परमेश्वरको अस्तित्व र अख्तियारप्रति बीसौं शताब्दीको इन्कार
“मानिसहरूले परमेश्वरको अस्तित्व मान्न छाडिसके। नतिजा जस्तोसुकै होस्, परमेश्वरलाई कुनै ध्यान नदिइकन तिनीहरू अब स्वतन्त्रतापूर्वक आफ्नो जीवन व्यवस्थित गर्दैछन्।” —वान हन्ड्रेड यर्स अफ डिबेट ओभर गड—द सोर्सेज अफ मडर्न एथिज्म.
एउटा अग्लो रूख झट्ट हेर्दा निकै प्रभावशाली देखिए तापनि समय बित्दै जाँदा सामान्य हुनजान्छ। त्यसको उपस्थिति नौलो हुँदैन; त्यसको उचाइ पहिलेजस्तो विस्मयकारी हुँदैन।
नास्तिकवाद पनि त्यस्तै हो। उन्नाइसौं शताब्दीमा त्यसले निकै वादविवाद उठाए तापनि आज परमेश्वरको अस्तित्वलाई इन्कार गरेको सुन्दा न ता कोही स्तब्ध हुन्छन् न विचलितै हुन्छन्। सहिष्णुताको युगले नास्तिकवादलाई परमेश्वरको अस्तित्वमाथिको विश्वास सँगसँगै शान्तिपूर्वक रहन दिएको छ।
तर यसो भन्दैमा अधिकांश व्यक्तिहरूले परमेश्वरलाई पूर्णतया इन्कार गर्छन् भनेको होइन; यसको विपरीत अमेरिका, युरोप र एसिया महादेशका ११ देशहरूमा लिएको सर्वेक्षणअनुसार दुइ प्रतिशत जति मानिसहरूले मात्र नास्तिक हुँ भनी दावा गरेको भेट्टिएको छ। तैपनि, परमेश्वरको अस्तित्वमाथि विश्वास गर्ने मानिसहरूबीच समेत नास्तिकवादी मनोवृत्ति व्याप्त छ। तर यो कसरी हुनसक्छ?
परमेश्वरको अख्तियारको इन्कार
द इनसाइक्लोपीडिया अमेरिकाना को अवलोकनअनुसार “नास्तिकवादले कहिलेकाहीं आमव्यवहारमा परमेश्वरलाई इन्कार वा बेवास्ता गर्नुलाई संकेत गर्छ।” त्यसैकारण, द न्यु शर्टर अक्सफोर्ड इङ्गलिस डिक्सनरी ले “नास्तिक” शब्दको दोस्रो अर्थ यसरी दिन्छ: “नैतिक दृष्टिले परमेश्वरलाई इन्कार गर्ने व्यक्ति; अनिश्वरवादी।”—तेर्सो अक्षर हाम्रो।
हो, परमेश्वरको अस्तित्व वा अख्तियार अथवा दुवैलाई इन्कार गर्नु नास्तिकवाद हुनसक्छ। तितस १:१६ मा बाइबलले यस्तो नास्तिकवादी मनोवृत्तिलाई औंल्याएको छ: “तिनीहरूले परमेश्वरलाई चिनेका छन् भनी तिनीहरू भनी टोपल्छन्, तर . . . आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्।”—भजनसंग्रह १४:१ तुलना गर्नुहोस्।
परमेश्वरको अख्तियारप्रति त्यस्तो इन्कार पहिलो मानव दम्पतीदेखि सुरु भएको भेट्टाउन सकिन्छ। हव्वाले परमेश्वरको अस्तित्वलाई मानी लिएकी थिइन्; तर तिनी “असल र खराबको ज्ञान पाएर . . . परमेश्वरजस्तै” हुन चाहन्थिन्। वास्तवमा तिनी ‘आफ्नो मालिक आफै हुन चाहन्थिन्’ र आफ्नै नैतिक सिद्धान्त बनाउन चाहन्थिन्। परमेश्वरको अख्तियारप्रतिको यस्तो इन्कारमा पछि आदमले हव्वालाई साथ दिए।—उत्पत्ति ३:५, ६.
आफ्नै नैतिक सिद्धान्त बनाउने यस्तो मनोवृत्ति के आज सर्वव्याप्त छैन र? छ। स्वतन्त्रताको खोजीमा थाहै नपाउने गरी नास्तिकवाद प्रकट भएको छ। वान हन्ड्रेड यर्स अफ डिबेट ओभर गड—द सोर्सेज् अफ मडर्न एथिज्म नामक पुस्तक- अनुसार “परमेश्वरको निगरानीमा बाँच्दा-बाँच्दा आज मानिसहरू वाक्क भइसके।” “तिनीहरू . . . स्वतन्त्र भएर बाँच्न चाहन्छन्।” बाइबलको नैतिक सिद्धान्तलाई आज अव्यवहारिक, अतार्किक मानेर वास्ता गरिंदैन। आज अधिकांश मानिसहरूको सोचाइ त्यस मिस्री फिरऊनको जस्तै भएको छ जसले ढिट भएर यसो भनेका थिए: “परमप्रभु को हो, र म तिनको कुरा [सुनुँ]? . . . परमप्रभुलाई म चिन्दिनँ।” तिनले यहोवाको अख्तियारलाई इन्कार गरे।—प्रस्थान ५:२.
परमेश्वरप्रति मसीहीजगतको इन्कार
स्तब्ध पार्ने गरी परमेश्वरको अस्तित्वको इन्कार त मसीहीजगतका ती पादरीहरूले गर्छन् जसले परमेश्वरको शुद्ध सच्चाइलाई मानव-निर्मित रीतिरिवाजहरूसित अदलबदल गरेका छन्। (मत्ती १५:९ तुलना गर्नुहोस्।) साथै बीसौं शताब्दीका सबैभन्दा रक्तपातपूर्ण युद्धहरूलाई समर्थन गरेर बाइबलले साँचो प्रेम गर्नु भनी दिएको आज्ञालाई पनि तिनीहरूले इन्कार गरेका छन्।—यूहन्ना १३:३५.
परमेश्वरका नैतिक स्तरहरू पालन गर्न अस्वीकार गरेर पनि पादरीहरूले परमेश्वरलाई इन्कार गरेका छन्। बाल लैङ्गिक दुर्व्यवहार गरे वापत बारम्बार तिनीहरूमाथि लगाइएको मुद्दाबाट उक्त कुरा पुष्टि हुन्छ। मसीहीजगतको अवस्था पुरातन इस्राएल तथा यहूदाको जस्तै छ। तिनीहरूको विषयमा इजकिएल अगमवक्तालाई यसो भनियो, “देश रगतले भरिएको छ, र शहरचाहिं अन्यायले भरिपूर्ण छ, किनभने तिनीहरू भन्छन्, ‘परमप्रभुले देशलाई त्याग्नुभएको छ, परमप्रभुले देख्नुहुन्न।’” (इजकिएल ९:९; यशैया २९:१५ तुलना गर्नुहोस्।) अतः थुप्रै व्यक्तिहरूले मसीहीजगतका चर्चहरूलाई पूर्णतया त्याग्नु कुनै अनौठो कुरा होइन! तर त्यसो भन्दैमा के तिनीहरूले परमेश्वरमाथि नै विश्वास गर्न छाड्नु पर्छ र?
नास्तिकवादका जायज कारणहरू?
धर्मको नाउँमा ढोङ्ग देखेको होस् वा नहोस्, अधिकांश नास्तिकहरूले परमेश्वरमाथिको विश्वासलाई संसारमा भइरहेको दुःखकष्टसँग जोड्न मिल्दैन। शीमोन दे बीउभ्वाले एकपटक यसो भनिन्: “संसारका सारा विरोधाभास कुराहरूले लादिएको सृष्टिकर्त्ताबारे सोच्नुभन्दा त मलाई सृष्टिकर्त्ता नै नभएको संसारबारे सोच्न बढी स्वीकार्य लाग्यो।”
ढोङ्गी धर्मपन्थीहरूले उक्साएका अन्यायहरू लगायत संसारमा विद्यमान सबै अन्यायहरूले के परमेश्वर हुनुहुन्न भनेर प्रमाणित गर्छ? उदाहरणको लागि यस कुरालाई विचार गर्नुहोस्: निर्दोष व्यक्तिलाई धम्काउन, हानि पुऱ्याउन वा हत्या गर्न चक्कु प्रयोग गऱ्यो भन्दैमा के त्यसले चक्कुको रचनाकार नै छैन भनेर प्रमाणित गर्छ र? बरु त्यसको दुरुपयोग भएको थियो भनी त्यसले देखाउँछ, हैन र? वास्तवमा मानिसहरूले ईश्वरप्रदत्त क्षमताहरूका साथै पृथ्वीको समेत दुरुपयोग गरिरहेका छन् भनेर अधिकांश मानव दुःखकष्टहरूले प्रमाणित गर्छ।
तथापि, परमेश्वर अदृश्य हुनु भएकोले केही व्यक्तिहरू परमेश्वरमाथि विश्वास गर्नु अतार्किक ठान्छन्। तर हावा, ध्वनितरङ्ग र गन्धबारे के भन्न सकिन्छ? यीमध्ये कुनैलाई देख्न सक्दैनौं, तैपनि ती वस्तुहरू अस्तित्वमा छन् भनी हामी जान्दछौं। हाम्रो फोक्सो, कान र नाकले पनि हामीलाई त्यही कुरा बताइरहेको हुन्छ। निस्सन्देह प्रमाण छ भने अदृश्य कुरामाथि हामी विश्वास गर्छौं।
इलेक्ट्रोन, प्रोटोन, परमाणु, एमिनो एसिड र जटिल मस्तिष्क लगायत अन्य भौतिक प्रमाणहरू अवलोकन गरिसकेपछि प्रकृति वैज्ञानिक विलियम नबलक यसो भन्न उत्प्रेरित भए: “म परमेश्वरमाथि विश्वास गर्छु, किनभने मेरो निम्ति सारा चीजबीजको एक मात्र तार्किक स्पष्टिकरण नै उहाँको ईश्वरीय अस्तित्व हो।” (भजनसंग्रह १०४:२४ तुलना गर्नुहोस्।) त्यस्तैगरि शरीरविज्ञानी मर्लिन बुक्स फ्रिडर यसो भन्छन्: “वैज्ञानिक अध्ययन तथा अन्वेषणमा जीवन समर्पण गर्ने व्यक्ति र एक साधारण मानवको हैसियतमा म परमेश्वरको अस्तित्वमाथि कुनै शङ्का गर्दिन।”
परमेश्वरमाथि विश्वास गर्ने यिनीहरू मात्रै होइनन्। भौतिकशास्त्रका प्राध्यापक हेनरी मारजिनोअनुसार “सर्वश्रेष्ठ वैज्ञानिकहरूबीच ज्यादै कम नास्तिकहरू भेटिन्छ।” नता वैज्ञानिक उन्नतिहरू न धर्मको असफलता नै सृष्टिकर्त्तामाथि विश्वास गर्न छाड्ने कारण हुनुपर्छ। आउनुहोस्, त्यसो गर्न नहुनुको कारण जाँचौं।
साँचो धर्मसँग त्यसको तुलना
सन् १८०३ मा संयुक्त राज्यका राष्ट्रपति थोमस जेफर्सनले यो लेखे: “मसीहीधर्ममा भइरहेको भ्रष्टाचारको म अवश्य विरोध गर्छु, तर येशूका साँचो सिद्धान्तहरू भने होइन।” हो, मसीहीजगत र मसीहीधर्म बीच भिन्नता छ। मसीहीजगतका अधिकांश सिद्धान्तहरू मानिसहरूका रीतिरिवाजहरूमाथि आधारित छन्। यसको विपरीत साँचो मसीहीधर्मका विश्वासहरू पूर्णतया बाइबलमा आधारित हुन्छन्। त्यसैकारण पावलले प्रथम शताब्दीका कलस्सीहरूलाई “सही ज्ञान,” “बुद्धि” र आत्मिक “समझ” आर्जन गर्नु भनी लेखे।—कलस्सी १:९, १०.
साँचो मसीहीहरूबाट हामीले त्यस्तै कुराको आशा गर्नुपर्छ किनभने येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ, . . . बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ”।—मत्ती २८:१९, २०.
