यहोवाको शुद्ध उपासनाको लागि डाही
“परमप्रभु, जसको नाउँ डाही हो, डाही परमेश्वरनै हुनुहुन्छ।”—प्रस्थान ३४:१४.
१. परमेश्वरको प्रमुख गुन के हो र यो डाहसित कसरी सम्बन्धित छ?
यहोवाले आफूलाई “डाही परमेश्वर” भनेर वर्णन गर्नुहुन्छ। तपाईं छक्क पर्दै भन्नुहोला, “डाही” शब्दको नकारात्मक अर्थ पो हुन्छ। निस्सन्देह, परमेश्वरको प्रमुख गुन, प्रेम हो। (१ यूहन्ना ४:८) तसर्थ, उहाँका डाही भावनाहरू मानवजातिको भलाइकै निम्ति हुनुपर्छ। वास्तवमा, परमेश्वरको डाह ब्रम्हाण्डको शान्ति र सामञ्जस्यताको लागि महत्त्वपूर्ण छ भनेर हामीले बुझ्नेछौं।
२. “डाह” अर्थ बुझाउने हिब्रू शब्दहरूलाई कसरी बेग्लाबेग्लै ढंगमा अनुवाद गरिएको छ?
२ हिब्रू शास्त्रमा डाहसित सम्बन्धित हिब्रू शब्दहरू ८० पटकभन्दा बढी प्रयोग गरिएका छन्। यसमध्ये आधा जति संकेतहरू यहोवा परमेश्वरलाई बुझाउन प्रयोग गरिएका छन्। जी. एच. लिभिंग्स्टन यसरी वर्णन गर्छन्, “परमेश्वरलाई संकेत गर्न प्रयोग गर्दा डाहले अस्पष्ट भावनालाई बुझाउँदैन तर यहोवाको उपासनाको निम्ति ऐकान्तिकतामाथि जोड” दिन्छ। (द पेन्टाट्युक इन इट्स कल्चरल एनभाइरनमेन्ट) तसर्थ, न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्व अनुवाद) यस हिब्रू संज्ञालाई कहिलेकाहीं “ऐकान्तिक भक्तिमाथि जोड” भनी अनुवाद गरेको छ। (इजकिएल ५:१३) अन्य उपयुक्त अनुवादहरू “उत्साह” वा “जोश” हुनसक्छन्।—भजन ७९:५; यशैया ९:७.
३. कहिलेकाहीं डाहले कसरी राम्रो उत्प्रेरणा प्रदान गर्नसक्छ?
३ मानिसलाई सृष्टि गर्दा उसलाई डाह गर्ने क्षमता दिइएको थियो तर मानवजाति पापमा फँसेपछि डाहले विकृत रूप लियो। तापनि, मानिसको डाहले राम्रो उत्प्रेरणा प्रदान गर्नसक्छ। यसले आफ्नो प्रियजनलाई खराब प्रभावहरूदेखि जोगाउन उत्प्रेरित गर्नसक्छ। यसबाहेक, मानिसहरूले यहोवा र उहाँको उपासनाप्रति उचित ढंगमा डाह देखाउनसक्छन्। (१ राजा १९:१०) यहोवाप्रति त्यस्तो डाहको सही अर्थ बुझाउने हिब्रू संज्ञालाई “कुनै प्रतिद्वन्दलाई नसहनु” भनी अनुवाद गर्न सकिन्छ।—२ राजा १०:१६, न्युव.
सुनको बाछा
४. परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्थामा धार्मिक डाहसित सम्बन्धित कुन आज्ञा विशिष्ट थियो?
४ धार्मिक डाहको उदाहरण इस्राएलीहरूले सीनै पर्वतमा व्यवस्था प्राप्त गरेपछिको घटनाबाट प्रकट हुन्छ। मानव निर्मित देउताहरूको उपासना नगर्नू भनी तिनीहरूलाई बारम्बार चेताउनी दिइएको थियो। यहोवाले तिनीहरूलाई यसो भन्नुभयो: “म यहोवा, तेरा परमेश्वर, ऐकान्तिक भक्तिको माग गर्ने परमेश्वर हुँ [अथवा, “डाह गर्ने (जोशिलो) परमेश्वर हुँ; प्रतिद्वन्दलाई नसहने परमेश्वर”]।” (प्रस्थान २०:५, न्युव, पादटिप्पणी; प्रस्थान २०:२२, २३ तुलना गर्नुहोस्; प्रस्थान २२:२०; २३:१३, २४, ३२, ३३) यहोवाले इस्राएलीहरूसित करार बाँध्नुभयो र तिनीहरूलाई आशिष् दिएर प्रतिज्ञा गरिएको देशमा ल्याउने कबुल गर्नुभयो। (प्रस्थान २३:२२, ३१) अनि मानिसहरूले यसो भने: “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”—प्रस्थान २४:७.
५, ६. (क) सीनै पर्वतमा पाल टाँगेर बस्दा इस्राएलीहरूले कसरी गम्भीर पाप गरे? (ख) यहोवा र उहाँका निष्ठावान् उपासकहरूले सीनैमा धार्मिक डाह कसरी व्यक्त गरे?
५ तापनि, इस्राएलीहरूले परमेश्वरको विरुद्ध पाप गरिहाले। तिनीहरूले अझै सीनै पर्वतको छाउनीमा पाल टाँगेर बसेका थिए। मोशाले पर्वतमा परमेश्वरबाट थप निर्देशनहरू प्राप्त गरिरहेको निकै दिन भइसकेको थियो र मानिसहरूले मोशाको दाइ, हारूनलाई तिनीहरूको निम्ति एउटा देउता बनाइ दिन निकै कचकच गरे। हारूनले मानिसहरूको कुरा सुनेर तिनीहरूले दिएका सुनबाट एउटा बाछो बनाए। यो मूर्तिले यहोवाको प्रतिनिधित्व गर्छ भन्ने दाबी गरे। (भजन १०६:२०) भोलिपल्ट तिनीहरूले बलिदानहरू चढाए र त्यसैलाई “पूजे।” त्यसपछि तिनीहरूले “लीला” गरे।—प्रस्थान ३२:१, ४, ६, ८, १७-१९.
६ इस्राएलीहरूले उत्सव मनाइरहेको बेला मोशा पहाडबाट तल ओर्ले। तिनीहरूको अपमानजनक आचरण देखेपछि तिनले यसो भने: “यहोवाको पक्षमा को छ?” (प्रस्थान ३२:२५, २६, न्युव) लेवीका सन्तानहरू मोशाकहाँ आएर भेला भए र तिनले तिनीहरूलाई तरबारले मूर्तिपूजकहरूलाई मार्ने निर्देशन दिए। यहोवाको शुद्ध उपासनाको लागि डाह देखाउँदै लेवीहरूले सालाखाला ३,००० जति दोषी भाइहरूलाई मारे। यस कार्यलाई अझ सुदृढ पार्न यहोवाले ती बच्नेहरूमाथि विपत्ति ल्याउनुभयो। (प्रस्थान ३२:२८, ३५) त्यसपछि परमेश्वरले यो आज्ञा दोहोऱ्याउनुभयो: “तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ डाही हो, डाही परमेश्वरनै हुनुहुन्छ।”—प्रस्थान ३४:१४.
पोरको बाल देउता
७, ८. (क) पोरका बाल देउतासित सम्बन्धित घोर मूर्तिपूजामा थुप्रै इस्राएलीहरू कसरी फँसे? (ख) यहोवाले ल्याउनुभएको विपत्ति कसरी अन्त भयो?
७ चालीस वर्षपछि इस्राएल राष्ट्र प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न लाग्दा आकर्षक मोआबी तथा मिद्यानी स्त्रीहरूले थुप्रै इस्राएलीहरूलाई आतिथ्यको आनन्द उठाउन प्रलोभित गरे। यी पुरुषहरूले ती झूटा देवहरूका उपासकहरूसित घनिष्ठ सम्बन्ध राख्न इन्कार गर्नुपर्ने थियो। (प्रस्थान ३४:१२, १५) बरु, कसाइखानातिर भेडा दौडेझैं तिनीहरूले ती स्त्रीहरूसित व्यभिचार गरेर पोरको बाल देउतालाई पूजे।—गन्ती २५:१-३; हितोपदेश ७:२१, २२.
८ यहोवाले यस अपमानजनक यौन उपासनामा संलग्न मानिसहरूलाई मार्न विपत्ति पठाउनुभयो। परमेश्वरले इस्राएलीहरूलाई आफ्ना दोषी भाइहरूको हत्या गर्ने आदेश पनि दिनुभयो। यसप्रति विरोध जनाउन असाध्यै निर्लज्ज ढंगमा इस्राएली कप्तान, जिम्रीले एक मिद्यानी राजकुमारीसित यौन सम्बन्ध राखे। यो देखेर ईश्वरभीरु पूजाहारी पीनहासले त्यस अनैतिक दम्पतीलाई मारे। त्यसपछि विपत्ति हट्यो र परमेश्वरले यस्तो घोषणा गर्नुभयो: “पीनहासले इस्राएलीहरूका बीचमा म जस्तै राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो डाहमा मैले तिनीहरूलाई भस्म पारिनँ।” (गन्ती २५:११) त्यस राष्ट्र विनाशबाट जोगिए तापनि कम्तीमा २३,००० इस्राएलीहरू मरे। (१ कोरिन्थी १०:८) तिनीहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने चिरप्रतीक्षित आशा गुमाउनु पऱ्यो।
चेताउनीमूलक पाठ
९. यहोवाको शुद्ध उपासनाको निम्ति डाही नहुँदा इस्राएल र यहूदाका मानिसहरूमाथि के आइपऱ्यो?
९ दुःखको कुरा, इस्राएलीहरूले चाँडै नै यी पाठहरू बिर्से। तिनीहरू यहोवाको साँचो उपासनाको लागि डाही साबित भएनन्। “तिनीहरूका खोपेर बनाएका मूर्तिहरूले [परमेश्वरलाई] डाह गर्ने तुल्याए।” (भजन ७८:५८) परिणामस्वरूप यहोवाले इस्राएलका दश कुलहरूलाई सा.यु.पू. ७४० मा अश्शूरीहरूको दासत्वमा पर्न दिनुभयो। यहूदाको बाँकी रहेका दुइ कुलका राज्यहरूले त्यस्तै प्रकारको सजाय भोगे र तिनीहरूको राजधानी, यरूशलेम सा.यु.पू. ६०७ मा नाश भयो। थुप्रै मारिए र बच्नेहरू बाबेलको दासत्वमा लगिए। आज सम्पूर्ण मसीहीहरूका लागि कस्तो चेताउनीमूलक उदाहरण!—१ कोरिन्थी १०:६, ११.
१०. अपश्चात्तापी मूर्तिपूजकहरूलाई के हुनेछ?
१० विश्वको एक तिहाइ जनसंख्या अर्थात् अहिले लगभग १९० करोड मानिसहरूले आफूलाई मसीही भन्छन्। (१९९४ ब्रिटानिका बूक अफ द यर) यीमध्ये अधिकांश व्यक्तिहरू कुनै न कुनै चर्चका सदस्यहरू हुन् र आफ्नो उपासनामा प्रतिमा, मूर्ति तथा क्रसको प्रयोग गर्छन्। मूर्तिपूजा गरेर यहोवालाई डाह गर्न लगाउने आफ्नै जनहरूलाई समेत उहाँले जोगाउनुभएन। त्यसरी नै भौतिक वस्तुहरू प्रयोग गरेर उपासना गर्ने मसीही भनौंदाहरूलाई उहाँले बचाउनु हुनेछैन। येशू ख्रीष्टले यसो भन्नुभयो: “परमेश्वर आत्मा हुनु- हुन्छ, औ उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्ना ४:२४) यसबाहेक, बाइबलले मसीहीहरूलाई मूर्तिपूजादेखि जोगिने चेताउनी दिन्छ। (१ यूहन्ना ५:२१) अपश्चात्तापी मूर्तिपूजकहरू परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्।—गलाती ५:२०, २१.
११. एक मसीही मूर्तिको सामु ननिहुरे तापनि कसरी मूर्तिपूजाको दोषी हुनसक्छ र त्यस्तो मूर्तिपूजाबाट जोगिन कुन कुराले मदत दिनेछ? (एफिसी ५:५)
११ एक जना साँचो मसीही मूर्तिको सामु त कहिल्यै ननिहुरेला तर तिनी परमेश्वरले मूर्तिपूजक, अशुद्ध तथा पापी ठान्नुहुने सबै कुराबाट अलग बस्नैपर्छ। उदाहरणको लागि, बाइबलले यसप्रकार चेताउनी दिन्छ: “पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो। यिनै कुराहरूका खातिरमा परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि पर्छ।” (कलस्सी ३:५, ६) यी शब्दहरूप्रति आज्ञाकारी हुन अनैतिक आचरणलाई तिरस्कार गर्नुपर्छ। यसो गर्न अशुद्ध, यौनिक इच्छा जगाउने खालका मनोरञ्जनबाट अलग बस्नुपर्छ। त्यस्तो इच्छालाई सन्तुष्ट पार्नुको साटो साँचो मसीहीहरू परमेश्वरको शुद्ध उपासनाको लागि डाही हुन्छन्।
ईश्वरीय डाहका अन्य उदाहरणहरू
१२, १३. परमेश्वरको शुद्ध उपासनाको लागि डाह प्रकट गर्ने सन्दर्भमा येशूले कसरी उल्लेखनीय उदाहरण बसाल्नुभयो?
१२ यहोवाको शुद्ध उपासनाको लागि डाह देखाउने व्यक्तिको सर्वोत्तम उदाहरण, येशू ख्रीष्ट हुनुहुन्छ। आफ्नो सेवकाईको प्रारम्भतिर उहाँले मन्दिरको चोकमा लोभी व्यापारीहरूले व्यापार गरिरहेको देख्नुभयो। यरूशलेमबाहिरका यहूदीहरूलाई आफ्नो पैसा साटेर मन्दिरको कर तिर्न सराफीहरू चाहिनेथियो। परमेश्वरको व्यवस्थाले मागेअनुसार बलिदानहरू चढाउन जनावर तथा पक्षीहरू पनि किन्नुपर्ने थियो। त्यस्तो लेनदेन मन्दिरको चोकबाहिर गर्नुपर्ने थियो। अझ निन्दनीय त, व्यापारीहरूले आफ्ना भाइहरूको धार्मिक आवश्यकताको नाजायज फाइदा उठाएर अचाक्ली रकम लिइरहेका थिए। यहोवाको शुद्ध उपासनाको लागि डाहले गर्दा येशूले भेडाबाख्राहरूलाई त्यहाँबाट लघार्न कोर्रा हिर्काउनुभयो। उहाँले सराफीहरूका टेबल पल्टाउनुहुँदै यसो भन्नुभयो: “मेरा पिताको घर व्यापारको घर नतुल्याओ।” (यूहन्ना २:१४-१६) यसप्रकार येशूले भजन ६९:९ का शब्दहरूलाई पूरा गर्नुभयो: “तपाईंको घरको जोशले [वा, “डाह,” बाइंग्टन] मलाई खाएको छ।”
१३ तीन वर्षपछि लोभी व्यापारीहरूले यहोवाको मन्दिरमा व्यापार गरिरहेका येशूले पुनः देख्नुभयो। के उहाँले दोस्रो चोटि पुनः सफा गर्नुहुने थियो? परमेश्वरको शुद्ध उपासनाको लागि डाह उहाँको प्रारम्भिक सेवकाईको दौडान जति नै प्रबल थियो। उहाँले बिक्रेता र क्रेता दुवैलाई लघार्नुभयो। अनि त्यसो गर्नुको अझ ठोस कारण बताउँदै यसो भन्नुभयो: “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ? तर तिमीहरूले ता यसलाई डाँकूहरूको ओड़ार पो तुल्याएका छौ’।” (मर्कूस ११:१७) लगातार ईश्वरीय डाह देखाउने सन्दर्भमा कस्तो अद्भुत उदाहरण!
१४. शुद्ध उपासनाको लागि येशूको डाहले हामीलाई कसरी असर गर्नुपर्ने हो?
१४ अहिले महिमित हुनुभएको प्रभु येशू ख्रीष्टको व्यक्तित्व परिवर्तन भएको छैन। (हिब्रू १३:८) उहाँ यस पृथ्वीमा हुनुहुँदा आफ्नो पिताको शुद्ध उपासनाको लागि जति डाही हुनुहुन्थ्यो अहिले २० औं शताब्दीमा पनि त्यत्तिकै डाही हुनुहुन्छ। यो प्रकाशको पुस्तकमा लिपिबद्ध गरिएअनुसार येशूले सातवटा मण्डलीहरूलाई दिनुभएको सन्देशबाट प्रष्ट हुन्छ। यसको प्रमुख पूर्ति अहिले “प्रभुको दिनमा” हुन्छ। (प्रकाश १:१०; २:१–३:२२) प्रेरित यूहन्नाले दर्शनमा “नजरहरू आगोका ज्वालाजस्तै” हुनुभएको महिमित येशू ख्रीष्टलाई देखे। (प्रकाश १:१४) यसको अर्थ, मण्डलीहरूलाई स्वच्छ र यहोवाको उपासनाको निम्ति स्वीकार्य पार्न ख्रीष्टले निरीक्षण गर्नुहुँदा कुनै पनि कुरा उहाँबाट लुक्न सक्दैन। आधुनिक समयका मसीहीहरूले दुइटा मालिक अर्थात् परमेश्वर र धनसम्पत्तिको सेवा गर्नदेखि सतर्क रहन येशूको चेताउनी पालन गर्नुपर्छ। (मत्ती ६:२४) येशूले लाओडेसिया मण्डलीका भौतिकवादी सदस्यहरूलाई यसो भन्नुभयो: “तिमी नता तातो न चिसो, तर मनतातो भएका हुनालेनै मेरो मुखबाट म तिमीलाई थुकिदिनेछु। . . . जोशिलो होऊ, र पश्चात्ताप गर।” (प्रकाश ३:१४-१९) आफ्नो वचन तथा उदाहरणद्वारा मण्डलीका नियुक्त प्राचीनहरूले संगी विश्वासीहरूलाई भौतिकवादको पासोबाट जोगिन मदत दिनुपर्छ। प्राचीनहरूले बगाललाई यौन प्रवृत्त संसारको नैतिक भ्रष्टाचारदेखि पनि जोगाउनुपर्छ। यसबाहेक, परमेश्वरका मानिसहरूले मण्डलीभित्र ईजेबेलको जस्तो प्रभावलाई सहने चेष्टासमेत गर्दैनन्।—हिब्रू १२:१४, १५; प्रकाश २:२०.
१५. यहोवाको उपासनाको लागि डाह व्यक्त गर्न प्रेरित पावलले कसरी येशूको अनुकरण गरे?
१५ प्रेरित पावलले येशूको अनुकरण गरे। भर्खरै बप्तिस्माप्राप्त मसीहीहरूलाई आध्यात्मिक तवरमा अस्वस्थकर प्रभावबाट जोगाउन तिनले यसप्रकार लेखे: “ईश्वरीय डाहले म तिमीहरूमाथि डाही भएको छु।” (२ कोरिन्थी ११:२) यसअघि शुद्ध उपासनाको निम्ति डाहले गर्दा पावल यस मण्डलीमा दुष्प्रभाव पारिरहेको अपश्चात्तापी व्यभिचारीलाई बहिष्कृत गर्ने निर्देशन दिन प्रेरित भएका थिए। त्यस अवसरमा दिइएको प्रेरित निर्देशनले आजका प्राचीनहरूलाई निकै मदत पुऱ्याएको छ। किनभने तिनीहरूले पनि यहोवाका साक्षीहरूको ७५,००० भन्दा बढी मण्डलीहरूलाई स्वच्छ राख्न प्रयास गरिरहेका छन्।—१ कोरिन्थी ५:१, ९-१३.
परमेश्वरको डाहले उहाँका जनहरूलाई लाभ पुऱ्याउँछ
१६, १७. (क) परमेश्वरले पुरातन यहूदालाई सजाय दिनुहुँदा अन्य राष्ट्रहरूले कस्तो मनोवृत्ति देखाए? (ख) यहूदाले दासत्वमा ७० वर्ष बिताइसकेपछि यहोवाले यरूशलेमको लागि आफ्नो डाह कसरी प्रकट गर्नुभयो?
१६ परमेश्वरले यहूदाका मानिसहरूलाई सजाय दिनु- भएर बाबेलको दासत्वमा पर्न दिनुहुँदा तिनीहरू उपहासका पात्र भए। (भजन १३७:३) डाही घृणाले गर्दा परमेश्वरका जनहरूमाथि विपत्ति ल्याउन एदोमीहरूले बेबिलोनीहरूलाई मदतसमेत दिए र यहोवाले यो देख्नुभयो। (इजकिएल ३५:११; ३६:१५) दासत्वमा छँदा यिनीहरूले पश्चात्ताप गरे र ७० वर्षपश्चात् यहोवाले तिनीहरूलाई आफ्नो भूमिमा पुनःस्थापित गर्नुभयो।
१७ सुरुमा, यहूदाका मानिसहरूको अवस्था दयनीय थियो। यरूशलेम शहर र त्यसको मन्दिर भताभुंग अवस्थामा थियो। तर वरपरका राष्ट्रहरूले मन्दिर पुनःस्थापना गर्ने प्रयासलाई विरोध गरे। (एज्रा ४:४, २३, २४) यसो हुँदा यहोवाले कस्तो महसुस गर्नुभयो? प्रेरित विवरणले यसो भन्छ: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेम र सियोनका निम्ति म ज्यादै डाही भएको छु, र आरामसित रहने जातिहरूसित म साह्रै क्रोधित भएको छु, किनकि म अलिक मात्र क्रोधित हुँदा तिनीहरूले दुःखलाई झन् बढ़ाइदिए।” (जकरिया १:१४-१६) यस प्रतिज्ञाअनुरूप मन्दिर र यरूशलेम शहरको पुनःनिर्माण गर्न सफलता मिल्यो।
१८. साँचो मसीहीहरूले प्रथम विश्वयुद्धतिर कस्तो अनुभव गरे?
१८ साँचो मसीही मण्डलीले २० औं शताब्दीमा यस्तै अनुभव गरेको छ। यहोवाले प्रथम विश्वयुद्धतिर आफ्ना जनहरूलाई ताडना दिनुभयो। किनभने तिनीहरूले सांसारिक विवादहरूमा कडा तटस्थता कायम गरेका थिएनन्। (यूहन्ना १७:१६) परमेश्वरले तिनीहरूलाई राजनैतिक शक्तिहरूको हातमा थिचोमिचो हुन दिनुभयो। अनि मसीहीजगतका पादरीवर्ग यस्तो विपत्तिमा रमाए। वास्तवमा, त्यतिबेला बाइबल स्टुडेन्टस् भनिने यहोवाका साक्षीहरूको कार्यमाथि प्रतिबन्ध लगाउन राजनीतिज्ञहरूलाई अग्रसर गराउने अग्रपंक्तिमा पादरीवर्ग नै थिए।—प्रकाश ११:७, १०.
१९. यहोवाले सन् १९१९ देखि आफ्नो उपासनाको लागि डाह कसरी देखाउनुभएको छ?
१९ तथापि, यहोवाले आफ्नो उपासनाको लागि डाह व्यक्त गर्नुभयो र आफ्ना पश्चात्तापी जनहरूलाई युद्धपश्चात् सन् १९१९ मा अनुग्रह देखाउनुभयो। (प्रकाश ११:११, १२) फलस्वरूप, सन् १९१८ मा यहोवाका प्रशंसकहरू ४,००० भन्दा कम थिए भने अहिले वृद्धि भएर झन्डै ५० लाख पुगेको छ। (यशैया ६०:२२) चाँडै, आफ्नो शुद्ध उपासनाको निम्ति उहाँको डाह अझ नाटकीय ढंगमा प्रकट हुनेछ।
ईश्वरीय डाहका भावी कार्यहरू
२०. परमेश्वरले शुद्ध उपासनाको लागि डाह देखाउन चाँडै के गर्नुहुनेछ?
२० शताब्दीयौंसम्म मसीहीजगतका चर्चहरूले धर्मत्यागी यहूदीहरूको मार्गलाई पछ्याए। जसले यहोवालाई डाही हुन प्रेरित गऱ्यो। (इजिकएल ८:३, १७, १८) चाँडै यहोवा परमेश्वरले संयुक्त राष्ट्रका सदस्यहरूको हृदयमा भयानक विचार राखिदिनुहुनेछ। यसले यी राजनैतिक शक्तिहरूलाई मसीहीजगतका झूटो धर्मको बाँकी भागलाई विध्वंस गर्न उस्काउनेछ। (प्रकाश १७:१६, १७) साँचो उपासकहरू त्यस डरलाग्दो ईश्वरीय न्यायबाट बच्नेछन्। तिनीहरूले स्वर्गीय प्राणीहरूका यी शब्दहरू सुन्नेछन्: “हल्लेलूयाह, . . . किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट [त्यसको झूटो शिक्षा तथा भ्रष्ट राजनीतिलाई समर्थन] पारेकी त्यो ठूलो वेश्याको [झूटो धर्म] इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ।”—प्रकाश १९:१, २.
२१. (क) झूटो धर्मको विनाशपछि शैतान र त्यसको रीतिरिवाजले के गर्नेछ? (ख) परमेश्वरले कस्तो प्रतिक्रिया देखाउनुहुनेछ?
२१ झूटो धर्मको विश्वसाम्राज्यको विनाशपछि के हुनेछ? शैतानले राजनैतिक शासकहरूलाई यहोवाका जनहरूमाथि विश्वव्यापी तवरमा आक्रमण गर्न उस्काउनेछ। साँचो उपासनालाई यस पृथ्वीबाट नामोनिसान मेटाउने शैतानको यस प्रयासप्रति साँचो परमेश्वरले कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुनेछ? इजकिएल ३८:१९-२३ ले हामीलाई यसरी बताउँछ: “डाह र प्रचण्ड क्रोधको साथ, म [यहोवा] शपथ खाएर भन्दछु, . . . रूढ़ी र रक्तपातद्वारा म त्यसको [शैतान] इन्साफ गर्नेछु। म त्यसमाथि, त्यसका दलहरूमाथि र त्यससित भएका जाति जातिहरूका सबै भीड़हरूमाथि घनघोर वर्षा, ढुंगाहरूझैं कड़ा असिना, आगो र गन्धक वर्षाउनेछु। यसरी मेरो महानता र पवित्रताको प्रमाण दिएर धेरै जातिहरूकहाँ आफैलाई प्रकट गर्नेछु। तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्नेछन्।”—सपन्याह १:१८; ३:८ पनि हेर्नुहोस्।
२२. हामीले यहोवाको शुद्ध उपासनाको लागि जोश कसरी देखाउनसक्छौं?
२२ ब्रम्हाण्डका सार्वभौमसत्ताधारीले डाही भएर आफ्ना साँचो उपासकहरूलाई हेरचाह गर्नुहुन्छ भनेर थाह पाउनु कति सान्त्वनादायी कुरा हो! उहाँको अनुग्रहप्रति गहिरो मूल्यांकनले भरिएर हामी यहोवा परमेश्वरको शुद्ध उपासनाको लागि डाही होऔं। हामीले जोशका साथ राज्यको सुसमाचार प्रचार गरिरहन सकौं। साथै यहोवाले आफ्नो महान् नाउँ महिमित तथा पवित्र पार्नुहुने दिनलाई निर्धक्क भएर पर्खन सकौं।—मत्ती २४:१४.
मनन गर्नका लागि बुँदाहरू
◻ यहोवाको लागि डाही हुनुको अर्थ के हो?
◻ पुरातन इस्राएलीहरूको उदाहरणबाट हामी के सिक्नसक्छौं?
◻ यहोवालाई डाही हुन प्रेरित नगर्न हामीले के गर्नसक्छौं?
◻ परमेश्वर र ख्रीष्टले शुद्ध उपासनाको लागि कसरी डाह देखाउनुभएको छ?
[पृष्ठ १२-मा भएको पेटी]
प्रेमले डाह गर्दैन
ईर्ष्याको सन्दर्भमा १९ औं शताब्दीका बाइबल शास्त्रज्ञ अल्बर्ट बार्न्जले यसप्रकार लेखे: “यो दुष्टताको सबैभन्दा सामान्य प्रकटीकरण हो र यसले मानिसको चरित्रहीनतालाई स्पष्टसित देखाउँछ।” तिनले अझै भने: “यदि कुनै मानिसले सारा युद्ध, झैझगडा तथा सांसारिक योजनाहरूको श्रोतका साथै धर्मलाई घात पुऱ्याएर मसीही भनौंदाहरूसमेतलाई सांसारिक मन दिने षड्यन्त्र तथा उद्देश्यहरूको साँचो श्रोत पत्ता लगाउन सके, ती सबैको ईर्ष्यासित सम्बन्ध बुझ्दा छक्कै पर्नेछन्। आफूभन्दा अरू सम्पन्न भएकोमा हामी दुःखी हुन्छौं; आफ्नो अधिकार नभए तापनि अरूसित जे छ, त्यही पाउने इच्छा गर्छौं; अनि यसले गर्दा विभिन्न गलत तरिकाहरू अपनाएर तिनीहरूको आनन्द कम पार्न वा ती सुखसुविधाहरू आफूले हासिल गर्ने प्रयास गर्छौं अथवा वास्तवमा तिनीहरूसित अरूले सोचे जति केही पनि छैन भनी देखाउन खोज्छौं . . . किनभने यसप्रकार हाम्रा ईर्ष्यालु भावनाहरू तृप्त हुन्छन्।”—रोमी १:२९; याकूब ४:५.
यसको विपरीत, बार्न्जले प्रेमसम्बन्धी यस चाखलाग्दो कुरा बताए, प्रेमले “डाह गर्दैन।” (१ कोरिन्थी १३:४) तिनले यसप्रकार लेखे: “प्रेमले अरूको आनन्दको ईर्ष्या गर्दैन; त्यो अरूको हितमा रमाउँछ; अनि तिनीहरूको आनन्द बढ्दा . . . आफूसित प्रेम छ भने . . . अरूको आनन्दलाई कम पार्दैनन्; आफ्नोभन्दा बढी सुखसुविधा हुनेहरूलाई अप्ठ्यारो महसुस गराउँदैनन्; अरूलाई आनन्दबाट बहकाउँदैनन्; आफूले अरू जति कृपा नपाएकोमा गनगन वा निराशा व्यक्त गर्दैनन्। . . . अरूलाई प्रेम गर्छौं, तिनीहरूको खुशीमा आनन्दित हुन्छौं भने हामीले तिनीहरूको ईर्ष्या गर्नु हुँदैन।”
[पृष्ठ १०-मा भएको चित्र]
यहोवाको शुद्ध उपासनाको लागि पीनहास डाही थिए