हिंसा जताततै व्याप्त छ
हरियो ट्राफिक बत्ती बल्न पर्खिरहेका चालकले अकस्मात् आफूतिर एक बडेमाको मानिस लम्किरहेको देखे। त्यस व्यक्ति अपशब्दहरू बोलेर हावामा मुठी घुमाउँदै आइरहेको थियो। चालकले हतपत भित्रबाट साँचो लगाए र झ्यालहरू थुने। तर त्यो बडेमाको मानिस भने यस चालकतिरै लम्किरहेको थियो। त्यस मानिसले निहुरेर गाडी हल्लायो अनि ढोका तान्यो। अन्ततः रिसले चूर हुँदै आफ्नो बडेमाको मुठीले गाडीको अघिल्तिरको ठूलो ऐना चकनाचूर हुने गरी हिर्कायो।
के यो कुनै रोमाञ्चकारी चलचित्रको दृश्य हो? होइन! यो हवाइस्थित, ओवाहु टापुमा भएको ट्राफिक विवाद थियो, जुन टापु शान्त, आरामदायी वातावरणको लागि परिचित छ।
माथि उल्लिखित घटना कुनै अनौठो कुरा होइन। ढोकामा लगाइएको ताल्चा, झ्यालमा राखिएको छेकबार, भवनहरूका सुरक्षाकर्मी र बसमा समेत “चालकसित पैसा हुँदैन” भन्ने जस्ता संकेतहरू सबैले एउटै कुरा औंल्याउँछ। त्यो हो, व्यापक हिंसा!
घरमा हिंसा
घरलाई मानिसको सुरक्षित आश्रयस्थल भनेर पहिलेदेखि मानिंदै आएको छ। तथापि, घरमा शान्ति तथा सुरक्षा पाउनसक्छ भन्ने अवधारणा द्रुत गतिमा परिवर्तन भइरहेको छ। बाल दुर्व्यवहार, पतिपत्नीबीचको कुटाकुट, नरहत्याजस्ता पारिवारिक हिंसा संसारभरि मुख्य समाचार भइरहेका छन्।
उदाहरणका लागि, म्यानचेस्टर गार्डियन विक्ली यसो भन्छ: “बेलाइतका कम्तीमा ७,५०,००० केटाकेटीहरूले घरेलु हिंसा देख्ने हुँदा तिनीहरूले चिरकालीन आघात भोग्नसक्छन्।” यो प्रतिवेदन एउटा सर्वेक्षणमा आधारित थियो र त्यो सर्वेक्षणले पत्ता लगाएअनुसार “आफ्ना छोराछोरीहरूले हिंस्रक घटनाहरू देखेका छन् भनी चार जना स्त्रीमध्ये तीन जनाले भने अनि झन्डै दुइ तिहाइ केटाकेटीहरूले आफ्नो आमाले पिटाइ खाएको देखेका थिए।” त्यस्तैगरि, यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार “प्रायजसो ४ वर्षमुनिका २,००० केटाकेटीहरूको मृत्यु आमाबाबु वा नोकरहरूबाट हुन्छ” भनी बाल दुर्व्यवहार तथा अवहेलनासम्बन्धी सं.रा. सूचना परिष्दले अनुमान गरेको छ। उक्त प्रतिवेदनअनुसार यो संख्या सडक दुर्घटना, डुबेर वा कतैबाट खसेर हुने मृत्युभन्दा बढी छ।
घरेलु हिंसामा पति या पत्नीप्रति गरिने दुर्व्यवहार पनि समावेश छ। त्यो घचेट्नु, थप्पड हान्नु, लात हिर्काउनु, गला अँठ्याउनु, पिट्नु, चक्कु वा बन्दुक देखाएर धम्क्याउनुदेखि लिएर मार्नुसमेत हुनसक्छ। अनि आजकल यसप्रकारको हिंसा पुरुष र स्त्री दुवैले बराबर गर्छन्। एउटा अध्ययनअनुसार विवाहित दम्पतीहरूबीच हुने हिंसामध्ये एक चौथाइजसो पुरुषले सुरु गर्छन्, अर्को एक चौथाइ स्त्रीले सुरु गर्छन् र बाँकी अवस्थाहरूमा भने चर्को भनाभनको लागि पुरुष र स्त्री दुवै दोषी हुन्छन्।
कार्यस्थलमा हिंसा
घरबाहिर कार्यस्थललाई पहिलेदेखि नै सुव्यवस्था, आदर र शिष्ट ठाउँको रूपमा मानिंदै आएको छ। तर अहिले भने परिस्थिति त्यस्तो छैन। उदाहरणका लागि, सं.रा. न्याय विभागद्वारा प्रकाशित तथ्यांकअनुसार हरेक वर्ष ९,७०,००० भन्दा बढी मानिसहरू कार्यस्थलमा हिंस्रक अपराधहरूका शिकार हुन्छन्। अर्को शब्दमा भन्ने हो भने, प्रोफेशनल सेफ्टी—जर्नल अफ दी अमेरिकन सोसाइटी अफ सेफ्टी इन्जिनियर्स-को एउटा प्रतिवेदनअनुसार “कार्यस्थलमा चार जना कामदारमध्ये एक जना कुनै न कुनै हिंसाको शिकार हुने खतरा हुन्छ।”
सबैभन्दा चिन्ताको कुरा त के छ भने, कार्यस्थलमा हुने हिंसा चर्को भनाभन र अपशब्दहरूमा मात्र सीमित हुँदैन। त्यही प्रतिवेदनले यसो भन्छ, “सं.रा.-मा अहिले अरू कर्मचारीहरूले विशेषगरि मालिक र कर्मचारीहरू विरुद्ध गर्ने हिंसा नै नरहत्या हुनुको प्रमुख कारण भइरहेको छ।” सन् १९९२ मा जागिरसित सम्बन्धित ६ वटा मृत्युमध्ये १ नरहत्या थियो। स्त्रीहरूबीच २ को मृत्युमध्ये झन्डै १ को कारण त्यही थियो। कुनै समय व्यवस्थित मानिने कार्यस्थलमा अहिले हिंसाको लहर चलिरहेको छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन।
खेलकुद तथा मनोरञ्जनमा हिंसा
खेलकुद र मनोरञ्जनलाई जीवनका जटिल कामकुराहरू गर्न स्फूर्ति प्रदान गर्ने मनबहलाउ वा आरामको रूपमा लिइन्छ। आजकल मनोरञ्जन अरबौं डलरको व्यापार भएको छ। यस्तो लाभकर व्यापारबाट धेरै नाफा कमाउन मनोरञ्जन क्षेत्रका मानिसहरू जे गर्न पनि सुरिन्छन्। अनि त्यसो गर्ने एउटा माध्यम हिंसा हो।
उदाहरणका लागि, एउटा व्यापारिक पत्रिका, फोर्ब्स्-को प्रतिवेदनअनुसार भिडियो गेम निर्माताले एउटा लोकप्रिय युद्ध खेल बनाएका छन्। त्यसमा योद्धाले प्रतिद्वन्दीको टाउको र मेरुदण्ड नछिनालुञ्जेल दर्शकहरू “त्यसलाई मार! मार!” भनेर एकोहोरो कराएको कराइ गर्छन्। तर अर्को कम्पनीले बनाएको त्यस्तै प्रकारको भिडियो गेममा भने त्यत्तिको रक्तपात देखिंदैन। त्यसको परिणाम? त्यस कम्पनीको भन्दा बढी हिंस्रक खेल बनाउने कम्पनीको धेरै बिक्री हुन्छ, अर्थात् त्यो कम्पनीको ३ वटा बिक्री हुँदा कम हिंस्रक खेल बनाउने कम्पनीको २ वटा मात्र बिक्री हुन्छ। मतलब, प्रशस्त नाफा! घरकै टेलिभिजनहरूमा खेल्न मिल्ने यी खेलहरू बजारमा बिक्री हुन थाल्दा ती कम्पनीहरूले सुरुको दुइ हप्ताभित्रै अन्तरराष्ट्रिय तवरमा ६५० लाख अमेरिकी डलर कमाए! उपभोक्ताहरूलाई पासोमा पारेर नाफा कमाउने बल्छी नै आजकल हिंसा भएको छ।
अर्को विचारणीय कुरा, खेलकुदमा हुने हिंसा हो। आफूले जति धेरै हानि गर्नसक्छन्, त्यसैमा खेलाडीहरू अक्सर गर्व गर्छन्। उदाहरणका लागि, सन् १९९० मा भएको एउटा हकी खेलमा ८६ पटक पेनाल्टी दिनुपऱ्यो। यति धेरै पेनाल्टी पहिले कहिल्यै दिनु परेको थिएन। अनावश्यक गञ्जागोलले गर्दा साढे तीन घण्टासम्म खेल अवरुद्ध भयो। एक जना खेलाडीको अनुहारको हड्डी भाँच्चियो, आँखाको कर्निया चिथोरियो र छालामा गहिरो घाउ भयो। किन यति विघ्न हिंसा? एक जना खेलाडीले यसरी वर्णन गरे: “निकै झगडाले भरिएको उत्तेजक खेल जितेपछि तपाईं टोलीका अरू खेलाडीहरूसित अलि घनिष्ठ महसुस गर्नुहुन्छ। मेरो विचारमा झगडाहरूले खेललाई साँच्चै भावनात्मक बनाउँछ।” आजकल अधिकांश खेलकुदमा केही प्राप्तिको लागि होइन बरु गर्न खोजेको कुरै हिंसा जस्तो देखिन्छ।
स्कूलमा हिंसा
स्कूललाई सधैं नै एउटा गढजस्तो ठानिन्छ जहाँ जवान मानिसहरूले सबै चिन्ताहरू बिर्सेर मन अनि शरीरको विकासमा ध्यान केन्द्रित गर्नसक्छन्। तथापि, आजकल स्कूल त्यस्तो सुरक्षित ठाउँ होइन। सन् १९९४ को आमसर्वेक्षणले पत्ता लगाएअनुसार संयुक्त राज्यका सर्वसाधारण स्कूलहरूको सबैभन्दा प्रमुख समस्या, हिंसा तथा युवायुवतीहरूको डफ्फा हो। यो समस्याले गत वर्षको प्रमुख समस्या अर्थात् आर्थिक कठिनाइलाई समेत उछिनेको छ। वास्तवमा परिस्थिति कतिको खराब छ?
“के तपाईं कहिल्यै स्कूल वा स्कूल वरपर भएको हिंस्रक कार्यको शिकार हुनुभएको छ?” भनी सर्वेक्षण गर्दा ४ विद्यार्थीमध्ये झन्डै १ जना र दश शिक्षकमध्ये कम्तीमा एक जनाले सकारात्मक जवाफ दिए। त्यही सर्वेक्षणले पत्ता लगाएअनुसार केटा र केटी दुवै गरेर १३ प्रतिशत विद्यार्थीहरूले कुनै न कुनै समयमा स्कूल जाँदा हतियार लगेको स्वीकारे। तिनीहरूमध्ये अधिकांशले अरूलाई प्रभावित पार्न वा आफूलाई जोगाउन मात्र त्यसो गरेको दाबी गरे तापनि एउटा घटनाअनुसार शिक्षकले एक १७ वर्षीय विद्यार्थीको बन्दुक खोस्न खोज्दा त्यस विद्यार्थीले शिक्षककै छातीमा गोली हाने।
हिंस्रक संस्कृति
आज हिंसा जताततै छ भनेर कसैले नकार्न सक्दैन। घर, कार्यस्थल, स्कूलमा र मनोरञ्जन गर्दा हामी हिंस्रक संस्कृतिको सामना गर्छौं। दिनहुँ सामना गर्नु परेकोले आफू त्यसको शिकार नहोऊञ्जेल धेरैले त्यसलाई सामान्य भनेर स्वीकार्न थालेका छन्। त्यसपछि तिनीहरू सोध्छन्, के यो कहिल्यै अन्त हुनेछ? के तपाईं पनि त्यसको जवाफ चाहनुहुन्छ? चाहनुहुन्छ भने, कृपया यसपछिको लेख पढ्नुहोस्।