन मानवहरू र जनावरहरू त्यस भित्र ल्याउनु पर्ने हो, ती सबै बारे तिनलाई भनिएको थियो। नूहको प्रतिक्रिया के थियो? बाइबल भन्दछ: “नूहले त्यसै गरे—परमेश्वरले तिनलाई आज्ञा गर्नु भए बमोजिम तिनले सबै गरे।” नूह र तिनीसित जहाज भित्र हुनेहरू मात्र जल-प्रलयबाट बाँचे। (उत्पत्ति ६:५, १३-२२; ७:२३) आज हामी नूहको समय जस्तै स्थितिमा बाँचिरहेका छौं, र त्यसै कारण परमेश्वरले सबै दुष्ट मानिसहरूलाई नष्ट गर्नु हुनेछ। हामी बाँच्नेहरू मध्येका हुन चाहन्छौं भने हामीले के कदमहरू चाल्नु पर्दछ भनी बाइबलले बताउँदछ।—मत्ती २४:३७-३९; २ पत्रुस ३:५-७, ११.
यसकारण, यहोवाले आफ्ना लिखित वचन र उहाँका पार्थिव सङ्गठन द्वारा दिनुहुने निर्देशनहरूलाई मूल्याङ्कन गर्दै स्वीकार गरौं र त्यसलाई प्रयोगमा ल्याऔं। यसो गर्नाले हाम्रो जीवनमा हर्ष र सफलता आउनेछ र हाम्रो जीवनको बचाउ पनि हुनेछ। (w90 10/1)