प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१५ पृ. ३-४
  • के हाम्रो भविष्य पहिल्यै लेखिसकिएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के हाम्रो भविष्य पहिल्यै लेखिसकिएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वरले हाम्रो भविष्य पूर्वनिर्धारण गरिसक्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मानिसको भाग्यको खोजीमा
    ब्यूँझनुहोस्‌!—१९९९
  • भाग्यमा विश्‍वासले के तपाईंको जीवनलाई डोऱ्‍याउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • भाग्य वा संयोग?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१५ पृ. ३-४

के हाम्रो भविष्य पहिल्यै लेखिसकिएको छ?

इसाई, मुसलमान, यहूदी, हिन्दू वा अन्य धर्मावलम्बीहरू—सबैमाथि विपत्ति आइपर्छ अनि आँसुमा डुब्छन्‌।

उदाहरणका लागि, डिसेम्बर ६, १९९७ का दिन साइबेरियाको इरकुट्‌स शहरमा डरलाग्दो दुर्घटना घट्यो। ए एन-१२४ नामक विशाल हवाईजहाज उडेको मात्र के थियो त्यसका दुइटा इन्जिनले धोका दियो। टन्‍न इंधन भरिएको उक्‍त जहाज आवासीय क्षेत्रमा खस्यो। अनेकौं घरहरूलाई आगोको ज्वालाले भस्म गऱ्‍यो र निर्दोष बालबालिकाहरूलगायत थुप्रै असहाय व्यक्‍तिहरू अकाल मृत्युको मुखमा परे अनि थुप्रै घाइते भए।

उक्‍त घटना घटेको साइबेरिया क्षेत्रमा पक्कै पनि भिन्‍नाभिन्‍नै धार्मिक दृष्टिकोण भएका मानिसहरू बसोबास गर्छन्‌। कोही कोहीले इसाई हुँ भन्‍ने दाबी गरे तापनि तिनीहरूले उक्‍त घटना भाग्यको खेल हो भन्ठान्लान्‌। तिनीहरूका साथै अन्य मानिसहरूले सोचेका होलान्‌, ‘यो त परमेश्‍वरकै इच्छा हो। अनि तिनीहरू यसरी नमारिएका भए पनि कुनै अर्को तरिकामा त मर्ने नै थिए—तिनीहरूको भाग्य नै यस्तो।’

चाहे व्यक्‍त गरिएको होस्‌ वा मनमै गुम्साएर राखिएको किन नहोस्‌, यस्तो विचारधाराले प्रायजसो धर्ममा एउटा धारणा समान छ भन्‍ने देखाउँछ। त्यो हो—भाग्य। अधिकांश मानिसहरू हाम्रो भविष्य अर्थात्‌ जन्मदेखि मरणसम्मका कुराहरू एक वा अर्को तरिकामा पहिल्यै लेखिएको हुन्छ भनी विश्‍वास गर्छन्‌।

भाग्यमा अनेक प्रकारले विश्‍वास गरिन्छ। फलतः यसको एउटै परिभाषा दिन गाह्रै छ। साधारणतया, भाग्य भन्‍नाले सबै कुराहरू अर्थात्‌ हरेक कार्य, असल वा खराब घटनाहरू अपरिहार्य हुन्छ; त्यो जसरी पनि आइपर्छ किनकि मानिसहरूको नियन्त्रणबाहिरको सर्वोच्च शक्‍तिद्वारा पहिल्यै त्यो निर्धारित भइसकेको हुन्छ भन्‍ने बुझाउँछ। यस्तो धारणा ज्योतिषविद्या, हिन्दू र बौद्ध धर्मावलम्बीहरूको कर्मका साथै मसीहीजगत्‌को पूर्वनिर्धारित भविष्यको सिद्धान्तमा पनि पाइन्छ। प्राचीन बेबिलोनमा, देवताहरूले लिखित दस्ताबेजद्वारा भाग्य र भविष्य नियन्त्रण गर्छन्‌ भन्‍ने मानिसहरूको विश्‍वास थियो। ती “भाग्यका पाटीहरू” नियन्त्रण गर्ने देवताले नै मानिस, देश र अन्य देवताहरूको समेत भाग्य निर्धारण गर्छ भन्‍ने धारणा पनि राखिन्थ्यो।

