ज्योतिले अन्धकार युगको अन्त गर्छ
येशू ख्रीष्ट र उहाँका प्रेरितहरूको संसार हिब्रू धर्मशास्त्रको समयभन्दा धेरै भिन्न थियो। यसबारे बाइबलका अनभिज्ञ पाठकहरूले अगमवक्ता मलाकीदेखि सुसमाचार लेखक मत्तीसम्मको सामाजिक र धार्मिक निरन्तरताको कल्पना गर्नसक्छन्। तिनीहरूले ती दुइ अगमवक्ताहरूको ४०० वर्षबीच के भयो भनेर मात्र सोचेका होलान्।
वर्तमान बाइबलहरूमा हिब्रू धर्मशास्त्रको अन्तिम पुस्तक, मलाकी इस्राएलका शेष जनहरू बेबिलोनको दासत्वबाट छुटिएर तिनीहरूको भूमिमा पुनर्स्थापित भएपछि अन्त हुन्छ। (यर्मिया २३:३) भक्त यहूदीहरूलाई दुष्ट संसारबाट मुक्त पार्ने र मसीही युग सुरु गर्ने परमेश्वरको न्यायको दिनलाई पर्खन प्रोत्साहित गरियो। (मलाकी ४:१, २) त्यस समय फारसको शासन थियो। फारसको सेनाले यहूदामा बसेर सैनिक बलद्वारा शान्ति कायम राखे र शाही आदेश मान्न लगाए।—तुलना गर्नुहोस् एज्रा ४:२३.
तथापि, ती चार शताब्दीभित्र बाइबल भूमिहरू स्थिर रहन सकेनन्। आध्यात्मिक अन्धकार तथा गोलमाल भित्रन थाल्यो। पूर्वी भूभागमा हिंसा, आतंक, शोषण, उग्र धार्मिक विचार, काल्पनिक दर्शन र संस्कृतिधक्काले उत्पात मच्चायो।
मसीही युनानी धर्मशास्त्रको पहिलो पुस्तक, मत्ती भिन्न युगमा लेखियो। रोमको सेनाले बलजफ्ती पाक्स रोमाना वा रोमी शान्ति लागू गरायो। श्रद्धालु मानिसहरूले दुःख, अत्याचार र गरिबीलाई हटाउने अनि जीवनलाई ज्योति दिने, समृद्ध तुल्याउने र शान्ति ल्याउने मसीहको उत्सुकतासाथ प्रतीक्षा गरे। (तुलना गर्नुहोस् लूका १:६७-७९; २४:२१; २ तिमोथी १:१०) आउनुहोस्, हामी ख्रीष्ट जन्मनुअघिका शताब्दीहरूमा यहूदी समाजलाई नयाँ रूपमा ढाल्ने सक्रिय शक्तिहरूलाई राम्ररी नियालौं।
फारसीको समयमा यहूदी जीवन
कोरेसले यहूदीहरूलाई बेबिलोनबाट छुटकारा दिएको घोषणा गरेपश्चात् सा.यु.पू. ५३७ मा यहूदी र गैरयहूदीहरूको एक समूह बेबिलोनबाट निक्ले। आध्यात्मिक झुकाउ भएका यी मानिसहरू ध्वस्त शहर र उजाड भूमिमा फर्के। इस्राएलको एक समयको विस्तृत भूमि एदोमी, कनानी, सामरी, अरबी जातिहरू र अरूले मिचेर सानो भएको थियो। यहूदा र बिन्यामीनको बाँकी भूभाग यहूदाको प्रान्त भयो। त्यो फारसको प्रान्तमा पर्थ्यो र त्यसलाई आबार नाहा (नदीपछाडि) भनिन्थ्यो।—एज्रा १:१-४; २:६४, ६५.
द क्याम्ब्रिज हिस्ट्री अफ जुडाइज्म-अनुसार फारसी शासनअन्तर्गत यहूदाले “विस्तृतकरण र जनसंख्या वृद्धि भएको” अनुभव गर्न थाल्यो। यरूशलेमबारे अझ यसले यसो भन्छ: “किसान र तीर्थयात्रीहरूले ल्याएको उपहारहरूले गर्दा मन्दिर तथा नगर धनी भए। अनि तिनीहरूको सम्पत्ति देखेर विदेशी व्यापारी र शिल्प- कारहरू आकर्षित भए।” फारसीहरूले स्थानीय सरकार र धर्मप्रति उदारभाव देखाए तापनि कर एकदमै धेरै थियो र बहुमूल्य धातुहरूले मात्र कर तिर्न सकिन्थ्यो।—तुलना गर्नुहोस् नहेम्याह ५:१-५, १५; ९:३६, ३७; १३:१५, १६, २०.
फारसी राजाका अन्तिम वर्षहरूमा पटक्कै शान्ति थिएन। किनभने प्रान्तहरूले विद्रोह गर्थे। धेरै यहूदीहरू भूमध्य सागर तटवर्तीको विद्रोहमा सम्मिलित भए र तिनीहरू देशबाट निकालिए र उत्तरपट्टि धेरै टाढा केस्पियन सागर छेउ हिराकेनियामा पुऱ्याइए। तथापि, यहूदाका धेरैलाई फारसको दण्डको केही असर परेन।
युनानीहरूको समय
सा.यु.पू. ३३२ मा महान् सिकन्दर मध्य पूर्वमाथि चितुवाझैं जाइलागे। तर तिनले आक्रमण गर्नअघि नै त्यहाँका मानिसहरूले युनानी क्रियाकलापहरू चाखिसकेका थिए। (दानियल ७:६) युनानी संस्कृतिको राजनैतिक मूल्य बुझेर युनानीवादी साम्राज्य विस्तार गर्न तिनी अग्रसर भए। युनानी अन्तरराष्ट्रिय भाषा भयो। सिकन्दरको अल्प अवधिको शासनले मिथ्या तर्कप्रति प्रेम, खेलकुदमा प्रोत्साहन र सौन्दर्य शास्त्रको मूल्यांकन गर्न प्रोत्साहन दियो। बिस्तारै, यहूदी संस्कृतिसमेत युनानीवादको वशमा पऱ्यो।
सिकन्दरको मृत्यु सा.यु.पू. ३२३ मा भयो। तिनीपछिका सिरिया र मिश्रका शासकहरू अगमवक्ता दानियलले भनेका “उत्तरका राजा” र “दक्षिणका राजा[का]” प्रथम भूमिका निर्वाह गर्नेहरू भए। (दानियल ११:१-१९) [मिश्री] “दक्षिणका राजा” टलिमी द्वितीय फिलाडेल्फसको (सा.यु.पू. २८५-२४६) शासनकालमा हिब्रू धर्मशास्त्रलाई सरल युनानी भाषा, कोइनेमा अनुवाद गरिन थालियो। यो अनुवादलाई सेप्टुआजिन्ट भनियो। यस अनुवादका धेरै पदहरू मसीही युनानी धर्मशास्त्रमा उद्धृत गरिएका छन्। आध्यात्मिक अन्योल र अन्धकारले ढाकेको संसारलाई ज्ञानको ज्योति प्रदान गर्न युनानी सर्वोत्तम भाषा प्रमाणित भयो।
एन्टियोकस चौथो एफिफेनस सिरियाको राजा र प्यालेस्टाइनको शासक भएपछि (सा.यु.पू. १७५-१६४) सरकारद्वारा प्रायोजित सतावटमा परेर यहूदी धर्म प्रायः लोपै भएको थियो। यहूदीहरूलाई यहोवाको उपासना त्याग्न बलजफती गरियो र युनानका देउताहरूलाई मात्र बलि नचढाएमा मार्ने धम्की दिइयो। सा.यु.पू. १६८ डिसेम्बरमा यरूशलेमको मन्दिरमा भएको यहोवाको महान् वेदीमाथि गैरमसीही वेदी खडा गरियो। अनि त्यहाँ ओलम्पियन ज्युसलाई बलि चढाइयो। मानसिक आघात पुगेका तर साहसी गाउँबासीहरूले जुडस मेकाबीसको नेतृत्वमा एकजूट भई यरूशलेम हात नपरेसम्म घमासान युद्ध गरे। परमेश्वरलाई मन्दिर पुनः समर्पित गरियो। अनि मन्दिरलाई अपवित्र पारेको ठीक तीन वर्षपछि फेरि दैनिक बलिदान सुरु भयो।
युनानी शासनकालको अन्तिम समयावधिमा ती यहूदी समुदायले आफ्नो पुरातन सीमासम्म आफ्नो क्षेत्र बढाउन आक्रमण गरे। तिनीहरूले भर्खरै प्राप्त गरेको सैनिक पराक्रमलाई अधर्मी तरिकामा प्रयोग गरे। गैरमसीही छिमेकीहरूलाई धर्म परिवर्तन नगरे मार्ने धम्की दिए। तर यसको बावजूद युनानी राजनैतिक सिद्धान्तले नगर र शहरहरूमा प्रभाव पारेकै थियो।
