“यति धेरै पैसा कहाँबाट आउँछ?”
वाचटावर सोसाइटीको भिडियो फिल्म “जेहोभाज् विट्नेसेज्—दी अर्गनिजेशन बिहाइन्ड द नेम” (“यहोवाका साक्षीहरू—त्यस नाउँ पछाडिको संगठन”) हेरेर दर्शकहरू प्रभावित हुन्छन्। तिनीहरूले विभिन्न रंग तथा पृष्ठभूमिका सफा अनि चट्ट परेका पुरुष तथा स्त्रीहरू मिलेर काम गरेको देख्छन्। ब्रूकलिनस्थित सोसाइटीको मुख्यालय अनि वल्किल, न्यु योर्कस्थित फार्म मात्र नभई त्यहाँ काम गर्ने हजारौं आनन्दित कामदारहरूले तिनीहरूको ध्यानाकर्षण गर्छ। त्यो भिडियोमा तिनीहरूले यी भवनहरू भित्र अत्याधुनिक प्रविधि देख्छन्। ती हुन्, उच्च गतिमा छाप्ने तथा सिलाउने यन्त्र, जसले हरेक महिना लाखौं प्रकाशनहरू उत्पादन गर्छ। थुप्रै प्रकारका कम्प्युटरहरू, अनि साहित्य प्रकाशन गर्न मदत पुऱ्याउने विभिन्न विभागहरू।
यी सबै हेर्दा थुप्रै पैसा खर्च भएको देखिन्छ। अतः केही सोध्छन्, “यति धेरै पैसा कहाँबाट आउँछ?”
सोसाइटीको मुख्यालयमा आउने आगन्तुकहरू पनि असाध्यै प्रभावित हुन्छन्। तिनीहरू आफ्नो घाँटी तन्काउँदै ३० तल्ले अग्लो आवास भवनलाई हेर्छन्। यो त, त्यहाँ काम गर्ने ३,००० स्वंयसेवकहरूका आवासको व्यवस्था गरिएको थुप्रै भवनहरूमध्ये एउटा मात्र हो। यहाँबाट लगभग ११० किलोमिटर टाढा, ब्रूकलिनको उत्तरतर्फ पर्ने वाचटावर एजुकेशनल सेन्टरले पनि थुप्रै आगन्तुकहरूलाई असाध्यै प्रभावित पार्छ। यसको निर्माण कार्य अझै चल्दैछ। हाल यहाँ लगभग १,२०० कामदारहरू छन्। यस सेन्टरमा वर्षेनी मिसनरीहरूका लागि दुइवटा कक्षाहरू सञ्चालन गरिनेछन् र तिनीहरूलाई समुद्रपार विभिन्न देशहरूमा खटाइनेछ। संयुक्त राज्यस्थित यहोवाका साक्षीहरूको १०,००० मण्डलीहरूलाई पनि यहाँबाटै निर्देशन दिइन्छ। संसारभरिका थुप्रै शाखाहरूले हालै थप भवन तथा उपकरणहरू खडा गर्न थालेका छन् वा गर्ने तयारीमा छन्। यी सबै कामहरू सञ्चालन गर्न निकै पैसा चाहिन्छ। त्यसैले मानिसहरू सोध्छन्, “यति धेरै पैसा कहाँबाट आउँछ?”
यसको जवाफ हो, हामीजस्ता साधारण मानिसहरूबाट। यी मानिसहरू प्रचार गर्ने तथा सिकाउने अत्यावश्यक मसीही कार्यलाई अगाडि बढाउन यथाशक्य गर्न चाहने व्यक्तिहरू हुन्। यद्यपि, त्यस्तो स्वैच्छिक मनोवृत्ति नौलो कुरा होइन।
पुरातन इस्राएलले बसालेको उदाहरण
आजभन्दा ३,५०० वर्षअघि उदारचित्तले चन्दा दिनुपर्ने परिस्थिति खडा भएको थियो। यहोवाले मोशालाई उहाँको उपासनाको निम्ति पवित्रस्थान अर्थात् “भेट हुने पाल” निर्माण गर्ने निर्देशन दिनुभएको थियो। मोशालाई दिइएको ईश्वरीय योजनाअनुरूप निर्माण गर्न थुप्रै बहुमूल्य वस्तुहरू चाहिन्थ्यो। अतः यहोवाले यस्तो आज्ञा दिनुभयो: “आफ्नो बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्।” त्यसमा सुन, चाँदी, तामा, मसिनो सुती कपड़ा, भेड़ाको छाला, सीलको छाला र अमूल्य रत्न तथा तेल समावेश थिए। (प्रस्थान ३५:४-९) मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? त्यसबारे हामी यस्तो विवरण पाउँछौ, “जस जसका हृदय प्रेरणाले भऱ्यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले भेट हुने पालको काम त्यसका सबै सेवाको काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।” मानिसहरूले “राजी-खुशी” ल्याएको भेटी बिस्तारै “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएका कामको निम्ति चाहिएको भन्दा पनि औधि ज्यादा” भयो। (प्रस्थान ३५:२१-२९; ३६:३-५) साँच्चै यी मानिसहरूले कति निस्वार्थ अनि उदारचित्त मनोवृति देखाए!
झन्डै ५०० वर्षपछि इस्राएलीहरूलाई फेरि उदारचित्तले चन्दा दिन आह्वान गरियो। यरूशलेममा यहोवाको निम्ति स्थायी भवन बनाउने दाऊदको इच्छा तिनको पुत्र सुलेमानद्वारा साकार हुन लागेको थियो। दाऊद आफैले भवन निर्माण गर्न थुप्रै सामानहरू दान दिए। अनि दाऊदले ‘यहोवालाई भेटी’ चढाउन मानिसहरूलाई आग्रह गर्दा अरूले पनि दान दिए। नतिजा? “मानिसहरूले यसरी राजी-खुशीसित दिएकोमा आनन्द मनाए। किनभने आफ्ना हृदयको भक्तिसाथ परमप्रभुको निम्ति तिनीहरूले राजी-खुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्दित भए।” (१ इतिहास २२:१४; २९:३-१०) त्यतिबेला संकलन भएको सुन र चाँदी मात्रै पनि अहिले ५० अरब अमेरिकी डलर पर्छ!—२ इतिहास ५:१.
कसैलाई दान दिन दबाब दिइएन। यो यी उदाहरणहरूबाट हामी देख्छौं। मानिसहरूले “राजी-खुशी” र “आफ्ना हृदयको भक्तिसाथ” दान दिनुपर्थ्यो। अन्यथा यहोवा प्रसन्न हुनुहुने थिएन। त्यस्तैगरि, खाँचोमा परेकाहरूलाई चन्दा दिने मौका आउँदा प्रेरित पावलले “कर-बलले” चन्दा दिनु पर्दैन भनेर लेखे। तिनले अझ यसो भने: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:५, ७.
वर्तमान आवश्यकता
के अहिले चन्दा दिनुपर्ने आवश्यकता छ? निस्सन्देह छ र समय बित्दै जाँदा झन् धेरै आवश्यक पर्नेछ। किन?
यस आखिरी समयमा मसीहीहरूलाई तोकेरै निर्देशनहरू दिइएको छ। येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.
“जगत्को अन्त” झन् झन् नजीकिंदै जाँदा अरूलाई सिकाउने र प्रचार गर्ने यो विशाल कार्य पूरा गर्न थुप्रो समय र स्रोत चाहिन्छ। किन? “पृथ्वीको अन्तसम्म” परमेश्वरको राज्यको सुसमाचार पुऱ्याउन गर्नुपर्ने कामहरूले गर्दा। (प्रेरित १:८) अधिकांश मानिसहरू प्रथम शताब्दीका यहूदीहरूजस्तो शास्त्रमा पोख्त छैनन्। वास्तवमा भन्ने हो भने, थुप्रै मानिसहरूले बाइबललाई परमेश्वरको वचन मान्न त परै जाओस् त्यसको नाउँसमेत सुनेका छैनन्। अतः प्रचारकहरूलाई प्रशिक्षण दिएर टाढा-टाढाका मुलुकहरूमा पठाउनैपर्छ। (रोमी १०:१३-१५) अनि संसारमा कति धेरै भाषा बोलिन्छ त्यो पनि सोच्नुहोस्! प्रचार गरिएका मानिसहरूले आफ्नै भाषामा बाइबल तथा बाइबलमा आधारित प्रकाशनहरू पढ्न र अध्ययन गर्न पाउनुपर्छ। यिनीहरू सबैलाई सुव्यवस्थित तरिकाले प्रचार गरेर प्रगतिशील ढंगमा आध्यात्मिक प्रगतितर्फ डोऱ्याउनसके तिनीहरूले अरूलाई मदत गर्नसक्छन्। यी सबैका लागि ठूलो व्यवस्था मिलाउनुपर्ने हुन्छ।—२ तिमोथी २:२.
येशूले भन्नुभएअनुसार “राज्यको . . . सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गरिनैपर्छ। (मत्ती २४:१४) अतः यो अत्यावश्यक काम पूरा गर्न यथाशक्य सबै कुरा लगाउने समय अहिले नै हो। भौतिक सरसम्पत्ति बेकाम साबित हुनुअघि अहिले हाम्रा स्रोतहरू सबैभन्दा उत्तम कामहरूमा लगाउन सकिन्छ।—इजकिएल ७:१९; लूका १६:९.
पैसा कहाँ खर्च हुन्छ?
वाच टावर बाइबल सोसाइटीले २३० भाषाहरूलगायत अन्धाहरूका लागि ब्रेलमा बाइबल साहित्यहरू अनि बहिराहरूका लागि सांकेतिक भाषामा भिडियो चलचित्रहरू प्रकाशित गर्छ। यसका लागि हरेक भाषामा अनुवादक तथा प्रुफरिडरहरूको समूह चाहिन्छ। यी सबै कुरा र अझ विशेषगरि प्रहरीधरहरा पत्रिकालाई विचार गर्नुहोस्। हरेक महिना यो पत्रिका १२१ भाषाहरूमा प्रकाशित हुन्छ र तीमध्ये १०१ भाषाहरूमा त झन् एकैचोटी प्रकाशित हुन्छ। यति मात्र कल्पना गर्दा पनि हामी चित खानसक्छौं। यद्यपि, यो आवश्यक छ। किनभने तब मात्र संसारभरिका मानिसहरूले एउटै जानकारी एकै समयमा पढ्न सक्छन्। त्यसमाथि कागजको मूल्य अनि राज्य समाचार छाप्न, अडियो, भिडियो रेकर्ड गर्न चाहिने सामाग्रीहरूको मूल्य वर्षेनी बढ्दो छ। भाइहरूले दिएको चन्दाबाट यस्ता खर्चहरू टार्नुपर्ने हुन्छ।
अहिले संसारभरि यहोवाका साक्षीहरूका ७५,००० भन्दा धेरै मण्डलीहरूले ढाकिरहेको इलाकाहरूमा प्रचार तथा शिक्षा दिने कार्य चलिरहेको छ। तिनीहरूलाई एकत्रित राख्न, प्रोत्साहन दिन वर्षको दुइ पटक प्रशिक्षित परिभ्रमण निरीक्षकहरू हरेक मण्डलीमा जान्छन्। निर्देशन दिने सम्बन्धमा सम्मेलनहरूले पनि ठूलो भूमिका खेल्छ। विश्वासलाई बलियो बनाउने अधिवेशनहरू सञ्चालन गर्न ठूल-ठूला भवनहरू भाडामा लिनुपर्ने हुन्छ। तपाईंको चन्दा यी कामहरूमा पनि लगाइन्छ।
सम्मेलनहरू वर्षको तीन पटक मात्र हुने भए तापनि स्थानीय मण्डलीहरू हरेक हप्ता पाँचवटा सभाहरूमा उपस्थित हुन्छन्। (प्रस्थान ३४:२३, २४ तुलना गर्नुहोस्।) अर्कोतर्फ नयाँ मानिसहरूले सुसमाचारलाई स्वीकारेकोले हरेक वर्ष हजारौं नयाँ मण्डलीहरू स्थापित भइरहेका छन्। सोसाइटीले करोडौं रुपियाँ ऋणस्वरूप दिएकोले वर्षेनी सयौं नयाँ राज्य भवनहरू निर्माण हुँदैछ, थुप्रै पुराना मण्डलीहरूको जीर्णोद्वार वा विस्तार गरिदैंछ। यसरी दिएको ऋणलाई पुनः ऋण दिन सकिने भए तपानि ऋणको माग बढ्दो छ।
भूतपूर्व सोभियत संघको नियन्त्रणमा रहेको पूर्वीय युरोपेली राष्ट्रहरूमा अपूर्व वृद्धि भइरहेको छ। यी नयाँ ठाउँहरूमा प्रचार कार्य सुरु भयो भन्ने प्रगतिशील समाचार सुन्न पाउनु कति आनन्ददायी थियो! अहिले यी मुलुकहरूमा मिसनरीहरू पठाइँदैछन्। केही मुलुकहरूमा नयाँ शाखाहरू स्थापित भएका छन्। फलस्वरूप अहिले सारा संसारभरि बेथेल स्वयंसेवकहरूको संख्या १५,००० भन्दा धेरै पुगिसकेको छ। निस्सन्देह, शाखा भवनहरूमा तिनीहरूका निम्ति बस्ने ठाउँको प्रबन्ध गर्न भवनहरू किन्नुपर्ने वा निर्माण गर्नुपर्ने हुन्छ। तपाईंको चन्दाले यो आवश्यकता पूरा गर्न मदत दिन्छ।
यी सम्पूर्ण कामहरू शैतान र त्यसका प्रेतहरूको आँखाबाट लुकेका छैन। अतः यहोवाका विश्वासी सेवकहरूको प्रयत्नमा बाधा पुऱ्याउन वा समस्याहरू खडा गर्न तिनीहरू यथाशक्य सबै गर्छन्। (प्रकाश १२:१७) त्यसको अर्थ, परमेश्वरको जनले प्रचार गर्न र परमेश्वरको धार्मिक नियमअनुरूप जीवन बिताउन पाउनुपर्ने अधिकारहरूलाई सुरक्षित राख्न अदालतहरूमा झन् झन् धेरै कानुनी युद्धहरू लड्नु पर्नेछ। यसबाहेक शैतानको रीतिरिवाजमाथि आइपर्ने युद्ध तथा प्राकृतिक प्रकोपहरूको महामारीले गर्दा हाम्रा भाइबहिनीहरूलगायत अरूलाई प्रायः राहत सामाग्रीहरू उपलब्ध गराउनुपर्ने हुन्छ। तपाईंको चन्दाले यी अत्यावश्यक सहयोग उपलब्ध गराउन मदत पुऱ्याउँछ।
यहोवाले तपाईंलाई इनाम दिनुहुनेछ
प्रभुको काम प्रवर्धन गर्न हामीले स्वेच्छापूर्वक दिएको समय तथा स्रोतले प्रशस्त आशिष् दिन्छ। कसरी? किनभने सारा कुराको साँचो मालिक परमेश्वरले हामीलाई इनाम दिनुहुनेछ। यस सम्बन्धमा हितोपदेश ११:२५ ले यसो भन्छ: “उदार मानिसको उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।” उहाँको उपासनालाई अगाडि बढाउन हामीले आफ्नो भूमिका निर्वाह गर्दा यहोवा निस्सन्देह प्रसन्न हुनुहुन्छ। (हिब्रू १३:१५, १६) व्यवस्था वाचाअनुरूप भेटी चढाउने पूरातन इस्राएलीहरूसित उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।” (मलाकी ३:१०) यहोवाका सेवकहरूले अहिले आनन्द उठाइरहेको आध्यात्मिक समृद्धी, परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ भन्ने प्रमाण हो।
छुटकाराको दिनबारे सबैलाई घोषणा गर्ने र निष्कपट मानिसहरूलाई जीवनको मार्गमा हिंड्न मदत दिने यो महान् कार्य सधैंभरि चलिरहने छैन। (मत्ती ७:१४; २ कोरिन्थी ६:२) तर प्रभुका “अरू भेड़ा” वर्गमा पर्ने सबैलाई जम्मा गर्नैपर्छ। (यूहन्ना १०:१६) यस्तो चुनौती स्वीकार्नु आज कति अत्यावश्यक छ! अनि धार्मिकताको नयाँ संसारमा प्रवेश गरेपछि अतीतलाई सम्झँदै सबैले यसो भन्न पाउँदा हामी कति खुशी हुनेछौं: ‘अरू भेडा जम्मा गर्ने अन्तिम काममा मैले पूरा भाग लिएँ।’—२ पत्रुस ३:१३.
[पृष्ठ ३० र ३१-मा भएको पेटी]
राज्य प्रचार कार्यका लागि केही व्यक्तिहरूले कसरी चन्दा दिन्छन्
विश्वव्यापी कामका लागि चन्दा: “सोसाइटीको विश्वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा हाल्न धेरैजसोले केही पैसा अलग्गै राख्छन्। त्यसपछि हरेक महिना मण्डलीहरूले नजीकै पर्ने वाच टावर सोसाइटीको शाखा कार्यालयमा त्यो पैसा पठाउँछन्।
दान: वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई स्वैच्छिक चन्दास्वरूप व्यक्तिगत तवरमा पैसा पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु चन्दा हो भनेर छोटो पत्र लेखेर पठाए बेस हुनेछ।
शर्तनामा चन्दा: चन्दादाताले आफ्नो शेषपछि सोसाइटीलाई हस्तान्तरण हुनेगरि कोश खडा गर्नसक्छ र कोश खडा गर्दा कथनकदाचित व्यक्तिगत खर्चका लागि चाहिएमा कोशको रकम पुनः चन्दादातालाई फर्काउने मिल्ने प्रबन्ध पनि मिलाउन सकिन्छ।
बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकास/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।
बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।
ऋणपत्र र बन्ड: ऋणपत्र र बन्ड पनि सोसाइटीलाई चन्दा दिन सकिन्छ। त्यसो गर्दा या त पूर्णतया दान वा आम्दानी चन्दादाताले पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ।
घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाचटावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ। धार्मिक संगठनलाई कोशको हकदार बनाउँदा केही कर सुविधाहरू पाउन सकिन्छ। सोसाइटीलाई वसियत वा कोश करारनामाको प्रतिलिपि पठाउनुपर्छ।
अधिक जानकारी चाहिएमा निम्न ठेगाना वा तपाईंको स्थानीय शाखा कार्यालयमा पत्राचार गर्नुहोस्। Watch Tower Bible and Tract Society of India, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India.