प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १२/१ पृ. ३-५
  • नास्तिकवादको जड

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नास्तिकवादको जड
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जराहरू ठम्याउने
  • बीउ छरिन्छ
  • सन्देहवाद टुसाउँछ
  • नास्तिकवाद पूर्णतया हुर्कन्छ
  • परमेश्‍वरको अस्तित्व र अख्तियारप्रति बीसौं शताब्दीको इन्कार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १२/१ पृ. ३-५

नास्तिकवादको जड

हामी संकष्टग्रस्त संसारमा बाँचिरहेका छौं। समाचारपत्रका मुख्य शीर्षकहरूलाई सरसरती हेर्दा मात्र पनि दिनहुँ त्यस कुराको पुष्टि हुन्छ। संसारको निराशाजनक स्थितिले गर्दा धेरैले परमेश्‍वरको अस्तित्वमाथि प्रश्‍न गर्न थालेका छन्‌। केही व्यक्‍तिहरू नास्तिक हुँ भनी दाबी गर्छन्‌ र परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्‌। के तपाईं पनि त्यस्तै गर्नुहुन्छ?

परमेश्‍वरमाथिको विश्‍वास वा अविश्‍वासले भविष्यप्रति तपाईंले राख्नुहुने दृष्टिकोणमा गहिरो असर पार्दछ। परमेश्‍वर नहुनु हुने हो भने मानवजाति रहने नरहने पूर्णतया मानिसकै हातमा निर्भर गर्नेछ। मानिसको विनाशकारी क्षमतालाई विचार गर्ने हो भने यो कुरा साह्रै निराशाजनक देखिन्छ। तर तपाईं परमेश्‍वरको अस्तित्वमाथि विश्‍वास गर्नुहुन्छ भने शायद पृथ्वीमा जीवनको कुनै उद्देश्‍य अर्थात्‌ अन्ततः पछि पूरा हुने उद्देश्‍य छ भनी मानि लिनुहुन्छ होला।

इतिहासभरि बेला-बेलामा परमेश्‍वरको अस्तित्व इन्कार गरिएको भए तापनि हालै केही शताब्दी अघि मात्र नास्तिकवाद लोकप्रिय भएको हो। किन तपाईंलाई थाहा छ?

जराहरू ठम्याउने

अग्लो रूख हेर्नमा निकै प्रभावकारी हुन्छ। यद्यपि, हाम्रो आँखाले केवल पात, हाँगा र डाँठ मात्र देखेको हुन्छ। तर जरा अर्थात्‌ रूखको जीवन स्रोत जमीनको गहिराइभित्र लुकेको हुन्छ।

नास्तिकवादको सम्बन्धमा त्यही कुरा भन्‍न सकिन्छ। विशाल रूखजस्तै परमेश्‍वरको अस्तित्व इन्कार पनि १९ औं शताब्दीदेखि प्रभावकारी ढङ्‌गमा बढ्‌दै गयो। के जीवन र सारा ब्रह्‍माण्ड कुनै अलौकिक सृष्टिकर्त्ताबिना आफै अस्तित्वमा आए त? त्यस्तो सृष्टिकर्त्ताको उपासना गर्नु के समय खेर फाल्नु हो? तत्कालीन प्रमुख दार्शनिकहरूको जवाफ जोडदार अनि स्पष्ट थिए। “नैतिक नियमहरू नचाहिएजस्तै हामीलाई धर्म पनि चाहिंदैन,” फ्रेडरिक निच्सले भने। “धर्म मानव मस्तिष्कको सपना हो,” लुडविग फिअरबाकले जोड दिए। अनि कार्ल मार्क्स जसका लेखहरूले आउँदा दशकहरूमा गहिरो प्रभाव पार्नेथियो, तिनले दृढतासाथ यसो भने: “धर्मको चङ्‌गुलबाट छुटाएर म मानव मस्तिष्कको स्वतन्त्रता बढाउन चाहन्छु।”

थुप्रै मानिसहरू प्रभावित भए। तथापि तिनीहरूले सुनेबुझेका कुराहरू नास्तिकवादको पात, हाँगा र डाँठ मात्र थिए। त्यसको जरा १९ औं शताब्दी सुरु हुनुभन्दा धेरैअघि फैलिसकेको थियो। छक्कलाग्दो कुरा, मसीहीजगतको धर्मले गर्दा आधुनिक समयमा नास्तिकवाद फस्टाएको थियो! तर कसरी? किनकि तिनीहरूको भ्रष्टाचारले गर्दा यी धार्मिक संस्थाहरूले निकै भ्रम र विरोध उक्साए।

बीउ छरिन्छ

मध्य युगको दौडान क्याथोलिक चर्चले आफ्ना प्रजाहरूमाथि दमन गरिरहेको थियो। द इनसाइक्लोपीडिया अमेरिकाना अनुसार “मानिसहरूका आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्न क्याथोलिक धर्मतन्त्र सक्षम थिएन।” “उच्च पदस्थ पादरीहरू र विशेषगरि विशपहरू कुलीनवर्गबाट चुनिन्थे र तिनीहरूले आफ्नो पदलाई मुख्यतः प्रतिष्ठा र शक्‍तिको स्रोतको रूपमा लिन्थे।”

जोन क्यालभिन र मार्टिन लुथरजस्ता केही व्यक्‍तिहरूले चर्चको सुधार गर्न खोजे। तथापि, तिनीहरूको सुधार प्रक्रिया ख्रीष्टको जस्तो थिएन। असहिष्णुता र रक्‍तपातले तिनीहरूको धार्मिक संशोधन चिह्नित भयो। (मत्ती २६:५२ तुलना गर्नुहोस्‌।) त्यस्तो सुधारले पुऱ्‍याएका केही घातहरू यति भ्रष्ट थियो, त्यसको तीन शताब्दीपश्‍चात्‌ संयुक्‍त राज्यका तेस्रो राष्ट्रपति, थोमस जेफर्सनले यस्तो लेखे: “क्यालभिनको पाशविक विशेषताहरूद्वारा परमेश्‍वरको निन्दा गर्नुभन्दा बरु परमेश्‍वरमाथि विश्‍वास नगर्नु नै क्षम्य छ।”a

स्पष्ट छ, त्यस्तो किसिमको धार्मिक संशोधनले साँचो उपासना पुनःस्थापित गर्न सकेन। यद्यपि, क्याथोलिक चर्चको शक्‍ति भने पक्कै घटायो। मानिसहरूको धार्मिक आस्थामाथि भ्याटिकनले एकाधिकार जमाउन पाएन। धेरै व्यक्‍तिहरू भर्खरै स्थापित प्रोटेस्टेन्ट सम्प्रदायमा भर्ती भए। अरू चाहिं धर्मको भ्रमबाट मुक्‍त भई मानव मस्तिष्कलाई आफ्नो उपासना दिन थाले। फलतः परमेश्‍वरबारे भिन्‍न विचारधाराहरू राख्न छुट दिने स्वतन्त्र मनोवृत्तिको सुरुआत भयो।

सन्देहवाद टुसाउँछ

अठारौं शताब्दीसम्ममा तर्कबुद्धिलाई सम्पूर्ण विश्‍व-समस्याहरूको समाधानको रूपमा लिनु सामान्य भइसकेको थियो। निर्देशनका लागि राजनीति र धर्ममाथि निर्भर गरेकोले मानिसहरूको प्रगतिमा बाधा पुगेको छ भनी जर्मन दार्शनिक इम्मानुयल कान्टले जोड दिए। “सिक्ने आँट गर्नुहोस्‌!” “आफ्नो बुद्धि खियाउने साहस गर्नुहोस्‌!,” तिनले आग्रह गरे।

यस्तो मनोवृत्ति प्रबुद्ध अथवा तर्क युगको नाउँले पनि चिनिने १८ औं शताब्दीको विशेषता थियो। ज्ञानको खोजी गर्ने सनकले त्यस अवधिलाई चिह्नित गऱ्‍यो। माइलस्टोन्स्‌ अफ हिस्ट्री पुस्तकअनुसार “सन्देहवादले निर्विवाद विश्‍वासको स्थान लियो।” “सबै पुराना परम्परागत विश्‍वास अनि रीतिथितिहरूमाथि प्रश्‍न गरियो।”

ध्यानपूर्वक केरकार गरिएको एउटा ‘पुरानो परम्परागत विश्‍वास’ धर्म थियो। दि युनिभर्सल हिस्ट्री अफ दि वर्ल्ड पुस्तकअनुसार “मानिसहरूले धर्मप्रति आफ्नो दृष्टिकोण बदले।” “स्वर्गमा इनाम पाउने प्रतिज्ञा तिनीहरूको लागि अब चित्तबुझ्दो भएन; तिनीहरूले पृथ्वीमै असल जीवनको चाह गर्नथाले। अलौकिक शक्‍तिमाथि तिनीहरूले आफ्नो विश्‍वास गुमाउन थाले।” निस्सन्देह तर्कबुद्धिमाथि जोड दिने १८ औं शताब्दीका अधिकांश दार्शनिकहरूले धर्मलाई घृणा गर्थे। मानिसहरूलाई अज्ञानतामा राखेको हुनाले विशेषगरि क्याथोलिक चर्चका शक्‍तिका भोका नेताहरूलाई तिनीहरूले दोषी ठहराए।

धर्मदेखि असन्तुष्ट भएर यस्ता अधिकांश दार्शनिकहरू प्रकृतिवादी बने। तिनीहरू परमेश्‍वरमाथि विश्‍वास त गर्थे तर उहाँले मानवजातिप्रति कुनै चासो लिनुहुन्‍न भनेर जोड दिन्थे।b “फूट, पागलपन र अपराधहरूको स्रोत” नै धर्म हो भनी दावा गर्ने पल हेनरी टिरी अलबाकजस्ता केही दार्शनिकहरू चाहिं खुलेआम नास्तिक बने। समय बित्दै जाँदा मसीहीजगतदेखि थकित भएर थुप्रै व्यक्‍तिहरूले अलबाकका धारणाहरू अपनाउन थाले।

मसीहीजगतकै कारण नास्तिकवादको विकास हुनु कति हास्यास्पद छ! धर्मविज्ञानी प्राध्यापक माइकल जे. बक्ले भन्छन्‌, “चर्चहरू नास्तिकवाद फस्टाउने माटो थियो।” “साम्प्रदायिक धर्महरूले पश्‍चिमी अन्तस्करणमा गहिरो आघात र घृणाको भावना जागृत गरायो। चर्च र त्यसका गुटहरूले युरोपलाई सर्वनाश मात्र नभइ नरसंहार, धार्मिक विद्रोह वा क्रान्तिको माग अनि राजतन्त्रलाई सत्ताच्युत वा अपदस्थ गर्ने कोशिश गरेको थियो।”

नास्तिकवाद पूर्णतया हुर्कन्छ

उन्‍नाइसौं शताब्दीसम्ममा खुलेआम परमेश्‍वरको अस्तित्व इन्कार गर्न थालियो र त्यस्तो प्रवृत्ति फस्टाउँदै जान थाल्यो। दार्शनिकहरू र वैज्ञानिकहरूलाई दृढतापूर्वक आफ्नो दृष्टिकोण व्यक्‍त गर्न अप्ठ्यारो महसुस हुँदैन थियो। खुलेआम आफूलाई नास्तिक बताउने एक व्यक्‍तिले यसो भने, “हाम्रो शत्रु नै परमेश्‍वर हो।” “परमेश्‍वरप्रतिको घृणा नै ज्ञानको सुरुआत हो। मानवजातिले साँचो प्रगति गर्ने हो भने त्यो प्रगति नास्तिकवादमा आधारित हुनुपर्छ।”

तथापि, २० औं शताब्दीको दौडान चालै नपाउने गरी परिवर्तन आउन थाल्यो। परमेश्‍वरको अस्तित्व इन्कार पहिलेभन्दा कम आक्रामक भयो; परमेश्‍वरमाथि विश्‍वास गर्छु भनी दाबी गर्नेहरूलाई समेत असर गर्ने भिन्‍न प्रकारको नास्तिकवाद फैलन थाल्यो। (w94 12/01)

[फुटनोटहरू]

a धार्मिक संशोधनद्वारा उत्पन्‍न प्रोटेस्टेन्ट सम्प्रदायले थुप्रै गैर-शास्त्रीय सिद्धान्तहरूलाई त्यागेनन्‌। अवेक! अगस्त २२, १९८९, पृष्ठ १६-२० र सेप्टेम्बर ८, १९८९, पृष्ठ २३-७ हेर्नुहोस्‌।

b घडीसाजहरूले जस्तै परमेश्‍वरले पनि सृष्टिको सुरुआत गरेर त्यसलाई पूरै बिर्सनुभयो र त्यस विषयमा भावशून्य रहनुभयो भनी प्रकृतिवादीहरू दावा गर्छन्‌। द मोर्डन हेरिटेज पुस्तकअनुसार प्रकृतिवादीहरूले “नास्तिकवादलाई मानिसहरूको नैराश्‍यताको कारण उब्जेको भूल हो र क्याथोलिक चर्चको सत्तावादी प्रणाली र त्यसका सिद्धान्तहरूको अक्खडपन र असहिष्णुता झनै खेदपूर्ण छ भनी विश्‍वास गर्छन्‌।”

[पृष्ठ ३-मा भएको चित्र]

कार्ल मार्क्स

[पृष्ठ ३-मा भएको चित्र]

लुडविग फिअरबाक

[पृष्ठ ३-मा भएको चित्र]

फ्रेडरिक निच्स

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने