के पूर्वनिर्धारित भविष्य र परमेश्वरको प्रेमलाई मिलान गर्न सकिन्छ?
“पूर्वनिर्धारित भविष्यलाई हामी परमेश्वरको अनन्त योजना भनी परिभाषित गर्छौं। प्रत्येक मानिससँग उहाँले के गर्न चाहनुहुन्छ भनी यसै योजनाद्वारा उहाँले निर्णय गर्नुहुन्छ। किनभने उहाँले सबैलाई समान अवस्थामा सृष्टि गर्नुभएन, बरु कसैलाई अनन्त जीवन र बाँकिलाई नरकमा अनन्त दण्ड दिनलाई पूर्वनिश्चित गर्नुहुन्छ।”
प्रोटेस्टेन्ट धर्म सुधारक जोन क्याल्भिनले इन्स्टिच्युटस् अफ द क्रिश्चियन रिलिजन नामक आफ्नो पुस्तकमा पूर्वनिर्धारित भविष्यबारे यसप्रकार आफ्नो विचारधारा व्यक्त गरे। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ र उहाँका प्राणीहरूले गरेको कामले उहाँका उद्देश्यहरूमाथि प्रश्न खडा गर्न वा आफ्नो योजना परिवर्तन गर्न बाध्य तुल्याउन सकिन्न भन्ने धारणामा यो विचारधारा आधारित छ।
तर के साँच्चै नै बाइबलले परमेश्वरलाई त्यस्तो रूपमा प्रस्तुत गर्छ र? अझ योभन्दा महत्त्वपूर्ण कुरा, के यस्तो कथन परमेश्वरका गुणहरू विशेषगरि प्रेमसित मेल खान्छ?
भविष्य बताउन सक्ने क्षमता भएको परमेश्वर
परमेश्वर भविष्य बताउन सक्नुहुन्छ। उहाँले आफ्नो परिचय यसप्रकार दिनुहुन्छ, “म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू यसो भनेर घोषणा . . . [गर्छु], ‘मेरो उद्देश्य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु।’” (यशैया ४६:१०) कुनै घटना घट्नु अगावै आफ्नो पूर्वज्ञान चलाउन र अगमवाणी गर्न सक्नुहुन्छ भनेर देखाउन परमेश्वरले मानव इतिहासभरि आफ्ना भविष्यवाणीहरू रेकर्ड गराउनुभएको छ।
त्यसैकारण बाबेलका राजा बेलसजरको समयमा अगमवक्ता दानियलले दुई जंगली जनावरहरू एक-आपसमा प्रतिद्वन्द गरेको सपना देख्दा यहोवाले तिनलाई यस्तो अर्थ खुलाउनुभयो: “तिमीले देखेको दुइ-सीङे साँढ़-भेड़ा मादी देश र फारस देशका राजाहरू हुन्। औ त्यो बोका चाहिं यूनानीहरूको राज्य हो।” (दानियल ८:२०, २१) स्पष्ट छ, विश्व-शक्तिका उत्तराधिकारीहरू प्रकट गर्न उहाँले आफ्नो पूर्वज्ञानको अभ्यास गर्नुभयो। मादी-फारसी र त्यसपछि युनानले तत्कालीन अधिकार जमाइरहेको बेबिलोनी साम्राज्यको ठाउँ ओगट्ने थियो।
भविष्यवाणीहरू एक व्यक्तिसँग मात्र पनि सम्बन्धित हुनसक्छ। उदाहरणको लागि, बेतलेहेममा मसीह जन्मनुहुनेछ भनी अगमवक्ता मीकाले घोषणा गरे। (मीका ५:२) यहाँ पनि परमेश्वरले आफ्नो पूर्वज्ञानको अभ्यास पुनः गर्नुभयो। तथापि, एउटा विशेष उद्देश्य अर्थात् मसीहको परिचय दिन यो घटनाको घोषणा गरिएको थियो। तर यसले प्रत्येक व्यक्तिविशेषलाई समावेश गर्ने पूर्वनिर्धारित भविष्यको सिद्धान्तलाई सामान्य नियमको रूप दिने छुट दिंदैन।
यसको विपरीत कुनै कुनै परिस्थितिहरूमा परमेश्वर पहिले नै नतिजा जान्न चाहनुहुन्न भनेर शास्त्रले प्रकट गर्छ। सदोम र गमोराको विनाशअघि उहाँले यसो भनेर घोषणा गर्नुभयो: “त्यही आवाजअनुसार तिनीहरूले यो काम गरेको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।” (उत्पत्ति १८:२१) परमेश्वर आफैले नियाँलेर नहेर्नुभएसम्म उहाँलाई ती शहरहरू कतिसम्म भ्रष्ट थिए भन्ने पूर्वज्ञान थिएन भनेर यस पदले स्पष्टसित देखाउँछ।
हो, कुनै कुनै घटनाहरू उहाँले पहिले नै देख्न सक्नुहुन्छ तर धेरैजसो परिस्थितिहरूमा आफ्नो पूर्वज्ञान नचलाउन नै उहाँ रुचाउनुहुन्छ। परमेश्वर सर्वशक्तिमान हुनुभएकोले असिद्ध मानिसहरूको इच्छाअनुसार नभई आफ्नै इच्छाअनुसार आफ्ना क्षमताहरू चलाउन उहाँ स्वतन्त्र हुनुहुन्छ।
सबै कुरालाई ठीक बनाउन सक्नुहुने परमेश्वर
मानिसहरूको सृष्टि गर्नुअघि नै परमेश्वरले तिनीहरू पापमा फँसून भनी पूर्वनिर्धारण गर्नुभएको थियो र मानिसहरू त्यसरी पापमा फँस्नु अघि परमेश्वरले ‘चुनिएका जनहरूको’ भविष्य पूर्वनिर्धारण गर्नुभयो भनेर क्याल्भिन जस्तै केही मानिसहरू भन्छन्। यदि यो साँचो हुँदो हो त, आदम र हव्वाले अनन्त जीवन पाउन सक्दैनन् भनी थाहा हुँदा हुँदै पनि तिनीहरूलाई त्यसको प्रत्याशा दिनु के परमेश्वरले ढोंग गर्नुभएको हुनेछैन र? यसबाहेक प्रथम मानव दम्पतीलाई छनौट गर्ने मौका दिइयो भनेर शास्त्रले कहिल्यै इन्कार गर्दैन: ईश्वरीय निर्देशनहरू पालन गरेर सधैंभरि बाँच्ने या त्यसलाई इन्कार गरेर मर्ने।—उत्पत्ति अध्याय २.
तर के आदम र हव्वाको पापले परमेश्वरको उद्देश्यलाई साँच्चै नै विफल बनायो र? अहँ, बनाएन। किनकि मानिसहरूले पाप गर्ने बित्तिकै शैतान र त्यसका कार्यकर्त्ताहरूलाई नाश गर्न “वंश” खडा गर्नेछु र पृथ्वीमा फेरि सबै कुरा मिलाउनेछु भनी परमेश्वरले घोषणा गर्नुभयो। जसरी केही कीराहरूले मालीलाई प्रशस्त फल फलाउन रोक्न सक्दैन त्यसरी नै यो पृथ्वीलाई प्रमोदवन बनाउनदेखि आदम र हव्वाको अनाज्ञाकारिताले परमेश्वरलाई रोक्नेछैन।—उत्पत्ति, अध्याय ३.
राजा दाऊदका सन्तानलाई सुम्पिएको राज्य सरकार खडा हुनेछ र अरू व्यक्तिहरू पनि त्यस राज्यसित सम्बन्धित हुनेछन् भनेर पछि परमेश्वरले प्रकट गर्नुभयो। यी अरू व्यक्तिहरूलाई “सर्वोच्चका पवित्र जनहरू” भनिन्छ।—दानियल ७:१८; २ शमूएल ७:१२; १ इतिहास १७:११.a
अगमवाणी गर्नुको अर्थ भविष्य पूर्वनिर्धारण गर्नु होइन
मानवजातिले कुन मार्ग लिनेछ भनेर परमेश्वरले जान्न नचाहनुहुने भए तापनि मानिसहरूको असल वा खराब कामको नतिजा अगमवाणी गर्नदेखि उहाँलाई रोकेन। गाडीको नाजुक अवस्थाबारे गाडी चालकलाई चेतावनी दिने मिस्त्रीलाई गाडी दुर्घटनाको जिम्मेवार ठहराउन वा पूर्वनिर्धारण गरेको दोष दिनु मिल्दैन। त्यस्तैगरि परमेश्वरले व्यक्तिविशेषको दुःखद नतिजाहरूको पूर्वनिर्धारण गर्नुहुन्छ भनी दोष दिनु मिल्दैन।
प्रथम मानव दम्पतीका सन्तानहरूको सम्बन्धमा पनि यही कुरा भन्न सकिन्छ। कयिनले आफ्नो भाइको हत्या गर्नुअघि उनीसमक्ष परमेश्वरले छनौट गर्ने मौका राख्नुभएको थियो। पापलाई अधीनमा राख्ने वा पापको अधीनमा रहने? कयिनले गलत छनौट गरेर आफ्नो भाइको हत्या गरोस् भनी परमेश्वरले पूर्वनिर्धारण गर्नुभयो भनेर सो विवरणले कुनै संकेत दिंदैन।—उत्पत्ति ४:३-७.
पछि, मूर्तिपूजक राष्ट्रहरूका स्त्रीहरूलाई विवाह गर्नेजस्ता कामहरू गरेर यहोवादेखि तर्केमा नतिजा के हुनेछ भनी मोशाको व्यवस्थाले इस्राएलीहरूलाई चेतावनी दिएको थियो। वास्तवमा अगमवाणी गरेझैं भयो। यो कुरा हामी राजा सुलेमानको उदाहरणबाट देख्नसक्छौं। आफ्नो वृद्धावस्थामा तिनी आफ्नी विदेशी पत्नीहरूको प्रभावमा परेर मूर्तिपूजामा लागे। (१ राजा ११:७, ८) हो, परमेश्वरले आफ्ना जनहरूलाई चेतावनी दिनुभयो तर व्यक्तिविशेषको कामको नतिजा के हुनेछ भनी उहाँले पूर्वनिर्धारण गर्नुभएन।
ख्रीष्टसँग स्वर्गमा राज्य गर्ने प्रतिज्ञालाई नगुमाउने हो भने दृढ भएर बस्नुपर्छ भनी चुनिएका जनहरूलाई प्रोत्साहित गरिएको छ। (२ पत्रुस १:१०; प्रकाश २:५, १०, १६; ३:११) यदि तिनीहरूलाई दिइएको बोलावट निर्णायक हो भने तिनीहरूलाई त्यस्ता सम्झौटाहरू किन दिनु पऱ्यो? वास्तवमा केही धर्मविज्ञानीहरूले बितेका समयमा यस्तै प्रश्न उठाएका थिए।
पूर्वनिर्धारित भविष्य र परमेश्वरको प्रेम
“परमेश्वरकै स्वरूपमा” सृजिएको हुँदा मानिसलाई स्वेच्छा पनि दिइएको थियो। (उत्पत्ति १:२७) प्रत्येक चाल पूर्वनिर्धारित भएको यन्त्र मानवले जस्तो नभई प्रेमले उत्प्रेरित हुँदै परमेश्वरको आदर वा सेवा गरेको चाहने होस् भनेर मानिसहरूलाई स्वेच्छा दिनु अपरिहार्य थियो। बौद्धिक तथा स्वतन्त्र प्राणीहरूले प्रेम प्रदर्शन गर्दा गलत आरोपहरू खण्डन गर्न परमेश्वरलाई मदत मिल्थ्यो। परमेश्वर यसो भन्नुहुन्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”—हितोपदेश २७:११.
परमेश्वरका सेवकहरूको भविष्य पूर्वनिर्धारित अथवा अर्को शब्दमा भन्ने हो भने, योजनाबद्ध भएको भए सृष्टिकर्त्ताप्रति तिनीहरूको प्रेम कतिको साँचो छ भन्ने शंका उत्पन्न हुँदैन र? साथै व्यक्तिविशेषको योग्यता नजाँचिकन मानिसहरूको भविष्य स्वर्गीय जीवन तथा आनन्दको लागि पूर्वनिर्धारण गर्नु के परमेश्वरको अपक्षपाती गुणको विपरीत हुँदैन र? यसबाहेक, कसैले त्यस्तो अधिक मान्य व्यवहार र अरू बाँकिले चाहिं अनन्त दण्ड पाउँछ भने त्यसले “चुनिएका जनहरू[मा]” सम्भवतः कुनै कृतज्ञताको साँचो भाव जगाउँदैन।—उत्पत्ति १:२७; अय्यूब १:८; प्रेरित १०:३४, ३५.
अन्ततः, सारा मानवजातिलाई सुसमाचार प्रचार गर्न ख्रीष्टले आफ्ना चेलाहरूलाई भन्नुभएको थियो। यदि परमेश्वरले क-कसलाई बचाउने भनेर पहिले नै छानिसक्नुभएको छ भने के त्यसले प्रचार-कार्यमा मसीहीहरूले देखाउने जोशलाई कम पार्दैन र? के त्यसले प्रचार-कार्यलाई निरर्थक बनाउँदैन र?
परमेश्वरको निष्पक्ष प्रेम त्यस्तो बलियो शक्ति हो जसले उहाँप्रति प्रेम दर्शाउन मानिसहरूलाई उत्प्रेरित गर्नसक्छ। परमेश्वरको प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति, असिद्ध, पापी मानवजातिको लागि आफ्नो पुत्रको बलिदान गर्नु थियो। आफ्नो पुत्रको सम्बन्धमा परमेश्वरले देखाउनु भएको पूर्वज्ञान एउटा विशिष्ट उदाहरण थियो। तर त्यसले येशूमा आधारित पुनर्स्थापनाका प्रतिज्ञाहरू निस्सन्देह पूरा हुनेछन् भनेर हामीलाई आश्वासन दिन्छ। अतः त्यस पुत्रमाथि विश्वास गरौं र परमेश्वरको नजिक होऔं। हाम्रो सृष्टिकर्त्तासँग राम्रो सम्बन्ध गाँस्न परमेश्वरले दिनुभएको निमन्त्रणालाई स्वीकारेर हामी आफ्नो मूल्यांकन व्यक्त गरौं। आज, आफ्नो स्वेच्छाको अभ्यास गर्न र उहाँप्रति आफ्नो प्रेम देखाउन चाहने सबैलाई परमेश्वरले यो निमन्त्रणा दिनुहुन्छ।
[फुटनोट]
a “जगत्को उत्पत्तिदेखि” (मत्ती २५:३४) तयार पारिएको राज्यबारे बोल्नुहुँदा मानिसले प्रथम पाप गरेको केही समयपश्चात्लाई येशूले संकेत गर्नुभएको हुनुपर्छ। लूका ११:५०, ५१ ले “जगत्को शुरू” अथवा छुटकाराको बलिदानद्वारा पाप क्षमा गर्न मिल्ने मानवजातिको उत्पत्ति वा हाबिलको समय उल्लेख गर्छ।
[पृष्ठ ७-मा भएको पेटी]
समूहको रूपमा पूर्वनिर्धारित
“जस जसलाई उहाँले अघिबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपमा बनाउनालाई पनि, र धेरै भाइहरूमध्ये उहाँ जेठो होउन् भनेर पनि, अघिबाटै नियुक्त गर्नुभयो।” (रोमी ८:२९, ३०) पावलले यी पदहरूमा प्रयोग गरेको “अघिबाटै चिन्नुभएको” भन्ने शब्दलाई हामीले कसरी बुझ्नु पर्ने हो?
पावलले यहाँ प्रस्तुत गरेको तर्क, व्यक्तिविशेषको पूर्वनिर्धारित भविष्यलाई समर्थन गर्ने अखण्डनीय तर्क होइन। यस शताब्दीको प्रारम्भतिर डिक्शनेर डे थियोलोजी क्याथोलिक्-ले पावलको तर्कलाई (रोमी अध्याय ९-११) यसप्रकार बयान गऱ्यो: “अनन्त जीवनका लागि पूर्वनिर्धारणसम्बन्धी वास्तविक सिद्धान्त लेखिएको थिएन भन्ने मत क्याथोलिक विद्वानहरूबीच बढ्दैछ।” त्यसपछि सोही पुस्तकले एम. लागरान्जको कथनलाई उद्धृत गर्छ: “पावलले उठाएको मुख्य प्रश्न पूर्वनिर्धारित भविष्य वा पूर्वनिर्धारित नरक दण्डसित सम्बन्धित थिएन। बरु मसीही धर्ममा यहूदीहरूको विश्वास कम भएकोले अन्यजातिहरूलाई त्यो धर्म अपनाएर पवित्र हुन दिइएको बोलावटलाई मात्र संकेत गरेको थियो। . . . त्यो प्रश्न कुनै व्यक्तिविशेषसँग प्रत्यक्षतः सम्बन्धित नभई मानिसहरूको समूह, अन्यजाति र यहूदीहरूसँग सम्बन्धित थियो।”—तेर्सो अक्षर हाम्रो।
हालै मात्र द जेरूशलेम बाइबल-ले ती अध्यायहरूको सम्बन्धमा (९-११) यसो भन्दै सोही निष्कर्षमा आए: “तसर्थ महिमा वा विश्वासका लागि व्यक्तिविशेष पूर्वनिर्धारित हुन्छ भन्ने कुरासित यी अध्यायहरू सम्बन्धित छैनन् बरु मानवजातिको छुटकारामा इस्राएलले खेल्ने भूमिकासँग यो सम्बन्धित छ। यही नै पुरानो नियममा दिइएका कथनहरूले उठाएको एक मात्र विवाद हो।”
रोमी अध्याय ८ का अन्तिम पदहरू त्यही प्रसंगसित मेल खान्छ। अत:, परमेश्वरले मानवजातिबीच ख्रीष्टसँगै राज्य गर्न बोलाइने मानिसहरूको वर्ग वा समूहको पूर्वदृष्टि पाउनुको साथै तिनीहरूले पूरा गर्नु पर्ने आवश्यकताहरूको पनि पूर्वदृष्टि पाउनु भयो भनेर यी पदहरूले पूर्ण औचित्यका साथ हामीलाई यी पदहरूले स्मरण गराउँछ। र छानिने व्यक्तिहरूलाई नियुक्त गर्नअघि नै यो बोलावट भयो, अन्यथा त्यो उहाँको प्रेम र न्यायको विपरीत हुनेथियो।