यस समयको दौडान, मुख्य पूजाहारी हुन चाहने प्रतिस्पर्धीहरू भ्रष्टाचारी थिए। आफ्नो कार्यलाई तिनीहरूले योजना, हत्या र राजनैतिक षड्यन्त्रद्वारा दूषित पारे। यहूदीहरूमा जति अधर्मी मनोवृत्ति पलायो त्यति नै युनानी खेलहरू झन् लोकप्रिय हुँदै गए। खेलहरूमा भाग लिनको लागि जवान पूजाहारीहरूले आफ्नो कर्त्तव्यलाई हेलचक्य्राइँ गरेको देख्नु कति अचम्म! अन्यजातिहरूसित प्रतियोगितामा निर्वस्त्र भाग लिंदा खतनाको कारण यहूदीहरूलाई अप्ठ्यारो लाग्थ्यो। तसर्थ, “खतना नभएको” हुन तिनीहरूले पीडादायी शल्यक्रियासमेत गराए।—तुलना गर्नुहोस् १ कोरिन्थी ७:१८.
धार्मिक परिवर्तनहरू
बेबिलोनमा निर्वासित हुनअघि विश्वासी यहूदीहरूले हिब्रू धर्मशास्त्रमा बताइएको साँचो धर्मसित मिश्रित गैरमसीही विचारधारा र दर्शनहरूको विरोध गरे। बाइबल पुस्तक एस्तर, फारससित घनिष्ठ सम्बन्ध भएको ६० वर्षपछि लेखिएको थियो। तैपनि यसमा फारसी धर्मको कुनै प्रभाव पाइँदैन। यसबाहेक, बाइबलका पुस्तकहरू एज्रा, नहेम्याह वा मलाकीमा पनि फारसी धर्मको प्रभाव पाइँदैन। यी जम्मै फारसी समयको (सा.यु.पू. ५३७-४४३) सुरु सुरुमा लेखिएका थिए।
तथापि, विद्वानहरूको विश्वासअनुसार फारसी समयको अन्ततिर धेरै यहूदीहरूले फारसीहरूको मुख्य देउता आहुरा माज्दाका उपासकहरूका केही दृष्टिकोणहरू अपनाउन थाले। यसले एसिनीहरूमा व्याप्त लोकप्रिय अन्धविश्वास र तिनीहरूको विश्वासलाई देखाउँछ। यहूदी मतमा हिब्रू भाषाका श्याल, मरुभूमिका अन्य जीवहरू र रतेली चराहरू बुझाउने सरल शब्दहरू बेबिलोनी र फारसी लोकसंस्कृतिका दुष्ट आत्मा र भूतात्माहरू बुझाउने शब्दहरू भए।
यहूदीहरूले गैरमसीही विचारधाराहरूलाई विभिन्न दृष्टिले हेर्न थाले। स्वर्ग, नरक, प्राण, वचन (लोगोस) र ज्ञान यी सबैको अर्कै अर्थ लगाए। अनि, परमेश्वर टाढामा हुनुभएकोले मध्यस्थकर्ताबिना उहाँले मानिसहरूसित सम्बन्ध राख्न सक्नुहुन्न भन्ने शिक्षा दिए। युनानीहरूले यी मध्यस्थकर्ता तथा नेतृत्व दिने आत्माहरूलाई डाइमोनिस भन्थे। ती डाइमोनिस (पिशाचहरू) असल वा खराब हुनसक्छन् भन्ने धारणामा परेर यहूदीहरू चाँडै पिशाचहरूको नियन्त्रणमा आए।
यस रचनात्मक परिवर्तनमा स्थानीय उपासना समावेश थियो। सभाघरहरू यहूदीहरूका छिमेकी मण्डलीहरूलाई धार्मिक शिक्षा र सेवाहरूको लागि भेला हुने योग्य ठाउँ भयो। यहूदी सभाघरहरू कहिले, कहाँ र कसरी सुरु भए किटान गरेर भन्न सकिंदैन। यहूदीहरू टाढा देशमा भएको मन्दिरमा पूजा गर्न जान नसक्दा तिनीहरूको खाँचोलाई यसरी सभाघरहरू बनाएर पूरा गरिन्थ्यो। तसर्थ, साधारणतया के विश्वास गरिन्छ भने सभाघरहरू देश निकाला वा निर्वासनको समयमा निर्माण गरिएको हुनुपर्छ। तिनीहरू उल्लेखनीय ढंगमा “अन्धकारबाट उहाँको गजबको ज्योतिमा [मानिसहरूलाई] बोलाउनेको सर्वश्रेष्ठता देखाउने” येशू र उहाँका चेलाहरूको लागि उत्तम तरिका साबित भए।—१ पत्रुस २:९.
यहूदी धर्ममा विभिन्न विचारधाराहरू मुछियो
सा.यु.पू. दोस्रो शताब्दीमा विभिन्न विचारधाराहरू प्रकट हुन थाले। ती अलग धार्मिक संगठनहरू थिएनन्। बरु, ती यहूदी पादरी, दार्शनिकहरू र राजनैतिक कार्यकर्ताहरूका स-साना गुटहरू थिए। तिनीहरूले यहूदी धर्मको छत्रछायामा बसेर मानिसहरूमाथि प्रभाव जमाउने र राष्ट्रलाई नियन्त्रण गर्ने जमर्को गरेका थिए।
राजनीतिज्ञ सदुकीहरू मुख्यतः घरानियाँ थिए। सा.यु.पू. दोस्रो शताब्दीको मध्यभागमा भएको हास्मोनेयन विद्रोहदेखि तिनीहरू दक्ष कूटनीतिज्ञको रूपमा चिनिन्थे। केही व्यापारी र जमीनदारहरू भए तापनि धेरैजसो पूजाहारी थिए। येशूको जन्मपश्चात् अधिकांश सदुकीहरूले प्यालेस्टाइन रोमी शासनको पक्ष लिए। किनकि, त्यो स्थिर रहन्छ र सम्भवतः त्यसले विद्यमान स्थितिलाई कायम राख्छ भनेर तिनीहरूले सोचे। (तुलना गर्नुहोस् यूहन्ना ११:४७, ४८) हेरोदको वंशले शासन गर्नु राष्ट्रिय हितको लागि एकदमै सुहाउँदो हो भनेर अल्प संख्यकले (हेरोदीहरू) विश्वास गर्थे। सदुकीहरूले कुनै हालतमा पनि राष्ट्रको बागडोर कट्टर यहूदीहरूको हातमा गएको वा पूजाहारीबाहेक अरू कसैले मन्दिर नियन्त्रण गरेको चाहँदैन थिए। मुख्यतः तिनीहरूले नै अनुवाद गरेको मोशाका लेखोटहरूमा आधारित तिनीहरूको विश्वास रूढिवादी थियो। अनि त्यसले शक्तिशाली गुट फरिसीहरूसितको विरोधाभासलाई प्रदर्शित गऱ्यो। (प्रेरित २३:६-८) सदुकीहरूले हिब्रू धर्मशास्त्रका भविष्यवाणीहरूलाई काल्पनिक भनेर अस्वीकार गरे। तिनीहरूले बाइबलका ऐतिहासिक, कवितात्मक र उपदेशक पुस्तकहरू प्रेरित नभएका र अनावश्यक हुन् भनेर सिकाए।
फरिसीहरूको सुरुआत युनानीवाद विरुद्ध सशक्त प्रतिक्रिया जनाउनेको रूपमा युनानी समयमा भएको थियो। तथापि, तिनीहरू येशूको समयसम्म सभाघरबाट शिक्षा दिएर राष्ट्रलाई नियन्त्रण गर्न खोज्ने कठोर, परम्परावादी, नियमपरायण, घमण्डी, आत्मधर्मी, धर्मपरिवर्तक र शिक्षकहरू थिए। तिनीहरू मध्यम वर्गीय थिए र साधारण मानिसहरूलाई तिरस्कार गर्थे। येशूको दृष्टिमा तिनीहरू स्वार्थी, निर्दयी, धनको लोभी र ढोंगी थिए। (मत्ती, अध्याय २३) तिनीहरूले सम्पूर्ण हिब्रू धर्मशास्त्रलाई आफ्नै विचारअनुसार चलाउनुको साथै मौखिक परम्पराहरूलाई शास्त्र बराबर वा त्योभन्दा धेरै महत्त्व दिए। तिनीहरूले आफ्ना परम्पराहरूलाई “नियम वरिपरिको बार” भन्थे। तथापि, तिनीहरूको परम्पराहरू बार हुनुको साटो त्यसले परमेश्वरको वचनलाई रद्द गरेर जनसाधारणलाई अन्योलमा पाऱ्यो।—मत्ती २३:२-४; मर्कूस ७:१, ९-१३.
एसिनीहरू ईश्वरवादी थिए। स्पष्टतया, तिनीहरू स-साना पृथक् समुदायहरूमा बस्थे। तिनीहरूले आफैलाई शुद्ध भएर प्रतिज्ञा गरिएको मसीहलाई पर्खिरहेका इस्राएलका साँचो शेष जनहरू ठान्थे। एसिनीहरू धर्मपरायण चिन्तनशील जीवन बिताउँथे र तिनीहरूको धेरैजसो विश्वासमा फारसी र युनानी विचारधाराहरू झल्किएका थिए।
धार्मिक तवरमा उत्प्रेरित, देशभक्त विभिन्न कट्टरपन्थीहरूले यहूदी राज्यको स्वतन्त्रतामा हस्तक्षेप गर्ने प्रत्येकलाई शत्रु सम्झन्थे। तिनीहरूलाई हास्मोनीहरूसित तुलना गरिएको छ र मुख्यतः तिनीहरूलाई आदर्शवादी, साहसी जवान मानिसहरूसित तुलना गरिन्थ्यो। डकैत र हत्या वा प्रतिरोधक योद्धाहरूको रूपमा तिनीहरूले छापामार युक्तिहरू प्रयोग गर्न थाले। त्यसले देशका सडकहरू र जनइलाकामा खतरा पैदा गऱ्यो अनि तनाउपूर्ण स्थितिलाई अझ बढायो।
मिश्रमा भएका अलेक्जेन्ड्रियन यहूदीहरूबीच युनानी दर्शन फस्टायो। त्यहाँदेखि यो प्यालेस्टाइन हुँदै विस्तृत तवरले डाइसपोरामा छरप्रष्ट भएका यहूदीहरूसम्म फिंजियो। अप्रमाणिक ग्रन्थ लेख्ने यहूदी सिद्धान्तवादीहरूले मोशाका लेखोटहरूलाई अस्पष्ट र खल्लो रूपक कथाहरू भन्ने अर्थ लगाए।
रोमी युग सुरु भएपछि युनानीवादले प्यालस्टाइनलाई स्थायी रूपले सामाजिक, राजनैतिक र दार्शनिक तवरमा परिवर्तन गरिसकेको थियो। बेबिलोनी, फारसी र युनानी विचारधाराहरू र केही शास्त्रीय सच्चाइ मिश्रित यहूदी धर्मले बाइबलमा आधारित यहूदी धर्मको स्थान ओगटिसकेको थियो। त्यो धर्ममा केही मात्रामा शास्त्रीय सच्चाइहरू भित्रिएको थियो। तथापि, राष्ट्रमा सदुकी, फारसी र एसिनीहरू ७ प्रतिशतभन्दा कम थिए। यी विरोधाभासपूर्ण शक्तिहरूको भुँवरीमा परेकाहरू यहूदी मानिसहरूका ठूलो बथान थिए जो “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।”—मत्ती ९:३६.
त्यो अन्धकार संसारमा येशू ख्रीष्ट प्रवेश गर्नुभयो। उहाँको यो आश्वासनपूर्ण निमन्त्रणा सान्त्वनादायी थियो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) उहाँले यसो भन्नुभएको सुन्नु कति रोमाञ्चकारी कुरा थियो: “‘म संसारको ज्योति हुँ”! (यूहन्ना ८:१२) अनि उहाँको हृदयस्पर्शी प्रतिज्ञा वास्तवमा आनन्ददायी थियो: “मपछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।’”—यूहन्ना ८:१२.
[पृष्ठ २६-मा भएको चित्र]
येशूले यहूदी धार्मिक नेताहरू आध्यात्मिक अन्धकारमा छन् भनेर देखाउनुभयो
[पृष्ठ २८-मा भएको चित्र]
एन्टियोकस चौथो (एफिफेनस) जस्तो देखिने चित्र भएको सिक्का
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.