प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ३/१ पृ. ३-५
  • येशूका चमत्कारहरू इतिहास कि मिथ्या?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूका चमत्कारहरू इतिहास कि मिथ्या?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असम्भव?
  • आधिकारिकताको प्रमाण
  • लौकिक पुष्टि
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • चमत्कारहरू तथ्य कि मिथ्या?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशूले गर्नुभएका चमत्कारहरू तथ्य वा मिथ्या?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ३/१ पृ. ३-५

येशूका चमत्कारहरू इतिहास कि मिथ्या?

“तब रातको चौथो पहरमा उहाँ समुद्रमाथि हिंड्‌दै तिनीहरूकहाँ आउनुभयो।”—मत्ती १४:२५.

विश्‍वका लाखौं मानिसहरूका लागि ख्रीष्टका चमत्कारहरूमा विश्‍वास राख्नु स्वयं परमेश्‍वरमा विश्‍वास गर्नु जतिकै महत्त्वपूर्ण छ। येशूको जीवनीका लेखकहरू अर्थात्‌ मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूका करीब ३५ चमत्कारहरूको वर्णन गरेका छन्‌। तथापि उहाँले योभन्दा अझ थुप्रै अलौकिक करामातहरू गर्नु भएको कुरा तिनीहरूको लेखबाट सूचित हुन्छ।—मत्ती ९:३५; लूका ९:११.

ती चमत्कारहरू कसैको मनोरञ्जनका लागि गरिएका थिएनन्‌। ती चमत्कारहरू परमेश्‍वरको पुत्र तथा वर्षौंदेखि प्रतीक्षा गरिएको मसीह हुँ भन्‍ने येशूको दाबीका अभिन्‍न भाग थिए। (यूहन्‍ना १४:११) मोशाले पनि दासत्वमा परेका इस्राएली जातिको सामु आफूलाई प्रस्तुत गर्दा चमत्कारपूर्ण चिह्नहरू गरेर देखाएका थिए। (प्रस्थान ४:१-९) अतः भविष्यवाणीअनुसार मोशाभन्दा महान हुनु हुने मसीहबाट स्वभाविकतः ईश्‍वरीय समर्थनको केही न केही चिह्न देख्ने प्रतीक्षा अवश्‍य गरिन्थ्यो। (व्यवस्था १८:१५) तसर्थ बाइबलले येशूलाई “शक्‍ति . . . र आश्‍चर्यकामहरू र चिह्नहरू“-का लागि प्रसिद्ध मानिसको रूपमा प्रस्तुत गर्दछ।—प्रेरित २:२२.

यसप्रकार बाइबलले येशूलाई चमत्कारकर्ताको रूपमा चित्रित गर्दा बितेका समयहरूमा मानिसहरूले साधारणतः कुनै शंका बिना स्वीकार गरी हाल्थे। तर हालसालैका दशकहरूमा भने येशूका जीवनीहरू जोडदार समालोचनाको शिकार भएका छन्‌। आफ्नो पुस्तक डिसेप्शन्स एन्ड मिथ्स अफ द बाइबल-मा लईड्‌ ग्रेहमले येशू पानीमाथि हिंड्‌नुभएको बाइबलीय वृत्तान्तलाई छुँदै यहाँ सम्म भने: “यस्तो कुरालाई अक्षरक्षः पत्याउन मानिस अति नै अज्ञानी हुनु पर्छ। तापनि आज अक्षरक्षः लाखौं मानिसहरूले यसलाई अक्षरक्षः पत्याइरहेछन्‌। नभन्दै हाम्रो संसारको यस्तो दुर्गति छ। तर यस्तो अज्ञानतामा आधारित संसार योभन्दा राम्रो हुन पनि कसरी सक्थ्यो र?“

असम्भव?

तथापि यस्ता समालोचनाहरू मनासिब छैनन्‌। द वर्ल्ड बुक इनसायक्लोपिडिया-को परिभाषाअनुसार चमत्कार “एउटा त्यस्तो घटना हो जसको व्याख्या प्रकृतिका ज्ञात नियमहरूबमोजिम गर्न सकिंदैन।” यो परिभाषाअनुसार रङ्‌गीन टीभी, सेल्युलर फोन तथा ल्यापटप कम्प्युटरहरू एक शताब्दीअघि चमात्कारहरूमध्ये गनिने थिए! तर यी कुराहरू आज संसारका थुप्रै भागहरूमा सामान्य भइ सकेका छन्‌। अतः कुनै कुराको व्याख्या वर्तमान वैज्ञानिक ज्ञानअनुसार गर्न सकिंदैन भन्दैमा त्यसलाई हठ्‌पूर्वक असम्भव घोषित गर्नु के मनासिब हो?

विचार गर्नु पर्ने यो एउटा अर्को कुरा पनि छ: “नयाँ नियम” युनानी भाषामा लेखिएको थियो। यस भाषामा “चमत्कार” बोध गराउन डाइनामिस भन्‍ने शब्द चलाइएको थियो। यो शब्दको मूल अर्थ “शक्‍ति” हो। त्यसलाई “आश्‍चर्यकर्म” अथवा “खुबी” पनि भनिन्थ्यो। (लूका ६:१९; १ कोरिन्थी १२:१०; मत्ती २५:१५) बाइबलअनुसार येशूका चमत्कारहरू “परमेश्‍वरको महत्त्वका [परमेश्‍वरको महान शक्‍तिका, न्यु व.]” प्रदर्शनहरू थिए। (लूका ९:४३, न्यु व.) अब के यस्ता कामहरू “शक्‍तिको बडप्पन” हुने सर्वशक्‍तिमान परमेश्‍वरका लागि असम्भव हुन्थ्यो र?—यशैया ४०:२६.

आधिकारिकताको प्रमाण

येशूका चार जीवनीहरूलाई नियालेर हेर्दा तिनीहरूको विश्‍वसनीयताबारे अझ प्रमाण पाइन्छ। एउटा त तिनीहरू पौराणिक तथा काल्पनिक कथाहरूभन्दा स्पष्टतः बेग्लै छन्‌। उदाहरणका लागि, येशूको मृत्युपश्‍चात्‌का शताब्दीहरूमा उहाँबारे फैलिएका केही मिथ्या कथाहरूलाई विचार गर्नुहोस्‌। “गस्पल अफ थमस” नामक गुप्त लेख यसो भन्छ: “येशू पाँच वर्षको केटो छँदा . . . उनी गाउँबाट गइरहेका थिए। यति मै एक जना ठिटोले दगुर्दैं आएर येशूका कुम्‌लाई धक्का दियो। येशू क्रोधित हुँदै तेयो ठिटालाई भन्‍नु भयो: ‘तँ अब यहाँबाट अधि बढ्‌न पाउने छैनस्‌।’ अनि त्यो ठिटा त्यहीं नै लोटेर मरी हाल्यो।” यो कथा स्पष्टतः काल्पनिक हुनुपर्छ। यहाँ चित्रित रिसाहा र छुच्चो केटो तथा बाइबलमा चित्रित येशूबीच अलिकता पनि समानता छैन—लूका २:५१, ५२ दाँज्नुहोस्‌।

अब येशूका आधिकारिक जीवनीहरूलाई विचार गर्नुहोस्‌। तिनीहरूमा कुनै पनि अतिशयोक्‍ति तथा मिथ्या कुराहरू पाइँदैन। येशूले वास्तविक आवश्‍यकताहरू पूरा गर्न चमत्कार गर्नु हुन्थ्यो। कसैको मनोरञ्जनका लागि होइन। (मर्कूस १०:४६-५२) येशूले कहिल्यै पनि आफ्नो शक्‍ति निजी फायदाका लागि प्रयोग गर्नु भएन। (मत्ती ४:२-४) नता उहाँले अरूहरूसमक्ष धाक लाउन वा अरूहरूलाई प्रभावित पार्न आफ्नो शक्‍ति चलाउनु भयो। यहाँसम्म कि जिज्ञासु राजा हेरोदले येशूबाट “आश्‍चर्यकाम” देख्ने इच्छा गर्दा येशूले “तिनलाई केही जवाफ दिनुभएन।”—लूका २३:८, ९.

येशूका चमत्कारहरू पेशेवर चटकबाज, जादूगर र विश्‍वासको आधारमा निको तुल्याइटोपल्नेहरूको काम भन्दा सम्पूर्णतः बेग्लै छन्‌। उहाँका शक्‍तिशाली कार्यहरूबाट सधैं परमेश्‍वरको महिमा हुन्थ्यो। (यूहन्‍ना ९:३; ११:१-४) देखावटी भावुकता, मन्त्र जपाइ, आडम्बर तथा मोहनिद्रा उहाँका चमत्कारहरूमा पटक्कै हुँदैन थिए। एक पटक बर्तिमै नामक अन्धो भिखारीसित येशूको भेट भएको थियो। त्यस भिखारीले कराएर येशूलाई “रब्बोनी, म दृष्टि पाऊँ” भन्दा येशूले यो सरल जवाफ दिनु भयो: “‘तिम्रो बाटो लाग, तिम्रो विश्‍वासले तिमीलाई सद्दे तुल्याएको छ।’”—मर्कूस्‌ १०:४६-५२.

येशूको जीवनीअनुसार उहाँले आफ्ना पराक्रमी कार्यहरू गर्दा नाटकीय टेवाहरू तथा आँखालाई भ्रममा पार्ने किसिमको ज्योति प्रदर्शन प्रयोग गर्नु भएन। उहाँका चमत्कारहरू खुलेआम तथा थुप्रै प्रत्यक्षदर्शीहरू समक्ष गरिन्थ्यो। (मर्कूस्‌ ५:२४-२९; लूका ७:११-१५) आधुनिक धार्मिक वैद्यहरूका प्रयासहरूको ठीक विपरीत, उहाँकहाँ जाने कुनै व्यक्‍तिको विश्‍वासको अभावले गर्दा उहाँको एउटै पनि चमत्कार असफल भएन। मत्ती ८:१६-भन्छ: “जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।”

आफ्नो पुस्तक “मेनी इनफेलिबल प्रुफ्स:” दी एविडेन्सेस्‌ अफ क्रिस्चियानिटि-मा विद्वान आर्थर पियरसन्‌ले ख्रीष्टका चमत्कारहरूबारे यसो भनेका छन्‌: “ती चमत्कारहरूको सङख्या, तत्कालीनता, सम्पूर्ण उपचार तथा मृतक समेतलाई पुनः जीवित पार्ने प्रयासमा उहाँ एक पटक पनि असफल हुनु भएन। यी कुराहरूले वर्तमानमा अद्‌भुत भनौदा कामहरू र येशूका चमत्कारहरूबीच असीमित भिन्‍नताको रेखा कोरी दिन्छ।”

लौकिक पुष्टि

येशूका जीवनीहरूको वृत्तान्तलाई पुष्टि दिने अझ अर्को तर्क प्रस्तुत गर्दै पियरसन्‌ यसो भन्छन्‌: “शास्त्रमा उल्लिखित चमत्कारहरूको सबैभन्दा ठूलो पुष्टि त शत्रुहरू समेतको मौन स्वीकृति हो।” यहूदी धर्मगुरुहरू कुनै हालतमा पनि येशूलाई विश्‍वास गर्न चाहँदैन थिए। तर उहाँका चमत्कारहरू यति सर्वविदित थिए कि तिनलाई उहाँका शत्रुहरूले पनि अस्वीकार गर्न सकेनन्‌। तिनीहरूले ज्यादा से ज्यादा ती चमत्कारहरूको स्रोत भूतात्माहरू हुन्‌ भन्‍न सके। (मत्ती १२:२२-२४) येशूको मृत्युपश्‍चात्‌ सदियौंपछि पनि यहूदी ताल्मुद्‌का लेखकहरूले येशूको चमत्कारी शक्‍तिलाई महत्त्व दिइनै रहे। जुविश एक्सप्रेसन्स अन जिसस्‌ नामक पुस्तकअनुसार चाहिं तिनीहरूले उहाँ “जादूटोन्हा गर्ने मानिस” थिए भन्दै उहाँलाई होच्याउन खोजे। तर येशूका चमत्कारहरूलाई यति सजिलैसित दबाउन सम्भव भए के तिनीहरूले यसप्रकारको टिप्पणीसम्म पनि गर्थे होलान्‌ र?

थप प्रमाण चौथो शताब्दीका चर्च इतिहासकार युसेबियसबाट आउँछ। द हिस्ट्ररी अफ द चर्च फ्रम क्राइस्ट टु कन्सटनटाइन नामक आफ्नो पुस्तकमा युसेबियसले क्वाड्‌रेटस भन्‍ने एक जना व्यक्‍ति विशेषलाई उद्धृत गरेका छन्‌ जसले मसीही धर्मको पक्षमा सम्राट हेड्रियनलाई पत्र पठाएका थिए। सो पत्रमा क्वाड्‌रेटसले यसप्रकार लेखे: “हाम्रो मुक्‍तिदाताका कार्यहरू सधैं सबैको सामु प्रत्यक्ष थिए, तिनीहरू सत्य थिए। बिरामीबाट निको भएका तथा मृतावस्थाबाट बिउँतिएका ती मानिसहरू निको भएको अथवा बिउँतिएको बेलामा मात्र देखा परेनन्‌। तिनीहरूलाई त्यहाँ सधैं देख्न सकिन्थ्यो। हाम्रो मुक्‍तिदाता हाम्रो माझमा हुनु हुँदा मात्र होइन। उहाँको प्रथानपछिको लामो समयावधिसम्म पनि। बास्तवमा तिनीहरूमध्ये केही त मेरै समयसम्म पनि बाँचेका थिए।” विद्वान विलियम बार्कलेले पनि यो विचार व्यक्‍त गरे: “क्वाड्‌रेटसको भनाइअनुसार येशूले निको पार्नु भएका मानिसहरू उनको समयसम्म पनि बाँचेका थिए। तिनीहरूलाई प्रमाणको रूपमा प्रस्तुत गर्न सकिन्थ्यो। अब यो कुरा असत्य हुँदो हो त रोमी सरकारले ती प्रत्यक्षदर्शीहरूको दाबीलाई सजिलैसित झूटो साबित गर्न सक्थ्यो।”

येशूका चमत्कारहरूमा विश्‍वास गर्नु मनासिब छ, तार्किक छ र पूर्णतः प्रमाणिक छ। तथापि, येशूका चमत्कारहरू बितेको इतिहास मात्र होइन। “येशू ख्रीष्ट हिजो, आज, अँ सधैंभरि एकनास हुनुहुन्छ” भनी हामीलाई हिब्रू १३:८-ले सम्झना गराउँछ। हो, उहाँ आज स्वर्गमा जीवित हुनुहुन्छ। चमत्कार गर्ने आफ्नो शक्‍तिलाई उहाँले पृथ्वीमा मानवको रूपमा हुनु हुने बेलामा भन्दा आज धेरै नै व्यापक रूपमा चलाउन सक्नुहुन्छ। यसको अलावा येशूका जीवनीहरूमा उल्लिखित चमत्कारहरूको वृत्तान्तबाट (१) मसीहीहरूले आज व्यावहारिक शिक्षा लिन सक्छन्‌ (२) येशूको व्यक्‍तित्वका अद्‌भुत पक्षहरू देख्न सक्छन्‌ (३) तथा चाँडै भविष्यमा आउने समयमाथि ध्यान केन्द्रित गर्न सक्छन्‌ जब अझ धेरै नै रोमाञ्चकारी घटनाहरू घटनेछन्‌!

यी तीन बुँदाहरू बाइबलका तीन प्रख्यात वृत्तान्तहरूद्वारा कसरी सुस्पष्ट हुन्छन्‌, सो आउँदो लेखले बताउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने