प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१५ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • साँचो उपासकहरूको ठूलो भीड—तिनीहरू कहाँबाट आएका छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको सिंहासनअगाडि एउटा ठूलो भीड
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • यहोवाको सिंहासनअगाडि एक ठूलो भीड
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • अरू भेडाको ठूलो भीडले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१५ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

किटेरै भन्‍ने हो भने, बाइबलमा उल्लिखित “अरू भेड़ा” र “ठूलो भीड़” शब्दबीच के कुनै भिन्‍नता छ?

छ, यद्यपि हामी शब्दको प्रयोगमाथि अनावश्‍यक रूपमा संवेदनशील हुनु आवश्‍यक छैन न ता कसैले ती दुइ शब्दहरूलाई एकअर्काको ठाउँमा अदली बदली गरी चलाउँदा विचलित नै हुनुपर्छ।

यी दुइ शब्दहरू कहाँ कहाँ उल्लेख गरिएका छन्‌, ती परिच्छेदहरूसँग प्रायजसो मसीहीहरू परिचित छन्‌। तीमध्ये एउटा यूहन्‍ना १०:१६ हो। उक्‍त पदमा येशूले यसो भन्‍नुभयो: “मेरा अरू भेड़ा छन्‌, जो यस गोठका होइनन्‌, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, र तिनीहरूले मेरो सोर सुन्‍नेछन्‌, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्‌।” अर्को अभिव्यक्‍ति, “ठूलो भीड़” प्रकाश ७:९ मा पाइन्छ। त्यहाँ यस्तो लेखिएको छ: “यी कुरापछि हेर, कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका मैले देखें।”

आउनुहोस्‌, सर्वप्रथम यूहन्‍ना १०:१६ माथि ध्यान देऔं। भेडाहरू को हुन्‌? वास्तवमा येशूका सबै वफादार अनुयायीहरूलाई “भेड़ा” भनी सम्बोधन गरिन्छ भनी हामीले सम्झनु बेस हुनेछ। लूका १२:३२ मा येशूले स्वर्गीय आशा भएकाहरूलाई मेरो “सानो बगाल” भन्‍नुभयो। तर बगाल केको? भेडाहरूको। यस “सानो बगाल[का]” “भेड़ा[हरू]” स्वर्गको राज्यमा भागीदार हुनेछन्‌। तथापि, भिन्‍नै आशा भएका अरू पनि छन्‌ जसलाई येशूले आफ्नो भेडा सम्झनुहुन्छ।

यो हामी यूहन्‍ना १० अध्यायमा पाउँछौं। स्वर्गीय जीवनका लागि आफूले बोलाउन लाग्नुभएका उहाँका प्रेरितहरूजस्ता भेडाहरूबारे कुरा गरिसक्नुभएपछि पद १६ मा येशू अझै यसो भन्‍नुहुन्छ: “मेरा अरू भेड़ा छन्‌, जो यस गोठका होइनन्‌, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ।” येशूले पार्थिव आशा पाउने मानिसहरूबारे बोल्दै हुनुहुन्थ्यो भनी यहोवाका साक्षीहरूले धेरै अघिदेखि बुझ्दै आएका छन्‌। मसीही पूर्व समयका अब्राहाम, सारा, नूह र मलाकीजस्ता विश्‍वासी जनहरू ती मानिसहरूमध्ये थिए। अतः यूहन्‍ना १०:१६ को “अरू भेड़ा[मा]” तिनीहरूलाई समावेश गर्नु मनासिब छ। सहस्र वर्षे राज्यमा त्यस्ता मसीही पूर्व विश्‍वासी साक्षीहरूको पुनरुत्थान गरिनेछ। त्यसपछि तिनीहरूले ख्रीष्ट येशूबारे सिकेर उहाँलाई स्वीकार्नेछन्‌ र असल गोठालाका “अरू भेड़ा” हुनेछन्‌।

हामीलाई यो पनि थाह छ, स्वर्गीय झुन्डको लागि बोलावट अन्त भएपछि लाखौं मानिसहरू साँचो मसीहीहरू भएका छन्‌। यिनीहरू “साना बगाल[का]” सदस्य नभएकोले उचित ढंगमा यिनीहरूलाई पनि “अरू भेड़ा” भनी नामाकरण गरिएको छ। बरु, आज अरू भेडामा समावेश सबैले पार्थिव प्रमोदवनमा जीवन बिताउने आशा गर्छन्‌।

त्यसोभए, प्रकाश ७:९ मा उल्लिखित “ठूलो भीड़[को]” परिचयबारे हामी के भन्‍न सक्छौं? पद १३ र त्यहाँ सोधिएको यो प्रश्‍नलाई विचार गर्नुहोस्‌, “यी . . . को हुन्‌ र कहाँबाट आएका हुन्‌?” यसको जवाफ हामी प्रकाश ७:१४ मा पाउँछौं: “यी तिनै हुन्‌ जो महा संकष्टबाट आएका छन्‌।” अतः “ठूलो भीड़[मा]” संकष्ट पार तर्ने, त्यसबाट निस्केर आउने अथवा संकष्टबाट बचाइनेहरू समावेश छन्‌। र पद १७ अनुसार तिनीहरूलाई पृथ्वीमा ‘जीवनका पानीहरूका फोहोरासम्म डोऱ्‍याइनेछ।’

यद्यपि, तपाईंले यो कुरा मनमा राख्न सक्नुहुन्छ, महा संकष्टबाट बच्न यिनीहरूले आफ्नो लुगा थुमाको रगतमा धोएर साँचो उपासकहरू भइसकेको हुनुपर्छ। तसर्थ, प्रकाश ७:९ ले संकष्टपश्‍चात्‌ यस भीडको विवरण दिएको भए तापनि, अहिले अर्थात्‌ झूटो धर्ममाथि राष्ट्रहरूको आक्रमणको लगत्तैपछि सुरु हुने महा संकष्टअघि परमेश्‍वरलाई पवित्र सेवा चढाउने ती सबै व्यक्‍तिहरूलाई बुझाउन “ठूलो भीड़” भन्‍ने शब्द हामी प्रयोग गर्नसक्छौं। साथै तिनीहरूको आशा पार्थिव हो।

संक्षेपमा भन्‍ने हो भने, “अरू भेड़ा” भन्‍ने शब्दलाई पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका परमेश्‍वरका सबै सेवकहरूलाई समेट्‌ने विस्तृत शब्दको रूपमा हेर्नसक्छौं। जसमा अहिले “ठूलो भीड़[को]” रूपमा जम्मा गरिंदै गरिएको भेडा खाले व्यक्‍तिहरूको अझ सीमित श्रेणी समावेश छ। अतः आज जीवित अधिकांश निष्ठावान मसीहीहरू “अरू भेड़ा[का]” साथै “ठूलो भीड़[का]” भाग हुन्‌।

तथापि, यो कुरा दोहोऱ्‍याउनु उचित होला, यी विषयहरूमा स्पष्ट थाह हुनु राम्रो भए तापनि शब्दहरूमाथि अनावश्‍यक रूपमा चिन्ता गर्नु आवश्‍यक छैन, जसलाई शब्दहरूबारे साह्रै आलोचनात्मक हुनु भन्‍न सकिन्छ। “घमण्डले फुलेको” र “वाद-विवाद गर्ने” केही व्यक्‍तिहरूबारे पावलले चेताउनी दिएका थिए। (१ तिमोथी ६:४) हामीलाई शब्दहरूबीचको कुनै भिन्‍नता थाह छ भने त्यो राम्रै कुरा हो। यद्यपि, बाइबलमा उल्लिखित शब्दहरूको अर्थ सही ढंगमा नचलाउनेहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामीले आलोचना गर्नुहुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने