सय वर्षको उमेरमा पनि फुर्तिलो
राल्फ मिचेलको वृतान्तमा आधारित
मेरो बुबा मध्यम कदको मेथोडिस्ट प्रचारक हुनुहुन्थ्यो। हरेक दुइ तीन वर्षमा मेरो बुबालाई प्रायजसो स-साना शहरहरूका विभिन्न चर्चहरूमा सरुवा गराइन्थ्यो। तीमध्ये स.रा.अ.-को उत्तर क्यारोलाइना प्रान्तमा पर्ने आसभाइल शहरमा सन् १८९५ फेब्रुअरी महिनामा मेरो जन्म भयो। यसप्रकार सानैदेखि म मसीहीजगतसँग निकै परिचित थिएँ।
मलाई पवित्र आत्माले अभिषेक गर्न सुसमाचारक सभाको दौडान “शोकाकुलहरूको बेन्च[मा]” लगेको मैले बिर्सेको छैन। तिनीहरूले यो समारोहलाई “धर्म प्राप्त गर्ने” भन्दा रहेछन्। तिनीहरूले मलाई आफ्नो पाप स्वीकार्न, दश आज्ञा पालन गर्न अनि असल हुने आज्ञा दिए। त्यसो गरे भनें मरेपछि म स्वर्ग जान पाउँथे रे। तर मैले मनमनै भने, ‘म स्वर्ग जान पाउनसक्ने गरी असल हुनै सक्दिनँ, त्यसैले म नर्कै जान्छु होला।’ मेरो विचारमा वयस्कहरू र ती मध्ये अझ विशेषगरि प्रचारकहरू मात्र बाइबलका स्तरअनुरूप बाँचिरहेका थिए।
यद्यपि, किशोरावस्थादेखि मैले धर्ममा कपट्याँइ लुकेको चिन्न थालिसकेको थिएँ। उदाहरणका लागि, साधारण वार्षिक सभाको दौडान विशपको कोशमा ठूलो रकम चढाउन मेरो बुबा परिवार धान्न चाहिने पैसासमेत चलाउनुहुन्थ्यो। ठूलो चर्चमा नियुक्ति पाउने आशामा उहाँले त्यसो गर्नुहुन्थ्यो। कपास खेती गर्ने स्थानीय प्रचारक पनि मलाई सम्झना छ। तिनी ठूलो ओहदा चाहन्थे। अतः सय पोका कपास बेचेको पैसाले खल्ती भरेर तिनी वार्षिक सभामा गए। सभामा उपस्थित हुने अधिकांश व्यक्तिहरू प्रचारकहरू थिए। अनि सबैसित पैसा उठाइसकेपछि यो कपास खेती गर्ने प्रचारक मञ्चमा फुत्त उफ्रेर यसो भन्दै चिच्च्याए: “तिमीहरूले आफ्नो विशपलाई दिन सक्ने यति मात्रै हो? ल ल्याऊ, पाँच डलर दिने हरेक प्रचारकको साटो म दश डलर दिन्छु!” यसप्रकार हजार डलरभन्दा धेरै रकम संकलन भयो र विशपले त्यो कपास कृषकलाई मेरो बुबाको अध्यक्ष नियुक्त गऱ्यो। मैले त्यस्तो नियुक्ति परमेश्वरतर्फबाट आएको हो भनेर विश्वासै गर्न सकिनँ। त्यसबेलादेखि धर्मसित सम्बन्धित हरेक कुरालाई मैले शंकालु दृष्टिले हेर्नथालें।
संयुक्त राज्य पहिलो विश्वयुद्धमा मुछिएपछि मलाई युद्धमा पठाइयो। सिपाहीहरूको पादरीले हामीलाई देशको लागि वफादारीपूर्वक लड्न प्रचार गरेको मैले राम्ररी सम्झेको छु। यसले गर्दा धर्मप्रति मेरो अरुचि झनै बढ्यो। त्यतिबेला मेरो उद्देश्य नै बाँच्ने अनि पढाइ सकाएर विवाह गर्ने थियो। मेरो भावी जीवनका योजनाहरूमा धर्मको कुनै ठाउँ नै थिएन।
मनोवृत्तिमा परिवर्तन
सन् १९२२ मा मैले लुइज नाउँ गरेकी युवतिसित माया गाँसे। तिनी भक्त क्याथोलिक रहिछे। हामीले विवाह गर्ने निर्णय गर्दा तिनीले क्याथोलिक तरिकाले विवाह गर्ने इच्छा व्यक्त गरिन्। म कुनै किसिमको धार्मिक समारोह मन पराउँन्न थिएँ। अतः न्यु योर्क शहरको नगरपालिका भवनमा विवाह गर्ने प्रस्तावलाई तिनले स्वीकारिन्।
सुरु सुरुमा हाम्रो परिवारमा कुनै धार्मिक मतभेदहरू भएनन्। मेरो धर्मप्रति कुनै आस्था नभएकोले धर्मको कुरै नगर्नु बेस भनेर मैले स्पष्ट पारिसकेको थिएँ। समय बित्दै जाँदा सन् १९२४ देखि १९३७ बीच पालैसित हाम्रा छोराछोरीहरू जन्मन थाले र हाम्रा पाँच छोरा पाँच छोरी भए! लुइज हाम्रा छोराछोरी क्याथोलिक विद्यालय जाऊन् भनी चाहन्थिन्। तर म भने तिनीहरूलाई कुनै किसिमको धार्मिक प्रशिक्षण दिन चाहन्न थिएँ। अतः त्यसै कुरालाई लिएर हामीबीच भनाभन हुनथाल्यो।
तर सन् १९३९ को प्रारम्भतिर भएको घटनाले गर्दा धर्मप्रति मेरो दृष्टिकोण पूर्णतया परिवर्तन भयो। एक दिन न्यु जर्सी, रोजेलस्थित मेरो घरमा यहोवाका दुइ साक्षी, हेनरी वेबर र ह्यारी पेट आए। तिनीहरू मलाई मन नपर्ने विषय अर्थात् धर्मबारे कुरा गर्न आएका रहेछन् भनेर मैले क्षणभरमै थाह पाइहालें। चर्चमा ‘तैंले हत्या नगर’ भन्ने तर सेनाहरूलाई ‘देशको लागि लड’ भन्ने पादरीहरूले गर्दा म अझै पनि तितो महसुस गर्थें। कस्तो कपट! त्यसैकारण, मैले यी दुइ साक्षीहरूलाई पाठ पढाउने विचार गरें। मैले भने, “म तपाईंहरूलाई एउटा कुरा स्पष्ट भन्छु। यदि तपाईं आफ्नो धर्म सत्य हो भन्नुहुन्छ भने, बाँकी सबै झूटो हुनुपऱ्यो। होइन, अरू नै धर्म सत्य हो भने तपाईंको लगायत बाँकी सबै धर्म झूटो हुनुपऱ्यो। किनभने सत्य धर्म एउटै हुन्छ।” तिनीहरूले मेरो कुराप्रति सहमति जनाउँदा छक्कै परें!
त्यसपछि तिनीहरूले मलाई मेरो बाइबलबाट १ कोरिन्थी १:१० पढ्न लगाए। मैले पढें: “ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।” यो पद पढेर म स्तब्ध भएँ। यद्यपि, कतै यी दुइ जनाले मलाई कुनै धार्मिक गुटको सदस्य बनाउन खोजेका पो हुन् कि भन्ने शंका पनि लागिरहेको थियो। तर जे होस्, मसीहीहरूबीच कुनै किसिमको फूट हुनुहुन्न रहेछ भन्ने नयाँ कुरा सिकें। मेरो मनमा अन्य प्रश्नहरू पनि थिए। उदाहरणका लागि, मरेपछि प्राणलाई के हुन्छ? तिनीहरूलाई यो प्रश्न सोध्न साह्रै इच्छा लागिरहेको थियो! तर अर्कोतर्फ कतै त्यसले मेरो घरमा बढ्तै धार्मिक वादविवाद खडा गर्ने त होइन भनेर पनि सोचें।
त्यसपछि, तिनीहरूमध्ये एकले यसो भन्यो: “हामी अर्को हप्ता भेटेर फेरि कुरा गर्न चाहन्छौं।” म चतुऱ्याइँपूर्वक तिनीहरूलाई नआउने आग्रह गर्ने कोसिस गर्दैथिए त्यतिकैमा मेरी पत्नीले यसो भनिहालिन्, “राल्फ, उहाँहरू फेरि कहिले आउन मिल्ला भनेर सोध्दै हुनुहुन्छ।” लुइजजस्तो जोशिलो क्याथोलिक पत्नीको कुरा सुनेर म छक्कै परें! तैपनि, ‘यिनीहरूसित छलफल गर्दा धर्मबारे कुनै कुनै कुरामा सहमत भइहाल्ला नि’ भन्ने विचार मनमा आयो। अतः मैले हेनरी वेबर र ह्यारी पेटलाई अर्को शुक्रबार बोलाएँ।
यसरी यहोवाका साक्षीहरूसित मैले बाइबल अध्ययन गर्न थालें। त्यसपछि चाँडै न्यु योर्क शहरस्थित माडिसन स्क्वेएर गार्डनमा मलाई अधिवेशनमा उपस्थित हुन आमन्त्रित गरियो। सन् १९३९ जून २५ का दिन जोसेफ एफ. रदरफोर्डले “सरकार र शान्ति” भन्ने विषयमा दिएको भाषण अहिलेसम्म म झल्झल्ती सम्झन्छु। अधिवेशनमा मलगायत १८,००० मानिसहरू उपस्थित थिए। अझ रेडियो फोन लाइनबाट सारा संसारमा भाषण सुन्ने श्रोताहरूलाई समावेश गर्ने हो भने त्यो संख्या ७५,००० पुग्छ।
यद्यपि, सबै कुरा सुचारुरूपले चलेन। क्याथोलिक पादरी चार्ल्स कागलिनका अनुयायीहरूले पहिल्यै सम्मेलन भंग गर्ने धम्की दिइसकेका थिए। अतः भाइ रदरफोर्डको भाषणको बीचतिर सयौं क्रोधित मानिसहरू “हिटलरको जय!” “फ्रान्कोको जय!” भनेर नारा लगाउन थाले। फोनबाट समेत सुनिने गरी तिनीहरूले चर्को होहल्ला मचाए! अधिवेशन भवनका पालेहरूलाई भीड शान्त पार्न झन्डै १५ मिनेट लाग्यो। तर त्यत्रो हल्लाखल्ला मच्चे पनि भाइ रदरफोर्डले कतै नरोकी निर्भय भएर आफ्नो भाषण जारी राख्नुभयो र दर्शकहरूले बारम्बार ताली बजाएर तिनलाई समर्थन गरे।
अब भने मेरो मनमा साँच्चै कौतूहल जाग्यो? क्याथोलिक पादरीहरूले यहोवाका साक्षीहरूलाई किन यति बिघ्न घृणा गर्छन्? पक्कै पनि रदरफोर्डले यस्तो कुरा प्रचार गरेको हुनुपर्छ जुन कुरा मजस्तो साधारण मानिसहरूले सुनोस् भनेर पादरीवर्ग चाहँदैनन्। अतः मैले बाइबल अध्ययन कायम राखें र प्रगति गर्न थालें। अन्ततः सन् १९३९ अक्टोबर महिनामा मैले यहोवाप्रतिको मेरो समपर्णलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिएँ। लगत्तै अर्को वर्ष मेरा केही छोराछोरीहरूले बप्तिस्मा लिए र मेरी पत्नी लुइजले चाहिं सन् १९४१ मा बप्तिस्मा लिइन्।
परीक्षाहरूको सामना
मैले सच्चाइ स्वीकारेको केही समयभित्रै आमा बित्नुभयो र उहाँको अन्त्येष्टिका लागि म नर्थ क्यारोलाइना फर्कनुपऱ्यो। मेथोडिस्ट चर्चभित्र आमाको अन्त्येष्टि गराइने भएकोले मेरो अन्तस्करणले त्यहाँ उपस्थित हुन मानेन। अतः यात्रा गर्नुअघि मैले बुबालाई फोन गरेर लाश राख्ने बाकसलाई शवगृहमा राख्न आग्रह गरें। उहाँ राजी हुनुभयो। तर म त्यहाँ पुग्दा उहाँहरू सबै चर्चतर्फ जाँदै हुनुहुँदो रहेछ। उहाँहरू चर्चतर्फ लाग्दै गरेको देखपछि म पनि पछि पछि लाग्ला भनेर उहाँहरूले सोच्नुभएको रहेछ।
तर अहँ, म उहाँहरूको पछि जाँदै गइनँ। यसले गर्दा मेरो परिवारमा निकै हलचल मच्चियो। मेरी घनिष्ठ बहिनी एड्ना, मुमाको अन्त्येष्टिपछि मसित बोल्नै छाडी। मैले चिट्ठीहरू लेखे तर तिनले एउटै जवाफ पठाइनन्। हरेक वर्ष ग्रीष्म ऋतुमा एड्ना न्यु जर्सी, सिटी कलेजमा शिक्षक तालिम लिन आउँदा म भेट्न खोज्थें। तर व्यस्तताको बहाना बनाउँदै तिनले मलाई भेट्न इन्कार गरिन्। पछि तिनलाई कुनै दुःख नदिने विचार गरेर मैले बोलाउनै छाडें। निकै वर्षपछि मात्र फेरि तिनीसित भेटघाट भयो।
झण्डा सलामी गर्न इन्कार गरेकोले सन् १९४१ मा संयुक्त राज्य र क्यानडाका अन्य केटाकेटीलगायत मेरा छ जना छोराछोरीलाई विद्यालयबाट निष्कासित गरियो। कानुनी शैक्षिक आवश्यकता पूरा गर्नुपरेकोले साक्षीहरूले राज्य स्कूल भनिने आफ्नै स्कूलको प्रबन्ध मिलाए। मेरा छोराछोरीको स्कूल न्यु जर्सीस्थित लेकवुडमा थियो। जुन पहिले होटेल थियो। पहिल्लो तल्लामा राज्य भवनलगायत कक्षाकोठा, भान्छा र भोजनकक्ष थियो। दोस्रो तल्लामा केटीहरूको र तेस्रो तल्लामा केटाहरूको शयनकक्ष थियो। स्कूल राम्रो थियो। स्कूलमै बस्ने केटाकेटीहरू हरेक सप्ताहन्त आ-आफ्ना घर फर्कन्थे। घर टाढा हुनेहरू चाहिं एक एक हप्ता बिराएर घर जान्थे।
सच्चाइमा आएको समयदेखि नै मलाई यहोवाका साक्षीहरूको पूर्ण-समय प्रचारक भएर अग्रगामी सेवा गर्ने साह्रै इच्छा थियो। सन् १९४१, सेन्ट लुइस, मिसुरीमा भएको अधिवेशनताक एक जना भाइले १२ जना छोराछोरी हुर्काउँदै कसरी अग्रगामी गर्न सकें भनेर आफ्नो अनुभव सुनाएका थिए। मैले सोचें, ‘बाह्र जना छोराछोरी भएर त उहाँले अग्रगामी गर्न सक्नुभयो भने म १० जना छोराछोरी हुनेले किन अग्रगामी गर्न नसक्ने?’ तथापि, परिस्थितिवश १९ वर्षपछि मात्र मैले अग्रगामीको काम सुरु गर्न सकें। अन्ततः सन् १९६० अक्टोबर १ तारिखदेखि मैले नियमित अग्रगामी भएर यहोवाको सेवा गर्न थालें।
अप्रत्याशित भेट
सन् १९७५ मा बहिनी एड्नाले फोन गरिन्। त्यतिबेला म ८० वर्ष पुगिसकेको थिएँ र तिनलाई नदेखेको २० वर्ष भइसकेको थियो। तिनले विमानस्थलबाट फोन गरेकी रहिछे। तिनले आफू र आफ्नो पतिलाई लिन आउन मलाई बोलाइन। एड्नालाई फेरि भेट्न पाउँदा खुशी लाग्यो। तर एउटा साह्रै अप्रत्याशित कुरा हुन त बाँकी नै थियो! घरतर्फ लाग्दा तिनको पतिले यसो भने, “तपाईंलाई थाह छ, तपाईंकी बहिनीले धर्म परिवर्तन गरिन्।” तिनले के भन्न खोजेका हुन् मैले बुझ्दै बुझिनँ। घरमा पुगेपछि तिनले फेरि त्यही कुरा दोहोऱ्याए, “तपाईंहरूलाई थाह छ, मेरी पत्नीले धर्म परिवर्तन गरिन्।” मेरी पत्नीले तुरुन्तै कुरा बुझिहालिन्। मेरी बहिनीतर्फ फर्किंदै तिनले सोधिन, “एड्ना तपाईं पनि यहोवाको साक्षी?” एड्नाले जवाफ दिइन् “हो त।”
एड्नाले कसरी सच्चाइ स्वीकारिछन् त? कुरा के हो भने, बहिनीसित सम्बन्ध सुधार्न मैले सन् १९७२ तिर उपहारस्वरूप, आफ्नै खर्चमा तिनलाई प्रहरीधरहरा-को ग्राहक बनाएको थिएँ। यसको वर्ष दिनपछि एड्ना बिरामी भएर घरमै बस्नु परेको रहेछ। मैले पठाएका पत्रिकाहरू खोलसहित टेबलमा त्यसै पस्रिरहेका थिए। कौतूहल लागेर एड्नाले ती पत्रिकाहरू पढ्न थालिन्। तर पत्रिका पढेपछि तिनले आफैलाई यसो भनिरहेको पाइन्, ‘यो त सत्य हो!’ यहोवाका साक्षीहरू तिनको घरमा आऊञ्जेल त तिनले सबै प्रहरीधरहरा पढिसकेकी थिइन्। तिनले बाइबल अध्ययन स्वीकारिन् र समयको दौडान यहोवाका साक्षी भइन्।
क्षति सहने
अन्ततः मेरी पत्नी लुइजलाई मधुमेह रोगले समात्यो। तिनको स्थिति दिनानुदिन बिग्रदै गयो र सन् १९७९ मा ८२ वर्षको उमेरमा तिनको मृत्यु भयो। लुइजको मृत्युसँगसँगै मेरो मन पनि मऱ्यो। मेरो संसारै अन्धकार भयो। अब के गर्ने वा नगर्ने मैले ठिम्याउनै सकिनँ। मेरा कुनै भावी योजनाहरू थिएनन्। अनि सान्त्वनाको निकै खाँचो परिरहेको थियो। यस्तो बेला परिभ्रमण निरीक्षक, रिचर्ड स्मिथले मलाई अग्रगामी गरिरहने प्रोत्साहन दिनुभयो। मृत्युले गर्दा आफ्नो प्रिय जन गुमाउनु परेका मानिसहरूलाई सान्त्वना दिन पाउँदा मैले ठूलो प्रोत्साहन पाएँ।
सन् १९७९ मा वाच टावर सोसाइटीले इस्राएलको भ्रमण गर्ने प्रबन्ध मिलाउँदा मैले पनि आफ्नो नाउँ लेखाएँ। यो भ्रमण मेरो लागि निकै प्रोत्साहनजनक साबित भयो। अतः घर फर्कने बित्तिकै मैले अग्रगामी सेवा सुरु गरिंहालें। त्यहाँदेखि यता हरेक वर्ष, अरू कसैलाई नखटाइएका वा कम प्रचार गरिएका क्षेत्रहरूमा मदत गर्ने बानी मैले बसालेको छु। वृद्धावस्थाको बाबजूद अझै पनि यस सुअवसरमा लागिरहेको छु।
मेरो अनुमानमा अहिलेसम्म मैले ५० जनालाई जीवनको मार्गमा हिंड्न मदत गर्ने सुअवसर पाइसकें। मेरा अधिकांश छोराछोरीहरू सच्चाइमै छन्। दुइ छोरी नियमित अग्रगामीको सेवा गर्छन्। मेरी अर्की छोरी, लुइस ब्लान्टन आफ्नी पति जर्जसित यहोवाका साक्षीहरूको न्यु योर्कस्थित मुख्यालयमा सेवा गर्दैछिन्। मेरो एउटा छोराले प्राचीनको हैसियतमा सेवा गरेको धेरै वर्ष भइसकेको छ।
निस्सन्देह, हाम्रो प्रथम मानव आमाबाबुबाट पाएको असिद्धताले हामी सबै रोग र मृत्युको वशमा परेका छौं। (रोमी ५:१२) स्वाभाविक कुरा, मेरो जीवन पनि पीडा मुक्त छैन। हाल मेरो देब्रे खुट्टालाई बाथ रोगले सताएको छ। बेला बेलामा साह्रै दुःख दिए पनि अहिलेसम्म सक्रिय हुनदेखि मलाई रोक्न सकेको छैन। र रोक्न नसकोस् भनेर म प्रार्थना गर्छु। म अघि बढिरहन चाहन्छु। यहोवाको नाउँ तथा उद्देश्य चारैतिर फैलाउन यथाशक्य गर्दै अन्तैसम्म अग्रगामी सेवा कायम राख्ने मेरो ठूलो धोको छ।
[पृष्ठ २३-मा भएको चित्र]
मेरी छोरी रीतासित