आज विश्वको २३१ मुलुकहरूमा यहोवाका साक्षीहरूले सो आज्ञा पालन गर्दैछन्। तिनीहरूले १२ भाषाहरूमा बाइबल अनुवाद गरेर ७,४०,००,००० भन्दा बढी प्रति छापेका छन्। त्यसबाहेक गृह बाइबल अध्ययनको कार्यक्रमद्वारा तिनीहरूले ४५,००,००० भन्दा धेरै व्यक्तिहरूलाई ‘येशूले जे जे आज्ञा गर्नुभयो ती सबै गर्नालाई सिकाउँदैछन्।’
यस शैक्षिक कार्यक्रमले विस्तृत नतिजाहरू ल्याइरहेको छ। यसले साँचो ज्ञान प्रदान गर्छ किनकि त्यसका शिक्षाहरू मानिसहरूको विचारमा नभई परमेश्वरको बुद्धिमा आधारित छन्। (हितोपदेश ४:१८) यस बाहेक सबै राष्ट्र र जातिका मानिसहरूलाई एकअर्काप्रति साँचो प्रेम विकास गराउने “नयाँ मनुष्यत्व” धारण गर्न मदत दिएर मानिसको ‘प्रबुद्धता’ ले भ्याउन नसक्ने काम यसले पूरा गरिरहेको छ।—कलस्सी ३:९, १०.
हाम्रो बीसौं शताब्दीमा साँचो धर्म विजयी भइरहेको छ। त्यसले परमेश्वरलाई इन्कार गर्दैन—चाहे त्यो उहाँको अस्तित्व होस् वा अख्तियार। यहोवाका साक्षीहरूको कुनै एउटा राज्य भवनमा तिनीहरूसित भेट गरेर तपाईं आफैले यो कुरा जाँच्न हामी तपाईंलाई निमन्त्रणा दिन्छौं। (w94 12/01)
[पृष्ठ ६-मा भएको पेटी]
नास्तिकवादको जडलाई बलियो बनाउने
अठारौं शताब्दीको मध्यतिर दार्शनिक डेनि डिडरटलाई एकखण्डे अङ्ग्रेजी विश्वकोश फ्रेन्च भाषामा अनुवाद गर्न अह्राइएको थियो। तथापि, तिनले आफ्नो मालिकले आशा गरेभन्दा बढी नै गरे। डिडरटले झण्डै तीन दशक लगाएर त्यस युगको मनोवृत्ति झल्काउने २८ खण्डमा विभाजित आफ्नै इनसाइक्लोपेडि तयार पारे।
उक्त इनसाइक्लोपेडि मा कामलाग्दो जानकारी थुप्रै भए तापनि त्यो विशेषगरि मानव बुद्धिमाथि केन्द्रित थियो। ग्रेट एजेस् अफ म्यान नामक पुस्तकहरूको सघ्र्हअनुसार उक्त पुस्तकले “धर्मको सट्टा तर्कलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएमा मानिसले आफ्नो उत्थान गर्न सक्नेछ भन्ने [दार्शनिकको] उग्र मत प्रचार गर्ने हिम्मत गऱ्यो।” परमेश्वरको उल्लेख कतै नगरिएको प्रष्टै देखिन्थ्यो। द मोडर्न हेरिटेज पुस्तकको भनाइअनुसार “मानिसले छनौट गर्न सक्ने कुराहरू प्रस्तुत गरेर ती सम्पादकहरूले मानिसहरूलाई धर्मबारे सिक्नु पर्ने आवश्यकता छैन भनेर प्रष्ट्याए।” स्वाभाविकतः चर्चले त्यस इनसाइक्लोपेडि लाई दबाउन खोजे। राजनीति, नैतिकता र धर्म भ्रष्ट गर्ने पुस्तक भनी महान्यायधिवक्ताले त्यसको भत्सर्ना गरे।
विरोध र अत्यधिक मूल्यको बावजूद अप्रत्याशित ढङ्गमा ४,००० व्यक्तिहरूले डिडरटको इनसाइक्लोपेडि मगाए। यो नास्तिकवादी गोप्य मत हुर्कंदै गएर चाँडै नै परमेश्वरको अस्तित्व इन्कारको रूपमा पूर्णतया विकसित हुने पक्का थियो।