परमेश्‍वरले ईश्‍वरीय फैसलाद्वारा मानिसहरू जन्मनुअगावै तिनीहरूको जीवनअवधि, तिनीहरू पुरुष वा महिला, धनी वा गरिब, दीनदुःखी वा सुखी हुने निर्णय गरिसक्नुभएको हुन्छ भनेर अधिकांश अनुयायीहरू विश्‍वास गर्छन्‌। भनिन्छ, ती कुराहरू परमेश्‍वरको मनमा हुन्छन्‌ वा पहिल्यै एउटा पुस्तकमा लेखिएका हुन्छन्‌। तसर्थ, विपत्ति आइपर्दा कुनै अनुयायीले “मेकतुब” अर्थात्‌ यस्तै लेखिएको थियो भन्‍नु कुनै अनौठो कुरा होइन। परमेश्‍वरले सबै कुरा पहिल्यै जान्‍नुभएको हुनाले कसले आज्ञा पालन गर्छ र कसले गर्दैन भनेर उहाँले नै निर्णय गर्नुभएको हुनुपर्छ भन्‍ने तर्क पनि गरिन्छ। अतः अधिकांश अनुयायीहरू के विश्‍वास गर्छन्‌ भने मानिस जन्मनुअगावै उसले प्रमोदवनमा अनन्त सुख पाउने हुन्‌ या अनन्त नाशको दण्ड भोग्ने हुन्‌ भनेर परमेश्‍वरले निर्णय गरिसक्नुभएको हुन्छ।

तपाईंलाई उक्‍त कुरा मसीहीजगत्‌का केही चर्चहरूले सिकाउने पूर्वनिर्धारित भविष्यको शिक्षासित मिल्दोजुल्दो लाग्नसक्छ। पूर्वनिर्धारित भविष्यको प्रतिपादन गर्ने पहिलो प्रोटेस्टेन्ट १६ शताब्दीका फ्रेन्च सुधारक जोन क्याल्भिन थिए। तिनको परिभाषाअनुसार पूर्वनिर्धारित भविष्य “परमेश्‍वरको अनन्त फैसला हो जुन फैसलाद्वारा उहाँले एक एक मानिससँग गर्नुहुने कुरा निर्धारित गर्नुहुन्छ। सबै मानिस एउटै अवस्थामा सृजिएका हुँदैनन्‌ तर कसैका लागि अनन्त जीवन भने कसैका लागि अनन्त दण्ड पूर्वनिर्धारित गरिएको हुन्छ।” क्याल्भिनले यस्तो ठोकुवा पनि गरे: “परमेश्‍वरले पहिलो मानिसको पतन र तिनका सन्ततिमाथि आइपर्ने सर्वनाश देख्नुभएको मात्र होइन तर त्यो त उहाँले आफ्नै इच्छाअनुसार गर्नुभएको थियो।”

यद्यपि, पूर्वनिर्धारित भविष्य तथा भाग्यवादको शिक्षा दिने धर्महरूका हरेक सदस्यहरूले व्यक्‍तिगत रूपमा त्यसलाई विश्‍वास गर्दैनन्‌। कसै कसैले धार्मिक लेखोटहरूमा मानिसको स्वेच्छाबारे उल्लेख गरिएको छ भनी सही कुरा औंल्याउँछन्‌। भनौं भने, मानिसहरूको कार्य तिनीहरूको छनौट गर्ने स्वतन्त्रताको परिणाम हो कि परमेश्‍वरले त्यसलाई पूर्वनिर्धारित गर्नुभएको हो भन्‍ने विषयमा चर्को विवाद हुँदै आएको छ। उदाहरणका लागि, कोही कोही के तर्क गर्छन्‌ भने परमेश्‍वरले मानिसलाई जिम्मेवार ठहऱ्‍याउनुहुन्छ र उसको कामको लेखा लिनुहुन्छ भने मानिससँग छनौट तथा काम गर्ने स्वतन्त्रता हुनैपर्छ। अरूको भनाइअनुसार चाहिं परमेश्‍वरले मानिसहरूको कामहरू रच्नुहुन्छ तर मानिसले त्यसलाई कुनै न कुनै तरिकामा “प्राप्त गर्छन्‌” र त्यसको जिम्मेवार बन्छन्‌। तथापि, साधारणतया अधिकांश मानिसहरू हाम्रो दिनानुदिन जीवनका हरेक ठूला वा साना घटनाहरू परमेश्‍वरले नै फैसला गर्नुभएको हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌।

तपाईं के विश्‍वास गर्नुहुन्छ? तपाईंको भविष्य कस्तो हुनेछ भनेर के परमेश्‍वरले पहिल्यै निर्धारित गरिसक्नुभएको छ? के मानिसहरूसँग साँच्चै स्वेच्छा अर्थात्‌ आफ्नो भविष्यका लागि सही छनौट गर्नसक्ने क्षमता छ त? हाम्रो भाग्य कुन हदसम्म आफ्नै कार्यमा निर्भर छ? यसपछिको लेखले उक्‍त प्रश्‍नहरूको जवाफ दिनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

SEL/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने